७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

सञ्चार-ढाँचाको विषयमा गोष्ठी गर्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ।

‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन ललितपुरमा जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवालकाे सहभागीता रहनेछ।

यसैगरी, अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ताका रूपमा सहभागी हुनेछन् भने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता केयूका उपकुलपति प्राध्यापक भोला थापाले गर्नेछन्।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति तथा त्यसका मातहत विभिन्न १० वटा उपसमिति गठन भई क्रियाशील छन्।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो।

उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ। साथै, यसबारे स्नातकोत्तर तथा पिएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन्।

प्रकाशित: २६ वैशाख २०८१ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App