काठमाडौं- कृत्रिम अभावले बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार मच्चिएपछि सरकारले चार दिनअघि उपत्यकाका उपभोक्तालाई उर्दी गर्योा– ग्यास लिन नेसनल टे्रडिङ आउनू! बजारमा एक सिलिन्डरको ४ हजार रुपैयाँसम्म तिर्दा पनि ग्यास नपाएर चुलो तताउन वञ्चित उपभोक्ताको नेसनल टे्रडिङ परिसरमा ओइरो लाग्यो।
कालोबजारी गर्ने उद्योगी र व्यवसायीलाई कारबाही गर्नुको सट्टा बजार हस्तक्षेप गरेर आफैं ग्यास बेच्न अघि सरेको सरकारको यो 'फन्डा' दुई दिन पनि टिक्न सकेन। सिलिन्डरसहित घन्टौं लाइनमा बसेका धेरैजसोले त्यहाँबाट पनि ग्यास पाएनन्। रित्तो सिलिन्डर लिएर फर्कन बाध्य भए।
उपभोक्तामैत्री भनिएको यो सरकारी योजना किन असफल भयो त?
किनकि, सरकार आफैंले उद्योगीबाट मागेजति ग्यास पाउन सकेन।
साना उद्योगीको भरमा थियो सरकार। कोटा थपिए पनि उनीहरूसँग माग धान्ने क्षमता नै थिएन, त्यसैले एकैदिन दसौं हजार सिलिन्डर बाँड्न सम्भव थिएन। ठूला उद्योगसँग भने सरकारले सम्पर्कै गरेन।
अझै पनि सरकार ग्यास आपूर्ति सहज बनाउने उपाय खोज्न तयार छैन भन्ने पुष्टि गर्दै फेरि अर्काे योजना अघि सारिएको छ– टोल–टोलमा दिन तोकेर ग्यास बाँड्ने।
यसका लागि आयल निगमले बुधबार विभिन्न सञ्चार माध्यममार्फत लोडसेडिङ तालिकाझैं कुन टोलमा कुन दिन ग्यास बाँडिन्छ भन्ने सार्वजनिक सूचना जारी गरेको छ। सस्तो लोकप्रियताका लागि ल्याइएको यो योजना पनि सफल नहुने उद्योगी र उपभोक्ता नै बताउँछन्।
नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीले राज्यको दोस्रो तरिकाले पनि ग्यास अभाव हटाउन नसक्ने बताए। 'यो तरिकाले पनि ग्यासको हाहाकार हट्दैन,' भण्डारीले नागरिकसँग भने, 'निगमले साना र ठूला उद्योगको क्षमता हेरेर कोटा परिमार्जन गर्नेबित्तिकै समस्या समाधान हुन्छ।'
उद्योगीका अनुसार राज्यले बजारमा ग्यासै नभए पनि बाँड्छु भनेर हिँड्नु उपभोक्ता झुक्याउने खेल मात्र हो। 'साना उद्योगीले ग्यास ल्याउनै सकेका छैनन्,' एक उद्योगीले भने, 'निगमले क्षमता भएका उद्योगलाई पन्छ्याँदा बजारमा चरम अभाव भएको हो।'
बजार अनुगमनकारी निकाय मौन रहने एवं कारबाही गर्ने निकायबाटै दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले व्यवसायीको 'दादागिरी' सामु सरकार झुक्नुपरेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन्।
'कालोबजारी गरिरहेका उद्योगलाई निगम आफंैले संरक्षण गरेकाले चोर व्यापारीको मनोबल बढेको हो,' उनले नागरिकसँग भने, 'तिनलाई कारबाही नगरेसम्म सहज रूपमा ग्यास पाइँदैन।'
कसरी तुहियो नेसनल टे्रडिङको योजना?
आइतबार नेसनल ट्रेडिङबाट ग्यास बाँड्ने सरकारी योजना दुई दिन नबित्दै तुहियो। सरकार र व्यवसायीको जुहारीले ग्यास पाउने आसमा दिन माया मारेर लाम लागेका उपभोक्ताको बिजोग भयो।
५२ वटै कम्पनीको ग्यास एकैठाउँबाट बाँड्ने सरकारी योजना कसरी असफल भयो त? 'सरकारसँग गरेको प्रतिबद्धताअनुसार व्यवसायीले ग्यास नै नदिएकाले,' नेसनल ट्रेडिङका महाप्रबन्धक सत्यनारायण मेहताले भने, 'ग्यास बाँड्ने योजना असफल भयो र बन्द गर्न बाध्य भयौं।'
नयाँ सिलिन्डर बेच्न नपाउने अवस्था आएपछि नेसनल ट्रेडिङबाट ग्यास बेच्ने सरकारी योजना साना ग्यास उद्योगीले नै असफल बनाएको एक व्यवसायीको भनाइ छ।
त्यसो त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले मंगलबारै ग्यास बाँड्ने नयाँ योजना सुनाएका थिए। संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा जवाफ दिँदै मन्त्री थापाले भनेका थिए, 'नेसनल टे्रडिङमा सोचेअनुरुप ग्यास बिक्री गर्न सकेनौं, बिहीबारबाट काठमाडौंका विभिन्न ठाउँमा ग्यास बिक्री गर्छौं।'
मन्त्रीको जवाफमा समितिका सदस्य सुवासचन्द्र ठकुरीले चित्त बुझाएनन्। उनले हाकाहाकी भनेका थिए, 'राज्यका उच्चपदस्थ कर्मचारीले ग्यास व्यवसायीबाट मोटो रकम खाएकाले उनीहरूमाथि अनुगमन तथा कारबाही गर्न नसकेको हो।'
मन्त्री थापाले ठकुरीको आरोपको न खण्डन गरे न कारबाही गर्न अघि सरे। 'यसबाटै यो अभावभित्रको खेल प्रस्ट हुन्छ,' एक उद्योगीले सुनाए।
दुई दिन नेसनल ट्रेडिङमा रमिता हेरेर फर्किएका उपभोक्तालाई फेरि रमिते बनाउन खोजिएको उपभोक्ताकर्मी बानियाँको आरोप छ। 'एक सिलिन्डर ग्यास पाउन उपभोक्ताले २ हजार ५ सय रुपैयाँसम्म तिर्न तयार भए, तैपनि पाएका छैनन्,' उनले भने, 'सरकारले ग्यास दिन्छ भनेर टाढा–टाढाबाट ट्याक्सी चढेर नेसनल ट्रेडिङ पुगेका उपभोक्ता रित्तै फर्कन बाध्य भए।'
राज्यको सस्तो लोकप्रियताले जनतालाई सास्ती थपेको स्वयं ग्यास उद्योगी बताउँछन्। बिहीबारबाट टोलटोलमा बाँड्ने योजनाले राजधानी नै जाम गराउने केही व्यवसायीको आरोप छ।
'राज्यले क्षमतै नभएका उद्योगलाई ग्यासको कोटा थपेर अभाव बढायो,' एक उद्योगीले भने, 'क्षमता भएका उद्योगलाई कोटा दिनेबित्तिकै समस्या समाधान हुन्छ।'
आयल निगम प्रवक्ता मुकुन्द घिमिरे भने सरकारको दोस्रो योजनाले ग्यास अभाव हटाउने दाबी गर्छन्। 'अहिले भएको डिपोबाटै ग्यास बिक्री हुन्छ,' उनले भने, 'यसले नेसनल टे्रडिङमा भएको जस्तो विकृति हुँदैन।'
निगमको भनाइसँग ठूला ग्यास उद्योगी सहमत छैनन्।
'क्षमतै नभएका उद्योगलाई कोटा दिने, अनि ग्यास खोजेर हुन्छ?,' नेपाल ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले नागरिकसँग भने, 'कोटा परिमार्जन गरेर ठूला उद्योगको हालको कोटा वृद्धि गर्नेबित्तिकै समस्या समाधान हुन्छ।'
उनले यसलाई सरकारी नौटंकीको संज्ञा पनि दिए। 'आयल निगम र आपूर्ति मन्त्रालयलाई साना उद्योगले ग्यास ल्याउन नसकेको प्रस्टसँग थाहा छ,' अर्यालले भने, 'उपभोक्ता झुक्याउने नौटंकी योजना हो।' उद्योगले ग्यास दिए डिपोले नै बाँड्ने उनको भनाइ छ।
दोस्रो योजनाबाट नेसनल टे्रडिङको भन्दा चार गुणा बढी असहज परिस्थिति निम्तने उनले जनाए।
बुधबारै साना उद्योगहरू गीता, एलएन, गृहलक्ष्मी, ओमलगायत कम्पनीले ग्यास दिन नसक्ने जनाउ दिएको अर्यालले जानकारी दिए।
सरकारले आफ्नो योजना सफल पार्न ठूला उद्योगसँग सहयोग मागेको छैन। ठूला उद्योगलाई निगमले ग्यास उपलब्ध गराउन पत्र नकाटेकाले ग्यास लैजाने योजना नरहेको नेपाल ग्यासका कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए।
यता, एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले नेसनल टे्रडिङको जस्तो भद्रगोल दोस्रो योजनामा नहुने दाबी गरे। 'सरकारलाई सहयोग गर्छाैं,' घिमिरेले नागरिकसँग भने, 'ग्यास नभएका केही उद्योगले नदिने भनेको सुनेको छु, तर अरुले दिन्छन्, ग्यास सहज रुपमा उपलब्ध हुन्छ।'
'क्षमता भएकालाई कोटा दिनू'
सरकारले क्षमता भएका उद्योगलाई कोटा वृद्धि गर्न आयल निगमलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार निगम र वाणिज्य मन्त्रालयका पदाधिकारीसहित बैठकमा मुख्यसचिव लीलामणि पौडेलले ठूला उद्योगको ग्यास कोटा वृद्धि गर्न र साना उद्योगलाई भएको कोटा घटाउन निर्देशन दिएका हुन्।
'जसको क्षमता छ, उसलाई कोटा दिनुस्,' बैठकमा मुख्यसचिव पौडेलले निर्देशन दिए, 'क्षमतै नभएकालाई बढी र ठूलालाई कम दिँदा बजारमा समस्या आएको हो।'
मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले १० दिनभित्र ग्यास अभाव सहज नभए सम्बद्ध निकायलाई कारबाही गर्ने बताए। 'निगमका नवनियुक्त कार्यकारी निर्देशक गोपालबहादुर खड्काले १० दिनमा ग्यास अभाव हट्छ भन्नुभएको छ,' सचिव सुवेदीले भने, 'त्यसैले हामी १० दिन कुछर्ौं।'
मुख्यसचिव पौडेलले ग्यास अभाव सहज गर्ने योजना ल्याउनसमेत निगमलाई निर्देशन दिएका छन्। उपभोक्ताले राहत पाउने गरी अनुगमन गर्ने, ग्यास आपूर्ति सहज बनाउन थप पूर्वाधार मिलाउने तथा ग्यासको व्यावसायिक तथा घरायसी प्रयोगका लागि निलो तथा रातो सिलिन्डर कार्यान्वयनमा ल्याउनसमेत उनले निर्देशन दिए।