७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

सुरुङ समृद्धि

सिँचाइ, विद्युत् र पर्यटकीय हिसाबलेमहत्त्वपूर्ण मानिएको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको सुरुङ मार्ग छिचोलिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारदेखि सुनकोसी गाउँपालिका–७ स्थित कानढुंग्रीसम्मको करिब १३.३ किलोमिटर दुरीको यो सुरुङ मार्ग नेपालको व्यावसायिक सुरुङ मार्ग ‘ब्रेक थ्रु’को दोस्रो संस्करण हो। तीन साताअघि मात्र ‘ब्रेक थ्रु’ भएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गले पनि इतिहासमा नाम लेखाइसकेको छ।

सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजना सिन्धुलीमा बने पनि यो धेरै जिल्लाका लागि फलदायी हुनेछ। आयोजनाअन्तर्गत सुनकोसीको पानी मरिन खोलामा खसालिन्छ जसबाट दक्षिणका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाको भनाइ छ। जसबाट खाद्य असुरक्षा सामना गरिरहेको नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।

विद्युत् उत्पादन यो आयोजनाको अर्को महत्त्वपूर्ण पाटो हो। कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध बाँधेर कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने योजना छ। जसबाट ३१ मेगावाट विद्युत् निकालिनेछ। तर यो कार्य भने आयोजनाका दोस्रो चरणमा हुनेछ। जसबाट नेपालको विद्युत् क्षमता विकास भइ बहुआयामिक फाइदा हुने अनुमान स्वतः लगाउन सकिन्छ।

यही आयोजना छेउबाटै निर्माण भएको मदन भण्डारी राजमार्गले पूर्वी नेपालबाट एकै पटक हेटौँडा निस्की त्यहाँबाट सुरुङ मार्ग हुँदै छोटो समयमा राजधानी प्रवेश गर्न सकिन्छ। बाह्य र आन्तरिक पर्यटकका लागि करिब करिब भर्जिन क्षेत्र भएकाले यो राजमार्ग र आयोजना क्षेत्र दृश्यावलोकन, अध्ययन र घुमफिरका लागि पनि नयाँ सशक्त गन्तव्य बन्न सक्ने दरिलो आधार भेटिन्छ। त्यसैले धेरै कोणबाट फाइदाजनक देखिएको यो स्थानमा सुरुङ मार्ग छिचोलिनु सिन्धुलीबासीका लागि मात्र नभई सबै नेपालीका लागि खुसीको खबर हो।

एकपछि अर्को सुरुङ मार्ग छिचोलिँदै जानु विकासको गतिमा लम्किरहेको नेपालका लागि सकारात्मक पक्ष मान्नुपर्छ। तर यो पक्ष सकारात्मक हुँदाहुँदै पनि यसले केही प्रश्न भने उजागर गरेको छ। जस्तो २०७९ असोजमा सुरु गरिएको सुरुङ खन्ने काम निर्धारित समयभन्दा तीन महिनाअघि सकिनु राम्रो हो तर हालसम्म आयोजनाको भौतिक प्रगति ३० प्रतिशत मात्र हुनुलाई कसरी राम्रो भन्न सकिएला र ? २०८४ असोजसम्म सम्पन्न हुने लक्ष्य राखिए पनि हालसम्मको प्रगति प्रतिशतले भने नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएकामा शंका छैन।

अर्कोतर्फ अहिले सुरुङ मार्ग छिचोलिएको मात्र हो। फिनिसिङलगायतका काम गर्न अझै एक वर्ष लाग्ने अनुमान छ। नेपालका अन्य आयोजना र विकास निर्माणका काम त ढिलासुस्तीको नमुना नै बन्दै आएका छन्। राष्ट्रिय गौरवको भनिएको सुनकोसी–मरिन जस्तो आयोजनामा कम्तीमा पनि अन्य आयोजनको रोग सल्कन हुने थिएन। यस्ता आयोजना नमुना बन्न सक्नुपथ्र्यो। यहाँ त कुन राष्ट्रिय, कुन जिल्लास्तरको, कुन राष्ट्रिय गौरवको, सबैको हालत एउटै तुलोमा हाले जस्तो अवस्था छ।

एकातिर ब्रेक थ्रु भएका सुरुङ मार्गलाई सञ्चालनमा ल्याउन सकिने गरी कार्य अघि बढाउनुपर्ने चुनौती सरकारसामु छ। अर्कोतर्फ पहाडै पहाडयुक्त मुलुकमा यिनै सुरुङमा चित्त बुझाउने अवस्था छैन। हुन त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तीन दर्जनभन्दा बढी सुरुङ मार्ग कुनै अध्ययन र कुनै निर्माणका चरणमा छन्। जस्तो– सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग खन्न थालिएको छ। धरान–लेउती, टोखा–छहरे सुरुङ मार्ग पनि निर्माण थालिने क्रममा छन्। यो अत्यन्त खुसीको कुरा हो र हुनु पनि पर्छ।

कुनै पनि काम थालनी गर्नु आफैँमा आधा उपलब्धि हो तर नेपालको सन्दर्भमा थालनीबाहेक सम्पन्न हुनु पनि ठूलै उपलब्धि मान्नुपर्ने अवस्था छ। थालिएको दशकौँसम्म पनि सम्पन्न नहुने समस्याले यहाँका धेरै आयोजना थलिएका छन्। सम्पन्न कतिपय काम पनि चाँडै बिग्रने, भत्कने जस्ता नियतिबाट ग्रस्त छन्। त्यसैले सवाल थाल्नु, सम्पन्न हुनुभन्दा पनि त्यो गुणस्तरीय छ कि छैन भन्ने पनि बन्ने गरेको छ। यी वास्तविकतालाई ध्यान दिई अब यस्ता महŒवपूर्ण कार्यलाई दिगो बनाउन गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्छ। समयमै काम सक्ने र त्यसका लागि निर्माण कार्यलाई गति दिनु त प्राथमिकताकै विषय हुँदै हो। यसो भए मात्र क्रमशः हुँदै गरेका एकपछि अर्को ‘ब्रेक थ्रु’ ले आफ्नो महŒव कायमै राख्न सक्षम हुनेछन्।

प्रकाशित: २८ वैशाख २०८१ ०६:०८ शुक्रबार

Download Nagarik App
Download Nagarik App