लोकतन्त्रको शुभकामना!
११ वैशाख २०८२
•
४ मिनेट पाठ
लोकतन्त्रको शुभकामना!
नेपालको हरेक वर्षको पात्रो वैशाख ११ गते लोकतन्त्र दिवसको स्मरण बोकेर उदाउने गर्छ। यो त्यही स्मरण हो जुन २०६३ मा आन्दोलनरत जनताको मागअनुसार विघटित संसद् पुनर्स्थापना गर्न राजा ज्ञानेन्द्र बाध्य भएका थिए। र, यही खुसियालीमा त्यसपछिका वैशाख ११ नेपालीजनले लोकतन्त्र प्राप्त गरेको गौरवमय दिनका रूपमा मनाउन थालेका हुन्। हो, त्यतिबेला नजन्मेका र जन्मे पनि बालबालिकाको उमेरबाट गुज्रँदै गरेकाहरूलाई लोकतन्त्रका लागि यो दिनसम्म कुर्नुपरेका पीडादायी पलहरू थाहा नहुन सक्छ। तर सधैँजसो अस्थिर राजनीतिले ग्रस्त नेपालको शासनशैली प्रायः त्यसको नेतृत्व सम्हालेको राजतन्त्रसँग यही मागका लागि जुध्दाजुध्दै धेरै नेपालीले शहादत प्राप्त गरेका थिए। कैयौँ नेताहरू जेलनेल भोग्न बाध्य थिए भने कैयौँ बिस्तापितसमेत बनाइएका थिए। लामो प्रतीक्षा र संघर्षपछिको फल मीठो हुन्छ भनेझैँ निकै त्यागबाट आएको यो लोकतन्त्र यही कारण सबै नेपालीको मन–मनमा बस्न सकेको हो।  




तर लोकतन्त्र १८ वर्षको भइसक्दा पनि यो संकटमुक्त भने अझै छैन। यसलाई मन नपराउनेहरू थुप्रै छन्। राजतन्त्रको छत्रछायाँमा मोजमस्ती गरिरहेकाहरूलाई लोकतन्त्र फिटिक्कै मन परिरहेको छैन। जनताको छोरो राष्ट्र प्रमुख र सरकार प्रमुख भएको उनीहरूलाई पच्नै सकेको छैन। केही नभए कुशलाई नै भए पनि मालिक थापेर शासित हुने बानी परेको एउटा तप्का पनि लोकतन्त्रसँग एकरत्ति रमाउन सकेको छैन। त्यसैले यतिबेला लोकतन्त्र अपहरण गर्न जुर्मुराइरहेका पनि देखिन्छन् कोही कोही।  

लोकतन्त्र यतिबेला चारैतिरबाट निशानामा पारिएको छ। राजा चाहिन्छ भन्नेहरू निकै चर्को स्वरमा कुर्लिरहेका छन्। खासमा राजा चाहिन्छ भन्नु नै लोकतन्त्र निमोठेर फ्याँक्नुपर्छ भनेको हो। त्यसैले अहिले सबैभन्दा बढी खतरा लोकतन्त्रमाथि राजावादीहरूबाट छ। संयोग नै भन्नुपर्छ, ठीक यति नै बेला मुलुकमा तीन सातादेखि शिक्षकहरू आन्दोलित छन्। उनीहरू आफ्नो सुविधा वृद्धिका लागि र स्वार्थ सिद्ध गर्नका लागि लाखौँ बालबालिकाको भविष्यमाथि खेलवाड गरिरहेका छन्। कानुन बनाउने संसद्ले हो र काम पनि भइरहेको छ तर उनीहरू सरकारले बोलाएको वार्तासमेत बहिष्कार गरेर सडकमा रत्यौली प्रदर्शनमै रमाइरहेका छन्। जनकरबाट तलव खाएर जनतालाई नै असर पर्ने गरी आन्दोलन गर्ने कार्यले अन्ततः लोकतन्त्रप्रति नै वितृष्णा बढाइरहेको उनीहरूले बुझ पचाइरहेका छन्।

अर्कोतर्फ निजामती कर्मचारी मौका यही हो भनेर सरकारलाई आन्दोलनको धम्की दिइरहेका छन्। मुलुकको मुख्य प्रशासनिक केन्द्रमै बसेर उनीहरू आफ्नो अधिकार पूरा गराउने नाममा जनअधिकार कुष्ठित तुल्याउन अल्टिमेटमसहित अघि बढिरहेका छन्। सानातिना फुटकर आन्दोलन त लोकतन्त्रमा सामान्य भइहाले। त्यसैले यतिबेला राजावादी, शिक्षक, कर्मचारी जस्ता समूहबाट थालिएका आन्दोलनको कतै तालमेल त छैन भन्ने शंका पनि जनमानसमा उठिरहेको छ।

सरकारले आमसर्वसाधारणलाई स्तरीय त के, आधारभूत सेवासमेत यो अवधिमा दिन नसकेको कुरा घाम जत्तिकै छर्लंग छ। कुनै सरकारी कार्यालय र सेवा यस्ता छैनन्, जहाँ जनताले कष्ट भोग्नु नपरोस्। महँगी प्रत्येक दिन चढ्दो छ। शिक्षालयहरू राजनीति गर्ने अखडा बनेका छन्। स्वास्थ्य संस्थाहरू कमाउने थलोमा परिणत भएका छन्। मानिसलाई जे जेमा अप्ठेरो परिरहेको छ, त्यही अप्ठेरोमा खेलेर केही सय मानिस धनाढ्यको सूचीमा उक्नले प्रतिस्पर्धा जारी छ। तर सरकार यस्ता विकृति निमिट्यान्न त के, न्यूनीकरण गर्नसमेत अक्षम छ।  

