संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ: सभामुख
०३ असोज २०७९
•
१२ मिनेट पाठ
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ: सभामुख
नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ।  दुई÷दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ। सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ।  बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएको छ।




यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ। ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ। प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग अन्तरर्वार्ताको सम्पादित अंश:

नेपालको संविधान जारी भएपछि गठन भएको प्रतिनिधिसभाको अधिवेशन शनिबार मध्यरातदेखि सकिएको छ। संसद्काे नेतृत्वका आधारमा यहाँले यो संसद्काे कार्यकाल र भूमिकालाई कसरी लिनुहुन्छ?

यो कार्यकाल धेरै उतार चढावपूर्ण रह्यो। समस्या र चुनौतीहरु खडा भए। तर ती चुनौती र समस्यालाई सामना पनि भयो। समग्रमा यो कार्यकाल चुनौती र समस्याका बाबजुद सफल भयो भन्ने लाग्छ। प्रतिकूल परिस्थितिका बीचबाट पनि संसद्ले आफ्नो काम कारबाही अगाडि बढायो। विश्वव्यापीरुपमा देखापरेको कोरोना महामारी, राजनीतिक सङ्कट र जलवायु परिवर्तनको सङ्कटलाई झेल्दै प्रतिनिधिसभाले आफ्ना कामममा महत्वपूर्ण सफलता हासिल गरेको छ।  

संसद् बैठक अन्त्यपछि यहाँले भविश्यका लागि वर्तमान प्रतिनिधिसभाले दिएको सन्देश स्मरणीय रहनेछ भन्नुभयो। यहाँले के भन्न खोज्नुभएको हो?

थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो। दुई/दुई पटक प्रतिनिधिसभा विघटन र पुनःस्थापना भयो। यस अर्थमा संविधान र व्यवस्थाको रक्षा भएको छ।  हामीले नियमित प्रक्रियाबाट सबै विषय अगाडि बढाएका छौँ। निर्वाचनको घोषणा भएको छ।  समस्या र चुनौती आए पनि समाधान गर्न सकिन्छ भन्ने कुरा पछिल्लो ११औँ अधिवेशनमा मिलेको सफलताले पुष्टि गर्छ।

के आधारमा सफलता मिल्यो भन्न सकिन्छ?

पछिल्लो अधिवेशन बजेट अधिवेशन हो। सो अधिवेशनमा महत्वपूर्ण विधेयक पारित गर्न त सफलता हासिल गर्‍यौँ नै। बजेट अधिवेशन भएर पनि ३० वटा विधेयकमाथि घनिभूतरुपमा छलफल भएर पास हुनु भनेको यो धेरै महत्वपूर्ण उपलब्धि हो। यस्तै सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउने भनेका थियो। साच्चै यो पछिल्लो चरणमा जीवन्त र जनमुखी पनि भयो।  सार्वजनिक महत्वका प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव तथा बैठक स्थगनसम्मका प्रस्तावमा पनि हामीले छलफल चलायौँ। कतिपय राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सभामुखकोतर्फबाट रुलिङ भयो। सम्बन्धित मन्त्रीले जवाफ दिने काम भयो। समग्रमा यो कार्यकाल गौरवपूर्ण नै रह्यो भन्न सकिन्छ।  

के कस्ता विषयमा रुलिङ भए? त्यसले जनतामा के प्रभाव पारेको देख्नुभयो?

प्राकृतिक प्रकोप बाढी, पहिरो, कोरोना महामारी, किसानका समस्यालगायत जनचासोका विषयमा सरकारलाई निर्देशन दिने काम भयो। संसद्काे निर्देशनपछि समस्या समाधाननका लागि सरकारको पहल बढेको छ। महिलाको समानुपातिक, समावेशी सभागिता, मलखादको समस्या समाधान, किसानका अन्य समस्या समाधानमा रुलिङ भयो। त्यसको रुलिङको प्रभाव परेको र सरकारले बढ्ता पहलकदमी लिएको देखिएको छ।

संविधान कार्यान्वयनको दृष्टिकोणबाट संसद्काे भूमिका कस्तो रह्यो?

समग्रमा यो कार्यकालमा कानून निर्माणमा उल्लेख्य सफलता हासिल भएको छ। १०२ वटा विधेयक पारित भएका छन्। मेरो आफ्नो कार्यकालको कुरा गर्दा निकै उतारचढावपूर्ण रह्यो।  विभिन्न खालका चुनौती खडा भए। एक वर्षका अवधिमा दुई/दुई पटक संसद् विघटन र पुनःस्थापना भयो।  विघटन र पुनःस्थापनालाई लिएर सिङ्गो राष्ट्र एक भयो। सडक, सदन र सर्वोच्च अदालतसम्म घनिभूत बहस भयो। विगत असाध्यै सकसपूर्ण देखियो।  जनप्रतिधिमूलक संस्था पुनःस्थापना हुँदा गौरवपूर्ण अवस्था पनि आयो।  

विपक्षी दलले यहाँमाथि विभिन्न आरोप लगाउने काम भयो। यहाँमाथि किन प्रश्न उठ्याे?

यी आरोप निराधार छन्। मैले शपथ लिएपछि आफ्नो भूमिका निष्पक्ष, स्वतन्त्र र तटस्थ हुनुपर्छ भन्ने सङ्कल्प लिएँ। सभामुखको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तटस्थ, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने विषयलाई गहिरो गरी आत्मसात् गरेँ। दोस्रो पटक प्रतिनिधिसभा विघटन हुँदा मैले जवाफ पठाउने क्रममा मैले संसद् पुनःस्थापना हुनुपर्छ भन्ने एजेण्डा मेरो हो।  प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित देशभर प्रदर्शन भइरहँदा मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ निरन्तर भूमिका खेल्दै आएँ। संवैधानिक परिषद्सम्बन्धी विषयमा म आफैँ सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर संविधान मिचिएका विषयमा मुद्दा दायर गरेँ।  संविधान रक्षाका लागि कुनै पनि कसर बाँकी राखिन।  यस अर्थमा मैले स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेको छु। मलाई जुन आरोप लगाउन कोशिस गरियो ती आरोप निराधार थिए भन्ने कुरा पछिल्ला दिनमा शान्दार ढङ्गले पुष्टि भएको छ।

पछिल्ला दिनमा राष्ट्रिय मुद्दामा गहन छलफल भयो। यसअघि नौ महिनासम्म संसद्मा अवरोधको स्थिति पैदा भयो। यसलाई कसरी लिनु हुन्छ?

लगातारको संसद् अवरुद्धले  संसदीय प्रक्रियामा ठूलो असर गर्‍यो। अवरोधका कारण मेरो योग्यता, क्षमता र कौशलको सिर्जनात्मक र रचनात्मक ढङ्गले अगाडि बढाउन बाधा पर्‍यो।  दलबीच समन्वय र समझदारी गर्ने विषयमा मैले बढी समय दिनुपर्‍यो। राष्ट्रिय जीवनका ख्याति प्राप्त व्यक्तित्व, संविधानविद्, विधिवेत्ता, पार्टीका नेता तथा पत्रकारसँग सघन र बृहङ्गम छलफल गरेँ। जतिसुकै चुनौतीको सामाना गर्नु परेपनि हामीले ती चुनौतीलाई चिर्दै काम गर्‍यौँ। तर हामीले चाहेजस्तो वातावरण बनेन।

 संसद् सञ्चालनसम्बन्धी नियमावली कार्यान्वयनका के–कस्ता जटिलता प्राप्त गर्नुभयो?

हाम्रो संविधानले परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था अङ्गालेको छ। यसअर्थमा संविधानको वास्तविक कार्यान्वयनबाट मात्रै संविधान समृद्धि हुन्छ। बौद्धिक बहस छलफलले मात्र हुँदैन। नियमावलीका सन्दर्भमा कतिपय अस्पष्टता, अन्तरविरोध र कमीकमजोरी हुँदाहुँदै पनि संशोधन गर्न नसक्दा त्यसलाई ठीक मान्नु परिरहेको अवस्था छ। दलका बीचमा समझदारी बन्न नसक्दा नियमावली संशोधन गर्न नसक्दा केही जटिलता भए।  मूलभूतरुपमा सदनमा समन्वय र समझदारी कायम गर्नुपर्ने अवस्था रह्यो। केही समय समझदारी गर्न कठिन भयो। सदन अवरुद्ध भइरह्यो।  तर पछि समन्वय र समझदारी भएपछि  संसद् अगाडि बढ्यो।

जनप्रतिनिधिमूलक थलो संसद्मा गणपूरक सङ्ख्या नपुगेका कारण बारम्बार बैठक स्थगित गर्नुपर्ने अवस्था देखियो। किन यस्तो अवस्था आयो?

सांसद जनप्रतिनिधि पनि हुन्। जनप्रतिनिधिले जनताको समस्यामा समाधान गर्न पनि भूमिका खेल्नुपर्ने हुन्छ। सांसदले सदनका कामकारबाहीमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने पनि हुन्छ। अर्कोतर्फ आआफ्नो क्षेत्रमा विभिन्न योजना परोस् भन्ने पनि जनचाहना हुन्छ। योजनाका लागि पलहकदमी लिनुपर्ने दायित्व पनि सांसदमा छ। यी विविध कारणले गर्दा कहिलेकाहीँ पातलो उपस्थितिमा पनि संसद् चलाउनुपर्ने, घण्टी बजाएर सांसदलाई एकीकृत गर्नुपर्ने अवस्था पनि आयो।  एकाध पटक मात्रै गणपूरक नपुगेर संसद्को बैठक स्थगित गर्नुपर्‍यो। तर धेरैजसो समय सबै सांसदलाई एकीकृत गरेर बैठक चलायौँ। तय भएका कार्यसूचीलाई पारित पनि गर्‍यौँ। त्यसमा कुनै अवरोध भएन। त्यसकारण यस विषयलाई मैले सामान्यरुपमा नै लिएको छु।  

सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती विधेयक, शिक्षासम्बन्धी विधेयक, विद्युत् विधेयक जस्ता केही महत्वपूर्ण विधेयकलाई सङ्घीय संसद्ले अगाडि बढाउन सकेन, यसलाई कसरी लिनुहुन्छ?

संसद्को नेतृत्वका हिसाबले सभामुखका तर्फबाट महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने सवालमा कमी भयो भन्ने मलाई लाग्दैन। सङ्घीय निजामती कर्मचारी ऐन नभएको हुनाले त्यसले अलिक ठूलै असर पारिरहेको छ भन्ने देखिन्छ। त्यसले अलिक खट्कने भइरहन्छ नै। अरु केही एकाध विषय पनि छन्। मिडिया काउन्सिल विधेयक पनि थियो। प्रयत्न गर्दागर्दै निष्कर्षमा पुग्न सकेन। कार्यसूचीमा राखेर नै हटाउनु पर्‍यो। पुनःप्रतिनिधिसभाबाट त पठाइयो। तैपनि निष्कर्षमा पुग्न सकेन। एकाध यस्ता विधेयक त छन्। प्रश्नमा भनिए जस्तै यो महत्वपूर्ण विषय छुटेको पक्कै हो। यो छुट्नै नहुने छुटेको छ। अरु पनि महत्वपूर्ण नै छन्, तर यही स्तरमा नै छुट्न नहुने जस्तो लागेको छैन।

पारित भएका विधेयकमध्ये स्मरण गर्नुपर्दा सबैभन्दा महत्वपूर्ण विधेयकका रुपमा कुनलाई छान्नुहुन्छ?

पछिल्लो ११औँ अधिवेशनको कुरा गर्दा के लाग्छ भने ३० वटा विधेयक पास भए। ती सबै विधेयक नै महत्वपूर्ण छन्। ती विधेयकले थप महत्वपूर्णरुपमा काम गर्नका लागि मार्गप्रशस्त गरेका छन्। मेरा विचारमा ती सबै महत्वपूर्ण नै छन्। 

दुईदुई पटकको संसद् विघटन, निरन्तरको अवरोधका साथसाथै कोरोना महामारी जस्ता कारणका बीचमा संसद्काे नेतृत्व गर्दाको अनुभवलाई कसरी स्मरण गर्नुहुन्छ?  

हामीले धेरै जटिलतालाई चिरेर अगाडि बढ्याैं। धेरै गर्व गर्न लायक काम सम्पन्न गरेका छाैं। यसबीचमा सम्पन्न गरेको सबैभन्दा महत्वपूर्ण कामका रुपमा संविधान संशोधन गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यौँ। त्यो वास्तवमा समग्र कार्यकालको र मेरो कार्यकालको सबैभन्दा गौरवपूर्ण काम हो भन्ने लाग्छ। किनभने त्यस विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको थियो। पछिल्ला दिनमा हामीलाई पनि लागेको थियो, गरे त हुँदो रहेछ नी त। गरे त सकिँदो रहेछ नी त भन्ने सन्देश गयो। दलका बीचमा समझदारी कायम गर्न सकिन्छ। सक्नुपर्छ भन्ने कुरामा हामीलाई सधैँभरी आत्मविश्वास जगाइरहनेछ।  

कार्यान्वयन गर्ने कुरामा अझै सम्बन्धित निकायले बुद्धिमत्तापूर्ण, कौशलतापूर्वक र गम्भीरतापूर्वक लाग्नुपर्छ। त्यो धेरै ठूलो विषय हो। हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको परिचयका रुपमा त्यो स्थापित हुनुपर्छ। तर जे भए पनि हामीले संसदबाट निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्‍यौँ। त्यो गर्र्व गर्न लायक विषय नै बन्यो।  

संसदीय काम कारबाहीको खुलापनमा यहाँले निर्वाह गरेको भूमिकालाई कसरी सम्झनुहुन्छ?

संसद् र जनतालाई जोड्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको वास्तवमा सञ्चार जगत नै हो।  हामीले जति खुला गर्न सकियो त्यसले नै खुलापनको निर्धारण गर्छ। संसद् भन्नासाथ स्वतःस्पष्ट नै छ, यो पारदर्शीताको उच्चतम् थलो हो। यो पारदर्शी हुनैपर्छ। यो जवाफदेही हुनैपर्छ। संसद् भनेपछि जनताको आस्था र विश्वासको धरोहर हो। जनताले तीखा नजरले हेर्ने ठाउँ अन्यत्र हुनै सक्दैन। जनताले आशा गर्ने ठाउँ अरु पनि छन् तर सबैभन्दा बढी जनताले आशा गर्ने ठाउँ त्यही नै हो।

त्यसमा सबै जनप्रतिनिधि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश नै त्यहाँबाट सुनुवाइ भएर मात्रै प्रक्रिया अगाडि बढ्छ। संवैधानिक अङ्गका प्रमुख, राजदूत सबैको प्रक्रिया  संसद्बाटै अगाडि बढ्छ। हामी सबैका लागि संसद् साँच्चीकै सर्वोच्च थलो हो। यस अर्थमा यो निकाय पारदर्शी पनि हुनुपर्छ। यो जवाफदेही पनि हुनुपर्छ।  पारदर्शी बनाउनका लागि हामीले सकेजति कोशिस गर्‍यौँ। तर पनि महाव्याधिका कारणले केही अवरोध सिर्जना भए। पारदर्शी भन्नुको अर्थ सञ्चारकर्मीलाई सहज पहुँच दिने कुरा नै सबैभन्दा मुख्य हो। त्यो गर्नका लागि विभिन्न कारणले हामीले चाहेजस्तो पूर्णरुपमा भयो भन्ने अवस्था बनेन।

संसद्भित्र देखिएका विवाद, असहमति र द्वन्द्वको समाधानका लागि आफूले निर्वाह गरेको भूमिकालाई कसरी स्मरण गर्नुहुन्छ?

सदन भनेको सबै कुरा निक्र्यौल हुने थलो हो। स्वभाविकरुपमा त्यहाँ राजनीतिक दल, नेताले छलफल, बहस गर्ने स्थान हो। त्यसकारण संसद् भन्नासाथ स्वतःस्पष्ट के छ भने विवादको निरन्तरता पनि हो। विवादलाई संवादमा रुपान्तरण गरेर समझदारी र सहकार्यतर्फ लैजाने कुरा साँच्चीकै धेरै महत्वपूर्ण कुरा थियो। मलाई के लाग्छ त भन्दा विवादको निरन्तरता पनि भइरह्यो। विवादको निरन्तरताभित्र सहमति, समझदारी र सहकार्यको वातावरण पनि बनाइयो। त्यसैले त हामीले पछिल्लो चरणमा अर्थ विधेयकबाहेक ३० वटा विधेयक पारित गर्न सक्यौँ। धेरै सार्वजनिक महत्वका विषयमा छलफल गर्न सक्यौँ। वादविवाद र संवादको मान्यतालाई कुशलतापूर्वक लागू गर्‍र्यौं जस्तो लाग्छ।

तपाईं विगतमा शिक्षक हुनुहुन्थ्यो। एउटा शिक्षकका रुपमा सभामुखको भूमिकालाई मूल्याङ्कन गर्दा आफूलाई कति नम्बर दिनुहुन्छ?

यो जिम्मेवारी नेपाली जनतालाई नै छाडिदिऔँ। मैले आफूले धेरै कोणबाट नै भन्ने प्रयास गरेँ।  बाँकी मूल्याङ्कनको जिम्मेवारी नेपाली जनताको नै हो। 

सङ्घीय संसद्को नेतृत्वका हिसाबले संसदीय समिति, त्यसका सभापतिको भूमिकालाई यहाँले कसरी लिनुभयो? उहाँहरुको काम कारबाहीप्रति तपाईंको मूल्याङ्कन कस्तो रह्यो?  

सबै संसदीय समितिका सभापतिले मेहनत गर्नुभएको छ। उहाँहरुले परिश्रम गर्नुभएको छ।  उहाँहरुले आफ्नो बुद्धि विवेक लगाएर सही निर्णय गर्ने र सरकारलाई जवाफदेही बनाउने कुरामा पहलकदमी लिनुभएको छ। विविध कारणले गर्दा सबै समितिका सभापतिको बैठक बोलाउने अवसर त मलाई मिलेन। यद्यपि, एक/दुई वटा बैठक त बोलाए। मलाई के लाग्छ भने समग्रमा संसदीय समितिले राम्रो र प्रभावकारी काम गरेको छ। सभापतिले जिम्मेवारपूर्वक काम गर्नुभएको छ।

यही बीचमा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमण पनि भयो। दुई देशबीच संसदीय सहकार्यका विषयमा महत्वपूर्ण सहमति भयो।  खास अर्थमा त्यो भ्रमणको सन्देश के रह्यो भन्ने ठान्नुहुन्छ?

त्यो भ्रमणले हाम्रो संसदीय इतिहासमा नै नयाँ आयाम थपेको छ। धेरै सकारात्मक सन्देश दिएको छ। चीन सरकार र नेपाल सरकारकाबीचमा पहिलेदेखि सुमधुर सम्बन्ध र प्रगाढ रहँदै आएको छ। यति व्यवस्थित ढङ्गको समझदारी यहाँभन्दा अगाडि अर्को देशको संसद्सँग भएको छैन। यो इतिहासमै पहिलो हो।  यो भ्रमणले महत्वपूर्ण सन्देश यो दिएको छ कि अबको बद्लिँदो विश्व परिवेशमा हामीले जनताको जनप्रतिनिधिमूलक संस्था संसद्संसद्बीचको सम्बन्ध, त्यसका माध्यमबाट जनताजनताबीचको सम्बन्धलाई अझ सघन, अझ घनिभूत बनाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेलामा छिमेकी मित्रराष्ट्र जसले अहिले धेरै ठूलो प्रगति गरेको छ। अझ ठोसरुपमा भन्नुपर्दा गरिबी निवारणमा चामत्कारिक सफलता हासिल गरेको छ।  

प्रविधिका माध्यमबाट विकास र निर्माणको काम भएको छ। त्यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। यस अर्थमा हामीले पनि चीनलाई धेरै बुझ्नुपर्ने आवश्यकता थियो। चीनले पनि हामीलाई बुझ्नुपर्ने आवश्यकता थियो। यस अर्थमा चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष, संविधानतः उहाँ राज्यको दोस्रो वरियताको व्यक्तित्व एवं नेता यहाँ आएर चार दिनसम्म बस्नुभयो। सोही क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख पार्टीका नेताहरुलाई भेट्ने र ऐतिहासिकस्थलको भ्रमण गर्ने काम भयो। उहाँहरुले नै निर्माण गरिदिएको सबै हिसाबले व्यवस्थित संसद् भवनमा नै सबै काम केन्द्रित हुनुले भविष्यका लागि सबैलाई सुस्पष्ट मार्गदर्शन गरेको छ। एकअर्कालाई बुझ्ने काम भएको हुनाले पनि वा हामीले गरेका द्विपक्षीय सम्झौता र समझदारी कार्यान्वयन गर्न यसले मजबूत आधार बनाएको छ। यस अर्थमा यो भ्रमण ऐतिहासिक कोशेढुङ्गा सावित भयो भन्ने लाग्छ।  

समझदारीपत्रमा बिआरआईका विषयलाई स्मरण गरिएको छ। केही परियोजना त्यसअन्तर्गत अगाडि बढिरहेका छन्। तर अपेक्षित प्रगति हुन सकेको छैन। जनप्रतिनिधिमूलक थलोबाटै सो परियोजनाका बारेमा स्मरण गरिएपछि अब प्रगतितर्फ लाग्छन् भन्ने ठान्न सकिन्छ?

हाम्रा तर्फबाट राष्ट्रपतिको भ्रमण हुँदा, उताबाट महामहिम राष्ट्रपतिको भ्रमण हुँदा, प्रधानमन्त्रीको भ्रमण हुँदा वा विभिन्न तहमा भ्रमण पनि भएका छन्। पहिल्यै सहमति गरेका कुरालाई देशकै सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाकोतर्फबाट फेरि एकपटक स्मरण गर्नु वाञ्छनीय भएकाले स्मरण गरिएको हो। स्मरण गर्ने कुरा आवश्यक थियो। त्यही आवश्यकता महशुस गरेर स्मरण गराइएको हो। पुनःस्मरणले ती आयोजना कार्यान्वयनका लागि गति प्रदान गर्ने कुरामा सहयोग पुग्छ भन्ने मलाई लाग्छ।
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस