एक विद्यालय एक नर्स: बालविवाह हट्यो, कुलत छुट्यो
१५ कार्तिक २०७९
•
४ मिनेट पाठ
एक विद्यालय एक नर्स: बालविवाह हट्यो, कुलत छुट्यो
आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन। सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो।




कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन्। बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो। ‘विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे’, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भनिन्, ‘उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो।’

समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझिन्। अनि आफूलाई के–के हुन्छ भनेर पनि सोधिन्। विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उनको भनाइ छ। ‘यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो’, उनले भनिन्, ‘समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ।’ स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन्। उनले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गर्छिन्।

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ। ‘आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए’,  प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भने, ‘विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ।’ पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उनले बताए।

यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए। उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन्। विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उनको भनाइ थियो।  गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे। पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उनले जानकारी दिए।

भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ। विद्यालयमा नर्सको व्यवस्थाभएपछि स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन्। ‘अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाइ गर्छौँ’, कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भनिन्, ‘पहिला स्वास्थ्यलाई हामीले हेलचेक्रयाइँ गरेका रहेछौँ, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौँ।’ उनले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताइन्। ‘कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो’, उनले भने, ‘स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकेँ।’ नर्स गिरीका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हटवाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो। यसअघि यस्ता समस्या हुँदा बीचमै पढाइ छाडेर घर जाने गरेको अञ्जना बताउँछिन्।

यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकामा दुई ठाउँ घाउसमेत बनाइदिए। कक्षाकोठामा रगत बग्यो। तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याइ उपचार गरिएको थियो। ‘रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो’, नर्स गिरीले भनिन् ‘पछि सफा गरेर ड्रेसिङ गराएँ, अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो।’ विद्यालयमा नर्स कार्यक्रम नभएको भए उनलाई अस्पताल , स्वास्थ्यचौकी लैजानुपर्ने शोभा बताउँछिन्।

भीमेश्वरीको स्वास्थ्य कक्षमा बिरामीका लागि दुईवटा शय्या छ। प्रदेश सरकारले उपलब्ध गराएको औषधि केही सकिएपछि नजिक रहेको स्वास्थ्यचौकीबाट पनि ल्याइने जनाइएको छ। औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले बिग्रन सक्ने अवस्था छैन। गर्मी ठाउँ भएकाले दैनिक २० सम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाइ छ। कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन्। ‘गर्मीमा अलि बढी समस्या हुन्छ’, विद्यालय नर्स गिरीले भनिन् ‘पखाला लाग्ने, टाउको दुख्ने, उच्च रक्तचापका समस्या आउने गर्दछ।’ उनका अनुसार छात्राहरू महिनावारी हुने बेलाको समस्या प्रमुख छ। पहिले छात्रा महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे, अरुले गिज्याउने र आफैँलाई पनि लाज हुने हुँदा छात्रा हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे। अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँछन्। ‘चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ’, उनले भने, ‘पहिला यस्तो व्यवस्था नभएकै कारण छात्रामा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो।’ अहिले छात्रामा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उनले दाबी गरे।  

विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ। व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ। पाँच सय ५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो। गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ। छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताए। ‘नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन्’, उनले भने।
अर्को समाचार
बेथानचोकमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
बेथानचोकमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै
स्कुलमा पढाइ भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । यो समस्या नेपालका अधिंकाश सामुदायिक विद्यालयका विद्यार्थीले भोग्नुपरेको छ । केही वर्ष अघिसम्म काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ ढुंखर्कमा रहेको पार्वती माविका विद्यार्थीले पनि यस्तै समस्या भोगेको थिए । तर बाग्मती सरकारले संचालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने त्यो समस्यामा कमी आएको विद्यालयको जानकारी छ ।  




केही वर्ष अघिसम्म विद्यालयका अधिकांश विद्यार्थीलाई पेट दुख्ने समस्या थियो । पेट दुखेकै कारण पढाइ बीचमै छाडेर घर जाने गर्थे । त्यस्तै विद्यार्थीलाई सामान्य घाउचोट लाग्यो भने स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । त्यस्तै विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या धरै भोग्नुपरेको थियो ।

विद्यालयमा महिनावारी भएमा पढाइ नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको पढाइ छुट्ने गथ्र्यो । तर विगत दुई वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा बताउँछन् ।

