२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

पढाइ कुनाले सुधार्दै विद्यार्थीको सिकाइस्तर

कालिकोटको नरहरिनाथ गाउँपालिका-३ की लक्ष्मी विकको पढ्ने बानीमा अहिले परिवर्तन आएको छ। स्थानीय रमा माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत लक्ष्मी विकले विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन्। अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि लक्ष्मी विकको पढ्ने बानी र व्यवहारमा धेरै परिवर्तन आएको हो। 

लक्ष्मी विकको घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ। लक्ष्मीको पढाइ कुनामा कापी,कलम,पोसाक राख्ने ठाउँ छ। विद्यालयबाट घर फर्केपछि लक्ष्मीले झोला र विद्यालय पोसाक व्यवस्थित तरिकाले राख्ने गरेको उनकी आमा पार्वता विकले बताइन्। ‘पहिले घरमा पढ्ने बानी थिएन, पढाइ कुना बनाएपछि छोरी घरमा पढ्ने बानी परेकी छन्’, पार्वताले भनिन्, ‘हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन, किर्डाक नेपालका सरहरुले सिकाएर बनाउन लगाउनुभयो, अहिले धेरै राम्रो भएको छ।’

नरहरिनाथ–३ की सन्तोसी बुढा पनि हरेक दिन विद्यालयबाट घर पुगेपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न सुरु गछिन्। उनी त्यहीँ कोठामा पढ्छिन्। ‘पहिले घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन,आजभोलि नियमित पढ्न मन लाग्छ’, सन्तोषी भन्छिन्, ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ, पढौँ पढौँ लाग्छ, पहिले घरमा पढ्नै मन लाग्दैन्थ्यो, विद्यालयमा मात्रै पढ्ने हो जस्तो लाग्थ्यो,अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ।’

पढाइ कुनामा रहेका बालबालिकालाई घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेका छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको नरहरिनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपाले बताए। पढाइ कुना बनाएपछि  बालबालिको पढाइ प्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको उनको भनाइ छ।  

नरहरिनाथ गाउँपालिकाको समन्वय तथा वडा नम्बर ३ को आयोजना र प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग,किर्डाक नेपालको सहजिकरणमा बालबालिकाको सिकाइस्तर बढाउन नरहरिनाथ गउँपालिकाको वडा नम्बर– ३ लाई  पढाइ कुना युक्त वडा  घोषणा गरिएको छ। वडा नम्बर ३ का करिब ३ सय ५४ घरधुरीमा पढाइ कुना निर्माण पछि वडालाई पढाइ कुना युक्त वडा  घोषणा गरिएको हो।  

बालवालिकाको पहिलो पाठशाला घर भएकै कारण अभिभावकलाई आफ्नो बालबालिकाप्रति जिम्मेवार बनाउन पढाइ कुना आवश्यक रहेको किर्डाक नेपालका परियोजना संयोजक पदमराज हमालले बताए।

उनले भने ‘विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा यो कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुआत गरेका छौँ ।’, पढाइ कुनाले अहिले बालबालिकाको घरमा पढ्ने बानी बस्नाका साथै दैनिक क्रियाकलाप नै फेरिएको उनको भनाइ छ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले पढाइ कुना र सिकाइ केन्द्रले बालबालिकाको सिकाइस्तरमा सुधार आउनुकासाथै अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत भएको उनले बताए। किडाक नेपाल र प्लान इन्टरनेसनलले शैक्षिक गुणस्तर वृद्धिका लागि धेरै राम्रो काम गरेको उनको भनाइ छ।

घरघरमा पढाइ कुना तयारगर्दा बालवालिकाको सिकाइमा धेरै सहयोग भएको प्लान इन्टरनेसनल नेपालकी दिक्क्षा भाटले बताइन्। उनले वडा नम्बर ३ को जस्तै घरघरमा पढाइ कुना तयार गरी गाउँपालिकालाई नै पढाइ कुना युक्त पालिका  घोषणा गर्न आवश्यक रहेको बताइन्।

घरमा तयार गरिएको सिकाइ कुनाले विद्यार्थीलको पढाइ स्तरमा सुधार आएको सहजकर्ता अनिता बुढाका बताइन्। उनले बालवालिकाको पढाइमा सहजता ल्याउन हरेक घरमा पढाइ कुना आवश्यक रहेछ बताइन्।

प्रकाशित: १६ वैशाख २०८१ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App