काठमाडौं- हत्याप्रयासको अभियोगमा फरार रहेका 'कुख्यात गुन्डा' दिनेश अधिकारी (चरी) बुधबार प्रहरीसँगको मुठभेडमा मारिएका छन्। सात महिनादेखि फरार उनी बुधबार साँझ ५ बजे काठमाडौं, भीमढुंगाको नर्सरी सामुदायिक वनको सडकमा मारिएका हुन्। आफूलाई पछ्याउँदै आएको प्रहरी टोलीमाथि गोली हानेका चरी प्रतिकार फायर गर्दा मारिएको प्रहरीको दाबी छ।
एक घन्टापछि घटनास्थल पुग्दा सीतापाइलाबाट करिब ७ किलोमिटरमाथि नर्सरीभञ्ज्याङ भन्ने सामुदायिक वनको मोडमा बा४९प ३११२ नम्बरको मोटरसाइकलसँगै चरीको शव थियो। घटनास्थल बस्तीभन्दा करिब २ किलोमिटर पर सुनसान ठाउँमा छ। धादिङ र काठमाडौं जोड्ने उक्त सडकको पहिलो अप्ठ्यारो मोडमै भिडन्त भएको प्रहरी भनाइ छ।
उनलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भने गरिएन। उनलाई कति गोली लाग्यो भन्ने प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। शवनजिक ८ वटा गोलीका खोका भेटिएकाले प्रहरीबाट ८ राउन्ड गोली चलेको पुष्टि हुन्छ। चरीलाई दाहिने छाती र देव्रे कोखामा गोली लागेको छ।
खैरो सर्ट, निलो जिन्स र सेतो जुत्तामा रहेका उनको दाहिने हातको १० मिटर दुरीमा कालो पेस्तोल थियो। प्रहरीले उक्त पेस्तोल चरीको भएको दाबी गरेको छ। उनको टाउकोमा हेलमेट थिएन। हेलमेट करिब ५० मिटर पर थियो।
स्थानीयका अनुसार घटना हुनुभन्दा केही समयअघि मोटरसाइकल र गाडी हुत्तिँदै उकालो लागेको थियो। प्रायः उक्त सडकमा सामान्य गतिमा सवारीसाधन चल्ने गरे पनि मोटरसाइकल र गाडी असामान्य गतिमा हुत्तिएको एक स्थानीयले बताए।
प्रहरीले सर्वसाधारण र स्थानीयलाई घटनास्थलबाट करिब २ सय मिटर तलै रोकेको थियो। केही व्यक्तिले रुँदै आफूहरूलाई पनि घटनास्थल देखाउन माग गरिरहेका थिए। घटनास्थलमा रहेका प्रहरी अधिकारीलाई 'चरीका दाइले भाइको शव हेर्न माग गरेको' सूचना आए पनि प्रहरी अधिकारीले परिवारलाई अस्पताल जाने सन्देश पठाएका थिए।
प्रहरी दाबी अनुसार शंकास्पद गतिविधिमा संलग्न हुनसक्ने व्यक्तिको खोजीमा खटिएका सादा पोसाकको प्रहरी टोलीले एउटा मोटरसाइकल असामान्य गतिमा सीतापाइलातिर गएको देखेपछि पिछा गरेको थियो। करिब ७ किलोमिटर पिछा गर्दा समेत मोटरसाइकल नरोकिएको र नर्सरी भञ्ज्याङ सामुदायिक वनको मोडमा पुगेपछि प्रहरी टोली रहेको गाडीमा गोली हाने पछि जवाफी फायर गर्दा मोटरसाइकलमा रहेका व्यक्ति ढलेको प्रहरीको भनाइ छ।
'मोटरसाइकलमा रहेका व्यक्ति को हुन् भन्ने प्रहरीलाई पहिला जानकारी थिएन,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले नागरिकसँग भने, 'प्रहरीमाथि गोली चलेपछि जीवनरक्षाका लागि गोली चलाउँदा मोटरसाइकलमा रहेका व्यक्ति ढल्यो, गएर हेर्दा मात्र उनीप् रहरीको खोजी सूचीमा रहेका चरी भएको खुलेको हो।'
आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहले धादिङ हुँदै काठमाडौं छिर्न र काठमाडौंबाट बाहिरिन उक्त सडक प्रयोग गर्नसक्ने आशंकामा प्रहरीले निगरानीमा राख्दै आएको एसएसपी कार्कीले बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम कार्कीले अधिकारीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा पठाएको जानकारी दिँदै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाउने बताए। प्रहरीले शववाहनमार्फत शव टिचिङ अस्पताल पुर्याएपछि केही व्यक्तिले ढुंगामुढा गरेका थिए। प्रहरीले ढुंगामुढामा संलग्न सातजनालाई पक्राउ गरेर स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
'पिछा गरिरहेको प्रहरी टोलीमाथि नै गोली हानेपछि प्रहरीले गोली चलाउँदा उनी मारिएका हुन्,' कार्कीले भने, 'उनी किन भागे, घटना कसरी भयो भन्ने पाटोबारे हामी विस्तृत अनुसन्धान गर्छौं।'
सातमहिनादेखि फरार
एमाले धादिङ–१ का पूर्व क्षेत्रीय उपाध्यक्ष चरी गत पुस १५ देखि प्रहरीको फरार सूचीमा छन्। नयाँबजार क्षेत्रमा चरीले राधे भण्डारीलाई खुकुरी हानेर मार्ने प्रयास गरेपछि उनी भूमिगत थिए।
धादिङका राधे र चरी सुरुमा एकै समूहमा रहे पनि चरी कांग्रेस छाडेर एमालेमा सक्रिय भएपछि यी दुईबीच शत्रुता बढेको थियो। चरीले राधेका भाइमाथि सांघातिक आक्रमण गरेपछि उनको समूहले गत वर्ष असार २२ गते धादिङबाट काठमाडौं फर्किएका चरीलाई काठमाडौंमा गोली हानेर मार्ने प्रयास गरेका थिए।
उक्त घटनापछि राधेले प्रहरीसँग आत्मसर्मपण गरे। राधेले चरीलाई गोली हान्न प्रयोग गरेको पेस्तोल आफू सोही समूहमा रहँदा उनैले दिएको बयान दिएका थिए। त्यसपछि प्रहरीले चरीलाई समेत पक्राउ गरेर हातहतियार तथा खरखजाना अभियोगमा अनुसन्धान अघि बढाएको थियो। यो मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राधे र चरी दुवैलाई धरौटीमा छाड्यो। छुटेको पाँच महिनापछि नै चरीले राधेलाई खुकुरी हानेका थिए।
त्यसपछि भारतको दिल्ली पुगेका उनी एमाले महाधिवेशनताका काठमाडौं आएका थिए। महाधिवेशन सकिएपछि फेरि दिल्ली गएर बसेका चरी पछिल्लो समय असार अन्तिमसाता काठमाडौं भित्रिएर राजनीतिक संरक्षणमा बसिरहेको स्रोतको दाबी छ। विश्वस्त स्रोतका अनुसार चरी स्वयम्भु क्षेत्रमा एक एमाले नेताको घरमा सेल्टर लिएर बसेका थिए। त्यसको जानकारी पाएको प्रहरी उनको खोजीमा खटिए पनि पक्राउ गरेको थिएन।
लुटपाटदेखि खाग तस्करीसम्म
प्रहरी रेकर्डअनुसार चरी ११ वर्ष अघिदेखि आपराधिक गतिविधिमा सक्रिय थिए। धम्क्याएर रकम असुली, विभिन्न व्यक्तिमाथि सांघातिक आक्रमणदेखि खाग तस्करीसम्मको घटनामा उनी जोडिए पनि बलियो राजनीतिक संरक्षणका कारण कारबाहीबाट जोगिँदै आए।
चरीले ठमेल र नयाँबजार क्षेत्रबाट आफ्नो आपराधिक गतिविधि अघि बढाएका हुन्। २०६२ बाट उनी आपराधिक गतिविधिमा सक्रिय रहेको देखिन्छ। प्रहरी रेकर्डअनुसार उनी पहिलोपटक २०६२ कात्तिक १५ गते प्रकाश सिलवाललाई धारिलो हतियारले हानेर घाइते बनाएको अभियोगमा पक्राउ परेका थिए। उक्त मुद्दामा धरौटीमा छुटेका चरी पुनः २०६२ मंसिर ३० मा पक्राउ परे।
महानगरीय प्रहरी प्रभाग दरबारमार्गको हिरासतमा सार्वजनिक अपराध अभियोगमा रहेका उनी एक महिनापछि हिरासतबाट भागे। त्यसपछि माउन्ट होलिडेमा हतियार प्रहार गरेको अभियोगमा पक्राउ परेर ११ महिना जेल परेका थिए।
२०६४ वैशाख ४ मा यिनले अर्जुन श्रेष्ठलाई गोली हानेको अभियोग लाग्यो। २०६५ फागुन ६ मा खुसिबुमा निरञ्जन खनाललाई गोली हानेको घटनामा पनि उनी जोडिए।
नेपाली कांग्रेसका केही नेताको संरक्षणप्राप्त चरीले दल परिर्वतन गरेर एमालेको युथफोर्समा लागेपछि उनको आपराधिक गतिविधिसमेत बढ्यो। ठमेल क्षेत्रमा यार्चा लुटपाट, धम्क्याएर रकम असुली, क्यासिनो आउने जुवाडेलाई महँगो ब्याजमा रकम लगानीको घटनासँगै उनी खाग तस्करीमा समेत जोडिए।
२०६५ ताका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चरीलाई खागको तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो। पछि उक्त खाग नक्कली भएको भन्दै उनी छुटे। त्यसको केही महिनालगत्तै नुवाकोटबाट फर्कंदै गरेका चरीको समूहलाई प्रहरीले थानकोटमा रोकेर गाडी जाँच गर्दा २१ लाखको चेक र हतियार फेला परेपछि कारबाही अघि बढाए पनि उनी दुवै मुद्दामा सहजै धरौटीमा छुटेका थिए।