विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स-वान’ ले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
स्विडेनी मूलको अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको उक्त विमानले न्युयोर्कको आकाशमा २७ मिनेटसम्म ब्याट्रीको ऊर्जाबाट मात्रै उडान भरेर उड्डयन इतिहासमा नयाँ फड्को मारेको हो।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को विशेष परीक्षण प्रमाणपत्र पाएपछि न्युयोर्कस्थित प्ल्याट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले १ हजार १ सय फिटको उचाइ तय गरेको थियो।
३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा बनेको करिब ११ हजार ३४० किलो तौल भएको यस विमानमा परीक्षणका क्रममा पाइलट मात्र सवार थिए।
१०६ फिट लामो पखेटा र ७६ फिट लम्बाइ भएको यो विमानले उडानका क्रममा १ मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो।
विश्वबजारमा हवाई इन्धनको मूल्य आकासिएर प्रतिग्यालन ३.५० डलर पुगेका बेला भएको यस परीक्षण उडानमा जम्मा ५ डलर बराबरको बिजुली मात्र खर्च भएको कम्पनीले जनाएको छ।
हार्ट एरोस्पेसका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डरस फोर्सलुन्डले यो परीक्षणले व्यावसायिक विमानको स्तरमा विद्युतीय उडान सम्भव छ भन्ने प्रमाणित गरेको बताए।
उनले विद्युतीय प्रविधिले एयरलाइन्सहरूको सञ्चालन खर्च उल्लेख्य घटाएर भविष्यमा हवाई भाडा सस्तो बनाउन मद्दत पुग्ने दाबी गरे।
यो परीक्षण विमान सिधै व्यावसायिक सेवामा भने जाने छैन। कम्पनीले यसलाई सन् २०३१ सम्ममा व्यावसायिक रूपमा बजारमा ल्याउने तयारी गरेको ३० सिटे ‘ईएस–३०’ हाइब्रिड–विद्युतीय विमानको प्राविधिक परीक्षणका रूपमा प्रयोग गरेको हो।
अमेरिकाको लस एन्जलसस्थित प्लान्टमा निर्माण भइरहेको ईएस-३० को पहिलो उडान परीक्षण सन् २०२८ मा गर्ने तालिका छ।
यस परियोजनामा युनाइटेड एयरलाइन्स, एयर क्यानडा र जेएसएक्स जस्ता ठूला वायुसेवा कम्पनीहरूले लगानी तथा चासो देखाएका छन्।
युनाइटेड एयरलाइन्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) माइकल लेस्किनेन र एयर क्यानडाका सीएफओ जोन डि बर्टले यस सफलतालाई हरित र दिगो उड्डयनको महत्त्वपूर्ण कोशेढुङ्गा भन्दै स्वागत गरेका छन्।
हार्ट एरोस्पेसका अनुसार परम्परागत क्षेत्रीय विमानहरूको तुलनामा यो हाइब्रिड विमान सञ्चालन गर्न ४० प्रतिशतभन्दा बढी सस्तो हुनेछ।
ब्याट्रीको सस्तो ऊर्जा, मर्मत खर्चमा आउने भारी गिरावट र कार्बन उत्सर्जन कर तिर्नु नपर्ने भएकाले एयरलाइन्सहरूलाई ठूलो आर्थिक लाभ हुने कम्पनीको दाबी छ।
विमानको तौल र ब्याट्री क्षमताका कारण पूर्ण रूपमा ब्याट्रीबाट मात्रै लामो दूरीका व्यावसायिक उडान भर्न अझै प्राविधिक चुनौती छ।
एक्स-वान ब्याट्रीबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता ५०० माइलसम्म पुग्नेछ।
विश्वभर विद्युतीय उड्डयन क्षेत्रमा अन्य कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धामा छन्। रोल्स-रोयसले द्रुत गतिको विद्युतीय विमान, हार्बर एयरले ६ सिटे विद्युतीय सिऔप्लेन तथा जोबी एभिएसन र आर्चर एभिएसनले छोटो दूरीका भर्टिकल टेकअफ विमान विकास गरिरहेका छन्।
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'
पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।
अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।
यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।
संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...