७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

३४ वर्षपछि श्रीलंका टप्पुमा माध्यमिक विद्यालय

श्रीलंका टप्पुको जनता माध्यमिक विद्यालयका विद्यार्थी।

सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै ३ किलोमिटर बगर पार गरेपछि एउटा बस्ती आउँछ।

आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको टप्पुमा छरपस्ट घरहरु छन्। जताततैबाट हिँड्न सकिन्छ, जहाँ बाटाहरु छैनन्, जुन श्रीलंका टप्पुको नामले चिनिन्छ।

बराहक्षेत्र नगरपालिका वडा नं-६ र ९ मा पर्ने टप्पुमा पहिलोपल्ट कक्षा ९ को पठनपाठन सुरु भएको छ। गाउँमा रहेको जनता आधारभूत, कौशीका आधारभूत र वालसेवा आधारभूत विद्यालयमा कक्षा ८ भन्दा माथिको पढाई नहुने भएपछि त्यसभन्दा माथि पढ्न कि सप्तरीको भागलपुर जानुपथ्यो, कि त कोशी पूर्वको बराहक्षेत्रमा सञ्चालित विद्यालय।

भागलपुर जानका लागि एक घण्टा टाढा छ र वर्षामा नाउँ चढ्नुपथ्यो। पूर्वी भगालो तर्दा आफ्नै जिल्ला सुनसरीको बराहक्षेत्र पुग्ने उनीहरुको नजिकको केन्द्र सप्तरीको भागलपुर नै हो। हिउँदमा पश्चिमी भगालो लगभग सुक्ने भएकोले आवतजावत गर्न सहज देखिए पनि वर्षामा दुवै तिरबाट कोशी उनीहरुको बस्ती नजिकै आइपुग्छ।

बराहक्षेत्र नगरपालिकाले वडा नं-६ कोशीपारी स्थित गरैयामा रहेको जनता आधारभूत विद्यालयमा यसै वर्ष २०८१ सालको नयाँ शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ सञ्चालन सुरु गरेपछि त्यहाँका विद्यार्थीले सहज ढंगले पढ्ने अवसर पाउने भएका हुन्।

अबदेखि गाउँकै विद्यालयमा कक्षा ९ को पठनपाठन सुरु भएपछि कतिपय विद्यार्थी आठभन्दा माथि पढ्न नपाउने समस्या अन्त्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चन्द्रवंशीले बताए।

मधेशको आदिवासी चन्दवंशी लगायत सबै खाले जातजाति, पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्तीमै अब कक्षा ९ को पठनपाठन हुन थालेकाले अभिभावक र विद्यार्थीलाई ठुलो राहत मिलेको स्थानीय समाजसेवी बद्री राई बताउँछन्। 

विद्यालयमा मावि तहको एक जना र आधारभूत तहको थप दुई जना दरबन्दी थप गरेर जनता विद्यालयलाई माध्यमिक तहमा विकास गराएको नगर प्रमुख रमेश कार्कीले बताए।

२०४७ सालमा स्थापना भएको जनता विद्यालयमा हाल २ सय ७० भन्दा विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रामकुमार मण्डलले बताए। यहाँ विद्यालय स्थापना भएको ३४ वर्षपछि माध्यमिक तहको पठनपाठन सुरु भएको हो।

टप्पुको जीवनयापन  कृषि र पशुपालनमा निर्भर छ। कोशीको वहावसँगै यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ। दुई दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरु अहिले रुखो हुँदै गएका छन्। परवरको राजधानी मानिन्थे, टप्पु। अहिले परवर कमै मात्रमा फल्छन्। टप्पुमा धान फल्दैन, गहुँ, मकै कोदो मुख्य उत्पादन हो।

पाँच दशक अघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला  श्रीलंका टप्पु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भगालो भएर बग्न थालेपछि बिचमा टप्पु बन्न पुगेको हो। पछिल्लो समय श्रीलंका टप्पु आउँजाउँ गर्न चतरा पुल बनेपछि उदयपुरको रामपुर ठोक्सिला हुँदै सहज पनि भएको छ।

प्रकाशित: २६ वैशाख २०८१ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App