काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु मंगलबारदेखि भौतिक उपस्थितिमा सञ्चालन हुने भएका छन्। बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई आगामी मंगलबार(१५ गते) बाट भौतिक रुपबाटै सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति दिएको छ।
नगरपालिकाका अनुसार लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले आइतबार नगर शिक्षा समितिको बैठक बसी १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको र सूचना समेत सम्बन्धित निकायमा पठाएको जानकारी दिए। उनले गत ११ गते शिक्षाका सरोकारवाला, स्थानीय राजनीतिक दलहरुसँगको छलफलले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र सोही भेलाले गरेको सिफारिशका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको बताए।
उनले विद्यालयलाई नै पूर्ण जिम्मेवारी बनाएर विद्यालय सञ्चालनको लागि स्वीकृति दिएको जानकारी दिँदै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डबारेमा नगरपालिकाले अनुगमन गर्ने बताए।
‘विद्यालय स्वयम्ले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य तय गर्नुपर्ने प्रावधानसहित विद्यालय खोल्नका लागि अनुमति दिएका छौं’, उनले भने, ‘त्यो प्रावधान अनुसार नगरे निमायनुसार हामी कारबाही गर्छौं।’
कोरोना संक्रमणको दर बढिरहे पनि अभिभावक तथा शिक्षाका सरोकारवालाहरुको दबाबका कारण नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाको प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले बताए।
शिक्षा शाखा अधिकृत ढकालले विद्यालय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको बताए। उनले विद्यालय अल्टरनेटिभ तरिकाले सञ्चालन गर्ने, विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म पुर्याउने र अभिभावक नै लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बसहरु अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने शर्तमा विद्यालय सञ्चालनको लागि स्वीकृत दिएको बताए।
सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको सो नगरपालिकामा हाल ४० हजार विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।
विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ। असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ।
गत असार अन्तिम साता कालोपत्र गरिएको उक्त सडकमा अहिले नै समस्या देखिएको स्थानीयवासी टेकबहादुर तामाङले गुनासो गरे। आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ मा ठेक्का भएको सात किमी सडक असार अन्तिम साता मुख्य भागमा कालोपत्र सकिएको थियो। सडकको दायाँबायाँ भागमा भने अझै काम बाँकी नै छ। कति ठाउँमा ढल बनाउनका लागि ठूला खाल्डा यत्तिक्कै छोडिएको छ। जहाँ पैदलयात्रु र सवारीसाधन पर्न सक्ने जोखिम छ।
यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन। ठेक्का भएको केही वर्षसम्म सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुनसकेको थिएन। केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो। गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमतिको वषौँ बित्दासमेत अझै काम पूरा हुनसकेको छैन। यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन्। धेरैजसो सडकको काम सकिएको छ। वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्न थालेको छ। केही ठाउँमा अझै ढलको काम भइरहेको छ।
नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको चार वर्षसम्म पनि सडकको काम सकिएको छैन। समय बढाएर आर्थिक वर्ष २०७६/७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन। त्यसपछि पनि पटकपटक समय थप गर्दा पनि काम नसकिएको हो। आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जीनीयर महानन्द जोशी भने गत असारमा काम सकिएको दाबी गर्छन।
मर्मतको काम बाँकी रहेको उनले सुनाए। ‘नयाँपाटी पुलमाथिको भागमा गत असारमा पानी परेका दिनमा कालोपत्र गरिएकाले भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो, यहाँ पनि छिटो मर्मत गर्न लगाउँछौँ’, उनले भने। रु ५८ करोड लागतमा भएको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेको नगरपालिकाले जनाएको छ। सङ्घीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन्। स्थानीयवासी र पैदलयात्रीले भने कुन सरकारको आयोजना हो भन्ने नबुझी स्थानीय सरकारलाई गाली गर्ने गरेको नगरपालिका–४ का अध्यक्ष जयराम महतले बताए।
विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तार लगायत संरचना अझै हटेको छैन। निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले काममा ढिलासुस्ती गरेको देखिएको स्थानीयवासी हरिबहादुर श्रेष्ठको भनाइ छ।
गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्कियो। केही महिनापछि त्यो भत्किएको स्थानमा टालिए पनि काम राम्रो भएको थिएन। वर्षा लागेसँगै यहाँ पनि सडक भत्कन थालेको छ। कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ।
कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएको छैन। पैदलमार्ग नहुँदा यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको छ। यसतर्फ सरोकार भएका निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीय शिक्षक अनन्त अर्याल बताउँछन।
सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल विस्तार हुन नसक्दा सवारीसाधन जाममा पर्ने गरेका छन्। सडक विस्तार गरी कालोपत्रका लागि काम सुरु भएको आठ वर्ष बितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए।
सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ। बाँकी रहेका ठाउँको काम नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम र नगरपालिकाले विभिन्न प्रयोजनमा खनेर अलपत्र बनाएको आयोजनाले जनाएको छ। भत्काएर अलपत्र बनाउने निकायलाई तत्काल बनाउन पत्राचार गरिएको सूचना अधिकारी जोशीले बताए।