काठमाडौं- नेपाल विद्युत प्राधिकरणले हचुवामा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने परिपाटी हटाएको छ। २५ देखि सय मेगावाटसम्मका आयोजनामा अब लागत र वित्तीय अवस्था लेखाजोखा गरेर पिपिए गर्ने प्रावधान राखिएको हो।
प्राधिकरणले यसअघि आयोजनापिच्छे वार्ता गरी फरक–फरक पिपिए दर तोक्ने प्रावधान थियो। २५ देखि सय मेगावाटसम्मका आयोजनाको छुट्टै पिपिए दर कायम गर्न प्राधिकरणले सञ्चालक मनोज मिश्राको संयोजकत्वमा कमिटी गठन गरेको थियो।
ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारी, प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक शेरसिंह भाट, विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्य सम्मिलित कमिटीले आइतबार प्राधिकरण सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको छ।
उक्त प्रतिवेदन अब बस्ने सञ्चालक समिति बैठकले पास गर्ने मिश्राले बताए। नयाँ प्रावधानअनुसार पिपिए गर्न हाल संसदमा विचाराधीन विद्युत नियमन आयोग तत्काल गठन गर्नुपर्छ। पिपिए गर्दा प्रवर्द्धक वा प्राधिकरणलाई आर्थिक नाफा–घाटाको लेखाजोखा वा अनुमगन र मूल्यांकन गर्ने काम उक्त आयोगले गर्नेछ। यसपछि कुनै पनि आयोजनाको पिपिए प्रवर्द्धकसँगको मिलेमतोमा गर्ने आरोपको अन्त्य हुने प्राधिकरणका एक इन्जिनियरले बताए।
ऊर्जामन्त्री राधा ज्ञवालीले २५ देखि सय मेगावाटसम्मका आयोजनाको पिपिए दर निश्चित नहुँदासम्म सञ्चालक समिति बैठक नराख्न कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई दबाब दिँदै आएकी थिइन्। एमालेका सभासद तथा पार्टीनिकट व्यक्तिले बढी आयोजनाको अनुमतिपत्र लिएकाले उनीहरुको गुनासो सुनुवाइ गर्न पनि मन्त्रीले यस्तो दबाब दिँदै आएको प्राधिकरण अधिकारी बताउँछन्।
सय मेगावाटसम्मका आयोजनाको पिपिए गर्दा अब आयोजनाको कुल लागत, वातावरणीय अध्ययन, वित्तीय घाटा–नाफाको विश्लेषण गरिने मिश्राले बताए। 'पिपिए दर हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा (पोस्टेड रेट) नै निर्धारण हुनेछ,' उनले आइतबार नागरिकसँग भने, 'पिपिए दरमा ३ प्रतिशत वृद्धिदर कायम गरी औसत ८ पटकसम्म वृद्धिदर दिने व्यवस्था गरिएको छ।'
प्राधिकरणले २५ मेगावाटभन्दा साना आयोजनाको पिपिएमा पनि सोही पोस्टेड दर दिने गरेको छ। तर, यस्ता आयोजनाको पिपिएमा ३ प्रतिशतका दरले ५ पटकसम्म वृद्धिदर दिने व्यवस्था छ। २५ देखि सय मेगावाटसम्मका आयोजनाको हकमा भने लागतका आधारमा अधिकतम ११ पटकसम्म वृद्धिदर दिन सकिने मिश्राले जानकारी दिए।
उनका अनुसार औसत आठ प्रतिशतको पिपिए दरमा चित्त नबुझे स्वतन्त्र नियामक निकायमार्फत आयोजनाको लागत पुनरावलोकन गराउने अधिकार प्रवर्द्धकलाई हुनेछ। प्राधिकरणभन्दा बाहिरको स्वतन्त्र नियामक निकायले गरेको आयोजनाको मूल्यांकन तथा वित्तीय विश्लेषणका आधारमा पिपिए वृद्धिदर थप गर्न सकिनेछ।
आयोजना तोकिएभन्दा कम लागतमा निर्माण भए ३ प्रतिशतको पिपिए वृद्धिदर औसत आठपटक र अवस्थाअनुसार घटाएर पाँच पटकमात्र दिन सकिने पनि मिश्राले बताए। यसका लागि पनि प्राधिकरणले स्वतन्त्र नियामक निकायमार्फत आयोजनाको वित्तीय अवस्थाको विश्लेषण गराउनुपर्नेछ। यो मापदण्डले व्यक्तिगत स्वार्थका आधारमा पिपिए गर्ने परिपाटी अन्त्य हुने विभाग निर्देशक शाक्यले बताए।
प्राधिकरणले पिपिए गर्दा लिने शुल्कमा पनि २५ देखि सय मेगावाटसम्मका आयोजनाका लागि बढाएको छ। यसअघि यस्ता आयोजनाको हकमा साढे चार लाख रुपैयाँ लिने गरिएकोमा अब प्रतिआयोजना ६ लाख रुपैयाँ पिपिए शुल्क लिइनेछ। सय मेगावाट ठूला आयोजनाको हकमा भने अझैसम्म कुनै नियम तय गरिएको छैन। ठूला आयोजनाको पिपिए भने प्राधिकरणले अहिले रोकेको छ।