काठमाडौं- एनएमबी बैंक लिमिटेड र क्लिन इनर्जी डेभलपमेन्ट बैंक एकआपसमा गाभिन (मर्जर) का लागि मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसअघि गत असो १३ गते एनएमबीमा पाथिभरा विकास बैंक र भृकुटी डेभलपमेन्ट बैंकले मर्ज हुन समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
सबै मर्जरपछि नयाँ बैंकको चुक्ता पुँजी र जगेडा कोष वृद्धि भई ५ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ। चुक्ता पुँजी भने करिब ४ अर्ब हुने छ। बैंकको निक्षेप ४२ अर्ब ४४ करोड तथा कर्जा लगानी ३३ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ। निजी क्षेत्रका अन्य वाणिज्य बैंकसँग चुक्ता पुँजी दाँज्दा एनएमबी चौथो ठूलो हुनेछ। ‘विदेशी बैंकका शाखा पनि नेपालमा आउनसक्छन् र तीसँग प्रतिस्पर्धा गर्न वित्तीय रूपमा ठूलो र बलियो बैंक चाहिन्छ,' एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपेन्द्र पौडेलले मंगलबार आयोजित कार्यक्रममा भने, ‘त्यही भएर हामी एकआपसमा गाभिएका हौं।'
मर्जर समझदारीपत्रमा एनएमबीका सञ्चालक सदस्य कमलेशकुमार अग्रवाल र क्लिन इनर्जीका सञ्चालक सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले हस्तार गरेका छन्। मर्जरपछि पनि बैंकको नाम भने एनएमबी नै रहने छ भने सिइओमा पौडेललाई नै निरन्तरता दिइएको छ।
मर्जरपछि दुवै संस्थाका कर्मचारीलाई योग्यता र कार्यक्षमताका आधारमा दरबन्दी मिलान गर्ने सिइओ पौडेलले जानकारी दिए। एनएमबीका सञ्चालक अग्रवालले मुलुकको व्यापार घाटा ऊर्जा क्षेत्रबाट कम गर्न सकिने र क्लिन इनर्जी ऊर्जा क्षेत्रमा केन्द्रित भएका कारण अब यसमा लगानी बढाउन सकिने बताए।
क्लिन इनर्जीका सञ्चालक श्रेष्ठले मर्जरको सबैभन्दा ठूलो विषय भावना जोड्ने भन्दै मर्जर कमिटी दुई संस्थाको भावनात्मक एकीकरणका लागि गृहकार्यतिर लागेको जानकारी दिए।
सम्बद्ध स्रोतका अनुसार मर्जरका लागि गरिएको सेयर मूल्यांकनमा एनएमबीको बढी र क्लिन इनर्जीको कम तोकिएको छ। एनएमबीको प्रतिकित्ता १ सय रुपैयाँ र क्लिन इनर्जीको ७५ रुपैयाँ तोकिएको छ। विगतमा पनि यी दुवै संस्थाबीच मर्जरमा जान सहमति भएको थियो। तर, त्यसबेला भने क्नि इनर्जीको सेयर मूल्यांकन एनएमबीको भन्दा बढी गरिएको थियो।
एनएमबी र क्लिन इनर्जी दुवै बैंकमा विदेशी कम्पनीको लगानी रहेको छ। एनएमबीमा मलेसियाली कम्पनीको १२ दशमलव ९० प्रतिशत तथा क्लिन इनर्जीमा नेदरल्यान्डको एफएमओ इन्टरनेसनल डेभलपमेन्ट बैंकको १४ प्रतिशत लगानी छ।
एनएमबी बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको सञ्चित कोषमा १ अर्ब २० करोड रुपैयाँ छ। चालु आर्थिक वर्ष २०७१/७२ को पहिलो तीन महिनासम्म यसले २७ अर्ब ३५ करोड निक्षेप संकलन गरी २१ अर्ब ११ करोड कर्जा लगानी गरेको छ। पहिलो तीन महिनामा यसले १४ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ।
त्यस्तै क्लिन इनर्जीको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ छ। यसको सञ्चित कोषमा ३३ करोड ६७ लाख रहेको छ। चालु आर्थिक वर्ष पहिलो तीन महिनासम्म यसले ८ अर्ब ७१ करोड निक्षेप संकलन गरी ७ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ। पहिलो तीन महिनामा यसले १ करोड ७६ लाख खुद नाफा गरेको छ।
एनएमबीसँग हाल २९ शााखा तथा चार एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्। क्लिन इनर्जीका १०, पाथिभराका १२ र भृकुटीका १६ शाखा र तीन एक्सटेन्सन काउन्टर छन्। मर्जरपछि नयाँ एनएमबी बैंकको शाखा ६७ तथा एक्सटेन्सन काउन्टर सात हुनेछन्।