काठमाडौं- बढ्दो विद्युत संकट कम गर्न विकास समिति गठन गरी द्रुत गतिमा निर्माण गर्ने लक्ष्य राखिएका बूढीगण्डकी र नलसिंहगाढ जलाशय जलविद्युत आयोजना अहिले राजनीतिक भागबण्डा र खिचातानीको सिकार बनेका छन्।
दुई आयोजनाका उच्च अधिकारीलाई ऊर्जामन्त्री राधा ज्ञवालीले आफूअनुकूल काम गर्न दबाब दिइरहेकी छन्। एमाओवादी कोटामा नियुक्त दुवै विकास समितिका अध्यक्षले नियमानुसार काम गर्ने प्रयास गर्दा स्थानीयस्तरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले विरोध गरिरहेका छन्।
विद्यमान विकास समितिको संरचना पुरानो भएको भन्दै मन्त्रिपरिषदबाटै परिवर्तन गराएकी मन्त्री ज्ञवालीले पार्टीनिकट व्यक्ति आयोजनामा नियुक्त गर्न नसक्दा निर्माण प्रक्रिया नै रोकेको मन्त्रालय स्रोत बताउँछ। 'एमाओवादी कोटाका दुवै विकास समिति अध्यक्षको कार्यावधि चार वर्ष तोकिएकाले उनीहरुले छाड्न मानेका छैनन्,' स्रोतले भन्यो, 'यही कारण ती दुवैलाई मन्त्रीले असहयोग गरिरहेकी छन्।'
बाबुराम भट्टराई सरकारले आयोजना द्रुत गतिमा निर्माण गर्ने भन्दै विकास समिति गठन गरेर प्राधिकरणबाट यी आयोजना तानेका समितिलाई सुम्पेका थिए। सुरुमा समितिमा अध्यक्ष र कार्यकारी निर्देशक रहने व्यवस्था थियो। पछि उनैले अध्यक्षलाई नै विशेष अधिकार दिने गरी कार्यकारी अध्यक्ष रहने व्यवस्था बनाए। त्यतिबेला बूढीगण्डकी विकास समितिमा लक्ष्मीप्रसाद देवकोटा र नलसिंहगाढमा शेरबहादुर शाहीलाई कार्यकारी अध्यक्ष तोकियो।
माओवादीले राखेका व्यक्ति हटाएर एमालेनिकट भर्ति गर्न नसकेपछि मन्त्री ज्ञवालीले उनीहरुको अधिकार कटौती गरी समितिमा पुनः अध्यक्ष र कार्यकारी निर्देशक रहने पुरानै व्यवस्था फर्काइन्। आयोजना बनाएर अँध्यारो हटाउने र विकास निर्माणलाई निरन्तरता दिनेभन्दा प्रक्रिया भाँड्ने र आयोजनामा एमालेको हालीमुहाली गर्ने ज्ञवालीको योजना रहेको विकास समितिका अधिकारी तर्क गर्छन्।
पहिचान गर्दा बूढीगण्डकी ६ सय र नलसिंहगाढको क्षमता चार सय मेगावाट तोकिएको थियो। अहिले बूढीगण्डकी एक हजार दुई सय र नलसिंहगाढ चार सय १० मेगावाट क्षमतासम्म बनाउन सकिने अध्ययनले देखाएको छ। बूढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न झन्डै एक अर्ब रुपैयाँ राज्यले निकासा गरिसकेको छ भने नलसिंहगाढ अगाडि बढाउन पनि करोडौं रुपैयाँ खर्च भइसकेको छ।
यो अवस्थामा एमाओवादीले अगाडि बढाएको प्रक्रियामा असन्तृष्टि जनाउँदै मन्त्री ज्ञवालीले विकास समिति नै खारेज गर्ने प्रक्रिया अघि बढाएकी थिइन्। तर, यसको सरकारबाटै विरोध भएपछि उनले विद्यमान संरचनामा आयोजना बन्न नसक्ने भन्दै समितिको संरचना परिवर्तन गरी कार्यकारी अध्यक्षको अधिकार कटौती गर्दै आयोजनामा कार्यकारी निर्देशक रहने व्यवस्था गरिन्।
मन्त्रीले फेरेको संरचनामा रुष्ट देवकोटा र शाहीले कार्यकाल पूरा नभई नछोड्ने अडान लिएका छन्। उता बूढीगण्डकी निर्माणस्थल गोरखा र धादिङमा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले आयोजनामा आफ्नो उपस्थितिलाई बेवास्ता गरेको भन्दै विरोध थालेका छन्। यस्तै नलसिंहगाढ बन्ने जाजरकोटमा पनि कांग्रेसलगायत राजनीतिक शक्तिले आफ्नो उपस्थिति हुनुपर्ने बताएर अवरोधको प्रयास गरिरहेका छन्।
जलविद्युत आयोजना यसरी राजनीतिक भागबण्डामा तानिएकाले निर्माणमा अन्योल उत्पन्न भएको बूढीगण्डकी समितिका अध्यक्ष देवकोटाले बताए। 'बूढीगण्डकीमा जनशक्ति निकै कम छ, मन्त्रालयले हाम्रो अधिकारसमेत कटौती गर्योक,' उनले बिहीबार नागरिकसँग भने, 'आवश्यक कर्मचारी दिन पनि सकेको छैन। काम गर्ने वातावरण नै बिथोलिएको छ।'
आयोजना निर्माणस्थलबाट झन्डै २५ हजार व्यक्तिलाई पुनर्स्थापना गर्नुपर्छ। यसतर्फ समेत मन्त्रालयले कुनै योजना नबनाएको उनले बताए। उनका अनुसार पुनर्स्थापना र पुनर्बासका विषयमा गर्नुपर्ने वातावरणीय अध्ययनको फाइल अहिलेसम्म मन्त्रालयमै थन्किएको छ। फ्रान्सको ट्र्याक्टेवेल कम्पनीले आयोजनाको डिपिआर तयारी अन्तिम चरणमा पुर्यामएको छ। कर्मचारी अभाव र राजनीतिक खिचातानीले कम्पनीले प्रारम्भिक डिपिआर बुभाएको तीन महिना सकिँदा पनि समितिले यसबारे प्रतिक्रिया दिएको छैन।
संरचना फेरेपछि अहिलेसम्म दुवै समितिको बैठकसमेत बस्न सकेको छैन। नलसिंहगाढको डिपिआर तयार पार्न परामर्शदाता छान्न प्रारम्भिक काम सुरु भए पनि अन्तिम छनोट रोकिएको छ। यो आयोजना केन्द्रबाट टाढा भएकाले अझ बढी राजनीतिक खिचातानी हुने हुँदा विकास समितिले बनाउन नसक्ने प्राधिकरण अधिकारीको तर्क छ। यो चलखेलस"गै लोडसेडिङ अन्त्य गर्ने सरकारको योजना असफल हुने छर्लंग भएको छ।
जनशक्ति अभावले कर्मचारी पठाउन नसकिएका कारण कारण देखाउँदै आयोजनामा लक्ष्यअनुसार काम हुन नसकेको मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए। 'बूढीगण्डकी परामर्शदाताले बुझाएको प्रारम्भिक डिपिआरको अध्ययन भइरहेको छ,' उनले भने, 'नलसिंहगाढको पनि परामर्शदाता छान्ने प्रक्रिया अगाडि बढाइएको छ, जनशक्ति अभावले समयअनुसार काम गर्न सकिएको छैन।' कर्मचारी अभावभन्दा राजनीतिक खिचातानी र भागबन्डाले काम हुन नदिएको मन्त्रालयकै अधिकारी टिप्पणी गर्छन्।
तत्कालीन प्रधानमन्त्री भट्टराईले सुरुमा अध्यक्ष र कार्यकारी निर्देशकको व्यवस्था हटाएर कार्यकारी अध्यक्ष राख्ने व्यवस्था गरे। यहीँबाट आयोजनामा सरकारैपिच्छे वा पार्टीपिच्छे व्यक्ति भर्ति गर्ने र निकाल्ने परिपाटी सुरु भयो। 'राजनीतिक आस्थाकै आधारमा अहिले कार्यकारी अध्यक्ष हटाइयो, भोलि फेरि अर्को सरकार आउ"दा यो व्यवस्था परिवर्तन हुन्छ,' प्राधिकरणका एक उच्च अधिकारीले भने, 'ऊर्जा मन्त्रालयमा आउने नेताको लहडमा बूढीगण्डकी र नलसिंहगाढ फसे। यी आयोजना बन्नुभन्दा राजनीतिक पार्टीका व्यक्तिले जागिर खाने गतिलो थलो बन्ने भए।'
असारभित्र डिपिआर पूरा गरी सन् २०१७ मा निर्माण सुरु गरेर २०२२ भित्र बूढीगण्डकी सक्ने योजना छ। तर अन्तिम डिपिआर पूरा हुन अर्को एक वर्ष लाग्ने देखिएको छ। प्रारम्भिक डिपिआर अध्ययन गरेर यसको क्षमता, असर र वातावरणीय अवस्थाबारे मन्त्रालयले परामर्शदातालाई निचोड दिएको छैन। उसले प्रतिवेदन बुझाएको १५ दिनभित्र प्रतिक्रिया दिनुपर्नेमा हालसम्म दिन नसकिएकाले कम्पनीले समय थप्न दबाब दिइसकेको समितिले जनाएको छ।