अन्तर्वाता
१३ वैशाख २०८३
•
१३ मिनेट पाठ
अन्तर्वाता
नागरिक नायक २०८३ बनेकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अब देशलाई विकास र समृद्धिको बाटोमा अघि बढेको देख्ने उत्कट चाहना रहेको बताएकी छन् । नागरिक नायक घोषणापछि नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसँग कुराकानी गर्दै ६ महिना देशको नेतृत्व गर्दा ६ वर्षको अनुभव प्राप्त भएको बताइन् ।  




विषम् परिस्थितिमा देशको जिम्मेवारी सम्हाल्दा चुनौती सामना गर्दै आफूहरूले अपेक्षाकृत काम गर्न सकेको भन्दै सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन् । वर्तमान सरकारको आलोचना गर्ने बेला नभएको तर्क गर्दै आफ्नो छोरा पुस्ताका प्रतिनिधि सरकार सञ्चालनमा आएकाले सिकाउँदै अघि बढ्नुपर्ने बताएकी छन् ।  

देश परिवर्तन गर्न हाम्रो सोच परिवर्तन आवश्यक रहेको, परिवर्तनका लागि समय चाहिने भएकाले धैर्यता आवश्यक रहेको लगायतका सुझाव उनले नेपाली नागरिक र दुई तिहाइ नजिकको बहुमतप्राप्त वर्तमान सरकारका नेतृत्वकर्तालाई सुझाएकी छन् । प्रस्‍तुत छ कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेपाल किन राजनीतिक अस्थिरताको चक्रमा सधैँ फसिरहेको छ ?

- अब यसको व्याख्या गर्न त मलाई पनि अप्ठ्यारो लाग्छ । मैले ००७ साल देखिन । १७ सालको घटना केही थाहा छ । त्यसपछि त मुलुकमा एक पछि अर्को आन्दोलन भइरह्‍यो । स्थायित्व हुन सकेन। यो सबैलाई अनुभव हुने कुरा हो । किन भएन भन्ने पनि हामी सबैलाई थाहा छ । मलाई हामी नेपालीमै एउटा कमजोरी छ जस्तो लाग्छ  । छिट्टै सबै कुराको आश गर्ने । अनि अलिकति परिश्रम नगर्ने । एउटाले गरिरहेको भए त्यसमा होस्टे हैँसे नगर्ने हाम्रो क्यारेक्टर छ जस्तो लाग्छ । कमजोरी भए सच्याउन नजाने तर आलोचना जे कुरामा पनि बढी नै गर्छौँ ।

मैले ६ महिला मुलुकको नेतृत्व गरेँ । मलाई ६ वर्षकै अनुभव पनि भयो। यहाँका धेरै कमजोरीका कुरा पनि मलाई थाहा भयो । वास्तविक कमजोरी अनि मुलुकको विकास तिर हामीले नदिएको ध्यानको विषय पनि थाहा भयो । हामी धेरैसँग व्यक्तिवादी चिन्तन छ। मैले भए गर्थेँ, उसले गर्न सकेन भन्ने । खुट्टा तान्ने प्रवृति पनि उत्तिकै छ जस्तो लाग्छ मलाई।  

राम्रो काम गर्न खोज्नेलाई पनि यहाँ अवसर छैन । एउटा व्यक्तिले राम्रो काम गर्न खोज्दै छ भने त्यो व्यक्तिलाई उतार्नलाई पहिले अदालतमा गएर एउटा मुद्दा हाल्दिए पुग्छ । पत्रपत्रिकामा मनपरी लेखिदिने परिपार्टी छ । राम्रो गर्न खोजेको भए प्रोत्साहन गर्ने बानी हामी नेपाली मै छैन । यस्तो क्यारेक्टर पोलिटिक्समा त जताततै छ ।

म त पोलिटिकल मान्छे होइन । तर जब मैले देखेँ नेपाली कांग्रेसले बहुमत ल्याएर शासन गर्न सुरु गर्यो, अर्को पार्टीले बार भत्काएर नारा जुलुस गर्न थाल्यो । ए बाबा अलि दिन त हेर्न देउ न । उसले काम गर्छ कि गर्दैन ? विपक्षीको रोल के हो ? सत्ताधारीको रोल के हो ? यो आफ्नो भूमिका कसैले ख्याल नगर्दा हामी बिग्रिएको हो ।  

एउटा पार्टीले जित्यो, त्यो पार्टी लाइमलाइटमा आयो, त्यो पार्टीले सत्ता लियो भने त्यही पार्टीका मान्छेले मात्रै बाच्न पाउने र खान पाउने अर्को पार्टीलाई चाहिँ हेर्दै नहेर्ने यो प्रवृति के हो ? यो प्रवृत्ति हामीले हटाउनै पर्छ ।

कुनै पोलिटिकल पार्टीको निर्वाचन पछि बनेको सरकार सबै जनताको हुन्छ । त्यहाँ पक्ष र प्रतिपक्ष छुट्याउने कुरा हुदैन । तर हामी कहाँ कांग्रेसले जितेको र उसले बहुमत ल्यायो भने कांग्रेसका मान्छेले मात्रै फाइदा लिने अर्को पार्टीकोले नलिने । एमालेले जितेको भने एमालेले मात्रै फाइदा लिने अरुले नलिने अभ्यास छ। यो सबै कुराले देशमा समस्या दोहोरिरहेको जस्तो मलाइ लाग्छ ।

०००

तपाई न्यायपालिकाको पनि सर्वोच्च पदमा पुग्नुभएको कार्यपालिकाको पनि यी जिम्मेवारी लिएर हेर्दा हामीकहाँ संरचनागत अवस्था कस्तो पाउनुभयो ?

– हाम्रा मान्छे ज्यादा पोलिटिसाइज छन्। कामभन्दा पोलिटिसाइज बढी भयो। राजनीतिले सबै कुरो दिने हो त ? खान दिने त होइन! खान दिने त खेतीले, व्यापार, व्यवसायले रोजगारीले पो हो। अनि यहाँ चाहिँ पोलिटिक्स गरेर मात्रै कमाउन सकिन्छ भन्ने सोच छ । त्यो बहुत नराम्रो प्रवृति हो ।

ताली........

000

पक्कै पनि नेपालमा जुनसुकै क्षेत्रमा बढी राजनीतिकरण भएकै छ । भ्रष्टाचार धेरै छ । भ्रष्टाचार र संस्थागत संरचनाको हातेमालोकै अवस्था छ । अहिले नयाँ जनादेश पनि आएको छ अब नेपाल अघि बढ्न कस्तो कुरामा ध्यान दिनुपर्ला ?

–प्रथमत: मलाई के लाग्छ भने त्यो दलीय कुरा भनेको निर्वाचनसम्म मात्रै सीमित हुनुपर्छ । निर्वाचनसम्म मात्रै दलीय कुरा ठिक । पार्टीहरुले आफ्नो संगठन बनाउँछन्। काम गर्दै जान्छन्, त्यो अलग कुरो हो। पार्टीले आफ्नो अर्गनाइजेसन बनाउनुपर्छ । सम्मेलन गर्नुपर्छ । आफ्ना सदस्यलाई तालिम दिनुपर्छ सबै कुरा गर्नुपर्छ। तर एमालेको कोही मर्यो भने कांग्रेस मलामी नजाने। कांग्रेसको कोही मर्यो भने एमाले मलामी नजाने यो क्यारेक्टर त भएन नि! यसरी त चल्दै चल्दैन नि! नेपालमा त्यो अवस्थासम्मको राजनीति राम्रो होइन । हुनुहुँदैन ।

पार्टीगत सोच त हामीसँग पनि छ । हाम्रो मन्त्रिपरिषदमा पनि थियो । कोही डेमोक्रेट होला । कोही कम्युनिस्ट होला । कोही के होला ? हामी ११ जनामै केही सोच वा फिलिङ थियो होला तर काम गर्दा कसैले पनि पार्टी फिलिङ देखानउनुभएनन । एकदम इन्डिपेन्डेन्ट क्यारेक्टर देखाएको हुनाले हामीले हाम्रो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ ।

त्यसैले हाम्रो मुलुकको सुधारका लागि मुलुकको विकासका लागि हामीले आफ्नै क्यारेक्टरलाई सुधार्नु पर्छ। हाम्रै स्वभावलाई सुधार्नुपर्छ। हाम्रो कविवर शिरोमणि लेखनाथ पौडेलले त्यसै भन्नुभएको होइन रहेछ नि ‘मै खाउँ मै लाउँ’ । त्यो बेलाको किन उहाँले लेख्या होला ? त्यतिबेला पनि हाम्रो क्यारेक्टर त्यस्तै रहेछ नि । हामीमा आफूमात्र खाने अरु मरेनि मरोस् भन्ने चिन्तन हुनुहुँदैन । ताली....

आदिकवि भानुभक्तले त्यो बेला त्यत्तिकै सत्ताको विरोध गरेको होइन रहेछ । सत्ताको टिप्पणी गर्दा रातभर थुनिएको इतिहास हामीले पढेकै हो । त्यो बेला पनि त त्यस्तै रहेछ नि !

त्यसैले पहिलो म त के भन्छु भने आफैँलाई सुधार्नु पर्यो। एउटा उदाहरण: हाम्रो सरकारलाई हेर्नुहोस् त! हामीले दुई/दुई सेकेन्ड टाइमलाइनमा कसरी काम गर्‍यौँ ? उस्तै भए त रोएर भाग्ने अवस्था थियो। सारा पोलिटिकल पार्टी हाम्रो विरोधमा थिए । गालीको वर्षा हुन्थ्यो । जेनजीको एउटा फौज, जसले हसबखत गाली गर्थ्यो ।  

हुदाहुँदा बालुवाटारमा जम्मै सेक्युरिटी गार्ड आकाशमा हेरिरहेको देखेँ । किन भनेको मलाई साँझमा थाहा भयो ड्रोन हारेर मार्दिन्छु भन्या थियो रे लौन ! अनि उनीहरु माथिबाट आएर हान्ला कि भनेर ड्रोन हेरेको रे । अनि त्यस्तो बेलामा हामीले चारै तिर प्रहार छ आलोचना खेप्यौँ ।  

म इमान्दारी पूर्वक भन्छु म यहाँ आज आएको पनि गुणराजजी र शोभाजीको कारणले मात्र हो । जताजतै तथानाम लेख्दा गुणराजजीले धर्म थाम्नुभयो ।  

त्यो बेलामा मलाई सडकमा घिसार्छु, लछार्छु, पछार्छुसम्म भनियो । बालुवाटारको गेटमा आएर हमला गर्नेसम्मको परिस्थिति आयो तर हामी डगेनौँ । हामीलाई हाम्रो देश बचाउनुथियो ।  

जो हामी माथि खनिएका थिए, ती त मुर्ख थिए। मुर्खको पछि लाग्नु कि हामी देश जोगाउनु ?  हामी देश जोगाउन लाग्यौँ । ड्राइभरले कसरी गाडी हुइँक्याउँथे किन भन्यो भने हजुरलाई यही हमला गर्छु भन्या छ भन्थे । रातोदिन थ्रेट थियो ।

एउटा मिराज भन्ने महान जन्मिनु भएको रहेछ । उहाँ त २४ सै घण्टा गेटैमा । कहिले ल्याएर ललिप फालेको छ, कहिले के फालेको छ। उनले तिम्रो सरकार ललिप भनेको होला । तर हामीले त काम गर्‍यौँ र देखायौँ । तपाईंहरुलाई आज के भन्नु म बालुवाटारको घरमा माथि सिँढी चढ्ने बेलामा कैयौँ पटक फेन्ट हुँदा हुँदै बचेको छु। त्यस्तो कन्डिसनमा हामी पुग्दा पनि हामी खटिरह्यौँ, गरिर्ह्यौँ ।

हामीले गालीलाई एकातिर सुनेर अर्कोतिर काम गरिरह्यौँ ? मैले पहिलो दिनमै भनेको थिएँ तपाईं के चाहानुहुन्छ भन्दा एक थोपा रगत नबगोस्। एउटा लास नगिरोस्, त्यस्तो निर्वाचन चाहन्छु भन्या थिँए। त्यही अनुसार हामीले काम गर्यौँ । नतिजा अहिले आयो नै ।

०००

तपाईंहरूकै मेहनतले अहिले स्थायी सरकार पनि बनेको छ । विगतको लामो अनुभवलाई समेटेर नेपालमा स्थिरता र विकासका लागि वर्तमान सरकारले के सुझाव दिनुहुन्छ ?

– म अहिले यो सरकारको आलोचना गर्ने वाला चाहिँ छैन । किनभने यसको पछाडि यति धेरै जनता छन् । हामीले त सोचेको पनि थिएन कि यस्तो हुन्छ । यत्रो परिवर्तन आउला । म त सबैभन्दा महान जनतालाई नै ठानेको छु । नेपाली जनता । ताली....

अघि मैले भनेको क्यारेक्टर चाहिँ हामी पढेलेखेका मान्छेको हो । वास्तवमा आम पब्लिक छन् नि! सारै सोझा र सारै बुझेका । परिवर्तन कसरी चाहँदा रहेछन् ? के रहेछ जनताको भावना त्यो कुरा पनि अलिकति बुझियो । जनताले अवस्था हेरेर निर्णय गर्छन् भन्ने थाहा पाएँ ।

अब २३/२४ को घटना क्षम्य होइन। करप्सन बढेकै हो। अनियमितता भएकै हो। नभएदेखि यस्तो घटना किन हुन्छ ? केही नभइ त रक्तपातको त्यस्तो अवस्था हुँदा कोही मान्छे किन सडकमा आउँछ ? केही नपरि त मान्छे सडकमा आउदैन, त्यो निश्चित हो।  त्यसपछि पनि जनताले केही नबोली परिवर्तन गरे । हामी जनता कता जाँदैछन् भनेर बुझ्न नसक्ने अवस्थामा थियौँ तर पछि मत दिएको देख्दा हामीलाई पनि आश्चर्य लाग्यो ।  हामीलाई फिल भयो जनताले परिवर्तन चाहेको रहेछ।  

युवा पुस्ताले हामीलाई तिमीहरुले केही दिएनौँ तिमीहरु पुरानाले मात्रै यो लियौँ । दुनियाँ कहाँ पुग्यो परिवर्तन कत्रो भयो । डिजिटल प्रोग्रेस भइरहेका छन् । तिमीहरु एकहोरो यो पुरातन शैलीमा सत्ता चलाएर बस्या छौ भनेर जसरी युवाहरुले मागेका थिए जनताले तिनै युवालाई शत्ताको जिम्मा लगाए ।  

यो युवाको नेतृत्वलाई अहिले म आलोचना गर्न चाहन्न । हामीले अझै हेर्नु छ । उनीहरु हाम्रै छोराछोरी हुन्, हाम्रै केटाकेटी हुन्, हाम्रै बच्चाहरु हुन्। अब ती ३५ भन्दा माथिका कोही छैनन् बहुत कम उमेरका छन्। धेरै उमेर भएका संख्या बहुत कम छ। त अहिले हामीले मौका उनीहरुलाई दिनुपर्छ र हामीले अलिकति गाइड पनि गर्नुपर्छ। गर्न सकेनन् भनेर हामीले त्यो दाउपेच लगाएर लडाउने, खसाउने गर्नुहुँदैन । हिजोको जस्तो गठजोडको परिपार्टीमा लाग्नु हुँदैन ।

अब नयाँ सरकार आएको छ । बहुमतको सरकार छ, उनीहरुलाई चलाउन दिउँ। तर म अलिकति फेरि के भन्न चाहन्छु भने उहाँहरु एकदम पपुलारिटी लिन खोजेको हो कि भन्ने कुरा देख्छु । यो पपुलारिटी लिने कुरामा जल्दबाजी एकदम छिटो छिटो भइरहेको छ । काम पनि उहाँहरु एकैचोटी धेरै गर्न खोजेको जस्तो लाग्छ। पाँच वर्षको टाइम छ। पाँच वर्षको भित्रमा चाहिँ उहाँहरुले क्रमश: ती काम सुधार गर्दै लगे हुन्छ। तर एकैचोटी सबै काम गर्दा एकैचोटी पुरा नहुन सक्छ । त्यसैले धैर्य गरेर बिस्तारै गर्नुपर्छ भन्ने लाग्छ।  

भ्रष्टाचारको कुरामा प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता अथवा चिफ हाइ पोस्टमा बसेका मान्छेहरु करप्ट भएनन् भने अटोमेटिक भ्रष्टाचारमा कमी आउँछ। त्यो निश्चित हो। तर तपाईलाई थाहा होला भगवानका पालामा पनि केही न केही करप्सन त भएका उदाहरण हामी पाउँछौँ । थोरै मात्र पनि।  

निरंकुश शासन भएका बेलामा पनि करप्सन त हुन्छ। तर त्यसलाई वास आउट गर्न कढाई गर्दै जानुपर्छ । नेपाल कस्तो भएछ भन्ने चाहिँ अस्ति म कुर्सीमा बसेर पनि थाहा पाएँ ।  

जताततै पैसाकै खेल सुरु भएछ । पशुपतिको सचिवको नियुक्तिदेखि लुम्बिनीको नियुक्तिमा पनि पैसाका कुराहरु उठ्दो रहेछ। डाइरेक्ट पैसा बाँड्ने लाइन नै हुँदो रहेछ । नियुक्तिका लागि पैसा दिनै पर्छ भन्ने भाष्य नै रहेछ । हुँदाहुँदा हर फाइलमा पैसा यो कन्ट्रोल हुनुपर्छ । अघिल्लो सरकारले घुस खायो भनेर भन्ने प्रमाणचाहिँ मैले पाइन तर घुस चाहिँ व्याप्त भएछ। त्यसरी छाडा हुन दिएकोमा एकदमै निर्वाद रुपमा छाडा त अनकन्ट्रोल कुनै पनि पदमा पैसा नली नियुक्ति हुन्छ भन्ने मान्छेले विश्वासै गर्न छोडेछन्। पैसै बोकेर आउने पो वातावरण बनेछ। अनि म त छक्क भने देखेर बहुत विचित्र छ यो मुलुकमा त्यस्तै भैक्या छ। त्यसलाई उहाहरुले कन्ट्रोल गर्नुपर्छ। नियन्त्रण गर्नुपर्छ। ताली

उहाँहरुले सक्नुहुन्छ नसक्ने होइन घुस खानेले नखायो भने भ्रष्टाचार हुन्छ त! घुस नलिनेले नलियो भने भ्रष्टाचार हुन्छ त? अनि मलाई अचम्म पनि लाग्छ ए बाबा! तपाई घुस खाएर अथाहा कमाएर के गर्नुहुन्छ ? मैले त यही कुर्सीमा बस्दा यस्ता यस्ता ठट्यौली र हस्यौली कुराहरु पनि सुने । कि म आफै छक्क परे । (हाँस्दै...) जुन घुस खान उसले इज्जत गुमायो त्यही घुसको निउमा जेल गयो । पछि धरौटी राख्ने पैसा पाएनन् । के मतलब घुस खाएको ? वाई के का लागि खाको त घुस ? मैले त्यो स्टोरी पनि सुने घुस खायो। पेट फुटुन्जेल खायो। त्यसैको आरोपमा जेल यो। तर त्यो घुस धरौटी राख्न नपाएर जेलमै सड्यो केका लागि घुस ?  

000

अहिले दुई तिहाइ नजिकको बहुमतसहितको सरकार छ । विगतमा शक्तिशाली सरकार नागरिक स्वतन्त्रता हनन भएको केही दमन भएको देखिन्थ्यो । अहिलेको सरकारले स्थायी सरकार र लोकतान्त्रिक अभ्यासलाई सँगसँगै लैजाँन नागरिकको भूमिका के होला ?

– जनताको चाहना अनुसार नै अहिलेको सरकार आएको हो । यो सरकार आउँछ हामीलाई सुविधा हुन्छ भनेर जनताले ल्याएको हो ।  

अहिलेको सरकारमा त्यति फितलो मान्छे पनि छैनन् । त्यसैले यो सरकारले केही गर्छ भन्ने पूर्ण विश्वास छ।

जनताको भूमिका चाहिँ अब अलि सानोतिनो कुरामा सडकमा आइहाल्ने पनि होइन। धैर्य गर्ने । सरकारलाई प्रतिपक्षले पनि जनताले पनि बेलाबेलामा आश्वासन र सुझाव चाहिँ दिनुपर्छ ।  

सरकारले रोजगारीको व्यवस्था मिलाउनुपर्छ । त्यो मिलाउन सकेको छैन । नेपालमा रोजगारीको सम्भावना टन्नै देख्छु । नेपालमा रोजगारी नहुने होइन प्रशस्त सिर्जना हुन सक्छ। त्यसका लागि समय चाहिन्छ । एकै पटक धेरैकाम हुँदैन । क्रमश: गर्दै जजानुपर्छ । नागरिकले अलिकति धैर्यता चाहिँ राख्नुपर्छ ।

000

नेपालमा ५० प्रतिशतभन्दा बढी महिला छन् । तर नेतृत्वमा पुग्ने धेरै कम छन् । तपाईंको संघर्ष त प्रमाणित पनि भयो । नेतृत्वमा पुग्न र जिम्मेवारी सम्हालन एक महिला एक आमालाई कति सहज कति असहज ?

– म सहयोगको मामलामा त्यति दु:खी होइन। म एक्लै थिइन । महिलालाई अगाडि बढ्न परिवारले हेर्नुपर्छ । यसको सबैभन्दा राम्रो अभ्यास सिंगापुरलाई लिने गरेको छु । सिंगापुरको के चलन छ भने एउटा महिला अगाडि गएको छ भने उसको आमा, सानीमा, माइजु जो कोहीले बच्चा सम्माल्ने र हेर्ने गर्छन् । बच्चा हुन्छ । महिलाको विवाहवारी हुन्छ । पुरुषको पनि विवाहवारी हुन्छ । सन्तान हुने भइहाल्यो । बच्चा वास्तवमा कामकाजीका लागि समस्या हो । सानोमा उचित केयर गरेन भने त उसको भविष्यको कुरासम्म हुन्छ । यस्तो अवस्थामा सबैभन्दा राम्रो केयरटेकर भएको पाएँ । नेपाल र भारतमा फरक कल्चर छ । हजुरआमा, आमाहरुले बच्चाहरु हेर्दिन्छन् । युरोप/अमेरिका तिर हेर्नु न केटाकेटी अलि व्यक्तिवादी भएको देखिन्छ । यहाँको कल्चर र त्यहाँको कल्चरमा धेरै फरक छ। सासुलाई बुहारीप्रति बेग्लै अपेक्षा हुन्छ । सबैलाई रिझाओस भन्ने । (हाँस्दै...)

हामी त्यस्ता छैनौँ । पहिलेका बुहारीहरु जस्ता छौँ । खैर हाम्रा बुहारी राम्रै आका छन्। हामीलाई पनि माया गर्छन्। म कफी खादै छु तिमी खान्छौ भनेर सोध्छन्। (हा हा‍‍...) हामीले त छोरीको हैसियतमा हेर्‍या छौँ बुहारीहरुलाई । छोरो रिसाउछ भनेर बुहारीलाई म त छोरोको मात्र नाम लिन्न बुहारीको पनि नाम लिहाल्छु । छोरोको माया लाग्छ भन्यो भने होइन मलाई बुहारीको पनि माया लाग्छ भन्छु ।

नेपालमा महिलाहरूलाई काम गर्न चाहिँ कठिन नै छ । मेरो प्रधानन्यायाधीश पद ईश्वरले नै हातमा राखिदिएका हुन जस्तो लाग्छ । कहाँ कहाँ मिटिङ गर्नुपर्ने । आफूले भनेको नगर्ला कि भन्ने डर पनि हुँदो रहेछ । नेपाली पोलिटिसियनहरूमा महिलाप्रति नराम्रो आदर्श छ । महिलाले सपोर्ट गर्दैनन् भन्ने मान्यता छ । हुन पनि जथाभावी गर्न त महिलाले कहाँ दिन्छन् र होइन ?

प्रधानन्यायाधीश खाली हुँदा भोलिपल्टै शपथ हुन्छ मेरो बेलामा हेर्नुहोस् त चार महिनाको सफर गर्नुपर्‍यो ।  प्रहरीमा खापुङ डेढमहिनालाई प्रमुख भए । एक महिलाका लागि बनाउँन भन्दा कुरै मिलेन ।  

मलाई जहाँसम्म लाग्छ मैले जहिले पनि के सोचे भने मैले काम बिगारे भने मैले गरिन मैले साहस देखाइन भने मेरा पछाडिका दिदीबहिनीहरुलाई गाह्रो पर्छ भनेर सधैँ खटेर काम गरेँ ।  

मैले अस्ति पनि त्यही गर्‍या हो । मुर्छा पर्ने स्थिति रातभरि छर्लङ हुने मिटिङ गरियो । एउटा मिटिङ हो र १४ वटा १५ वटा मिटिङ हुन्छ। त्यस्तो स्थितिमा पनि हामीले धान्यौँ भोलि नराम्रो पर्ला महिलाले पाएको पनि गर्न सकेनन् भन्ने अवस्था आउला भनेर नै गरेको हो । महिलाहरुले गर्छन बल्ल बल्ल जिम्मेवारी पाको हुन्छ उनीलाई त काम देखाउनु छ त्यसैले काम गर्छन् । यहाँ प्रवृति खुट्टा तान्ने छ।  

अर्को कुरा मेरै सुत्केरी भएको २२/२३ दिनमा मुद्दा बहस गर्न गएको छु । वकालत फेरी यस्तो थर्ड क्लास पेशा हो। तपाई एक महिना छोड्नुभयो भने सबै कुरो बिर्सिनु पनि हुन्छ। त्यो प्रोफेसनबाट तपाईं आउट पनि हुनुहुन्छ। त्यो त एकदम निरन्तर हुनुपर्छ । छोड्नै हुँदैन त्यस्तो प्रोफेसन हो। २२ दिनको सुत्केरी ज्यानमा पनि मुद्दा पढेर बहस गरेको छु । कुनै-कुनै पेशा त प्रतिस्पर्धाको हुन्छ । महिला र पुरुषको कुरा हुँदैन । त्यसैले महिलाहरुले पनि मेहेनत गर्नुपर्छ । महिलाहरुलाई परिवारले पनि साथ दिनुपर्छ। महिलालाई सरकारले पनि साथ दिनुपर्छ । 
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस