नेताहरुको चुनावी सकस
०१ कार्तिक २०७०
•
२० मिनेट पाठ
नेताहरुको चुनावी सकस
झापा- पार्टीका अरू समकालीन साथीहरू संविधानसभा चुनावमा 'टिकट' पाइने–नपाइने चिन्ताले पिरोलिँदै गर्दा ताप्लेजुङका प्रकाशप्रताप हाङ्गाम बेग्लै तनावमा थिए।
जिल्लाको दुई नम्बर क्षेत्रबाट कांग्रेसको एक मात्र सम्भावित उम्मेदवारका रूपमा नाम सिफारिस भएकाले टिकटमा उनको टाउको दुखाइ थिएन। तर, टिकट पाएपछिका बग्रेल्ती समस्या उनलाई घोत्ल्याउन बाध्य पार्ने 'तनावका कारक' रहेछन्, जसले आज पनि उनलाई छिनछिनमा पिरोलिरहन्छ।'नेता भन्नासाथ कतिपयले नमिठो वचन लगाउँछन्,' यसअघि दुईपल्ट चुनाव लडेर नमीठो पराजय सहेका उनको चित्त दुखाइ यत्ति हो– 'आफूले बिराएको केही हुँदैन, तर सबैका वचन खेप्नुपर्छ, मन बाँधेर पनि हाँस्नैपर्छ।' 




नेपाली समाजमा चलेको आहान छ— 'जसले गर्छ रहर, उसकै जान्छ गोठको बहर।'

हाङ्गाम यो आहानलाई सहजै आफ्नो 'स्वीकारोक्ति' बनाउनमा सहमत छन्। जनताको मतमार्फत चुनिन चाहेका प्रतिनिधिले भोग्ने यो एउटा यस्तो 'साझा सकस' हो, जसलाई सजिलै सहन गर्नुबाहेक अरू उपाय हुन्न। अर्थात्, बाहिरबाट देखिने र भित्र भोगिने जीवन उनीहरूका लागि धेरै भिन्न हुन्छ। उनीहरू जानीनजानी 'दोहोरो जीवन' जिइरहेका हुन्छन्।

त्यसको पुष्टि हुने दृष्टान्त धेरै नेताले देखाएका छन्। जसले जेसुकै भने पनि खिसिक्क हाँस्यो, सके सम्झायो, नसके भीडमा अपमानित हुँदै अनुहारमा कृत्रिम हाँसो छरेर अघि बढ्यो। 

'कहिलेकाहीँ त तिनका बाबुको ऋण खाएको छु र जस्तो ‰वाँक पनि चल्छ,' एमालेबाट दुईपटक उम्मेदवार बनेका झापाका एक नेताले उम्मेदवारको बाध्यताबारे भने, 'तपाईं जहाँ पुग्नुहुन्छ, त्यहाँ परिवेशअनुसारको बनिबनाउ कुरा गर्नैपर्छ। सक्ने/नसक्ने सबै कुरा पूरा गर्छु भन्नैपर्छ। त्यसो नगर्ने हो भने चुनावमा उठ्ने कल्पना नगरे हुन्छ।'

उनले एउटा पुरानो प्रसंग सुनाए। 

२०५१ को मध्यावधि निर्वाचनमा झापाका सबै एमाले उम्मेदवार काँकडभिट्टामा भेला भएर सदरमुकाम चन्द्रगढीमा मनोनयन दर्ता गर्न जाने कार्यक्रम थियो। कार्यकर्ताले घेरिएका नेताहरू यो–त्यो नभनी सबैलाई नमस्कार गर्थे। सञ्चो–बिसञ्चो सोध्थे। राधाकृष्ण मैनाली भने गजक्क परेर बसेका हुन्थे।

'यसरी गजक्क परेर हुँदैन,' सबैले मैनालीलाई सुझाए, 'सबैसँग खुल्न र सहज हुन जान्नुपर्छ।' उनका अनुसार सहकर्मी नेता कार्यकर्ताले सम्झाएको केहीबेरसम्म मैनालीले बाटोमा भेटिएका 'रुखपातलाई पनि नमस्ते गरुँला झैं' गरे। केही बेरपछि जब एक कार्यकर्ताले तथानाम गाली गरे, मैनालीले आवेग थाम्न सकेनन्। झोक्किँदै भने, 'दुनियाँको गाली खान म नेता भएको हो र?' 

