अति भो अति
१९ असोज २०७७
•
५ मिनेट पाठ
अति भो अति
९ महिनाअघि सुरु भएको कोरोना भाइरस महामारीले विश्वमा १० लाख मानिसको अकालमा ज्यान लिइसकेको छ। नेपालमा पनि मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। यो क्रम जारी छ। पछिल्ला दिनमा राजधानी काठमाडौँमा संक्रमण बेरोकटोक अगाडि बढेको छ। दिनहुँ १ हजार भन्दा बढीको संख्यामा संक्रमित थपिएका छन् तर यसलाई नियन्त्रण गर्न सरकारको सक्रियता होइन, सरकार चिरनिन्द्रामा देखिएको छ।  




प्रधानमन्त्रीका सल्लाहकार तप्का र बालुवाटारका सुरक्षाकर्मीको घेरालाई भाइरसले तोडिसकेको छ। प्रधानमन्त्री निवासमै यसरी संक्रमण देखिनु सुखद होइन। यसले भाइरस नियन्त्रणका हाम्रा प्रयास कतिसम्म सतही रहेछन र कति वास्तविक रहेछन् भनेर उदाङ्गो पारेको छ। कोरोनालाई बेसार–पानीले ठीक पार्ने प्रधानमन्त्रीले केही महिनाअघि संसद्मा व्यक्त गरेको भनाइलाई यो संक्रमणले चुनौती दिएको छ। देशको समग्र राज्यसत्ता कोरोना नियन्त्रण र उपचारमा लाग्दालाग्दै स्थिति किन यसरी बिग्रेको छ, समीक्षाको विषय बनेको छ। गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प, उनका सल्लाहकारलगायत अन्य नेतालाई संक्रमण भएपछि भाइरसले कसैलाई पनि बाँकी नराख्ने देखिएको छ। चाहे त्यो अमेरिकी राष्ट्रपति हुन, चाहे ती ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारो हुन् अथवा बेलायतका प्रधानमन्त्री। अमेरिकी राष्ट्रपतिले सुरुदेखि नै कोरोना भाइरसप्रति हलुका दृष्टिकोण राख्दै आएका थिए। मास्क प्रयोगलाई उनी हाँसोको विषय बताउँदै आएका थिए। अहिले तिनै राष्ट्रपति अस्पतालमा थला परेका छन्। यसरी उनले हेप्दै आएको भाइरसले उनलाई अस्पताल पु-याइदिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली पनि महामारीको सुरुताका  भाइरससम्बन्धी व्यक्त गरेका अवैज्ञानिक र हलुका टिप्पणीले आलोचित बनेका थिए। उनले अहिले भाइरसका बारेमा कुनै प्रतिक्रिया दिन छाडेका छन्। तैपनि मुलुकको प्रमुख कार्यकारीले जानेका कुरा आमनागरिकसामु बाँड्नुपर्छ भन्ने उनलाई लाग्छ।  

राजनीतिक नेतृत्वको असहिष्णु र गैरजिम्मेवार भनाइले महामारी नियन्त्रणका समग्र प्रयासलाई फरक पार्छ। कोरोना भाइरस जति राजनीतिक अथवा सामाजिक विषय बनेको छ त्यो भन्दा बढी यो वैज्ञानिक र जनस्वास्थ्यको विषय हो। सम्बद्ध वैज्ञानिक र विज्ञको राय तथा सुझाव सबैभन्दा सर्वाेपरि हुनुपर्छ। अमेरिकी राष्ट्रपतिले महामारीको गाम्भीर्यलाई कहिल्यै बुझेनन् अथवा बुझे पनि यसलाई बुझ पचाए। आफू र प्रथम महिलालाई संक्रमण हुनु केही दिनअघि महामारी नियन्त्रणको संघारमा पुगेको दाबी गरेका राष्ट्रपतिले वैज्ञानिक समुदायका भनाइ र सुझावलाई समयमै ध्यान दिएका भए अमेरिकामा त्यति धेरै मानिसको ज्यान जाने थिएन।  

