इलाम- 'राहदानी हराएको सूचना छाप्न कति रुपैयाँ लाग्छ?' सञ्चारकर्मीलाई फोन र भेटमा जनसाधारणले सोधिरहने एउटा प्रश्न हो, 'अलि सस्तोमा मिलाउन सकिँदैन?' गृह मन्त्रालयले 'स्थानीय पत्रिका'मै प्रकाशित गर्दा हुने प्रावधान राखे पनि 'राहदानी हराएको' सूचना राष्ट्रिय दैनिक पत्रिकामै बढी छापिन्छ, यसबाट कतिपय सेवाग्राही ठगिन्छन् पनि।
नहराएको राहदानी पत्रिकामा 'हरायो' भन्न जति सजिलो छ, अर्को बनाउन र 'हराएको'ले हुन सक्ने क्षति रोक्न उत्तिकै मुस्किल। तैपनि राहदानी 'हराउने'क्रम रोकिएको छैन। राज्यले नागरिकलाई प्रदान गर्ने महत्त्वपूर्ण र संवेदनशील कागजात हो– राहदानी, जुन विदेशयात्रामा जान चाहनेले निश्चित प्रक्रिया पूरा गरेपछि गृह र परराष्ट्र मन्त्रालयअन्तर्गतका निकायबाट हात पार्छन्।
जारी भएको १० वर्षसम्म मान्य हुन्छ राहदानी, नवीकरण गर्नुपर्दैन। तर, पत्रिका पल्टाउँदा एकै दिन दर्जनौं वटासम्म 'राहदानी हराएको' सूचना देखिन्छ। हरेक जिल्लाको ठेगाना खुलेका राहदानी यत्तिको संख्यामा हराइरहँदा सरोकारवालाले भने वास्तविकता बुझ्न चाहेको देखिँदैन। जारी गर्ने परराष्ट्र मन्त्रालय र 'हराएको' पुष्टि गर्ने नेपाल प्रहरी 'हराएका' राहदानी खोज्न र 'हराउने' क्रम रोक्न मौन छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला इलाममै छ वर्षभित्र झन्डै एक हजारवटा राहदानी हराइसकेका छन्। आर्थिक वर्ष २०६५/०६६ मा १६९, ०६६/०६७ मा १२९, ०६७/०६८ मा १४०, ०६८/०६९ मा १९२, ०६९/०७० मा २१९, ०७०/७१ मा १४४ गरी राहदानी हराउने ९ सय ९३ जनाको विवरण प्रहरी कार्यालयमा छ।
चालू आर्थिक वर्ष २०७१/०७२ को दुई महिनामै ६६ जनाले 'राहदानी हराएको' विवरण प्रहरीमा बुझाएका छन्, त्यसमा महिलाको संख्या ९ छ। 'महिनामा २५/३० जना राहदानी हरायो भन्दै अर्को झिक्ने सिफारिस लिन आइपुग्छन्,' कार्यालयको राहदानी शाखाका हवल्दार हेम आचार्य भन्छन्, 'हराउने यत्तिका भए पनि भेटिएको चाहिँ सुन्न पाइँदैन।'
पत्रिकाको सूचना नियाल्दा इलाममा 'हराउने' राहदानी बिब्ल्याँटेदेखि चौकबजारसम्म र गोलाखर्कदेखि चौकबजारसम्मै भेटिनुपर्ने हो। किनकि अधिकतर सूचनामा हराएको क्षेत्र त्यही उल्लेख हुन्छ। 'सूचनाको भर परेर ती क्षेत्र घुम्ने हो भने राहदानी नै राहदानी भेटिनुपर्ने,' हवल्दार आचार्य हाँस्छन्, 'जिल्ला प्रहरी कार्यालयमा बसेको छ वर्ष भयो। त्यहाँ मात्र होइन, कतैबाट राहदानी भेटिएको खबर आएन।'
इलामका प्रहरीप्रमुख डिएसपी अनुपमशम्शेर जबराका अनुसार वैदेशिक रोजगारीमा जाने उद्देश्यले बनाइएका राहदानी बढी 'हराउने' गर्छन्। ग्रामीण क्षेत्रका युवायुवती म्यानपावरमा सिधै नपुग्ने र एजेन्टमार्फत राहदानी बुझाएर बिदेसिने प्रक्रिया थाल्छन्। एजेन्टले म्यानपावरमा बुझाएका राहदानीमध्ये जसले धेरै ताकेता गर्योे र पैसा खर्चियो उसैको भिसा छिटो आउँछ र रोजगारीका लागि बिदेसिने मौका पाउँछ।
'एजेन्टलाई ताकेता नगर्ने र धेरै पैसा खर्चिन नसक्नेका राहदानी म्यानपावरकै दराजमा थन्किन्छन्' डिएसपी जबरा भन्छन्, 'गाउँबाट राहदानी लिनैलाई म्यानपावर धाउने सबैको क्षमता हुँदैन, तिनै व्यक्तिलाई फेरि बिदेसिनुपर्दा अर्को राहदानी चाहिन्छ र 'हरायो' भन्दै झुटो विवरण लिएर नयाँ बनाउन आइपुग्छन्।' भिसा लागिसकेको अवस्थामा सम्पर्कमा नजानेलाई म्यानपावरले पैसा नलिई राहदानी फिर्ता दिँदैनन्।
जानकी ओभरसिजको इलाम शाखा प्रमुख तारा दवाडीका अनुसार राहदानीवाहकले जुन देश जान खोजेको हो त्यहाँको दूतावासमा भिसा लगाउँदा र काम गर्ने कम्पनीस"ग सम्झौता गर्दा म्यानपावरको निकै रुपैयाँ खर्च भइसकेको हुन्छ। भिसा लागिसक्दा पनि सम्पर्कमा नआउनेको राहदानी म्यानपावरमै थन्किन्छ र पछि आए लागेको खर्च असुल गराएर मात्रै भुक्तानी दिइन्छ। तर, रकम तिरेर राहदानी फिर्ता लिने थोरै हुन्छन्।
'योजनाबिनै बिदेसिन चाहने, एजेन्टमार्फत पैसा खर्च गर्ने, धेरै पैसा खर्चिन नसक्ने र ताकेता गर्दासमेत सम्पर्कमा नआउने कतिपयको राहदानी म्यानपावरमै थन्केको पाइन्छ,' दवाडी भन्छिन्, 'पहिलेपहिले म्यानपावर कम्पनी राजधानीमा मात्रै सीमित हुँदा गाउँबाट त्यहाँ पुगेर राहदानी फिर्ता ल्याउन कठिन हुन्थ्यो।' धेरैतिर खुलेका शाखामा बुझाइएका राहदानी पनि अन्तर्वार्ता क्रममा 'मिसप्लेस' हुन सक्ने उनले बताइन्।
भर्खरै पत्रिकामा सूचना प्रकाशित गरेका माइपोखरी–९ का राजबहादुर राईको राहदानी पनि त्यसै गरी 'हराएको' रहेछ। आफन्तमार्फत राजधानीको म्यानपावरमा राहदानी पठाएका उनले 'चाहेको समयमा, रोजेको देशमा र खोजेको काममा' भिसा नलागेपछि विदेश जान नपाएको बताए। 'त्यही राहदानी फिर्ता ल्याएर अझै विदेश जान सकिन्छ तर म्यानपावरमा पैसा तिर्नुपर्छ,' राई भन्छन्, 'बरु 'हरायो' भनेर नयाँ बनाउँदा सस्तो।'
कतिपयले 'आगोले जल्यो', 'खोलामा बग्यो', 'नानीले च्यात्यो' भने पनि सदैव सुरक्षित राख्नुपर्ने राहदानी सितिमिती त्यस्तो नहुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउँछन्। नागरिकता र राहदानी भनेका राष्ट्रिय चिनारी र अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनी तिनलाई हमेसा सुरक्षित राख्न सुझाउँछन्। 'राहदानीलाई कागजी चिर्कटो मात्रै ठान्नु हुँदैन,' दाहाल भन्छन्, 'यसलाई दुरुपयोग हुन नदिन सचेत रहनुपर्छ।'
हराएपछिको अप्ठ्यारो
थुप्रै कागजी प्रावधान पुर्याचएर ५ हजार रुपैयाँ तिरेपछि पहिलोपल्ट राहदानी बनाउन जति सजिलो हुन्छ, हराएपछिको जटिलता अर्कै छ। जसको नाममा जारी भएको हो, उसैले पहिलेको राहदानीमा उल्लेख भएको नाम, ठेगाना, नम्बर राखेर पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ। सूचना प्रकाशित भएको ३५ दिनसम्म 'भेटिने आस' हुन्छ, कुनै प्रक्रिया थालिँदैन।
जब ३५ दिन बित्छ तब खोजी गरी अर्को बनाउन प्रहरी कार्यालयमा सिफारिस गरिपाउँ भन्ने निवेदन दिनुपर्छ। राहदानी जारी भएको मिति, हराएको मिति र स्थान तोकेर लेखिएको निवेदनमा १० रुपैयाँको टिकट टाँसेपछि मात्रै प्रहरीले बुझ्छ। त्यसपछि कार्यालयले 'हराएको स्थान' नजिकको प्रहरी कार्यालयलाई खोजीका लागि सिफारिस गर्छ।
'सूचनामा हराएको स्थान 'राजधानीबाट इलाम आउँदा' उल्लेख भए राजमार्गले छुने सबै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्नुपर्छ,' हवल्दार आचार्य सुनाउँछन्, 'त्यस क्रममा सम्बन्धित व्यक्ति राहदानी 'खोज्दै' अनेक जिल्ला चहार्नुपर्छ।' प्रहरीले सात दिनसम्म 'खोज्ने' म्याद राख्छ। त्यसपछि बल्ल अर्को राहदानीका लागि सिफारिस दिइन्छ।
'प्रहरीले दिने 'हराएको, खोज्दा नभेटिएको र अर्को दिनू' भन्ने सिफारिसकै आधारमा दोब्बर दस्तुर लिएर अर्को राहदानी जारी गर्ने प्रक्रिया थालिन्छ,' जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटका विनोदबाबु बिसी भन्छन्, 'पहिलेपहिले जिल्लामै बन्ने हुँदा सजिलो थियो, अहिले परराष्ट्र मन्त्रालयबाटै बन्ने भएकाले झन्झटिलो हुन्छ।' यसरी दोस्रो राहदानी बनाउन राजधानी धाउनेको संख्या मासिक १५ भन्दा बढी हुने उनले बताए।
कानुनमा के छ?
राहदानी ऐन–२०२४ ले 'हराएको' राहदानी अरूले प्रयोग गरेको खण्डमा 'दण्डसजाय' नै तोकेको छ। ऐनको दफा ५ मा 'कसैले आफ्नो नामको राहदानी अरूलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा' एक वर्षसम्म कैद र ५ सय रुपैयाँ जरिवाना या दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। त्यस्ता जाली राहदानी प्रयोग गर्नेबारे भने अहिलेसम्म जिल्लामा छानबिन भएको पाइँदैन।
नहराई 'हराएको' पुष्टि गरेर दोस्रोपल्ट राहदानी लिने क्रम बढिरहँदा यसले निम्त्याउने जोखिम धेरैखाले हुन्छन्। डिएसपी जबराका अनुसार म्यानपावरले एउटाको राहदानीमा अर्काको फोटो टाँसेर विदेश पठाउने मात्र होइन, महँगोमा बेच्न सक्ने खतरासमेत हुन्छ। त्यसलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले फरकफरक स्थान र मितिमा बरामद गरेका थुप्रै हस्तलिखित राहदानी नष्ट गर्न प्रक्रिया थालेको जबरा बताउँछन्।
'आफ्नो राहदानी अरूका हातमा पर्न दिनु हुँदैन, दुरुपयोग भएको खण्डमा सम्बन्धित व्यक्ति नै सजायको भागीदार हुन्छ,' उनले नागरिकसित भने, 'राहदानी दुरुपयोग गरेर अपराध गर्ने धेरै हुन्छन्।' दोस्रोपल्ट राहदानी बनाउँदा अघिल्लोको नम्बर उल्लेख गरिने भए पनि दुरुपयोग हुने खतरा कायमै रहने उल्लेख गर्दै प्रशासनका बिसी भन्छन्, 'राहदानी वैदेशिक मामिलासँग जोडिने कागजात भएकाले प्रयोगमा हेलचेक्र्याइँ गर्न हुन्न।'