काठमाडौं- संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले बायोमेट्रिक प्रणालीका विषयमा छानबिन गर्नुपर्ने भन्दै यसलाई लागू नगराउन सरकारलाई निर्देशन दिएको छ। बुधबार समितिले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटी र म्यानपावर व्यवसायीलाई बोलाएर बायोमेट्रिकका विषयमा छलफल गरेको थियो।
छलफलमा समितिका सभासदहरुले मन्त्री गुरुङ, सचिव शिवाकोटी र म्यानपावर व्यवसायीलाई बायोमेट्रिक लागू हुँदा हुने अवस्थाका विषयमा जानकारी मागेका थिए। समितिका सभापती प्रभु साह, सभासदहरु राजन भट्टराई, राजीव शाही लगायतले बायोमेट्रिकका विषयमा करोडौं चलखेल भएकाले तत्काल लागू गराउन नहुने बताएका थिए।
छलफलमा मन्त्री गुरुङले मलेसियाले बायोमेट्रिक लागू गराउन पत्र पठाए पनि मन्त्रालयले यस विषयमा कुनै निर्णय नगरेको र छानबिन र छलफलकै क्रममा रहेको बताएका थिए।