टिकटको पीडा 
हरेक चुनावमा टिकटका लागि दलहरूभित्र हुने दौडधुपले नेताहरूबीच यसको 'क्रेज' दर्शाउँछ। त्यस्तो दौडादौडी झन् बढी देखिएको यसपटकको चुनावमा टिकट पाउन नसकेका धेरै नेता–कार्यकर्ता यतिखेर झोक्राएर बसेका छन्। धेरैले पार्टी कारबाही सहेर बागी पनि दिएका छन्। तर, टिकट पाएकाहरू पनि अरूले सोचेजति फुरुंग छैनन्। चुनावमा लाग्दा आउने अनेकौं असहज अवस्था, आर्थिक कठिनाइ, ठाउँठाउँमा गएर 'नगरी नहुने' बाचावचन अनि त्यसपछि पाइने खप्कीजस्ता अनन्त समस्या सम्भवतः सबै उम्मेदवारका साझा सकस हुन्। यस्ता समस्याले टिकट पाएकाहरूलाई ढुक्कले निदाउन दिँदैन।

कांग्रेस नेता सुधीर सिवाकोटीको बुझाइमा टिकटपछि आउने ठूलो चुनौती मतदाताको अपेक्षा व्यवस्थापन गर्नु हो। मतदाताका अपेक्षा धेरै हुन्छन्, जसलाई उम्मेदवारले सम्बोधन गर्न सक्ने अवस्थै हुँदैन।

'सबैभन्दा समस्या त्यहीँ हुन्छ,' सिवाकोटी भन्छन्, 'मतदाता ढोकाढोकामा नेता आइदिऊन्, मलाई उनीहरूले चिनिदिऊन् भन्ने चाहन्छन्। त्यो कहिल्यै सम्भव हुँदैन। अनि हुने–नहुने बाचा पनि बाध्यतावश गर्दिनुपर्ने हुन्छ।'

अघिल्लो संविधानसभामा झापा २ मा पराजित र यसपटक फेरि प्रत्यासी बनेका उनका अनुसार भोट माग्न सँगै हिँडेका कार्यकर्ताहरू नै ठाउँअनुसार 'यसो भन्नुस् र उसो भन्नुस्' भन्दै दबाब दिन्छन्। 'कहिलेकाहीँ यसरी पनि समस्यामा परिन्छ,' उनको स्वीकारोक्ति छ, 'निश्चित छ, बोले जति पुर्‍याउन सकिन्नँ। ' 

जानकारहरूका अनुसार कुनै पनि चुनाव लड्न खोज्नु समस्याका धेरै चाङबाट अघि बढ्ने जोखिम मोल्नु हो। 'सबैभन्दा पहिला त टिकट पाइएला कि नपाइएला भन्ने चिन्ताले सबैलाई सताउँछ,' टिकटका लागि जिल्ला तहका अधिकांश नेता केही समयअघि राजधानीमा थुप्रिएको प्रसंग सम्झँदै नेकपा मालेका महासचिव सिपी मैनाली भन्छन्, 'टिकट पाइहाले पनि त्यसपछि चुनावी खर्च जुटाउने, अभियान चलाउने र विपक्षीभन्दा अब्बल देखिन सक्नुपर्ने चुनौतीहरूको सामना गर्नैपर्छ।' 

झापामा दुईपटक चुनाव जितेका र एकपटक हार बेहोरेका मैनालीको दाबीअनुसार उनले जितुञ्जेल चुनाव सिद्धान्तको लडाइँ हुन्थ्यो। २०५६ यता भने 'सिद्धान्त गौण र लाभ मुख्य' भयो। २०५६ मा मालेबाट उनले झापाको पुरानो क्षेत्रमा हार खाएका थिए। त्यसपछिको चुनावमा उनकै शब्दमा 'लाभमुखी' लडाइँ छाडेर उनी समानुपातिकको सहज बाटोतर्फ आकर्षित भए।

'चुनावमा अब तिकडम, नाटक र बाह्य हस्तक्षेप निर्णायक हुन थालेको छ,' उनले भने, 'मैले साँचो कुरा बोलेर हारेको हुँ। नाटक गर्न सकेको भए म निश्चयै चुनाव जित्थेँ।' 

आर्थिक कठिनाइ 
कुनैबेला 'सामन्ती'को टाउको काट्ने अभियानको नेतृत्व गरेदेखि उनीहरूकै भाषामा 'बुर्जुवा राजनीति'को उत्कर्ष मानिने अहिलेसम्मकै सबै परिस्थितिका भुक्तभोगी सिपी मैनालीले भनेजस्तै टिकटदेखि नै सुरु हुने समस्याका चाङ त्यसपछि अरू थपिँदै जान्छन्। त्यसलाई उम्मेदवारले नभोगी हुँदैन। 

ताप्लेजुङका हाङ्गाम एक त्यस्तै पात्र हुन्। सुरुमा चुनाव लड्नु उनको रहर थियो। जनताबाट चुनिएको प्रतिनिधि हुन पाउने 'लोभको पारो' कति उच्च थियो भने आफूले धेरै लगानी गरेको पार्टी राप्रपाबाट चुनावी टिकट नपाएकै कारण २०५१ मा हाङ्गामले कांग्रेस प्रवेशको निर्णय लिए। चुनाव लड्ने उनको धोको त्यही साल भने पूरा भएन। पाँच वर्षपछि २०५६ मा उनलाई कांग्रेसले ताप्लेजुङ २ मा उम्मेदवार बनायो। त्यतिबेला उनको रहर पूरा त भयो, तर नतिजा रहरलाग्दो आएन। तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका उनले फेरि संविधानसभा चुनावमा पनि सजिलै मौका पाए। तर नतिजा उही आयो, तेस्रो। 

चुनाव लड्ने कुनैबेलाको रहर यतिबेला उनको त्यस्तो बाध्यता भएको छ, जसले उनलाई सधैं जोखिमको खेल खेल्न आह्वान गरिरहेको हुन्छ। उनका लागि चुनाव सधैं 'जिस्क्याउँदै' आउँछ रे।

'पहिल्यैदेखि चुनाव लड्दै आइयो,' २० वर्षको उमेरमै लिङतेप गाविसको प्रधानपञ्च जितेका उनको अनुभव छ, 'अहिले चुनाव लडिएन भने अरूले गिज्याउलान् भन्ने डर हुन्छ। हार्ने डरले उठेन भन्दिन्छन्, त्यसबेला सही नसक्नुहुन्छ।'

अरूले कुरा काट्देलान् भन्ने पीर पनि उनलाई चुनावमा उठौं–उठौं लाग्ने एउटा बाध्यकारी प्रेरणा बन्दै आएको छ। 'बाध्यकारी' किनभने यदि समानुपातिकबाट आफू पर्ने निश्चित भए उनले प्रत्यक्ष लड्ने इच्छा त्याग्न सक्थे। 'त्यताको केही ग्यारेन्टी हुँदैन,' उनले आत्मविश्वास देखाउन खोजे, 'फेरि म त्यतातिर भन्दा (जेजति मत आए पनि) प्रत्यक्षमै बढी विश्वास गर्छु।' 

उनका लागि चुनाव लड्नुको मुख्य अप्ठ्यारो मूलतः आर्थिक समस्यासँग जोडिएको छ। पुर्ख्यौली जग्गाजमिन भएका उनले दुईवटा चुनाव लड्दा करिब ९० रोपनी जग्गा बेचेका छन्। उनकै शब्दमा 'भोट माग्न हिँड्दादेखि पाइला–पाइलामा पैसा खर्च हुन्छ।'

अर्का झापाली नेता कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी उनीसँग सहमत छन्। लामो समयदेखि चुनाव लड्दै आएका बुढाथोकीका अनुसार चुनाव अभियानमा एक्लै हिँडेर हुँदैन। कार्यकर्ताको दलबल साथमा हुन्छ। उनीहरूको खाजादेखि सवारीको तेल खर्चसम्म जुटाउनुपर्छ। 'उम्मेदवार हुनेले आफ्नो भएको सम्पत्तिबाटै त्यो खर्च गर्ने आँट गर्नैपर्छ,' झापा ५ बाट उम्मेदवार रहेका उनले थपे, 'लगातार चुनाव लड्नेले यस्तो जोखिम धेरै खेपेका छन्।'

पछिल्लो समय जुनसुकै दलका किन नहुन्, नेताहरूलाई सम्पत्ति कमाएको, सुविधायुक्त जीवनमा लहसिएको आरोप लाग्दै आएको छ। कार्यकर्ता तहमा रहेको यस्तो 'अटल मान्यता'ले नेताहरूलाई अरूबेला भन्दा चुनाव बेला चर्को समस्यामा पार्ने गरेको छ। 

पञ्चायतमा जनपक्षीय उम्मेदवार हुँदादेखि अघिल्लो संविधानसभासम्म आइपुग्दाको अनुभव सुनाउने नेताहरूका अनुसार चुनाव बेला खटिने हरेक कार्यकर्ता उम्मेदवारले सबै खर्च गरोस् भन्ने चाहन्छन्। 'पहिला आफ्नो खर्च गरेर सघाउँथे,' एमाले नेता पुष्प पोखरेल कार्यकर्ता पंक्तिमा आएको परिवर्तन सुनाउँछन्, 'पछिल्लो समय ठूलो खर्च नगरी नखट्ने खालका कार्यकर्ता थपिँदैछन्।'

कांग्रेसका सिवाकोटीसँग अर्को अलग्गै समस्या छ। जुन दिन पार्टीले उनको नाम उम्मेदवार निम्ति सिफारिस गर्‍यो, त्यसयता कम्तीमा १५ वटा चिठ्ठी उनले पाइसकेका छन्, जहाँ आर्थिक सहायताको अपेक्षा गरिएको छ।

'क्लब, अरू संघसंस्थाहरू सहयोग गर्नुपर्‍यो भन्दै घरमा आइरहेका छन्,' बिर्तामोड निवासी उनले गुनासो गरे, 'कसैलाई चिन्दिनँ भन्न पनि पाइएन, दिन्नँ भन्न पनि भएन। बडो गाह्रो हुँदोरहेछ।'

मरिहत्ते र नाटक 
यति धेरै अप्ठयारा र चुनौतीबीच पनि सबै नेता चुनाव लड्न मरिहत्ते किन गर्छन्? स्वाभाविक रूपमा 'शक्तिका लागि' भन्ने उत्तर आउँछ। तर, ताप्लेजुङका हाङ्गामका लागि जसरी यो बाध्यता हुँदैछ, त्यस्तै विभिन्न कारणले चुनाव नलडी नहुने स्वभावका नेता पनि धेरै छन्। दुई पटकभन्दा बढी चुनाव लडेका नेताहरू जतिसुकै जोखिम मोलेर भए पनि अर्को चुनावमा उठ्न इच्छुक देखिएको पाइन्छ। 

बुढाथोकी यसबारे आफूलाई जुवाडेसँग तुलना गर्छन्। उनका लागि चुनाव जुवाडेका लागि तिहारजस्तै हो रे। 'जुवाडेले पैसा भए दाउ थाप्छ, नभए च्याँखे थाप्छ, त्यो पनि नभए जितौरीको आसमा जुवाखाल रुंघ्छ,' पञ्चायतदेखि चुनाव लड्दै आएका उनको तर्क छ, 'सधैं चुनाव लड्दै आएको मान्छे चुनाव बेला डराएर बस्ने कुरा हुँदैन।'

कांग्रेसले टिकट नदिएकै कारण २०४८ मा उनले राप्रपाबाट चुनाव लडेका थिए। उनकै दलका सिवाकोटी र एमालेका पोखरेल चाहिँ 'निर्वाचित प्रतिनिधि' हुनुको गौरवले दिने आत्मसन्तुष्टि यसको मुख्य कारण भएको बताउँछन्। सक्रिय राजनीतिमा लाग्ने सबैको लक्ष्य नै जनप्रतिनिधि बन्ने हुन्छ, जसले अन्य सबै जोखिम व्यवस्थापन गर्छु भन्ने आँट जुराइदिन्छ। 

आममतदाता मात्रै होइन, नेताहरू पनि स्वीकार्छन्, चुनावमा जसले धेरै नाटक गर्‍यो, बाजी उसैले मार्‍यो। हरेक चुनावमा हार्दै आएका सबैजसो उम्मेदवार चुनावमा जित्नेले थुप्रै हतकन्डा अपनाएको बताउँछन्। जित्नेहरू भने यो स्वीकार गर्दैनन्। चुनावमा 'जे पनि गर्न, भन्न र गराउन पछि पर्नुहुन्न' भनिन्छ। तपाईं के गर्नुहुन्छ? यो प्रश्न एक दर्जन उम्मेदवारलाई तेर्स्याउँदा सबैको उत्तर एकै थियो—'हो, त्यस्तै भएको देखिएको छ। तर, मैले अहिलेसम्म त्यसो गरेको छैन।' 

सर्पले सर्पकै खुट्टा देख्छ भनिन्छ। अरूले चुनाव जित्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने, तर आफू चोखै रहेको देखाउन खोज्ने धेरै छन्। विपक्षी दलका नेताहरूले चुनाव जित्न अनेकौं नाटक गर्ने अर्को दलको नेताको भनाइले पनि चुनाव बेला दल र नेताहरू अनेक तिकडम गर्छन् भन्ने देखाउँछ। सँगै जे हो त्यो नदेखाउने, जे होइन त्यो देखाउन उद्यत हुने लेपनयुक्त कुरामा बढी विश्वास गर्छन् भन्ने पनि देखाउँछ।

'अरू दलले चुनावका लागि धेरै गुलिया नारा र नाटक गरेको देखेका छौं,' अघिल्लोपटक पाँचथरमा हारेका एमाओवादी केन्द्रीय सदस्य श्रीप्रसाद जवेगु भन्छन्, 'हामी चाहिँ गर्दैनौं।' यद्यपि संविधानसभाको पहिलो चुनावमा जित्नकै लागि धेरै हतकन्डा अपनाएको आरोप उनकै दललाई लाग्यो। 

राजनीतिशास्त्रका अध्येताहरू शक्ति आर्जनका लागि दलहरूभित्र जनताको विश्वासभन्दा भोट जित्न लाग्ने संस्कार हुर्किएकाले यसलाई स्वाभाविक मान्छन्। 'चुनाव जितेपछिको शान–सौकत र शक्तिबारे सबै जानकार छन्,' मेची बहुमुखी क्याम्पस भद्रपुरका सहप्राध्यापक भीम सुब्बा भन्छन्, 'त्यो शक्तिको सत्ता वैधानिक रूपले आफूमा आउने हुँदा सबै दल जित्नका लागि जे पनि गर्न पछि पर्दैनन्, व्यक्तिका हकमा पनि त्यही कुरा लागू हुने हो।'

उनले भनेजस्तै पद र त्यसको आडमा प्राप्त हुने शक्तिकै कारण पछिल्लो समय दलहरूभित्र 'होलटाइमर' कार्यकर्ताको संख्या ह्वात्तै बढेको छ। उनीहरूलाई व्यस्त राख्ने सबैभन्दा भरपर्दो थातथलो स्थानीय निकाय लामो समयदेखि आवधिक निर्वाचनबाट विमुख छ। त्यसैले चुनाव आउनासाथ सबैको जोड अहिलेको जस्तै चुनावमा टिकट हात पार्ने दाउतिर केन्द्रित हुन्छ। 'स्थानीय निकायको चुनाव नियमित भयो भने अहिलेको जस्तो मरिहत्ते केही मात्रामा घट्छ,' सुब्बा थप्छन्, 'यो श्रृंखलाको अन्त्य नै भैहाल्ला भन्न चाहिँ गाह्रो छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस