अध्यक्ष ओली भन्छन्ः समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ
१५ असार २०८१
•
१२ मिनेट पाठ
अध्यक्ष ओली भन्छन्ः समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुन्। शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंशः 




जननेता स्व मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे यहाँले पनि विभिन्न सन्दर्भमा चर्चा गर्दै आउनुभएको छ। यहाँले मदन भण्डारीलाई आजका दिनमा कसरी सम्झनुहुन्छ?

म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ। वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु। मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी। मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु। तर दुःखद् कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो। नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन।

खासगरी मदन भण्डारीसँग यहाँको पहिलो भेट तथा राजनीतिक सहकार्यका मुख्यमुख्य सन्दर्भहरु स्मरण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

मेरो उहाँसँगको भेट र त्यसपछि विछोडको अवधिको कुरा गर्दा यो अवधि धेरै लामो रहन सकेन। विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो। त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ। उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरुको टोली लिएर कैलालीको धनगढीमा अध्ययनका लागि जाने तयारीमा थिएँ। त्यस भ्रमणबारे जानकारी गराउन उहाँसँग भेट भएको थियो।

कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दाेरहेछ। कार्लमाक्र्स र फेडरिक एङ्गेल्स्ले करिब २६ वर्षको उमेरमा भोल्तेयर भन्ने दार्शनिकको नामको होटेलमा बसेर वैचारिक छलफल सुरु गर्दै जाँदा १० दिनसम्म छलफल गरेर समाज परिवर्तनका लागि आफूहरुका समान विचार छन् र ती महान् उद्देश्यका छन् भनेर निचोड निकाल्नुभएको थियो। र उहाँहरुले तीनै विचारमा रहेर सहकार्य गर्ने निष्कर्षसहित माक्र्सवादी दर्शन, सामाजिक र आर्थिक विकासका चिन्तनहरु अघि सार्नुभयो।

त्यस्तै जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ। हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो। उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो। त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुरा भयो। उहाँको दुःखद् निधन भयो। म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान उद्देश्यलाई अगाडि बढाइरहेको छु। उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ।

जनताको बहुदलीय जनवाद त्यस समय मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, त्यस समय त्यो सिद्धान्त उहाँले किन प्रतिपादन गर्नुभयो होला? अहिले पनि नेपालका सबै कम्युनिष्टलाई यो जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन?

मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो। जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो। त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो। यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन्। त्यसमा एमाले सुस्पष्ट छ नै। यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन। अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन्। मैले यहाँका अरु कसैसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन।

आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ। ती केबल आफ्ना स्वार्थहरुको तुष्टिका लागि अलगअलग भएका हुन्। स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामथ्र्य तिनमा छैन भन्नेमा म स्पष्ट छु। दणिणपन्थी सेवामा खुसी हुने कतिपय कम्युनिष्ट नामका समूहले अधिवेशन, महाधिवेशन गर्दै गरेको र त्यहाँभित्र फलानो तिलानो नेताबीच नेतृत्वमा प्रतिस्पर्धा भएको आदि जस्ता भन्ने गरेको अहिले सुनिएको पनि छ। जबकी ती समूह राष्ट्रिय दल नै हुन सकेका छैनन्, त्यहाँ कोही नेतृत्वमा आएर वा नआएर देशलाई के हुन्छ ? केही फरक पर्दैन ? त्यो त हावामा कुस्ती खेलेको जस्तो मात्रै हो भन्ने मलाई लाग्छ।

म फेरि पनि भन्छु, जबज देश बनाउने वैचारिक र व्यावहारिक बाटो हो। मदन भण्डारीले कसैप्रति आग्रह राखेर यो विचार ल्याउनुभएको थिएन। त्यसबेला पनि राजनीतिकरुपमा कम्युनिष्ट आन्दोलनका नाममा जे–जस्ता नक्कलवादी सोचहरु पैदा भएका थिए, ती सोचहरुलाई अस्वीकार गर्दै भण्डारीले सिद्धान्त रट्ने र जप्ने चिज होइन, जीवन र परिवर्तनका लागि सिद्धान्तको प्रयोग हुनुपर्छ भन्ने सोच राखेर नै यो सिद्धान्तलाई अघि सार्नुभएको हो। उहाँले जडसूत्रमा कहिल्यै विश्वास गर्नुभएन। सिद्धान्तले राम्रो व्यवहारका लागि काम गर्नुपर्छ भन्ने सोचका साथ तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर बहुदलीय प्रणालीलाई स्थापित गर्न जबज ल्याइएको हो।

खासगरी २०४६ सालको जनआन्दोलनको सफतालपछि नेपाली जनताका आकाङ्क्षाहरु समाज र लोकतान्त्रिक अभ्यासमा दत्तचित्त भएर अगाडि बढ्न सकोस्, शान्ति र न्यायको पालना होस् भन्नका लागि जबज ल्याइएको थियो। अहिले पनि नेपाली समाजमा असमानता र विभेदहरु छन्। अराजकता छँदैछ। जनआन्दोलन जनअधिकारका लागि भएको थियो। मानवअधिकार, शान्ति, सुरक्षा र सम्मानका साथ सुविधायुक्त जीवन बाँच्न पाउने अधिकारका लागि हामीले काम गरिरहेका छौँ। यी कुरा संविधानमा लेखिएकाले मौलिक हक भएका होइनन् कि मौलिक हक भएकाले हामीले मानवअधिकार, शान्ति र सुरक्षाका कुरा संविधनमा मौलिक हकका रुपमा व्यवस्था गरेका हौँ। मुलुकमा सुशासन होस्, पारदर्शीता होस्, मर्यादाको पालना होस् भन्ने हाम्रो चाहना हो। अहिले त्यस्तो हुन सकिरहेको छैन।

समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदित खस्कँदै गएको छ। अहिलेको जस्तो मर्यादाहीन स्थिति मलाई लाग्छ यसअघि नेपालको इतिहासमै थिएन। राज्यको एक अङ्गका रुपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम अहिले देशमा भइरहेको छ। संसद्मा कस्ता छलफल हुने गरेका छन् ? यो यहाँहरुले, सबै देशवासीले देख्नुभएकै छ। पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो। त्यही अवस्थाको अन्त्य र नेपाली नागरिकको भविष्य सुनिश्चित गर्नकै लागि तथा त्यस्तो नराम्रा कुराहरु इतिहासमा नरहुन् भनेर नै जबज ल्याइएको हो। र, यो जबजको विचार कुनै ऋषिमुनिले ध्यानागत भएर प्राप्त गरेको विचार होइन। मदन भण्डारीको नेतृत्वमा समाज परिवर्तनका क्रममा सामूहिक प्रयत्नका माध्यमबाट व्यवहारसँग जोडिएको चिन्तनको विश्लेषण र संश्लेषण गरेर मात्र यो ल्याइएको हो।

त्यसैले कम्युनिष्ट पार्टीहरुको एकताको कुरा यहाँले जुन गर्नुभयो, त्यसोभन्दा पनि जबजको मान्यताभित्र सबै एकत्रीत हुँदा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा हुन सक्छ। अहिले त कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र प्रतिक्रियावादीका मतियारहरु, राष्ट्रियहित विरोधीहरु पनि देखिएका छन्। उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन्। तर सक्दैनन्। केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन्। तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ। तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने नै छ। त्यसकारण त्यस्ता समूहहरु एमालेमा नआएर बाहिरै बसेको राम्रो हो। साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ। अरु कुनै पनि नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन।

यहाँले इङ्गीत गर्न खोज्नुभएका त्यस्ता समूहरुहरुले पनि त जबजको विचार बोकेका छौँ भन्छन् नी?

त्यो नक्कली कुरा हो। पहिले त उनीहरुले एमालेमै बसेर पार्टी, यसको नीति, उद्देश्य र नेतृत्वका विरुद्ध लड्नुपर्छ भन्ने सोच राख। एमाले एकताबद्ध हुँदा उनीहरुलाई चिन्ता हुन्छ रे। उनीहरुले पार्टीमा आलोचना नभएका, विरोधको चेत नभएकाहरु दास र झोले हुन् भनेर हौवा पिटाउन पनि छोडेनन्। कार्यकर्ता स्वतन्त्र हुनुपर्छ र पार्टीको निर्णय नभई आफ्नाआफ्ना निर्णयमा चल्नुपर्छ भन्ने सोच बोक्नेहरु पार्टीका पक्षधरहरु हुन सक्दैनन्। उनीहरुको विरोधको चेत भनेको एमालेलाई सिध्याउनुपर्छ भन्ने मात्र देखिन्छ। त्यसकारण तिनीहरुले जबजको सक्कली विचार बोकिरहेका छैनन् र बोक्न पनि सक्दैनन्। आफ्नो नीहित स्वार्थका लागि बोके झैँ गरेका मात्रै हुन्।

उनीहरु सही अर्थमा जबजका पक्षपाती हुन् भने एमालेको नीति र नेतृत्वका पक्षमा रहन सक्थे। पञ्चायत ढलेको र राजतन्त्र ढलेको यतिका वर्षपछि पनि अहिले पनि २० दशमलव २६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि छन्। एमालेले गरिबी हटाउनुपर्छ र देश बनाउनुपर्छ भन्दा उनीहरु एमालेको नीति र नेतृत्वको अलोचना गर्नुपर्छ भनेर आए। उनीहरुसँग परिवर्तनको सोच र देश विकासको गति पनि छैन भन्छु म।

जबजको मार्गदर्शनमा रहेर नयाँ नेपाल बनाउने मदन–आश्रितका सपना पूरा गर्ने सङ्कल्प यहाँहरुको देखिन्छ। यहाँले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’लाई जबजको लोकानुवाद हो पनि भन्ने गर्नुभएको छ। समयको विकाससँगै जबजको संशोधन वा परिवर्तन आवश्यक छ भन्ने पनि यदाकदा उठ्ने गर्छ। तर यहाँले भने यसमा केही परिवर्तन आवश्यक छैन भन्नुहुन्छ, किन ?

संसारमा परिवर्तन हुने कुराहरुमा मात्र परिवर्तन हुने हो। भूगर्भविद्हरुले भन्छन्, प्रसान्त महासागरमा रहेको प्लेट सर्दैसर्दै आएर तिब्बती प्लेटसम्म जोडिएर आयो। हजारौँ वर्षमा कुनै समुद्र पहाडमा र कुनै पहाड समुद्रमा परिणत पनि भएका कुरा विज्ञहरुले गर्ने गर्छन्।  अर्बाैं वर्षमा हजारौँ सूर्यहरु आउने र विलय हुनेक्रम पनि चलिरहेकै छ। तर विचारमा त्यस्तो हुँदैन। यसरी आउने मिसिने या विलय हुने आदिजस्ता कुरा कुनै पनि विचारका क्षेत्रमा लागू हुँदैन।

जस्तो कि बुद्धले शान्तिको विचार दिए। त्यस समय संसारलाई त्यही आवश्यक थियो र त उनले त्यो विचार दिएका थिए। अहिले त्यसलाई संशोधन गरेर शान्तिको सन्देश आवश्यक छैन, अब यसमा हिंसाको सन्देश राख्नुपर्छ भन्नेर हुन्छ र ? अनि उनले त्यस समयका लागि अत्यावश्यक ठानेर ल्याएको त्यो विचार नै अहिले आवश्यक रहेन त्यसमा संशोधन गरौँ, अब हिंसाको या अर्काे कुनै पनि विषयको कुरा राखौँ भनेर कसैले भन्छ भने त्यो सान्दर्भिक भयो र ? अनि त्यस्तो विचार राख्नु जडसूत्रवादी हुन जान्छ भन्ने ? बुद्धका समयमा उनले समयको आवाज र मागलाई सुनेर शान्तिका लागि काम गरौँ भन्ने सन्देश दिए। उनको मृत्युपछि शिष्यहरुले शान्तिका विचारलाई अध्ययन गरे र त्यो सन्देश लिएर समाजमा हिँडे। आज पनि शान्ति आवश्यक छ, त्यसकारण बुद्धवादको सान्दर्भिकता छ। भोलि शान्तिका पक्षमा हरेक व्यक्ति पुगेमा शान्ति शान्ति भनिरहन आवश्यक पर्दैन।

विश्वमा ठूलाठूला हतियारहरु पनि निर्माण भइरहेका छन्, ती साधन मान्छे मार्न उत्पादन भएका हुन्। पृथ्वी वा वातावरणलाई ध्वस्त पार्न निर्माण गरिएका हुन्। त्यसकारण २६ सय वर्षपछि पनि बुद्धका विचार आवश्यक छ भन्ने देखियो नी त।

यसरी हेर्दा नेपाली समाजको शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समृद्धि हासिल गर्ने काम सकेपछि जबजको औचित्य आफैँ सकिन्छ। अहिले त्यो काम पूरा नभएकाले जबजको औचित्य अझ बढी आवश्यक रहेको छ। जुन सिद्धान्तले जे उद्देश्य राखेर आएको छ, त्यसको औचित्य नै पूरा भएको छैन, काम नै सकिएको छैन भने अहिले संशोधनको औचित्यहीन बहस किन चलाउने ? यस्तो कुरा किन गर्ने ? जस्तो कि रोपाइँ सकिएपछि खेतबाट रोपाहार र बाउसेहरु बाहिर निस्कन्छन्। हातगोडा धुन्छन्, हिलो झार्छन् र आफ्नो बाटो लाग्छन्। उनीहरुलाई दिनदिनै यो कुरा सिकाइरहनुपर्छ र ? पर्दैन नी। हरेक दिन आफ्नो काम सकिएपछि के गर्ने भन्ने उनीहरुले आफैँ बुझेका हुन्छन्। त्यस्तै कुनै पनि विचारले लिएको उद्देश्य र यसको सान्दर्भिकता सकिएपछि पनि त्यो विचार स्वतः सकिन्छ। यहाँ कोही विद्वान पल्टिएर जबजमा मैले यो थपेँ, त्यो संशोधन गरेँ या गर्न लगाएँ भन्ने गरेको पनि म सुन्छु। त्यो बेकारको कुरा हो। हामीले जबजलाई जनभाष्यमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा रुपान्तरण गरेका छौँ, त्यो पूरा नभएसम्म जबजको औचित्य रहिरहन्छ। आजका दिनमा यसको औचित्य अझ बढी छ भन्ने मेरो निष्कर्ष हो।

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ। एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नी ?

जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ। नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन्। दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो। मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे। हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन। अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो। यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो। यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए। यसको रहस्य पनि खुल्छ कुनै दिन।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ। तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन। छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो। हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ। अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ। तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन। दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ। पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ। यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ।

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ। त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन। पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ। पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन।

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।  

(राससका प्रमुख समाचारदाता एकराज पाठक र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले एमाले अध्यक्ष ओलीसँग गरेको कुराकानीमा आधारित)
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस