सद्भावको सौन्दर्य
२४ पौष २०८२
•
४ मिनेट पाठ
सद्भावको सौन्दर्य
मधेस प्रदेश यो साताको सुरुमा समाचारको शीर्षक बन्यो। तर त्यो सुखद समाचार थिएन। केही युवाले सामाजिक सञ्जालमा सम्पे्रषण गरेका घृणात्मक विषयवस्तुबाट सुरु भएको यो विवाद मधेस प्रदेशका विभिन्न स्थानमा हिन्दु तथा मुस्लिम समुदायबिच द्वन्द्व र वीरगन्जमा कफ्र्युसमेत लगाउनुपर्ने स्थितिमा पुग्यो। हिन्दु–मुस्लिम समुदायबिचको तनावका कारण प्रशासनले कफ्र्यु लगाउनुपर्ने स्थितिमा पुग्नु आफैंमा दुःखद छ।




त्यसो त मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन नगर्ने सहमतिसँगै सोमबारदेखि लगाइएको ‘कफ्र्यु’ मंगलबार अपराह्नदेखि हटेको छ। जिल्लाका क्रियाशील राजनीतिक दल एवं विभिन्न धार्मिक समुदायका अगुवा सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने र यसप्रकारको हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने सर्वपक्षीय बैठकले निर्णयसमेत गरेको छ। यो सँगै केही दिनसम्म तनावग्रस्त रहेको वीरगन्जको जनजीवन सामान्यतर्फ उन्मुख छ। यसलाई सुखद नै मान्नुपर्छ।

बैठकले  धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न उत्प्रेरित गर्ने समूह/आन्दोलनकारीलाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ।

विशेषगरी साम्प्रदायिक सद्भाव खलबल्याउन पछिल्ला दिनमा सामाजिक सञ्जाल, मिथ्या सूचना र केही हदसम्म गलत समाचार सम्प्रेषण जिम्मेवार देखिएका छन्। यही सन्दर्भमा सो बैठकले सञ्चारकर्मीलाई धार्मिक, सांस्कृतिक÷सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।

धनुषाको कमला नगरपालिका–६ सखुवा मडानका केही युवाले सामाजिक सञ्जालमा घृणात्मक अभिव्यक्तिसहित असामाजिक खालका दृश्यहरू सार्वजनिक गरेका थिए। ती दुई युवकलाई दुवै समुदायका अगुवाले समातेर प्रहरीको जिम्मासमेत लगाएका थिए तर पक्राउ परेका युवालाई तत्काल छाड्ने मागसहित विरोध सुरु भएपछि विवाद झन् बढेको थियो र केही धार्मिक संस्थामा समेत तोडफोड भएको थियो तर धार्मिक संस्थामा भएको तोडफोडको भिडियो सामाजिक सञ्जालमा प्रवाहित भयो र घृणात्मक सन्देश प्रवाहित भएपछि हिंसा भड्केको स्थानीय प्रहरीको कथन छ। यही घटनाका आधारमा नेपाल–भारत सीमामा रहेको व्यापारिक सहर वीरगन्जमा प्रदर्शन र झडपहरू हुन पुगे। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो र केहीलाई  नियन्त्रणमा लिइएको थियो।

विभिन्न धर्मावलम्बीबिच धार्मिक तथा सामाजिक सद्भाव रहँदै आए तापनि नेपालमा यदाकदा हुने यस्ता गतिविधि  चिन्ताका विषय हुन्। हाम्रो सदियौं पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्‍याउन यसप्रकारका घटना किन घट्छन्, यस प्रकृतिको आगोमा कसले घिउ थप्ने काम गर्छ भन्नेमा सबै सरोकारवालाको ध्यान जानुपर्छ। पछिल्ला समयमा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य हुनु चिन्ताको विषय हो। अफवाह, उक्साहट, राजनीतिक स्वार्थ र सामाजिक सञ्जालमार्फत फैलाइने घृणात्मक सामग्रीले यस्ता घटनाका लागि भूमिका खेलेको देखिन्छ। यसले समाजमा शान्ति एवं अमनचयनका साथै आपसी सद्भावसमेत बिथोल्छ।

