काठमाडौं- भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गर्न अन्तर्राष्ट्रिय ठेकेदार छानिएको छ। ठेक्का मूल्यांकनमा पहिलो चिनियाँ र इटलीको कम्पनीबीच विवाद हुँदै आए पनि अन्ततः सबैभन्दा कम दर प्रस्तावक चिनियाँ कम्पनी छानिएको हो।
राष्ट्रिय गौरवको यस आयोजनाका लागि बिहीबार सिँचाइ मन्त्रालय र विभागको रोहवरमा आयोजना र चीनको 'चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)' बीच सम्झौता भएको छ। कोभेकले साढे चार वर्षमा १२ किलोमिटर सुरुङ १० अर्ब ५६ करोड ९७ लाख ३१ हजार रुपैयाँमा निर्माण पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ। आयोजनाका लागि करिब ११ अर्ब रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो।
विभागले पहिलोपटक टिबिएम मेसिनबाट सुरुङ बनाउने काम थालेको भन्दै विभागका महानिर्देशक माधव बेलबासेले देशका लागि यो नमूना आयोजना बन्ने बताए। 'तोकिएको समयमै काम पूरा गर्न ठेकेदारको निरन्तर अनुगमन एवं मूल्यांकन गरिनेछ,' उनले बिहीबार नागरिकसँग भने, 'भविष्यमा डाइभर्सन आयोजना बनाउन यस्ता मेसिनकै खाँचो पर्छ। यो आयोजनाको सफल निर्माणपछि अरुमा जान सजिलो हुन्छ।' निर्माणमा राजनीतिक दलदेखि स्थानीय, सरोकारवाला सबैले सहयोग गर्नुपर्ने उनले बताए।
ठेकेदारले फागुन अन्तिम सातादेखि काम सुरु गर्नुपर्ने जानकारी दिँदै आयोजना प्रमुख शिवकुमार बस्नेतले सुरुदेखि नै उसको कामको निरन्तर अनुमगन गरिने बताए। 'काम गर्न नसक्ने ठेकेदार भनेर धेरै विवाद भयो, प्राविधिक, आर्थिक दृष्टिले कोभेक छानियो,' उनले भने, 'अब विवादमा केन्द्रित हुनुभन्दा सम्झौता कार्यान्वयन गरी तोकिएको समयमै काम पूरा गर्न जोड दिनुपर्छ।'
विभागले सुनकोसी–मरिन, कालीगण्डकी–तिनहुलगायत आधा दर्जन डाइभर्सन आयोजना निर्माण गर्ने योजना बनाएको छ। यी आयोजना बनाउन पनि टिबिएम मेसिन नै प्रयोग गर्नुपर्ने हुदा भेरी–बबई डाइभर्सनको काम तोकिएको समयमै पूरा गर्नुपर्ने विभागका अधिकारी बताउँछन्।
टिबिएम सुरुङ खन्ने आधुनिक मेसिन भएकाले यसका साना–साना पाटपुर्जा नेपालमै ल्याएर जडान गर्नुपर्छ। मेसिनका उपकरण खरिद, आयात र जडान गर्न एक वर्ष समय लाग्ने हुँदा उक्त समयसम्म सुरुङ निर्माणस्थलसम्मको करिब दुई किलोमिटर पहुँच मार्ग र क्याम्प निर्माण गरिने बस्नेतले जानकारी दिए। जलविद्युत आयोजना, मेट्रो रेल, र सुरुङ मार्ग निर्माणमा भविष्यमा समेत उपयोगी हुने हुँदा यो आयोजना सफल बनाउनुपर्नेमा विभागका अधिकारीले जोड दिए।
ठेक्का छनोटको पहिलो र दोस्रो प्रक्रियामा यस्तो मेसिनबाट सुरुङ खन्ने योग्य कम्पनी नछानिएपछि सिँचाइ विभागले पुनः तेस्रोपटक ठेक्का आह्वान गरेको थियो। ठेक्का प्रक्रियामा विभिन्न अन्तर्राष्ट्रिय आठ कम्पनी सहभागी भए पनि ६ कम्पनीले मात्रै आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने कोभेकलाई ठेक्का दिने तयारी हुँदा विवाद भएको थियो।
कोभेक र दोस्रो कम दर प्रस्ताव गर्ने इटलीको 'ग्रान्डी लभोरी फिनकस्ट तथा सेली ओभरसिज' का नेपाली एजेन्टले सुरुङ निर्माणमा कोभेकसँग अनुभव नभएको र अन्तर्राष्ट्रियस्तरमै विवादित कम्पनी भएको आरोप लगाएका छन्। सिँचाइका अधिकारी भने एजेन्टको आरोप गलत रहेको र सरकारले प्रतिर्स्धाबाटै कोभेक छानिएको बताउँछन्।
पहिलो ठेक्का प्रक्रियामा सिनो हाइड्रो, चाइना गेजुबा र भारतको कोस्तल कम्पनीले प्रस्ताव पेस गरेकोमा सबैले लागतभन्दा बढी रकम प्रस्ताव गरेका थिए। यस्तै, दोस्रोपटक चीन, इटली र अस्ट्रियन कम्पनीको प्रस्ताव परेकोमा अस्ट्रियनले प्रतिस्पर्धामा भाग नलिएका कारण प्रक्रिया रद्द भएको थियो।
तेस्रो प्रक्रियामा छानिएको कोभेक सुरुङ खन्न योग्य कम्पनी नभएको भन्ने विवाद उत्पन्न भएपछि 'भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना'ले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको थियो। पूर्वयोग्यता निर्धारणको आधारमा अयोग्य भएकाबाहेक संयुक्त उपक्रमका साझेदारबीच नयाँ कम्पनी स्थापना बखत 'प्यारेन्ट' कम्पनीले 'सबसिडरी' कम्पनीलाई वैधानिकरुपमा सबै दायित्व, अधिकार र अनुभव हस्तान्तरण हुने गरी बनेको सहायक कम्पनीलाई मान्यता दिन सकिने भन्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको रायपछि ठेकेदार छान्न विभागलाई सहज भएको थियो।
सन् १९९० मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पहिलोपटक आयोजनाको अध्ययन गरेको थियो। त्यसपछि विभागले पुनःअध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाएको हो। ४.२ डायमिटरको १२ किलोमिटर सुरुङ निर्माणका लागि विभागले करिब ११ अर्ब रुपैयाँमा ठेक्का आह्वान गरेको थियो। सुरुङ सुर्खेत र बाँकेको सीमा चिसापानीबाट सुरु गरी बर्दियाको बेलवा गाविसमा निकालिनेछ।
झन्डै ६ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाबाट बर्दियामा ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्नेछ। यस्तै डाइभर्सनबाट ४८ मेगावाट बिजुली उत्पादन हुनेछ भने बिजुलीबाट मात्रै देशलाई वर्षको साढे २ अर्ब रुपैयाँ आम्दानी हुने विभागले जानकारी दिएको छ।