यस्तो अवस्थामा आन्दोलन त सर्वसाधारणले गर्नुपर्ने हो। तर विडम्बना, यहाँ त जो लोकतन्त्रबाट फाइदा लिइरहेको छ, उही आन्दोलित भइरहेको विडम्बनापूर्ण स्थिति छ। कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तुलनात्मकरूमा यो देशका भाग्यमानी हुन् किनकि खासै उद्यम र नगद आम्दानीको स्रोत नभएको हाम्रो जस्तो मुलुकमा उनीहरू प्रत्येक महिना तलव सुविधा पाउँछन्। यहाँसम्म कि विश्वकै शक्तिशाली मुलुकले समेत कोरोनाकालमा कर्मचारीको सुविधा घटाउँदा पनि नेपालका सरकारी तलवजीवीले भने काम नगरे पनि पूरै सुविधा पाइरहे। तर अहिले यही वर्ग सुविधा पुगेन भनेर आन्दोलनको धम्की दिइरहनुले बाँकी जनतालाई भने यो लोकतन्त्रको ‘साइड इफेक्ट’ का रूपमा बुझ्न सघाइरहेको छ।

नेपाल जस्तो देशमा सरकारको ढुकुटी बलियो हुँदा ५० हजार तलब खानेलाई ६० हजार दिनेबारे सोच्ने हैन, एक रुपियाँ पनि आम्दानी नहुनेलाई कसरी १० हजार हातमा पारिदिने भनेर सोच्नुपर्छ। तलव खानेका छोराछोरीको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेबारे सोच्नुभन्दा पहिले तलवै नआउने र त्यो अवसर नै नपाएकाहरूको शिक्षा र स्वास्थ्यबारे सोच्नुपर्छ। लोककल्याणकारी राज्यले दिने प्राथमिकताको सूत्र यही हो। यहाँ त जसले तर मारिरहेको छ, उसैलाई थप्नुपर्ने र त्यसका लागि अरूलाई समेत दुःख दिने गरी उल्टै रुवाबासी गर्ने अचम्मको शैली सडकमा देखिनु कुनै हालतले उचित मानिन्न।

लोकतन्त्र हुँदा खानेका लागि बढी जरुरी हुन्छ। हुनेखानेहरूले त त्यसै पनि केहीबाहेक लोकतन्त्रका धेरै अभ्यास गरेकै हुन्छन्। उसै त मुलुकमा हुँदा खाने वर्गका मानिसले लोकतन्त्रको अनुभूति नै गर्न पाएका छैनन्। यस्तो अवस्थामा सुविधाभोगीहरू नै थप सुविधाका लागि उत्रनु र भोलि उनीहरूकै माग पूरा हुने अवस्था आयो भने पनि त्यसले लोकतन्त्रको विकेन्द्रीकरणमा फिटिक्कै सघाउँदैन। त्यसैले यतिबेला लामो संघर्षपछि प्राप्त लोकतन्त्र गुम्न नदिन पनि सबैले जिम्मेवारपूर्वक सोच्नैपर्छ। आखिर जायज होस् या नाजायज, राष्ट्रले पूरा गर्न सक्ने होस् या नसक्ने, जस्तोसुकै माग राख्न सक्ने वातावरण कायमै राख्न पनि लोकतन्त्र त जीवित रहनै पर्छ। लोकतन्त्र दिवसले विशेषगरी आफ्नो स्वार्थलाई केन्द्रमा राखेर आन्दोलितहरूमा यो चेत भर्न सकोस्। सबैमा शुभकामना ! 
अर्को समाचार
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल
१५ जेष्ठ २०८०
•
५ मिनेट पाठ
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।  




शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन् ।”  

नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको प्रधानमन्त्रीले स्मरण गरेका छन्।  

प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।  

उनले बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरेका छन्। “एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने सङ्घीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्छ। सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन।”  

प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयन चुनौती देखिए पनि हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको उल्लेख गरेका छन्।

प्रधानन्त्रीले सन्देशमा जोड दिँदै भनेका छन्, “हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ। विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो।”  

नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गिकार गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको बताएका छन्। उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिएका छन्।  

प्रधानमन्त्रीले भनेका छन्, “नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो। संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्छ र हुँदै पनि गएका छन्।” नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको प्रधानमन्त्रीको भनाइ छ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको प्रधानमन्त्रीको कथन छ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो। यसो भएता पनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ।”  

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो हुँदैन भन्दै प्रधानमन्त्रीले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्ध नहुने स्पष्ट पार्नुभएको छ । उहाँले जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो औँल्याएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, “यस बीचमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन्। संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन्।”  

उनले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी रहेको बताएका छन्। सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन्।  

उनले  गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान व्यक्त गरेका छन्।

उनले यस दिवसले सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस