काठमाडौं- भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले मुम्बईबाट सोमबार काठमाडौं आएको जहाजमा आगलागी नै नभएको जनाएको छ। जहाजमा चरा ठोक्किए पनि आगलागी नभएको जेटको नेपालस्थित अधिकारीले जानकारी दिएका हुन्।
‘हाम्रो त्यो जहाजमा ह्वारह्वारी आगो लागेको भन्ने सरासर गलत हो,' जेटको नेपालस्थित कार्यालयकी कस्टोमर सर्भिस सुपरभाइजर प्रेरणा शाहले मंगलबार नागरिकन्युजसँग भनिन्, ‘जहाजको बायाँ पखेटामा रहेको इन्जिनमा चरा ठोक्किएको हो र त्यो इन्जिन बन्द गरी सफल आकस्मिक अवतरण गराइएको हो।'आकस्मिक अवतरण गरिए पनि त्यसमा सवार सबै १ सय २५ यात्रु आरामसँग भर्याङबाट नै ओर्लिएको उनले बताइन्। यदि ह्वारह्वारी आगो लागेको भए अवतरण गर्नासाथ जहाजको आकस्मिक ढोका (इमर्जेन्सी स्लाइड) खोलेर यात्रु त्यसैबाट चिप्लेटी खेल्दै भुइँमा झर्ने थिए। ‘तर, सामान्य कुरालाई पनि अतिरञ्जित गरेर समस्या उत्पन्न गराइयो,' शाहले भनिन्।
शाहका अनुसार चरा ठोक्किएपछि इन्जिनमा क्षति पुगेको थियो। जहाज अवतरणलगत्तै जेटकै इन्जिनियरहरूले मर्मत सुरु गरेका थिए। मंगलबारसम्म पनि मर्मत नभएपछि सामान फेर्नुपर्ने भएको छ। बिहीबार (पुस १७) मा जगेडा सामान ल्याएर जडान गरेपछि जहाज पुनः उडानमा फर्कने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार मध्याह्न १२ः१५ बजे अवतरण गरेको जेटको १ सय ६८ सिट क्षमतायुक्त बोइङ ‘बि७३७–८००' जहाजको बायाँ पखेटामा रहेको इन्जिनमा चरा ठोक्किएको थियो।
विमानस्थलका अनुसार जेटको उक्त जहाज बिहान ११ः२० बजे काठमाडौं अवतरण गर्ने तालिका थियो तर, मुम्बईबाट नै ढिलो उडेको थियो। एक वरिष्ठ पाइलटले दुईवटा इन्जिन रहेका कारण एउटा इन्जिनले काम नगरे पनि अर्कोले आरामसँग उडान गर्न सक्छ।