अमेरिकी राष्ट्रपतिको भाइरसप्रतिको अवैज्ञानिक रवैयालाई धेरै देशका प्रभावशाली नेताले दोहो-याएका छन्। हामीकहाँ पनि ‘प्रतिरक्षा क्षमता’ र ‘बेसार–पानी’ मा बढी विश्वास व्यक्त गरिएको हो। अहिले यो भाइरस कति खतरनाक छ भन्ने ज्ञान भएको हुनुपर्छ। यो ज्ञानको प्रयोग मौनतामा रहेर होइन, सुदृढ प्रतिकार्यबाट गर्न सकिन्छ। राजधानीका अस्पतालका शैया भरिँदै जाँदा र महामारी समुदायमा व्यापक विस्तार हुँदै जाँदा राज्यले अपनाउनुपर्ने बुद्धिमत्तापूर्ण रणनीति आवश्यक हुन्छ। आममानिसलाई आश्वस्त पार्ने किसिमको महामारी नियन्त्रण रणनीति नहुँदा सन्त्रास झन् बढ्नेछ। राजधानीमा भाइरसको यो विस्तार कहिलेसम्म हुने हो, कुन विन्दुमा पुगेर नियन्त्रण उन्मुख होला केही भन्न सकिन्न। चाडवाडको याम र नजिकिँदो हिउँदले स्थिति झन नियन्त्रणबाहिर जान सक्ने विज्ञको राय छ।  

जनताको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र विपद्का बेला राज्यको सर्वाेपरि भुमिका रहन्छ। स्थानीय वा प्रदेश वा संघीय सरकार सबैले आफूलाई यसनिम्ति तत्पर राख्नुपर्छ। यो महामारीको स्थितिमा संघीय र स्थानीय सरकारको भूमिका केही हदसम्म देखिए पनि प्रदेश सरकारहरू सम्पूर्णरूपमा अकर्मण्य देखिएका छन्। भारतको नयाँ दिल्लीस्थित अरविन्द केजरीवाल सरकारले जसरी आफ्नो भूमिका निर्वाह गरेको छ, त्यो हाम्रा प्रदेश सरकारका निम्ति पनि प्रेरक हुनुपर्छ। नेपालको जत्तिकै जनसंख्या भएको भारतीय राजधानी नयाँ दिल्लीले दैनिक ६० हजारको हाराहारीमा परीक्षण गरेको छ। नेपालले आफ्नो परीक्षणलाई बल्लतल्ल १०/१२ हजारको संख्यामा पु-याएको छ। समुदायमा संक्रमण भएपछि परीक्षण पनि समुदायमा व्यापक स्तरमा हुनुपर्ने हुन्छ। तर त्यसो हुन सकेको  छैन ।  

संक्रमितको परीक्षणपछि तिनको नजिक रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर भाइरस प्रसारको शृंखला तोड्ने काम हुन सकेको छैन। यथास्थितिमा महामारी नियन्त्रणको प्रयास सफल नहुने देखिएको छ। विज्ञको राय/सुझाव, गणितीय आकलनलाई हेरेर राजधानीमा संक्रमण कति हदसम्म जान सक्छ त्यसको समीक्षा हुनुपर्छ। सरकारले बेलाबेलामा गरेका नीतिगत त्रुटिका कारण महामारी फैलँदो छ। सरकारले संक्रमितको सम्पर्कमा आएका तर लक्षण नदेखिएकालाई क्वारेन्टिन र पिसिआर आवश्यक छैन भनेको छ तर विनालक्षण भएकाले संक्रमणलाई विस्तार गर्ने काम गरेका छन्। महामारीको यो उत्कर्षमा प्रधानमन्त्री स्वयमले स्थितिको समीक्षा गरेर आवश्यक निर्देशन दिनुपर्ने देखिएको छ। अन्यथा कामचलाउ रवैया र ढिलो एवं अप्रभावकारी प्रतिकार्यले ठूलो मानवीय क्षति हुन सक्छ। सरकार प्रमुखको ध्यान समयमै यसमा जानुपर्छ। मानवीय क्षति धेरै भएमा भविष्यसम्म त्यसले हामीलाई दोषी ठहर गरिरहने छ।  

महामारी नियन्त्रणको एकल रणनीतिले काम गर्दैन। परीक्षण महत्वपूर्ण छ। सँगसँगै ट्रेसिङ उत्तिकै जरुरी हुन्छ। लक्षण भएका र नभएका दुवैखाले संक्रमितले संक्रमण गरिरहेका हुन्छन्। सामाजिक दूरी कायम नगर्दा, मास्क नलगाउँदा र साबुन–पानीले हात नधुँदा संक्रमणको जोखिम उत्तिकै हुन्छ। यो विज्ञानसम्मत विषय पनि हो। त्यसैले यसलाई विशेषज्ञहरूको ज्ञान र सरकारको तत्परताबाट मात्र नियन्त्रण गर्न सकिन्छ। यसलाई सम्भव बनाएका सरकारहरू हाम्रै एसियामा समेत छन्। तिनको अनुभवलाई पनि हामीले ध्यानमा राख्नु उचित हुन्छ। 
अर्को समाचार
विकासशीलमा स्तरोन्नति !
२१ फागुन २०७४
•
१७ मिनेट पाठ
विकासशीलमा स्तरोन्नति !
संयुक्त राष्ट्रसंघको विकास रणनीति समितिको सन् २०१७ जुनसम्मको तथ्यांकअनुसार विश्वका ४७ राष्ट्र अति कम विकसित राष्ट्रको सूचीमा छन् । पछिल्लोपटक सन् २०१२ मा दक्षिण सुडान अति कम विकसित राष्ट्रको सूचीमा थपिएको थियो । नेपाल भने सन् १९७१ मा अति कम विकसित राष्ट्रको अवधारणा सुरु भएसँगै यस्तो सूचीमा सूचीकृत भएको थियो । सुरुमा अति कम विकसित राष्ट्रको सूचीमा २५ राष्ट्र थिए । संयुक्त राष्ट्रसंघले अति कम विकसित राष्ट्रहरूलाई सहायता, बजार पहुँच ग्राह्यता र विशेष प्राविधिक सहायता प्रदान गर्ने सूचीमा राखेको छ । संयक्त राष्ट्रसंघ व्यापार तथा विकास सम्मेलन (अंकटाड) ले सार्वजनिक गरेको अति कम विकसित राष्ट्रसम्बन्धी प्रतिवेदन २०१६ मा दक्षिण एसियाका नेपाल, अफगानिस्तान, बंगलादेश, भुटानलगायतका १६ वटा अति कम विकसित राष्ट्रहरूलाई विकसित राष्ट्रमा स्तरोन्नति हुने सम्भाव्यताका आधारमा सन् २०१७ देखि २०२४ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्षेपण गरिएको छ । यसैगरी अन्य ३२ वटा राष्ट्रलाई सन् २०२५ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्षेपण गरिएको छ। 




आगामी सन् २०२४ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने १६ वटा राष्ट्रमध्ये ४ वटा भूपरिवेष्ठित राष्ट्र हुन्– अफगानिस्तान, भुटान, लाओस र नेपाल । यी चारवटै एसियाली राष्ट्र हुन् । यसअघि सन् २०१५ को समीक्षामा अंगोला, गिनी र भानुआतु गरी तीनवटा अति कम विकसित राष्ट्र सन् २०२० सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने जनाइएको थियो । १९९४ डिसेम्बरमा बोत्सवाना, सन् २००७ को डिसेम्बरमा केप भर्दे, सन् २०११ को जनवरीमा माल्दिभ्स, सन् २०१४ को जनवरीमा सामोआ र सन् २०१७ को जुनमा गिनी गरी हालसम्म ५ वटा अति कम विकसित राष्ट्र विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेका छन् । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले विकास नीति समितिको सिफारिसको आधारमा हरेक तीन वर्षमा अति कम विकसित राष्ट्रहरूको समीक्षा गर्ने गरेको छ । अर्को समीक्षा यही वर्ष अर्थात् सन् २०१८ मा हुँदै छ। 

सन् २०१५ मा गरिएको पछिल्लो समीक्षाअनुसार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास नीति समितिले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक (पोषण, स्वास्थ्य, विद्यालय भर्नादर, साक्षरता आदि) र आर्थिक जोखिम सूचकांक (प्राकृतिक प्रकोपहरूको जोखिम, जनसंख्याको आकार, कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको हिस्सा, कृषि उत्पादनको अवस्था, वस्तु र सेवाको निर्यातको सूचक) आदि तीनवटा मापदण्ड तय गरेको छ । यी तीनवटै मापदण्डहरू पूरा गरेको र जनसंख्या साढे सात करोडभन्दा बढी नभएको राष्ट्र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । यद्यपि दुईवटा नियमित समीक्षामा कम्तीमा दुईवटा मापदण्ड पूरा गरेको पाइएमा पनि विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । यसैगरी तीन वर्षको औसत प्रतिव्यक्ति आय विकासशील राष्ट्रमा स्तरोन्नति हुन आवश्यक थ्रेसहोल्डको दुई गुणा भएमा र सो आय दिगो मानिएको खण्डमा पनि बाँकी दुई वटा मापदण्ड पूरा नभए पनि विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने प्रावधान छ । 

अरू अति कम विकसित राष्ट्रजस्तै नेपाल पनि धेरै अघिदेखि विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रयासमा रहेको छ । विशेषगरी तेह्राँै योजनाले अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएको प्रतिबद्धताअनुरूप सहस्राब्दी विकासका लक्ष्य हासिल गर्दै सन् २०२२ सम्ममा संयुक्त राष्ट्रसंघद्वारा परिभाषित अति कम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति हुने सोच राखेको थियो । यही सोचअनुरूप देशमा व्याप्त आर्थिक तथा मानवीय गरिबी घटाई आमजनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने उद्देश्य लिइएको थियो भने गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.० प्रतिशतमा झार्ने प्रमुख लक्ष्य राखिएको थियो । यद्यपि तेह्रौँ योजना कार्यान्वयनको दोस्रो वर्षमा मुलुकले विनाशकारी भूकम्प र तेस्रो वर्षमा भारतीय नाकाबन्दीको सामना गर्नुप¥यो । फलस्वरूप सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने योजनाको उद्देश्य प्रभावित बन्यो र गरिबीको रेखामुनि रहेका २३.८ प्रतिशत जनसङ्ख्यालाई १८.० प्रतिशतमा झार्ने लक्ष्य प्राप्तिसमेत पर धकेलियो । पछिल्लो तथ्यांकअनुसार नेपालमा अद्यापि गरिबीको रेखामुनिका जनसंख्या २१.६ प्रतिशत रहेको छ । यस्तै योजना अवधिमा कृषि क्षेत्रको औसत वार्षिक वृद्धिदरको लक्ष्य ४.५ प्रतिशत रहे पनि २.२ प्रतिशतमात्रै प्रगति हासिल भएको छ भने गैरकृषि क्षेत्रको औसत वार्षिक वृद्धिदर ६.७ प्रतिशत रहे पनि ३.४ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । यसरी कृषि तथा गैरकृषि क्षेत्र दुवैमा लक्ष्यअनुसारको प्रगति हासिल नहुँदा समग्र आर्थिक वृद्धिदरसमेत प्रभावित भएको छ । जसअनुसार वार्षिक औसत आर्थिक वृद्धिदरको लक्ष्य ६.० प्रतिशत रहेकामा २.९ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । वार्षिक रोजगारी वृद्धिदरको लक्ष्य ३.२ प्रतिशत रहेकामा २.९ प्रतिशतमात्रै प्रगति हासिल भएको छ । यसरी सहस्राब्दी विकासको लक्ष्य पूरा नभएको र आर्थिक विकासको योजनागत लक्ष्यसमेत पूरा नभएको अवस्थामा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यसमेत प्रभावित बन्यो। 

चौधौँ योजनामा सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने र मध्यम आयवर्गको मुलुकहरूको स्तरमा पुग्ने लक्ष्य निर्धारण गरी योजनाको लक्ष्य तथा उद्देश्य तय गरिएकाले विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यले निरन्तरता पाएको छ । चौधौँ योजनामा सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने लक्ष्य रहेको छ भने उत्पादनशील रोजगारीउन्मुख र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुतगतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक–सामाजिक रूपान्तरण गर्ने उद्देश्य रहेको छ । यसअनुसार वार्षिक औसत ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य रहेको छ । यसका लागि कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ४.७ प्रतिशत र गैरकृषि क्षेत्रको औसत वार्षिक वृद्धिदर ८.४ प्रतिशतको लक्ष्य तय गरिएको छ। यसैगरी गरिबीको रेखामुनिको जनसंख्या २१.६ प्रतिशतबाट १७.० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । तेह्रौँ योजनामा मानव विकास सूचकांक ०.५६ रहेकोमा चौधौँ योजना अवधिमा यो सूचकांक ०.५८ मा पु¥याउने लक्ष्य पनि रहेको छ। 

विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को विकास नीति समितिले निर्धारण गरेका प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांक आदि तीनवटा मापदण्डमध्ये मावन सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांक सन्तोषजनक भएकाले नेपाल सन् २०१८ भित्र नै विकासशील राष्ट्रमा स्तरोन्नति हुन योग्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । नेपालले सन् २०१५ मा मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्ड पूरा गरेको हुँदा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि योग्य ठहरिएको थियो । संयुक्त राष्ट्रसंघले निर्धारण गरेका तीनवटा मापदण्डहरूमा मानव सम्पत्ति सूचकांक ६६ भन्दामाथि हुनुपर्ने, आर्थिक जोखिम सूचकांक ३२ भन्दा तल हुनुपर्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार २ सय ४२ अमेरिकी डलर पुगेको हुनुपर्ने छ । अ फाउन्डेसन फर आइडियाज अन डेभलपमेन्ट नामक संस्थाले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको मानव सम्पत्ति सूचकांक ७३.३ छ भने आर्थिक जोखिम सूचकांक २६.९५ छ। 

यद्यपि कमजोर आधारबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा विकासशील राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले दिगो स्तरोन्नतिलाई बढी महत्व दिनुपर्ने धारणा विज्ञहरूबाट आइरहेका छन् । विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि आवश्यक थ्रेसहोल्डभन्दा निकै कममात्रै प्रतिव्यक्ति आय भएको अवस्थामा मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांककै आधारमा मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अति कम विकसित राष्ट्रको हैसियतले पाउँदै आएको अनुदान, बजार पहुँच ग्राह्यता र विशेष प्राविधिक सहायता पाउनबाट वञ्चित हुनुपर्ने र सरकारी कर्मचारी तथा विद्यार्थीहरूले पाउने अन्तर्राष्ट्रिय छात्रवृत्तिको अवसरमा समेत असर पर्ने हुँदा यसले नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमै नकारात्मक असर पार्नसक्नेछ । अति कम विकसित मुलुकको हैसियतले हाल नेपालले व्यापार, विकास, रोजगार, संस्थागत तथा मानव संसाधन विकासको क्षेत्रमा पाइरहेको झन्डै १ सय ३६ प्रकारका विभिन्न सहयोगसमेत गुमाउनुपर्ने हुँदा हतारमा विकासशील राष्ट्रमा स्तरोन्नति हुनुभन्दा आर्थिक तथा सामाजिक आधारलाई बलियो बनाई दिगो स्तरोन्नतिका लागि पहल गर्नु नै उचित हुन्छ । त्यसैले विकासशील राष्ट्र बन्ने रहरभन्दा दिगो स्तरोन्नतिको प्रयास लाभदायी हुन्छ। 

उपर्युक्त तथ्यलाई मनन गर्दै यही फेब्रुअरी १ र २ तारिखमा भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको विज्ञ समितिको छलफलमा नेपालले मानव सम्पत्ति सूचकांकमा असहमति जनाएको थियो । पहिलो पुस्ताको विकास सूचकांकलाई आधार बनाइएको र आर्थिक जोखिमको सूचकांकमा सन् १९६० को अफ्रिकाको अवस्थालाई आधार मानिएकोमा अहिलेको विकासको अवस्थालाई आधार मानेर विश्लेषण गर्नुपर्ने भन्दै नेपालले मानव सम्पत्ति सूचकांकमा असहमतिको अडान राखेको राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताएका छन् । मानव सम्पत्ति र आर्थिक जोखिमको सूचकांक वर्तमान समस्या सम्बोधन गर्ने खालका नभई पुरानो पुस्ताको विकास अवधारणालाई आधार मानेर बनाइएकाले सूचकांकमा नै परिमार्जन तथा गुणस्तरीय र दिगो स्तरोन्नतिको कुरालाई उठाएको डा. वाग्लेले बताएका छन्, जुन निकै सान्दर्भिक पनि देखिन्छ । नेपालले संयुक्त राष्ट्रसंघले चाहेअनुसार सन् २०१८ मै नभई सन् २०२१ मा हुने त्रिर्वीय समीक्षाबाट मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति हुने अडान राखेको छ । सरोकारवालाहरूको सँगको बृहत् छलफल र परामर्शपछि विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हाललाई थाँती राख्ने विषयमा संयुक्त राष्ट्रसंघको विकास रणनीति समितिलाई पत्र लेख्ने तयारी राष्ट्रिय योजना आयोगले गरिरहेको छ । यसो त सरकारले पनि आगामी सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यसहित योजनाबद्ध कार्यक्रमहरू पनि लागु गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस