लाइबेरिया– गृहयुद्धको घाउ बिर्सिएर बिस्तारै विकास प्रयासमा रहेको लाइबेरियामा सामाजिक अपराधका घटना बढ्न थालेका छन्। गृहयुद्धले तहसनहस बनाएको मनोरोभा, लिउवार्ड लगायत सहरमा मानव तस्करी, लागूऔषध कारोबारीको सक्रियतासँगै बलात्कारका घटना बढेका छन्।
सरकारी तथ्यांक अनुसार प्रहरीसम्म आइपुग्ने आपराधिक घटनामा बलात्कारका घटना सबैभन्दा बढी छन्। बलात्कार पीडितमा किशोरीहरूको संख्या बढी छ। लाइबेरियामा रहेको राष्ट्रसंघीय मिसनसम्म आइपुगेको तथ्यांक अनुसार पछिल्लो समय हत्या, कुटपिट, अपहरण, लागूऔषध र मानव तस्करीसम्बन्धी आपराधिक घटना बढेको देखिन्छ। आत्महत्या र सवारी दुर्घटनाका घटना पनि प्रशस्त हुने गरेका छन्।
यीमध्ये बलात्कारका घटना सबैभन्दा बढी हुने गरेको देखिन्छ। ११ मार्च २०१४ को तथ्यांक अनुसार मनोरोभामा १७ वर्षको किशोरी एक युवकवाट बलात्कार भइन्। सोही दिन लिवार्ड सहरमा ४ वर्षिय बालिका बलात्कारको सिकार बनिन्। त्यसको भोलिपल्ट मनोरोवामै २७ वर्षे युवती र १३ र १६ वर्षका किशोरीको बलात्कृत भइन्।
कानुनी प्रक्रियाबारे जानकारहरूका अनुसार बलात्कारबाट पीडित हुनेले नै घटना पुष्टि गर्नुपर्ने अनुसन्धान प्रक्रियाका कारण अधिकांश घटना प्रहरीसम्म पुग्दैन। जो पीडित हो, उसैले आफू बलात्कारको सिकार भएको स्वास्थ्य परीक्षणको रिर्पोटसहित आएपछि मात्रै स्थानीय प्रहरीले घटना दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने यहाँको अनुसन्धान प्रक्रिया रहेको लाइबेरियामा खटिएको नेपालका सशस्त्र प्रहरीका एसपी गोपाल गुरुङले जनाए।
प्रहरीसम्म सबै प्रक्रिया पूरा गर्न १ सय अमेरिकी डलरभन्दा बढी खर्च हुन्छ। खर्चिलो प्रक्रियाकै कारण बलात्कारको सिकार भए पनि पीडित प्रहरीसम्म आउन सक्दैनन्। एक तथ्यांक अनुसार करिब ४५ लाख जनसंख्या भएको लाइबेरियाको ९० प्रतिशत जनता राजधानी मनोरोभियामै छन्।
सन् २००३ बाट राष्ट्रसंघीय मिसनमार्फत विभिन्न देशका सेना र प्रहरी लाइबेरियामा आएसँगै हिंसात्मक घटना भने नियन्त्रणमा आएको छ। राष्ट्रसंघमार्फत शान्ति स्थापनामा खटिएका सुरक्षाकर्मीको सक्रियताका कारण दंगा नियन्त्रणमा छ। विद्रोही समूह शान्तिप्रक्रियामा छन्।
सैनिक हवल्दार स्यामल डोबाट भएको विद्रोह सुरुमा जातीय हुँदै पछि वर्गबीच द्वन्द्व बढ्दा प्राकृतिक स्रोतले सम्पन्न लाइबेरिया संकटमा पुगेको थियो। यहाँ ४५ लाख जनसंख्याका लागि ५ हजार प्रहरी छन्। १५ काउन्टी रहे पनि अधिकांश प्रहरी राजधानीमै कार्यरत छन्।
प्रहरीको क्षमता वृद्धिलगायत काममा राष्ट्रसंघको आग्रहमा शान्ति मिसनमा नेपालसँगै भारत, चीन, जोडर्न र लाइबेरियाको सशस्त्र प्रहरी कार्यरत छन्। लाइबेरियामा जारी शान्ति प्रक्रिया टुंगोमा पुर्याउन संयुक्त राष्ट्रसंघको लाइबेरिया मिसन (अनमिल)अर्न्तगत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न देशबाट सुरक्षाकर्मी खटिएका छन्।