काठमाडौं- 'तेल चोर' छुटाउन नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले दिएको दबाबसामु सरकार झुकेको छ। भारतबाट ल्याएको इन्धन गन्तव्यमा नपुर्यावई बीच बाटोमै चोर्न लगाएको आरोप झेलिरहेका व्यापारी चोपनारायण श्रेष्ठ छुटाउन व्यवसायीले हडताल घोषणा गरेपछि आयल निगमले उनीहरुलाई वार्तामा बोलाएको हो।
महासंघ सल्लाहकार श्रेष्ठविरुद्ध प्रहरीले जारी गरेको पक्राउपुर्जी फिर्तालगायत माग पूरा गर्न व्यवसायीले हडतालको सहारा लिएका हुन्। उपभोक्ता अधिकारकर्मी भने व्यवसायीको 'गैरकानुनी माग'मा वार्ता सुरु गरेर सरकार झुकेको बताउँछन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ भन्छन्, 'वार्ता होइन कारबाही हुनुपर्थ्यो।'
महासंघले श्रेष्ठलाई सफाइलगायत १० सुत्रीय माग अघि सारेको छ। मागको १०औं बुँदामा श्रेष्ठविरुद्धको कारबाही रोक्नुपर्ने उल्लेख छ।
प्रहरीले श्रेष्ठलाई तेल चोरीमा दोषी ठहराएको छ। महासंघको विरोध कार्यक्रम अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने गरी हडताल गर्न नपाइने कानुनी प्रावधानविपरीत छ।
दसैं, तिहार जस्ता ठूला पर्वमा आपूर्ति ठप्प पारे सरकारलाई घँुडा टेकाउन सजिलो हुने ठानेर महासंघले हडतालको लागि यो समय रोजेको हो। महासंघलाई एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स एसोसिएसनले पनि साथ दिएका छन्।
'आवरणमा अन्य माग देखाउने र भित्री रुपमा तेल चोर श्रेष्ठलाई छुटाउने खेल हो,' उपभोक्ता अधिकारकर्मी बानियाँले भने, 'सरकारले श्रेष्ठको पक्राउ पुर्जी खारेज गर्योग भने भोलिबाटै आन्दोलन स्थगित हुन्छ। अरु माग पूरा गर्नु पर्दैन।' पूरा गर्नै नसकिने माग राख्नुले पनि तेल चोर बचाउन खोजेको देखिने बानियाँले बताए।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार सोमबार हडताली व्यवसायीसँग भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। 'केही दिनपछि फेरि गर्छौँ,' उनले भने।
महासंघ अध्यक्ष खगेश्वर बोहरा निगमले वार्तालाई निर्ष्कषमा पुर्याहउन नचाहेको आरोप लगाउँछन्। 'आइतबार पनि वार्तामा गएका थियौं, निगमका अधिकारीले गृहकार्य नपुगेको भन्दै लम्ब्याउन चाहे,' उनले भने। सरकारले आफ्ना मागलाई गम्भीर रुपमा नलिए भदौ २८ गतेबाट ट्यांकरको साँचो बुझाउने तयारीमा रहेको उनले बताए।
महासंघको मागमा सरकारले चासो नदिएपछि भदौ २१ गतेबाट हडताल थालेको हो। उसले व्यापारिक स्वार्थ पूरा गर्न उपभोक्तालाई बन्धक बनाउँदै सरकारलाई दबाब दिन खोजेको हो। यसअघि पनि तेल चोरीमा संलग्नलाई छुटाउन यस्तै तरिका अपनाएको थियो। तेल चोरी प्रकरणमा जोडिएका व्यवसायीविरुद्ध मुद्दा चलाउन नहुने महासंघको तर्क छ। 'नत्र हामी हडतालमा जान्छौं,' महासंघ पदाधिकारीले हडताल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए।
राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले भैरहवा र भलबारीबीच इलाकामा २० जेठमा छापा मार्दा तेल चोरी गरिरहेका १९ ट्यांकर समातिएका थिए। चालकले चोरीमा ट्यांकर धनीको समेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले १६ जनाको नाममा पक्राउपुर्जी जारी गरेको हो।
पक्राउ पुर्जीको विरोधमा यसअघि महासंघको अगुवाइमा पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघले भलबारीबाट तेल उठाउनै छाडेको थियो। महासंघले विभिन्न राजनीतिक दलका नेता भेटेर पुर्जी खारेज गर्न दबाब दिएको थियो। रुपन्देही प्रहरीले 'तेल चोर'लाई कारबाही गर्ने अडान नछाडेपछि श्रेष्ठलगायत व्यवसायी फरार भए। श्रेष्ठलाई कारबाही गर्न नहुने माग लिएर आइतबार व्यवसायी प्रधानमन्त्रीकहाँ पनि पुगेका थिए।
महासंघ अध्यक्ष बोहरा राज्यले 'निर्दोÈ व्यवसायी श्रेष्ठलाई घर न घाटको बनाएको'ले आफूहरुले आपत्ति जनाएको तर्क गर्छन्। महासंघले व्यवसायीमाथिको मुद्दा तत्काल खारेज गरी केन्द्रीय आयोग गठन गर्न माग गरेको छ।
महासंघले करारमा राखिएका सम्पूर्ण ट्यांकरको लगानी संरक्षण गर्नुपर्ने, समयसापेक्ष ढुवानी नियामावली बनाई चाँडै लागू गर्नुपर्ने, पेट्रोलियमको सम्पूर्ण जोखिम, बिमा र अन्तःशुल्क निगमले बेहोर्नुपर्ने लगायत १० बुँदे माग अघि सारेको छ।