मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिले मापदण्ड पालना नगरेका सबै अवैध क्रसर उद्योगलाई पुस मसान्तसम्म यथास्थितिमा चल्न दिने निर्णय गर्यो। क्रसर व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको थाहा पाउँदापाउँदै सरकारले यो निर्णय गरेको हो। उद्योगमा मौज्दात ३४ लाख घनमिटर निर्माण सामग्री बजारमा ल्याउन नसकेर सरकारले व्यवसायीको अगाडि घुँडा टेकेको छ। साथै मापदण्डभित्र रहेका ३२ उद्योग सञ्चालनको वातावरण तयार गर्न नसकेपछि सरकारले सबै अवैध उद्योग सञ्चालनको ढोका खुला गरेको हो।
कृत्रिम अभाव र मापदण्डभित्रका उद्योग सञ्चालन गर्न नदिने व्यवसायीलाई कुनै कारबाही नै नगरी सरकारले सबै उद्योग नवीकरणको बाटो पनि खोलिदियो। मापदण्ड पालना नगरेका कारण असार मसान्तदेखि बन्द गरिएका ती उद्योगलाई अर्थमन्त्री रामशरण महत संयोजक रहेको समितिले खुला गरेको हो। मापदण्ड पालना र खानी क्षेत्रको व्यवस्था गर्न नसकेर सरकारले पटक–पटक व्यवसायीको प्रभावमा परेका ती उद्योगको म्याद थप गर्दै आएको छ।
क्रसर उद्योग व्यसायी महासंघका अनुसार देशभर ५ सय ८० क्रसर उद्योग छन्। यीमध्ये अधिकांश उद्योग चुरे र त्यसको आसपास छन्। मन्त्रिपरिषदको अघिल्लो निर्णयले चुरे र त्यसको एक किलोमिटर वरपर ढुंगा, गिट्टी, बालुवा, माटोलगायत प्राकृतिक स्रोत संकलन र उत्खननमा प्रतिबन्ध लगाएको छ। तर पनि त्यही क्षेत्रमा क्रसर उद्योगहरू छन्। ती उद्योग हटाउनेतर्फ सरकार किन मौन बसेको छ?
सरकारले ती उद्योगलाई हटाउनेतर्फ कुनै पहल नगरी एकैपटक सबै उद्योग खुला गरेको छ। बन्द गरिएका उद्योगमा भएको कच्चा र तयारी सामग्रीको आपूर्ति सहज बनाउने र मापदण्ड भित्रका उद्योग सञ्चालनका लागि सहज वातावरण तयार नगरी यो निर्णय गरिएको छ। कहिले हटाइन्छ त चुरेका क्रसर उद्योग? चुरेमा कहाँ–कहाँ छन् ती उद्योग? निर्णय गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने सरकारी रवैयाले गर्दा अहिले पनि मेचीदेखि महाकालीबीचको चुरेमा दर्जनौं क्रसर उद्योगहरू छन्।

बौलाहा खोला, प्रगतिनगर, नवलपरासी

कमला नदी, चिसापानी, धनुषा

औरही खोला, धनुषा

गुडुङ खोला, कपिलवस्तु

लाल बकैया नदी, बारा

२ नम्बर पुल, अमलेखगंज, बारा

रातु खोला, महोत्तरी

चिसापानी, धनुषा

चिसापानी, धनुषा
सबै तस्बिर : चन्द्रशेखर कार्की