उनका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम संचालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ । ‘यो कार्यक्रमले विद्यालयमा मात्र नभई सिंगो सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले भने, ‘विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यान दिन थालेका छन् । शौचालय गएपछि साबुनपानीले हात धुने अभ्यास भएको छ ।’ कार्यक्रमले गर्दा विद्यार्थी अनियमितता पनि हटेको उनले बताए । विगतमा वार्षिक रुपमा ५ प्रतिशत विद्यार्थीले विद्यालय छोड्ने गरेको विद्यालयको जानकारी छ ।  

बाग्मती प्रदेशले संचालन गरेको एक विद्यालय एक नर्स अन्तर्गतको पहिलो चरण कार्यक्रममा प्रदेशका २० विद्यालय छनौट भएका थिए । प्रदेशको मापदण्ड अनुसार आफ्नो विद्यालय पनि छनौटमा परेको प्रधानाध्यापक शर्माले बताए । मापदण्डबारे बताउँदै शर्माले भने, ‘नमूना विकास, भौतिक पूर्वाधार, विद्यार्थी संख्या सबै कुराले गर्दा विद्यालय छनौटमा परेको हो ।’ \

कार्यक्रम संचालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखीकरण, विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरी हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विद्यालयको स्वास्थ्यस्थिति बारेमा कक्षागत रुपमा विद्यार्थीका अभिभावक विद्यालयमा बोलाई जानकारी गराउने गरिएको छ ।  

विद्यालयमै नर्स भएपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक प्रमोद तिमिल्सिना बताउँछन् । उनका अनुसार यो कार्यक्रम लागु भएसँगै स्वास्थ्य समस्याले कुनै विद्यार्थीको पढाइ छुटेको छैन । कुनै विद्यार्थी पढाइ भइरहेकै बेलामा स्वास्थ्य समस्याले गर्दा घर फर्किनुपरेको छैन । एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएको बताउँदै तिमिल्सिनाले भने, ‘अहिले अभिभावकहरु आफ्नो बालबच्चाको पढाइ मात्र नभएर स्वास्थ्य स्थितिबारे बुझ्न पनि विद्यालय आउने गर्नुभएको छ । विद्यार्थीसँगै अभिभावकले पनि स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन थालेका छन् ।’

एक विद्यालय एक नर्स कार्यक्रम किशोरीहरुका लागि निकै फलदायी भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले बताए । उनका अनुसार कार्यक्रम किशोर, किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरुलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । ‘यो कार्यक्रमले किशोरीहरुको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भने, ‘विशेष गरेर किशोरीहरुले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।’

यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको धेरै नै प्रभावकारी भएको अध्यक्ष तिमिल्सिना बताउँछन् । उनका अनुसार गाउँपालिकामा माध्यमिक तहका १० वटा विद्यालय रहेका छन् । ती विद्यालयमा उक्त कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ । यस विषयमा गाउँपालिकाले चाँडै योजना बनाउने अध्यक्ष तिमिल्सिना बताउँछन् ।  

विद्यालयमा कार्यक्रम संचालन भएको दुई वर्ष भयो । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम संचालनमाल्याएको थियो । विद्यालय तहबाटै बालबालिकालाई पोषिलो र सन्तुलित खानेकुराका साथै स्वास्थ्य सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो । कार्यक्रम प्रभावकारी देखिएमा थप विद्यालयमा पनि कार्यक्रम संचालन गर्नेे योजना मन्त्रालयको थियो ।  

गाउँपालिकामा संचालनको भएको कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाका थप ३ विद्यालयमा पनि कार्यक्रम संचालन गर्नको लागि मन्त्रालयले परिपत्र गरेको गाउँपालिकाका अध्यक्ष स्वास्थ्य शाखा संयोजक तिमिल्सिनाले बताए । ‘परिपत्र अनुसार विद्यालय छनौटको प्रक्रिया भइरहेको छ,’ ‘तोकिएको निश्चित मापदण्डअनुसार विद्यालय छनौट गर्नुपर्ने हुन्छ । कुन विद्यालय छनौट गर्ने भनेर छलफल भइरहेको छ ।’

बेथानचोकमा संचालन भएको उक्त कार्यक्रम पाइलटिङका लागि गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले बताए । उनका अनुसार त्यहाँ कार्यक्रमको प्रभावकारीता बढेसँगै अहिले थप तीनवटा विद्यालयमा संचालन गरिएको भएको छ । यो कार्यक्रम केही समयपछि जिल्लाका अरु स्थानीय तहका सामुदायिक विद्यालयमा पनि क्रमशः संचालन गर्दै लैजाने प्रमुख कार्कीले जानकारी दिए ।  
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस