२२ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

अमिर बन्ने अमिरी सपना

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। विश्वका धनी मुलुकमध्येमा पर्ने कतारी राष्ट्र प्रमुखको यहाँ भ्रमण हुनु आफैंमा उपलब्धिको विषय हो। निःसन्देह दुई देशबीच केही पक्षमा द्विपक्षीय सम्झौतासमेत भएका छन्। यी सम्झौताको कार्यान्वयनले भविष्यमा दुई देशबीच सहकार्यको बाटो अवश्य खोल्ने छ। आजको ‘वैश्य युग’मा सम्बन्धहरू आर्थिक गतिविधिले निर्धारण गर्छन्। कुनै पनि मुलुकको इज्जत आर्थिक गतिविधिका कारण तलमाथि पर्ने अवस्था छ। यस्तो अवस्थामा उच्च आर्थिक स्थिति भएका यस्ता मुलुकसँगको सम्बन्धले स्वाभाविक रूपमा हाम्रो राजनीतिक नेतृत्वलाई प्रेरणा हुन सक्छ।

हाम्रो पुरानो उखानै छ, ‘देखासिकी गरिखानू, आरिसे मरिजानू’। वास्तवमा अरूको देखेर पनि नचेत्ने समाजको कहिल्यै उन्नति हुँदैन। भारत र चीनजस्ता उच्च आर्थिक गतिविधि भएका दुई मुलुकबीच रहेको नेपालले अझै सम्पन्न हुनुपर्छ भन्ने सिकेको छैन। कम्तीमा कतारी अमिरको भ्रमणबाट आफू पनि अमिर बन्ने सपना नेपालले देख्नेछ। यसैलाई प्रेरणा माने पनि ठुलो कुरा हो। नेपालसँग कतारको विशेष सम्बन्ध छ। चार लाख नेपाली अहिले पनि त्यहाँ बसेर आफ्ना पसिना सिञ्चन गरिरहेका छन् र अमिरको देशलाई थप अमिर बनाउन प्रयासरत छन्। आफ्नै देशमा पसिना सिञ्चन गर्न पाउने हो भने त्यसले भिन्न परिणाम दिने थियो। अमिरको भ्रमणसँग हामी यसै पुलकित भएका छौं। त्यसमा पनि हाम्रा कामदारको हितका निम्ति कुरा उठाएको हो भने त्यसको सकारात्मक परिणाम आउनुपर्छ। वास्तवमा यति धनी मुलुकमा आफ्ना नागरिकले सेवा गरिरहेका छन् भने तिनलाई बढीभन्दा बढी आर्थिक उपलब्धिमा पुर्‍याउने आग्रह नेपालका तर्फबाट हुनुपर्ने हो।

नेपाल र कतारबीच आठवटा सम्झौता र सहमतिपत्रमा हस्ताक्षर भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र थानीको उपस्थितिमा सम्पन्न सम्झौता तथा सहमति भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारी मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। त्यसैगरी सरकारी राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्झौता भएको छ। शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहकार्य, महान्यायाधिवक्ताको कार्यालय र कतारी सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी, विदेश मामिला अध्ययन प्रतिष्ठान र कतारको विदेश मन्त्रालयका कूटनीतिक संस्थानबीच प्रशिक्षण र शिक्षा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीसमेत भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना सम्झौता र यी दुई निकायबीचको समझदारी नवीकरणसम्बन्धी समझदारीले आगामी दिनमा दुई देशबीचको आपसी संलग्नता बढाउने निश्चित छ। हामीले यस्ता विषयमा समझदारी र सम्झौता गरिसकेपछि त्यसबाट अधिकतम लाभ लिन र थप सहकार्यका निम्ति मार्ग प्रशस्त गर्न विशेष पहल गर्नुपर्छ। त्यसका निम्ति आफूलाई रणनीतिक रूपमा चुस्त तुल्याउनु उचित हुन्छ।

यसपटक अमिरले फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गरेका हुन्। संयोगले यी तीनै मुलुक विदेशमा श्रमिक पठाउनेमा अगाडि छन्। उनको यो भ्रमणमा यी मुलुकहरू पर्नुको कारण यो पनि हुन सक्छ। अमिरसँगको भेटमा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध, लगानी, नेपाली कामदारको श्रम, भूराजनीतिक द्वन्द्व, विपीन जोशीको रिहाइ र जलवायु परिवर्तनसम्बन्धी ६ वटा मुद्दा उठाएका छन्। दुईदेशबीच भएका सहमति र सम्झौता यसैको सेरोफेरोमा रहेको देखिन्छ। जोशीको रिहाइ हुन सक्यो भने त्यसलाई ठुलो उपलब्धिका रूपमा लिन सकिन्छ।

भ्रमणका अहिल्यै उपलब्धि खोजिहाल्नु उचित हुँदैन। कतारको उपलब्धिबाट सिक्ने र सम्बन्ध बढाउँदै आफूलाई त्यही बाटोमा हिँडाउनेतिर लाग्नुपर्छ। यस किसिमका उच्चस्तरीय भ्रमणमा नेपालले आफूलाई अग्रसर गराउनु उचित हुन्छ। लोकतान्त्रिक मुलुकमा अनुदित भएपछि नेपालले उच्चस्तरीय भ्रमण गराउन सकेको छैन भन्ने परिरहेको छ। यस्ता भ्रमणले त्यस्ता भ्रम चिर्न पनि मद्दत गर्छ। 

प्रकाशित: १३ वैशाख २०८१ ०६:०० बिहीबार

Download Nagarik App
Download Nagarik App