
विनोद पाण्डे, बैंकक, माघ २७- नेपाल एसिसी एसिसी यु १९ इलाइट कपको उपविजेता मै सिमित भएको छ। अफगानिस्तानसँग बिहीबार थाइल्यान्ड क्रिकेट मैदानमा ६१ रनको पराजय भोगेपछि नेपालको पाँचौं पटक प्रतियोगिता जित्ने आशा पुरा हुन सकेन।
समूह चरणमा अफगानिस्तानमाथि ६ विकेटको विजय हात पारेकोले आत्मविश्वासी देखिएको नेपाल २ सय १ रनको लक्ष्य पछयाउने क्रममा ४३.१ ओभरमा १ सय ३९ रनमा सीमित भयो। प्रतियोगिताको आठौं संस्करणमा नेपाल फाइनलमा दोस्रो पटक पराजित भएको हो।
३१ रनका लागि चार विकेट गुमाइसकेको अवस्थामा प्रदीप ऐरी र राजेश पुलामीले १ सय १८ बलमा ८३ रनको साझेदारी गर्दा नेपाल विजय तर्फ लम्किएको थियो। तर पुलामी सिधा थ्रोमा रन आउट भएपछि नेपालको अन्तिम ६ विकेट २५ रनमा झरेको थियो। आफनै कलमा रन आउट भएका पुलामीले ७२ बलको सामना गरी २२ रन बनाए।

पुलामीसँगै कप्तान राहुलकुमार विश्वकर्मा र कृष्ण कार्की खाता नखोली आउट भएपछि प्रदीप विकेटमा हुँदा पनि नेपालको आशा पातलिएको थियो। बाध्य भएका प्रदीपले ३७ औं ओभरमा ब्याटिड पावर प्ले लिए। त्यसमा भुवन रन आउट भए भने प्रदीपले पनि आफनो धैर्य गुमाउन पुगे।५९ रन बनाएका प्रदीपले लङ अनमा क्याच दिन पुगे। आउट हुन २ रन अघि उनकै क्याच लडअनमा अफगानि खेलाडीले छोडन पुगेका थिए। 'एक्लैले जिताएर फर्किन्छु जस्तो लागेको थियो, तर विकेट झरिहँदा मेरो पनि धैर्य टुटयो, ऐरीले भने। उनले ९३ बलको सामना गरी ३ चौका र एक छक्का प्रहार गरे। अभिनाश कर्णलाई आउट गर्नुको औपचारिकतालाई अफगानिस्तानले धेरै बेर लगाएन र पहिलो पटक यो प्रतियोगिता जित्दै एसिसीमा आफनो बर्चस्वलाई कायम राख्यो।त्यसका बावजुद नेपाली प्रशिक्षक जगत टमाटा नेपाल प्रतियोगिताको उत्कृष्ट टोली बताउँछन्। 'हामीले जसरी प्रतियोगितामा खेल्यौं, त्यसले नै यसको पुष्टि गर्छ, आज हाम्रा प्रमुख चार ब्याटस्म्यान चल्न सकेनन, त्यसले गर्दा हामीलाई खेलमा माथि उठ्न धेरै गाहो भयो, टमाटाले बताए।
अन्तर्राष्टिय प्रतियोगिता जित्ने पहिलो स्वदेशी प्रशिक्षक हुने सपना अफगानिस्तानसँगको पराजयपछि पुरा हुन सकेन।नियमित कप्तान पृथु बास्कोटाको अनुपस्थितिले खेलमा धेरै फरक पारेको टमाटाले बताए। 'पृथु भएको भए हामी फाइनल सजिलै जित्थ्यौं होला', उनले भने। पहिलो दुई खेलमा म्यान अफ द म्याचमा चुनिएका फैजलुर रहमान खान आफुले सामना गरेको पहिलो बलमै आउट हुन पुगे। उनलाई अफगानिस्तानका कप्तान शिर सिरजीले बोल्ड गरे।
एसिसीको क्षेत्रमा निकै तीब्र गतिका बलर मानिएका अफताब आलमले सुवाष खकुरेलको लेग स्टम्प दुई टुक्रा पारिदिए। सुवाषले ६ रनमात्र बनाउन सके। यसअघिका तीन खेलमा अविजित रही १ सय २० रन बनाएका नरेश बुढायेरलाई पनि अफताबले नै बोल्ड गरे। सागर पुन ८ रनमा सिरको शिकार भएका थिए।यसअघि टस जितेर ब्याटिड रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय रन बनाएको थियो। ३० ओभरमा ९० रनमात्र बनाउन सकेको अफगानिस्तानका तल्लोक्रमका खेलाडीले टोलीलाई आशा लाग्दो स्कोर सम्म पुरयाएका थिए।

नेपालको सुरुवात राम्रो हुन सकेन। कृष्ण कार्की बलमा प्रदीपले मिडअनमा असफर खानको क्याच छाडन पुगे। ११ रनमा जीवनदान पाएका ओपनर असफरले ६० बलमा २ चौकासहित २६ रन बनाएर इनिड टिकाएका थिए। ११३ रनमा ५ विकेट गुमाएको अफगानि इनिडलाई मोहिबुल्लाह पाकले ३६ र नुर हकले ३४ रन बनाउदै उकासेका थिए।
पृथुको स्थानमा बलरको रुपमा फाइनल खेलेका विवेक दलीले ३ ओभरमा २० रन खर्चेपछि कामचलाउ बलरको भुमिका निभाएका प्रदीपले पाँच विकेट लिए। म्यान अफ द फाइनल उनले ९ ओभरमा ४३ रन खर्चे। खेलको सुरुवातमा ३ ओभर मेडन फयाकेका कृष्णले २ तथा भुवन र राहुलले १,१ विकेट लिए।