अशिक्षा, गरिबीसँग लड्नुपर्ने समयमा घृणा, हिंसा र विभाजनमा समाज धकेलिँदा  हिंसा बढाउन चाहने मुट्ठीभर व्यक्तिबाहेक कसैको स्वार्थ पूर्ति हुँदैन। आधुनिक समाजमा यो अस्वीकार्य विषय पनि हो। यसप्रकारका घटनाले समग्र समाज, राज्य तथा नागरिक सबैलाई कमजोर पार्छ। त्यसैले संयम, संवाद र सहअस्तित्वको बाटो अवलम्बन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो। सबैभन्दा महत्त्वपूर्ण विषय बहुसांस्कृतिक र बहुधार्मिक चरित्रको प्रतीक मानिने वीरगन्जमा यस्ता घटना नघटून् भन्नेमा सजक रहनुपर्छ।

सर्वपक्षीय बैठकका निर्णयले यसप्रकारको घटना नदोहोरिओस् भन्नेमा जोड दिएको देखिन्छ। अबको आवश्यकता भनेको यसलाई दीर्घकालीन समाधानमा लग्नु हो। त्यो निरन्तर संवाद, विश्वास पुनर्निर्माण र साम्प्रदायिक सद्भाव मजबुत बनाउने दीर्घकालीन पहलबाट मात्र सम्भव छ। यसप्रकारको परिस्थितिमा सबैभन्दा ठुलो जिम्मेवारी राजनीतिक दल, धार्मिक अगुवा र स्थानीय नेतृत्वको हुन्छ। उत्तेजक अभिव्यक्ति, मौन समर्थन वा अवसरवादी राजनीतिले आगोमा घिउ थप्ने काम गर्छ। प्रशासनले पनि निष्पक्ष रूपमा दोषी पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ।

धर्म वा समुदायको आधारमा होइन, मान्छेले गरेको अवराध र कर्मका आधारमा कानुन सक्रिय बनाउनुपर्छ। समयमै संवाद, सहिष्णुता र कानुनी शासनलाई प्राथमिकता दिइएन भने यस्ता घटना अन्य स्थानमा पनि दोहोरिन सक्छन्। विविधतालाई शक्ति बनाउने हाम्रो राष्ट्रिय चरित्रलाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुनुपर्छ। वीरगन्ज फेरि सहअस्तित्वको उत्कृष्ट उदाहरण बन्न सकोस्, यही नै हामी सबैको साझा चाहना हो।  
अर्को समाचार
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
११ मंसिर २०८३
•
४ मिनेट पाठ
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन। उद्धार र तत्कालीन राहतको चरण पार भए पनि प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्किन सकेको छैन। कसैको घर छैन, कसैको रोजगारी गुमेको छ, कसैको व्यवसाय बन्द छ। सडक, पुल, विद्युत् र अन्य सार्वजनिक संरचना क्षतिग्रस्त हुँदा दैनिक जीवन कष्टकर बनेको छ। तीन महिना बितिसक्दा पनि धेरै परिवार अस्थायी आवास र आश्रयस्थलमा बस्न बाध्य छन्। उनीहरूका लागि पुनःस्थापना र पुनर्निर्माणको प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ।




नुवाकोटको बेत्रावतीदेखि रसुवाको स्याफ्रुबेँसी र टिमुरेसम्म सडक तथा पुल पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन, यातायात सहज नहुँदा स्थानीयको दैनिक गुजारा र आर्थिक गतिविधि प्रभावित छन्। विस्थापित परिवारको स्थायी पुनःस्थापनाका लागि जग्गा पहिचान गरिएको भए पनि उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम अझै बाँकी छ। राहत वितरण, प्रारम्भिक नगद सहयोग र विद्युत् आपूर्ति पुनःस्थापनाका प्रयास त भएका छन् तर तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणबिचको खाडल देखिन थालेको छ। प्रभावित नागरिकले सरकारका तीनै तहलाई दबाब दिन संघर्ष समिति गठन गर्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।

यस्तो अवस्थामा सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने सहायता परिचालन गर्न अवधारणापत्र माग गर्नु सकारात्मक कदम हो। कोषको सञ्चालक समितिले गत अक्टोबर २२ मा नेपाललाई २१.६ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसमध्ये २० मिलियन डलर भोटेकोसी–त्रिशूली नदी करिडोरका प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण र जीविकोपार्जन सुधारका लागि छुट्याइएको छ भने १.६ मिलियन डलर प्रशासनिक तथा व्यवस्थापकीय खर्चका लागि हो।

सरकारले एफआरएलडीबाट मान्यता प्राप्त नेपालस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई अवधारणापत्र पेस गर्न आह्वान गरेको छ। आगामी ५ डिसेम्बरसम्म प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ। ढिलै भए पनि यो सहयोग भित्र्याउन गरिएको पहल स्वागतयोग्य छ र अब संस्था छनोट र पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाउन कुनै ढिलाइ हुनु हुँदैन।

यो सन्दर्भमा भएको ढिलाइ र सुस्तगतिले महत्त्वपूर्ण प्रश्न पनि उठेको छ– के हामी पुनःस्थापना र पुनर्निर्माणका लागि पर्याप्त रूपमा तयार छौं? विपद्का बेला उद्धार र राहतमा सक्रियता देखाउने तर त्यसपछि पुनर्निर्माणमा ढिलाइ हुने प्रवृत्ति नेपालमा नयाँ होइन। जिम्मेवारीको अस्पष्टता, निकायबिच समन्वयको अभाव, प्रशासनिक झन्झट, कमजोर अनुगमन र जवाफदेहिताको कमीले पुनर्निर्माण प्रभावित हुने गरेको छ। भोटेकोसीको हकमा यस्तो कमजोरी दोहोरिनुहुँदैन। विपद्पछिको पुनर्निर्माण अर्को विपद् बन्न दिनु हुँदैन।

राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकनअनुसार समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ। निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

यस्तो विशाल आवश्यकताका तुलनामा एफआरएलडीको सहयोग महत्त्वपूर्ण भए पनि पर्याप्त होइन। त्यसैले उपलब्ध रकमको उपयोग अत्यन्तै प्राथमिकतासाथ हुनुपर्छ। सबैभन्दा बढी प्रभावित, घरबारविहीन, आर्थिक रूपमा कमजोर तथा जीविकोपार्जन गुमाएका परिवारलाई केन्द्रमा राखेर कार्यक्रम बनाउनुपर्छ।

पुनर्निर्माणको अर्थ बाढीले बगाएका संरचना पुरानै ठाउँमा पुनर्निर्माण गर्नु मात्र होइन। जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको सम्भावना भएका क्षेत्रमा वैज्ञानिक अध्ययनबिना घर, सडक, पुल र अन्य संरचना बनाउनु अर्को जोखिम निम्त्याउनु हो। जोखिम मूल्यांकन, भूगर्भीय अध्ययन र जलवायु परिवर्तनका सम्भावित प्रभावलाई आधार बनाएर सुरक्षित पुनर्निर्माण गर्नुपर्छ।

आवश्यक परे प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ। त्यसका लागि उनीहरूको सहमति, पर्याप्त क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितता आवश्यक रहन्छ। त्यसैगरी, पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ। कुन क्षेत्रमा के बनाउने, कसलाई प्राथमिकता दिने र उपलब्ध स्रोत कसरी खर्च गर्ने भन्ने निर्णय प्रभावित नागरिकको आवश्यकताका आधारमा हुनुपर्छ।

भोटेकोसी विपद्ले नेपालको विपद् व्यवस्थापन क्षमता मात्र होइन, जलवायु परिवर्तनका कारण बढ्दो जोखिमप्रति हाम्रो तयारीको अवस्थासमेत परीक्षण गरेको छ। अबको चुनौती क्षतिग्रस्त संरचना उठाउनु मात्र होइन, भविष्यमा त्यस्तै विपद् आउँदा कम क्षति हुने समाज र पूर्वाधार निर्माण गर्नु पनि हो।

अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गर्नु उपलब्धि हो तर त्यसको वास्तविक सफलता प्रभावित नागरिकको जीवनमा आएको परिवर्तनले मापन गर्नेछ। तीन महिना बितिसक्दा पनि अनिश्चिततामा रहेका नागरिकलाई अब आश्वासन होइन, परिणाम चाहिएको छ। पुनःस्थापना र पुनर्निर्माणमा हुने ढिलाइ, अव्यवस्था र कमजोर तयारीले उनीहरूमाथि अर्को विपद् थपिनु हुँदैन।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
महिला श्रमको अवमूल्यन
नागरिक नागरिक • · ०८ मंसिर २०८३ · ३ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
नागरिक नागरिक • · ०४ मंसिर २०८३ · ४ मिनेट पाठ
गाँजा तस्करीको जालो
नागरिक नागरिक • · ०७ मंसिर २०८३ · ४ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
नागरिक नागरिक • · ०४ मंसिर २०८३ · ४ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस