सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो
१४ कार्तिक २०८३
•
२१ मिनेट पाठ
सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो
नेपालको ऊर्जा विकास र विद्युत् व्यवस्थापनमा उल्लेख्य योगदान दिएका कुलमान घिसिङ अहिले उज्यालो नेपाल पार्टीका अध्यक्ष छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा लामो समयदेखि नेपाली जनताले भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न उनले भूमिका निर्वाह गरेका थिए। ऊर्जा विकास र समसामयिक राजनीतिक विषयमा केन्द्रिर रहेर नागरिक फ्रन्टलाइनका लागि सम्पादक बालकृष्ण अधिकारीले घिसिङसँग कुराकारी गरेका छन्।  प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश




रामेछाप भ्रमणबाट फर्किनुभएको छ, जिल्लामा के पाउनुभयो? उज्यालो नेपाल पार्टीको संगठन कस्तो छ?

चुनावपछि आफ्नो जिल्लामा विस्तृत भ्रमण गर्न पाएको थिइनँ। यसपटक रामेछापका आठवटै स्थानीय तहमा पुग्ने योजनासहित केही पालिका भ्रमण गरी फर्किएको छु। उज्यालो नेपाल पार्टीको संगठन देशभर विस्तार गरिरहेका छौं।

रामेछापका धेरै वडामा संगठन बनेको छ, केही ठाउँमा पालिकास्तरको संरचना पनि बनेको छ।  चाँडै वडा तहसम्म संगठन विस्तार पूरा गर्ने लक्ष्य छ। रामेछापका आठवटै पालिका जित्ने उद्देश्यसहित काम गरिरहेका छौं र आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्छौं।

प्राविधिक र प्रशासनिक क्षेत्रमा लामो समय काम गरेको व्यक्ति पार्टी नेतृत्वमा आउँदा कति सहज हुँदो रहेछ? पछिल्लो निर्वाचनले चुनौती देखायो होइन?

पछिल्लो निर्वाचनलाई त्यसरी मात्रै हेर्न मिल्दैन। त्यतिबेलाको राजनीतिक माहोलमा नयाँ पार्टी खोलेर एक महिना मात्र प्रचार गर्न पायौं। हाम्रो चुनाव चिह्न चिम भए पनि समानुपातिकतर्फ अर्को पार्टीको बाँसुरी चिह्नमा मत माग्नुपर्‍यो। यस्तो अवस्थामा पनि करिब दुई लाख मत आउनु जनताले हामीमाथि विश्वास गरेको प्रमाण हो।

प्रशासन चलाएजस्तो पार्टी चलाउन सहज रहेनछ?

प्रशासनिक पृष्ठभूमिबाट राजनीतिमा आउँदा चुनौती हुन्छन् तर मैले करिब ३० वर्ष प्राविधिक तथा प्रशासनिक क्षेत्रमा काम गरेको छु। चिलिमेसहित विभिन्न संस्थाको नेतृत्वमा १२ वर्षभन्दा बढी बिताएको छु। १२/१५ जना मन्त्री र चारजना प्रधानमन्त्रीसँग नजिकबाट काम गरेको अनुभव छ। आफैं पनि मन्त्री भएँ। विद्युत् प्राधिकरणजस्तो ठुलो संस्थामा १६–१८ हजार कर्मचारी, ट्रेड युनियन, राजनीतिक हस्तक्षेप र सेवा प्रवाह व्यवस्थापन गर्नुपर्छ भन्ने अनुभव मसँग छ।

राजनीति गर्न प्राविधिक पृष्ठभूमि बाधक हुन्छ भन्ने धारणा गलत हो। राजनीतिक नेतृत्वले परिवर्तन र जनपरिचालनमा भूमिका खेलेको छ तर आर्थिक रूपान्तरण र विकास व्यवस्थापनमा अपेक्षित नतिजा आउन सकेको छैन। त्यो कमजोरी पूरा गर्न हामी राजनीतिमा आएका हौं। देशका समस्या र समाधानका सम्भावना बुझेर पनि चुप लागेर बस्नु भनेको गलत प्रवृत्तिलाई प्रोत्साहन गर्नु हो। चुनौती सामना गरेर सफल हुने हाम्रो प्रयास रहन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य लामो समय टिकेन। त्यसले तपाईंको राजनीतिक यात्रामा असर पारेको छैन?

राजनीतिमा बेइमानी र षड्यन्त्र पनि हुँदो रहेछ भन्ने अनुभव भयो।  हामी नयाँ पार्टी थियौं, पुराना र स्थापित दलले समेत अपेक्षा गरेभन्दा कमजोर नतिजा ल्याएको निर्वाचनमा हामीले सीमित समयमा करिब दुई लाख मत पायौं। यसलाई अनुभवका रूपमा लिएका छौं। हाम्रो मतलाई दस–बिस गुणा बढाउने लक्ष्य छ। अबको विकल्प उज्यालो नेपाल पार्टी हो।

एकता र अलग हुने निर्णय रहर थियो कि बाध्यता?

रास्वपासँग एकता सबैको सल्लाहमा भएको थियो तर सहमति भंग गर्ने निर्णय उहाँहरूले एकतर्फी रूपमा गर्नुभयो।  उपसभापति डिपी अर्यालले फोन गरेर एकता भंग भएको जानकारी दिनुभयो। तीनजनाबिच सहमति भएको विषयमा निर्णय गर्दा तीनैजना बसेर छलफल गर्नुपर्थ्याे। एकता किन गरियो र किन भंग गरियो भन्ने स्पष्ट जवाफ आजसम्म आएको छैन।

मैले ठुलो पद मागेको भन्ने भाष्य बनाइयो तर मैले साधारण सदस्य भएर पनि काम गर्न तयार रहेको बताएको थिएँ। समानुपातिक मत र उम्मेदवारसमेत छाडेर एकतामा गएको अवस्थामा बाहिरिने कुनै औचित्य थिएन। त्यसैले एकतर्फी निर्णयलाई मैले राजनीतिक बेइमानी भनेको हुँ।

त्यसपछि रास्वपा नेतृत्वसँग भेट वा कुराकानी भएको छैन?

प्रधानमन्त्रीसँग भेट भएका छन् तर रास्वपा सभापतिसँग छैन।

तपाईंका कुरा रास्वपा सभापतिसँग नमिलेको हो, प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध छ। फेरि पार्टी एकता गर्ने वा नयाँ पार्टी बनाउने विषयमा पनि छलफल भइरहेको छ भनिँदै छ?

अहिले हाम्रो ध्यान पार्टी संगठन विस्तारमा छ। रास्वपासँग फेरि एकता गर्ने निर्णय वा योजना छैन।  राजनीतिमा परिस्थिति बदलिन सक्छ। सही समयमा सही मानिसको टोली बन्यो भने सम्भावना नकार्न सकिँदैन। प्रधानमन्त्रीसँग एकपटक भेटेर केही सुझाव दिएको छु तर पछिल्लो समय नियमित छलफल भएको छैन। अहिलेको सरकार सफल होस् भन्ने चाहन्छौं।

उज्यालो नेपालको वैचारिक र आर्थिक रोडम्याप के हो?

नेपालको सबैभन्दा ठुलो आवश्यकता आर्थिक रूपान्तरण हो। त्यसका लागि सुशासन आवश्यक छ। सुशासन भनेको भ्रष्टाचार नियन्त्रण मात्रै होइन, नागरिकले पाउने सेवा छिटो, सहज र पारदर्शी बनाउनु पनि हो। सार्वजनिक कामका प्रक्रिया, आचरण र नतिजा सबै सुशासित हुनुपर्छ।

हामीले हरित क्रान्तिलाई आर्थिक रूपान्तरणको आधार बनाएका छौं। यो जलविद्युत्मा मात्रै सीमित अवधारणा होइन, ऊर्जा, कृषि, पर्यटन, डिजिटल प्रविधि, उद्योग, वन र अन्य उत्पादनशील क्षेत्रलाई समेटेर अर्थतन्त्रलाई हरित र दिगो बनाउने सोच हो।

नेपालले स्वच्छ ऊर्जा प्रयोग गरेर उद्योग, यातायात र डिजिटल अर्थतन्त्र विस्तार गर्न सक्छ। जलविद्युत्, हरित हाइड्रोजन, डेटा सेन्टर र प्रविधिमा लगानी आकर्षित गर्ने सम्भावना छ।

आर्थिक विकासको लाभ तल्लो वर्गसम्म पुग्नुपर्छ।  सामाजिक न्यायको अर्थ जातीय, भाषिक, लैंगिक, धार्मिक र वर्गीय विभेद घटाउँदै पछाडि परेका समुदायलाई अवसर दिनु हो। विकासको उद्देश्य उत्पादन र आम्दानी बढाउनु मात्रै होइन, त्यसको लाभ समाजमा न्यायपूर्ण रूपमा बाँडिनु पनि हो।

नेपालमा पुँजीगत बजेट खर्च गर्ने क्षमता कमजोर छ।  करिब चार खर्ब रुपैयाँको पुँजीगत बजेट विनियोजन हुँदा त्यसको आधाजति मात्रै खर्च हुने अवस्था छ।  रोजगारी र आर्थिक रूपान्तरणका लागि सार्वजनिक लगानी बढाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।

दीर्घकालीन रूपमा वर्षमा २०–३० खर्ब रुपैयाँ बराबरको पुँजीगत लगानीको स्तरमा पुग्ने क्षमता बनाउनुपर्छ। त्यसका लागि पुँजी निर्माण, परियोजना छनोट, कार्यान्वयन क्षमता र लगानीको वातावरण सुधार गर्नुपर्छ। हाइड्रोपावर, कृषि, पर्यटन, औषधिजन्य वनस्पति, डिजिटल प्रविधि र वन क्षेत्र अर्थतन्त्रका उत्पादनशील आधार बन्न सक्छन्। 

वन संरक्षण गर्दै त्यसबाट आर्थिक लाभ लिन सकिन्छ। संरक्षणको अर्थ उपयोग नै नगर्नु होइन, निजी क्षेत्रको लगानी सुरक्षित हुने, नीतिमा स्थिरता हुने र सार्वजनिक–निजी साझेदारी प्रभावकारी हुने वातावरण बनाउनुपर्छ।

कृषि र ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुने सम्भावना कति छ?

अहिले पनि ठुलो परिमाणमा कृषि उपज आयात गर्नुपरेको छ। दाल, चामललगायत खाद्यान्न र अन्य कृषि वस्तुमा निर्भरता घटाउन उत्पादन बढाउनुपर्छ।  उत्पादन मात्रै बढाएर हुँदैन; मल, बिउ, कृषि औजार, भण्डारण, ढुवानी र बजार सुनिश्चित हुनुपर्छ। किसानले उत्पादनको उचित मूल्य पाउनुपर्छ।

ऊर्जामा हामीले उल्लेखनीय प्रगति गरेका छौं।  विद्युत् उत्पादन बढेको छ र निर्यातसमेत भइरहेको छ। विद्युत् प्रयोग गरेर खाना पकाउन, यातायात सञ्चालन गर्न र उद्योग चलाउन सकिन्छ। पेट्रोलियम पदार्थमा निर्भरता घटाउन विद्युतीय चुलो र सवारीसाधन प्रयोग विस्तार गर्नुपर्छ।

२०७२ को नाकाबन्दीका बेला इन्धन र विद्युत् दुवै अभावले नागरिकले भोगेको कठिनाइ सम्झनुपर्छ। अहिले विद्युत् क्षेत्रमा बनेको आधारलाई उपयोग गर्दै ऊर्जा सुरक्षालाई अझ बलियो बनाउनुपर्छ।  

रासायनिक मलको मागअनुसार आपूर्ति हुन सकेको छैन। आवश्यक मलको ठुलो हिस्सा उत्पादन वा आयात गर्न नसक्दा किसान समस्यामा छन्। हरित हाइड्रोजनबाट मल उत्पादन गर्ने सम्भावनासमेत अध्ययन गर्नुपर्छ।  जलस्रोत, कृषि, पर्यटन र संस्कृतिलाई एकीकृत ढंगले उपयोग गर्न सके रोजगारी र आय बढाउन सकिन्छ। हरित अर्थतन्त्रका आधारमा मुलुकको आर्थिक विकास गर्नुपर्छ।

हरित अर्थतन्त्रको कुरा गर्दा नेपालले आफ्नो जलस्रोतलाई आर्थिक रूपान्तरणमा कसरी बदल्न सक्छ?

जलस्रोतलाई मेगावाटको संख्यामा मात्रै सीमित गर्नु हुँदैन; विद्युत् उत्पादन, प्रसारण, वितरण र खपतलाई एकीकृत रूपमा हेर्नुपर्छ। उद्योगले सस्तो र भरपर्दो विद्युत् पाए उत्पादन बढाउन सक्छ। यातायातमा विद्युतीय साधनको प्रयोग बढे पेट्रोलियम आयात घट्छ। घरायसी प्रयोजनमा विद्युत् खपत बढे पनि ऊर्जा सुरक्षामा सहयोग पुग्छ। निर्यात बजारमा भर पर्नु मात्रै पर्याप्त हुँदैन, स्वदेशमै विद्युत् खपत बढाउने उद्योग र प्रविधि विकास गर्नुपर्छ। हरित हाइड्रोजन, डेटा सेन्टर र विद्युत् प्रयोग गर्ने नयाँ उद्योगमा लगानी ल्याउन नीतिगत स्थिरता, पूर्वाधार र दक्ष जनशक्ति आवश्यक हुन्छ।

बत्ती जाँदा र आउँदा जनताले कुलमान घिसिङलाई सम्झन्थे तर काठमाडौं– ३ का जनताको मत जित्न सक्नुभएन।अब यी कुरा गरेर कसरी भोट लिन सक्नुहुन्छ देशभरबाट?

चुनाव जित्न नसकेकोमा जनतालाई दोष दिने वा गाली गर्ने पक्षमा छैन। जनताले आफ्नो निर्णय गरेका हुन्। मैले काम गरेर आएको व्यक्ति हुँ भन्ने मेरो विश्वास छ तर त्यसका आधारमा मतदाताले जिताउनैपर्छ भन्ने हुँदैन। त्यसका विभिन्न कारण हुन सक्छन्।  जनताले नै मूल्यांकन गर्ने कुरा हो।

प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर नयाँ राजनीतिक शक्ति बनाउने तयारी भएको हो?

राजनीतिमा सम्भावना धेरै हुन्छन्। परिस्थिति र समयअनुसार सही व्यक्तिहरूको टोली बन्ने अवस्था आयो भने सम्भावना नकार्न सकिँदैन तर अहिले प्रधानमन्त्रीसँग मिलेर अर्को पार्टी बनाउने विषयमा छलफल भएको छैन। हामी उज्यालो नेपाल पार्टीलाई आफ्नै विचार, संगठन र रोडम्यापअनुसार अघि बढाउँछौं।

दुई तिहाइको समर्थन पाएको रास्वपा नेतृत्वको सरकार सात महिनामा कत्तिको सफल देखिन्छ?

सरकार सफल होस् भन्ने चाहन्छौं तर सफल हुन विगतका गल्ती सच्याउनुपर्छ र आगामी निर्णय परिपक्व ढंगले गर्नुपर्छ। विज्ञ र अनुभवी व्यक्तिको सुझाव लिनुपर्छ। जनताले दिएको विश्वास सधैं रहिरहन्छ भन्ने हुँदैन। सात महिना बितिसकेको छ, अब नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा र नतिजा दिनुपर्छ। जनता सधैं धैर्य गरेर बस्न सक्दैनन्।

प्रधानमन्त्रीसँगको भेटमा भन्नुभएन जनअपेक्षाअनुसार काम हुन सकेन भनेर?

मैले आफ्ना कुरा प्रधानमन्त्रीलाई भनेको मात्र छैन, आवश्यक परे विज्ञता र अनुभवका आधारमा सहयोग गर्न तयार रहेको बताएको छु  तर गलत निर्णय भए चुप लागेर बस्दैनौं। हामी संसद्मा छैनौं, त्यसैले जनताका मुद्दा सडक र अन्य माध्यमबाट उठाउँछौं।  विरोधका लागि विरोध गर्ने होइन, सरकारले सुधार गर्न सक्ने गरी रचनात्मक आलोचना गर्ने हो।

अहिले सरकारले प्राथमिकतामा राख्नुपर्ने काम के हुन् ? के भएन?

दुई तिहाइको सरकारसँग कानुन र नीति अघि बढाउने पर्याप्त अवसर छ। निर्णय गर्न ढिलाइ गर्नुहुँदैन तर निर्णय सही हुनुपर्छ। अहिले नागरिकले महँगी नियन्त्रण, सहज सेवा, रोजगारी र कृषि सामग्रीको उपलब्धता खोजिरहेका छन्। मलको मूल्य र वितरणमा समस्या छ।

अनुदानमा पाइने मलसमेत बिचौलियाले महँगोमा बेच्ने अवस्था नियन्त्रण गर्नुपर्छ।  मल, बिउ, कृषिऔजार र बजार व्यवस्थापनमा सुधार नगरी कृषि उत्पादन र रोजगारी बढ्दैन।  

सरकारले उद्योग, जलविद्युत्, कृषि, पर्यटन र औषधिजन्य उत्पादनजस्ता क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्छ। लगानीकर्ता, कर्मचारी, युवा र सर्वसाधारणको आत्मविश्वास बढ्नु आवश्यक छ।  देशमा काम भइरहेको छ, रोजगारी सिर्जना हुँदै छ र भविष्य राम्रो हुन्छ भन्ने आशा पैदा हुनुपर्छ।  

भ्रष्टाचार वा गैरकानुनी काममा संलग्नलाई कारबाही गर्नुपर्छ तर कारबाही विधिसम्मत हुनुपर्छ। पक्राउ गरेर मात्रै सुशासन कायम हुँदैन, अनुसन्धान र प्रमाण बलियो हुनुपर्छ नत्र अदालतबाट सफाइ पाएपछि कारबाहीको औचित्यमाथि प्रश्न उठ्छ। सुशासन विगतका व्यक्तिलाई समात्ने विषय मात्रै होइन, अहिलेको सेवा प्रवाह, नियुक्ति र सरकारी निर्णय पनि पारदर्शी छन् कि छैनन् भन्ने प्रश्न हो।

नियुक्ति प्रक्रियामा पारदर्शिता चाहिन्छ। राजदूतलगायत सार्वजनिक पदमा नियुक्ति गर्दा स्पष्ट मापदण्ड र खुला प्रक्रिया हुनुपर्छ। विधि पूरा नगरी नियुक्ति गर्ने हो भने सुशासनको दाबी कमजोर हुन्छ। मन्त्रीहरूले धेरै सल्लाहकार र स्वकीय कर्मचारी राख्नुभन्दा मन्त्रालयकै सचिव, सहसचिव र विशेषज्ञ संयन्त्रलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्छ।

मैले तीनवटा मन्त्रालय सम्हाल्दा एकजना स्वकीय राखेको थिएँ र एकजना अवैतनिक सल्लाहकारको सहयोग लिएको थिएँ। मन्त्रालयको स्थायी संयन्त्रलाई पूर्णतः पन्छाएर काम गर्न खोज्दा निर्णय प्रक्रिया नै अवरुद्ध हुन सक्छ।

कर्मचारीतन्त्रको मनोबल पनि महत्त्वपूर्ण छ। सबै कर्मचारी गलत हुँदैनन्। गलत काम गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्छ तर इमानदार र काम गर्न चाहने कर्मचारीलाई जिम्मेवारी र विश्वास दिनुपर्छ। तीसबर्से सेवाअवधि र उमेरसम्बन्धी निर्णयजस्ता विषयमा लामो अन्योल राख्दा संस्थाको योजना र कर्मचारीको मनोबल प्रभावित हुन्छ। सरकारले समयमै निर्णय गर्नुपर्छ र त्यसका असरको विश्लेषण गर्नुपर्छ।

सरकारले लगानीकर्ताको विश्वास पनि जित्नुपर्छ। सबैलाई पक्राउ गर्नु नै समाधान होइन, कानुन उल्लंघन गर्नेले दण्ड पाउनुपर्छ तर लगानी गर्ने वातावरण असुरक्षित बनाउनु हुँदैन। विद्युत्मा मूल्य अभिवृद्धि कर लगाउने, राइड सेयरिङ तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा करसम्बन्धी निर्णय गर्ने र पछि फिर्ता लिनेजस्ता घटनाले नीतिगत स्थिरतामाथि प्रश्न उठाउँछन्। उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी बढाउने स्पष्ट योजना आवश्यक छ।  पुँजीगत बजेट खर्च भएको छैन।

सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्नुको मूल समस्या कहाँ देख्नुहुन्छ?

बजेट विनियोजन हुनु र आयोजना कार्यान्वयन हुनु फरक कुरा हुन्। आयोजना छनोट, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, खरिद प्रक्रिया र निर्माण व्यवस्थापनमा समय लाग्छ। तयारी पूरा नगरी बजेट राख्ने प्रवृत्तिले खर्च कम हुन्छ। सरकारले कार्यान्वयनयोग्य आयोजना छनोट गर्नुपर्छ, जिम्मेवार निकायको जवाफदेहिता तोक्नुपर्छ र कामको प्रगति नियमित सार्वजनिक गर्नुपर्छ। निजी क्षेत्रलाई पनि स्पष्ट नियम र स्थिर नीतिको भरोसा चाहिन्छ। पुँजीगत खर्च बढाउने नाममा गुणस्तरमा सम्झौता गर्नु हुँदैन; खर्चको मात्रा र नतिजा दुवै हेर्नुपर्छ।  

सरकारले त राम्रा काम गरिरहेको रास्वपाका नेताहरूले दाबी गरेका छन्, तपाईंको आलोचना रास्वपासँग छुट्टिनुपर्दाको असन्तुष्टि त होइन?

सरकारले केही गर्न खोजेको छ। सुशासनका लागि भएका केही कदमलाई मैले समर्थन पनि गरेको छु। डिजिटल रूपान्तरणका प्रयास सकारात्मक छन्, यद्यपि केही विषयमा समस्या देखिएका छन्।

प्रधानमन्त्रीको नियतमै गलत छ भन्ने मैले देखेको छैन तर नतिजा प्रधानमन्त्री एक्लैले दिने होइन, टिमले दिने हो। कर्मचारीतन्त्रलाई विश्वासमा लिने, लगानीको वातावरण बनाउने र जनताले प्रत्यक्ष अनुभूति गर्ने कामलाई प्राथमिकता दिनुपर्छ।  समय अझै छ, सरकारले आफ्ना कमजोरी सच्याएर अघि बढ्न सक्छ।

प्रधानमन्त्रीले संसद् र दललाई पर्याप्त महत्त्व दिनुभएको छैन, किन होला?

सुरुमा संसद्लाई पर्याप्त महत्त्व नदिएकोजस्तो लागेको थियो। पछिल्लो समय प्रधानमन्त्री संसद्मा गएर बोल्न र त्यसलाई विश्वासमा लिन थालेको देखिन्छ। प्रधानमन्त्री बनेपछि संसद्सँग संवाद र सहकार्य आवश्यक हुन्छ। विकासका चुनौती, सीमित बजेट, भूराजनीतिक दबाब र जनताका ठुला अपेक्षाबिच समन्वय गरेर काम गर्नुपर्छ।  सीमित स्रोतको अधिकतम उपयोग गर्नु सरकारको क्षमता हो।

अर्थमन्त्रीले भारत भ्रमणका क्रममा ‘राष्ट्रवादको कुरा अब चल्दैन’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयलाई कसरी हेर्नुहुन्छ? नेपालको विदेश नीति कस्तो हुनुपर्छ?

उहाँले कुन सन्दर्भमा भन्नुभयो, त्यो उहाँकै कुरा हो। नेपालको परराष्ट्रनीति असंलग्न हुनुपर्छ। कुनै देशको सुरक्षा वा राजनीतिक पक्षमा अनावश्यक रूपमा पक्षधर हुनु हुँदैन तर आर्थिक सम्बन्धमा हाम्रो निर्भरता फरक–फरक छ। बजार र सीमाका कारण भारतसँग निर्भरता बढी छ तर चीन, युरोप, अमेरिका र अन्य साझेदारसँग पनि सहकार्य गर्नुपर्छ। सबैलाई समेटेर नेपालको हित सुरक्षित गर्ने नीति चाहिन्छ। राष्ट्रवादका नाममा एउटा देशको विरोध गर्ने र सत्तामा पुगेपछि त्यही देशसँग उल्टो व्यवहार गर्ने प्रवृत्ति ठीक होइन।

त्यस्तै छिमेकीले नेपालको सार्वभौमिकता वा आर्थिक हितमा असर पर्ने काम गरे पनि मौन बस्नुहुँदैन। सही विषयमा स्पष्ट बोल्नुपर्छ तर सम्बन्ध बिगार्ने उद्देश्यले विरोध गर्नुहुँदैन। नेपालले आर्थिक रूपमा आत्मनिर्भरता बढाए मात्रै राजनीतिक रूपमा पनि बलियो भएर आफ्नो हितको पक्षमा उभिन सक्छ। ऊर्जा, खाद्यान्न, पानी र डिजिटल सुरक्षामा आत्मनिर्भरता महत्त्वपूर्ण छ। खाद्यान्न बाहिरबाट नआए पनि नागरिकलाई खाना उपलब्ध गराउन सक्ने क्षमता हुनुपर्छ। विद्युत् उत्पादन र प्रयोग विस्तार गर्नुपर्छ।  साइबर सुरक्षा र डिजिटल पूर्वाधारलाई पनि राष्ट्रिय सुरक्षाको हिस्सा मान्नुपर्छ।

भोटेकोसी बाढीपछि उद्धार र राहतमा सरकारको काम कस्तो पाउनुभयो?

भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपद् ठुलो थियो। सानो करिडोरमा मात्रै करिब सात हजारजनाको क्षति भएको अभिलेख छ भन्ने मेरो बुझाइ छ। वास्तविक क्षति अझ बढी हुन सक्छ। घर, जग्गा, परिवार र पूर्वाधारमा ठुलो नोक्सानी भयो।  यस्तो प्रकृतिको विपद्को अपेक्षा गरिएको थिएन।

उद्धारको प्रारम्भिक चरणमा सरकारबाट केही कमजोरी भए।  निर्णयमा ढिलाइ भयो। हेलिकोप्टर परिचालन केन्द्रित भयो र सहयोग गर्न चाहने कतिपयलाई तत्काल घटनास्थल जान सहज भएन। विपद्मा समय निर्णायक हुन्छ। उद्धार र राहतको प्रारम्भिक काम अझ प्रभावकारी हुन सक्थ्यो।  हामीले प्रधानमन्त्रीसँग भेटेर सुझाव दिएका थियौं र घटनास्थलमा पुगेर पनि सहयोगको प्रयास गरेका थियौं।

राहतका लागि सामाजिक संस्था र समुदायले ठुलो सहयोग गरेका छन् तर विस्थापित परिवारले सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरेका छन्। परिवारका सदस्य गुमाएका व्यक्तिलाई अन्त्येष्टि र संस्कार गर्नसमेत कठिन भएको छ।  राहत कोषमा ठुलो रकम जम्मा भएको भनिएको अवस्थामा पीडितलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्छ। कानुनले वाधा पुर्‍याएको हो भने आवश्यक संशोधन वा विशेष व्यवस्था गर्नुपर्छ।  राहतको पैसा पूर्वाधारमा मात्रै खर्च गर्ने होइन, पीडितको तत्कालीन आवश्यकता, पुनस्र्थापना र जीविकोपार्जनमा पनि उपयोग गर्नुपर्छ।

दुई महिना बित्यो, काम भएन?

हो। दुई महिना बितिसक्दा पनि स्थायी पुनर्स्थापनाको स्पष्ट योजना देखिएको छैन। सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो। विस्थापित परिवार लामो समयसम्म अस्थायी शिविरमा बस्न सक्दैनन्। बालबालिकाको पढाइ बिग्रिएको छ। परिवारका सदस्य अलग–अलग ठाउँमा छन् र मानसिक तनाव बढेको छ। उनीहरूको बसोबास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सामाजिक पुनर्स्थापनालाई एकैसाथ सम्बोधन गर्नुपर्छ। प्रभावित क्षेत्रको सभ्यता र समुदायको जीवनशैली नै खल्बलिएको छ। त्यसैले सरकारले स्थानीय समुदायसँग परामर्श गरेर विस्तृत मास्टर प्लान बनाउनुपर्छ।

सडक सुचारु हुँदै छन्, बेलीब्रिज निर्माण भएका छन्, काम त भइरहेको देखिन्छ, होइन र?

पुल बनाउन आवश्यक छ तर त्यसैले मात्रै विपद् व्यवस्थापन पूरा हुँदैन। उद्धार, राहत, अस्थायी आवास, स्थायी पुनस्र्थापना र पूर्वाधार पुनर्निर्माणलाई एउटै योजनामा जोड्नुपर्छ। कुन परिवार कहाँ बस्ने, जोखिमयुक्त बस्तीलाई कसरी सुरक्षित स्थानमा सार्ने र प्रभावित क्षेत्रको सडक, पुल, विद्यालय तथा अन्य संरचना कसरी पुनर्निर्माण गर्ने भन्ने स्पष्ट हुनुपर्छ।  पीडितले सरकारको योजना र समयसीमा थाहा पाउनुपर्छ।  त्यसअनुसार काम भएन।

बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन जोखिम घटाउन के गर्नुपर्छ?

विपद् आएपछि मात्रै सक्रिय हुने अभ्यास बदल्नुपर्छ। जोखिमयुक्त बस्ती, नदी किनार, सडक, पुल र ऊर्जा पूर्वाधारको नक्सांकन गरेर पूर्वतयारी गर्नुपर्छ।  मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना स्थानीय समुदायसम्म समयमै पुग्ने व्यवस्था हुनुपर्छ। उद्धार सामग्री, सञ्चार, हेलिकप्टर र सुरक्षा निकायको परिचालनबारे पहिल्यै कार्ययोजना हुनुपर्छ। पुनर्निर्माण गर्दा पहिलेको संरचना जस्ताको तस्तै बनाउने होइन, भविष्यको जोखिम घट्ने गरी डिजाइन र स्थान छनोट गर्नुपर्छ। प्रभावित परिवारलाई निर्णय प्रक्रियामा सहभागी गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

भोटेकोसी बाढीले जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहनेलाई निरुत्साहित गर्दैन? ऊर्जा पूर्वाधारको भविष्य कस्तो देख्नुहुन्छ?

यस्तो विपद्लाई ऊर्जा विकास नै रोक्ने कारण बनाउनु हुँदैन। जोखिमलाई गम्भीर रूपमा बुझेर योजना, डिजाइन र निर्माणका मापदण्ड सुधार्नुपर्छ। जलविद्युत् आयोजनाको स्थान छनोट, बाढी र पहिरोको जोखिम, नदी बहाब, भूगर्भीय अवस्था र पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्छ।  विपद्पछि आयोजना तथा प्रसारण पूर्वाधारको जोखिम पुनर्मूल्यांकन गर्नुपर्छ।

नेपालको आर्थिक विकासमा ऊर्जा क्षेत्र आधारभूत छ। जलविद्युत् उत्पादन बढाउने सम्भावना ठुलो छ तर मेगावाटको सम्भावना गनेर मात्रै हुँदैन। उत्पादित ऊर्जा कसरी उपयोग गर्ने, स्वदेशी उद्योग र यातायातमा कसरी खपत बढाउने, निर्यात बजार कसरी सुनिश्चित गर्ने र आयोजना समयमै कसरी सम्पन्न गर्ने भन्ने महत्त्वपूर्ण हो।

लोडसेडिङ अन्त्य भएयता तपाईंको नाम चर्चामा रह्यो। अहिले पनि त्यस उपलब्धिको श्रेय तपाईंलाई दिइन्छ। विद्युत् प्राधिकरणमा भएको कमजोरी पक्षचाहिँ कसमा पर्छ ?

त्यो जनताले मूल्यांकन गर्ने विषय हो।  २०७३ सालमा विद्युत् प्राधिकरणमा आउँदा जलविद्युत् उत्पादन सीमित थियो र लोडसेडिङ ठुलो समस्या थियो। उत्पादन र आयात व्यवस्थापन, चुहावट नियन्त्रण, संस्थागत सुधार र विद्युत् बिक्री बढाउने काम एकसाथ गर्नुपरेको थियो।

लोडसेडिङ अन्त्य कुनै एक व्यक्तिले मात्रै गरेको काम होइन; प्राधिकरणका कर्मचारी, प्राविधिक टोली र सम्बन्धित निकायको सामूहिक प्रयास थियो। नेतृत्वको काम भनेको उपलब्ध स्रोतको सही व्यवस्थापन गरेर नतिजा दिनु हो।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने विषयमा तपाईंले लामो समयदेखि आवाज उठाउँदै आउनुभएको छ, अहिलेको विवाद के हो?

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका ग्राहकबाट उठाउनुपर्ने बक्यौता नउठाउने र सर्वसाधारणबाट नियमित शुल्क उठाउने व्यवहार उचित हुँदैन। बक्यौता उठाउने विषयमा प्रमाण छैन भनिएको छ तर मैले सम्बन्धित संसदीय समितिलाई कागजात उपलब्ध गराएको छु। त्यसको निष्पक्ष छानबिन हुनुपर्छ।  कसले कति विद्युत् प्रयोग गर्‍यो, कुन अवधिको शुल्क बाँकी छ र कानुनअनुसार कति रकम उठाउनुपर्ने हो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ।

बक्यौता उठाउने विषयमा निर्णय गर्दा राजनीतिक वा व्यावसायिक दबाबमा पर्नु हुँदैन। कानुन र प्रमाणका आधारमा निर्णय हुनुपर्छ। राज्यको आम्दानीसँग जोडिएको विषय भएकाले सरकारले स्पष्ट धारणा बनाउनुपर्छ। अहिलेको सरकार फरक ढंगले आएको दाबी गर्छ भने उसले पनि बक्यौता उठाउने विषयमा निष्पक्ष र पारदर्शी निर्णय गर्नुपर्छ।

यही विषयमा तपाईंलाई प्राधिकरणको नेतृत्वबाट हटाइएको हो भन्ने तपाईंको बुझाइ हो?

मलाई पदबाट हटाउने निर्णय त्यही विवादसँग जोडिएको थियो भन्ने मेरो बुझाइ हो। कार्यकाल बाँकी हुँदाहुँदै हटाइयो। बक्यौता उठाउनुपर्ने विषयमा मैले अडान लिएको थिएँ तर यो विषय व्यक्तिगत विवादका रूपमा होइन, सार्वजनिक हित र कानुनी दायित्वका रूपमा हेर्नुपर्छ।  रकम उठाउनुपर्ने हो भने प्रमाणका आधारमा उठाउनुपर्छ र नउठाउने हो भने पनि त्यसको कानुनी आधार स्पष्ट गर्नुपर्छ।

तपाईं ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहँदा प्राधिकरणका केही अधिकारीमाथि कारबाहीको प्रश्न पनि उठेको थियो। पदमा हुँदा र बाहिर हुँदा दृष्टिकोण फरक हुन्छ?

पदमा हुँदा जिम्मेवारी फरक हुन्छ।  निर्णय गर्दा उपलब्ध समय, कानुनी अधिकार र संस्थाको हित हेर्नुपर्छ। कसैसँग व्यक्तिगत बदला लिन निर्णय गरिएको होइन। सीमित समयभित्र गर्नुपर्ने काम थिए। सार्वजनिक संस्थामा काम गर्ने व्यक्तिको मूल्यांकन काम र जिम्मेवारीका आधारमा हुनुपर्छ।  नियम उल्लंघन भएको छ भने कारबाही हुनुपर्छ तर त्यो प्रक्रिया र प्रमाणका आधारमा हुनुपर्छ।

विद्युत् प्राधिकरणको नाफाबारे विभिन्न दाबी भइरहेका छन्, तपाईंको नेतृत्वमा प्राधिकरण नाफामा गएको र पछि नाफा घटेको तथ्यलाई कसरी स्पष्ट गर्नुहुन्छ?

२०७३ साल भदौमा म प्राधिकरणमा आउँदा आर्थिक वर्ष २०७२/७३ को तथ्यांकअनुसार प्राधिकरण करिब आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो। अघिल्ला पाँच वर्षको सञ्चित घाटा करिब ३४ अर्ब ६० करोड रुपैयाँ थियो। विद्युत् महसुल नबढाई चुहावट घटाउने, व्यवस्थापन सुधार्ने, लागत नियन्त्रण गर्ने, विद्युत् बिक्री बढाउने र आयात व्यवस्थापन गर्ने काम गर्‍यौं। पहिलो वर्षमै घाटाबाट नाफामा पुग्यौं। त्यसपछि केही वर्ष वार्षिक नाफा १२–१३ अर्ब रुपैयाँसम्म पुगेको थियो।

यी तथ्यांक मेरो व्यक्तिगत दाबी मात्रै होइनन्, प्राधिकरणका वित्तीय विवरण र महालेखा परीक्षकको लेखापरीक्षणसँग सम्बन्धित छन्। त्यसपछि नेतृत्व परिवर्तन हुँदा नाफा घटेको र पुनः व्यवस्थापन फेरिँदा बढेको अनुभव पनि छ। संस्थाको नाफा उत्पादन, खरिद, चुहावट, खर्च र व्यवस्थापनको दक्षतासँग जोडिन्छ। त्यसैले एउटै वर्षको तथ्यांकलाई अलग्याएर निष्कर्ष निकाल्नुहुँदैन, वर्षैपिच्छेको लेखापरीक्षण विवरण हेर्नुपर्छ।

मेरो नेतृत्वमा प्राधिकरणले नाफा गरेको तथ्यलाई गलत प्रमाणित गर्ने आधिकारिक निष्कर्ष आएको छैन भन्ने मेरो भनाइ हो।

विद्युत् प्राधिकरणको वित्तीय विवरणबारे विवाद हुँदा सर्वसाधारणले कसरी विश्वास गर्ने?

सार्वजनिक संस्थाको हिसाबकिताब तथ्यमा आधारित र सबैले जाँच्न सक्ने हुनुपर्छ। वार्षिक नाफा वा घाटा मात्रै होइन, सञ्चित नाफा, ऋण, लगानी, विद्युत् खरिद लागत, चुहावट र ग्राहकबाट उठ्न बाँकी रकमसमेत खुलाउनुपर्छ।

लेखापरीक्षण भएका विवरण सार्वजनिक गरेर फरक दाबीको आधार स्पष्ट पार्नुपर्छ। राजनीतिक रूपमा एकअर्कालाई आरोप लगाउँदा संस्थाको वास्तविक समस्या ओझेलमा पर्न सक्छ। मेरो भनाइ पनि आधिकारिक वित्तीय विवरणबाट परीक्षण गरिनुपर्छ तर प्रामाणिक विवरणलाई राजनीतिक भाष्यका आधारमा अस्वीकार गर्नु उचित हुँदैन।  
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस