कमन म्यान : एक मौन क्रान्तिको अवसान
१६ माघ २०७१
•
१९ मिनेट पाठ
कमन म्यान : एक मौन क्रान्तिको अवसान
उसले कहिल्यै बोलेन।

ऊ केवल हेर्थ्यो। ऊ केवल देख्थ्यो। र, ऊ केवल सुन्थ्यो।

अचम्म थियो, उसको हेराइ, देखाइ र सुनाइ! ती दृश्य र वाणीमा उसले भ्रष्टाचार, दुराचार र समाजका विसंगति देख्थ्यो। जनताका पीडा र उत्पीडन महसुस गर्थ्यो। जनताका नाममा जथाभावी गर्ने राजनीतिक नेता, व्यापारी, कर्मचारी सबै उसका पात्र थिए। तिनको मूर्खता, जडता र हास्यास्पद तर्क जनतासमक्ष पुर्यााउने प्रतिनिधि थियो ऊ।
cartoon-1ऊ, अर्थात् कमन म्यान (एक सर्वसाधारण)। भारतीय दैनिक पत्रिका 'द टाइम्स अफ इन्डिया' को पहिलो पृष्ठमा ५६ वर्ष अनवरत पकेट कार्टुन बनाएका आरके लक्ष्मणको सिर्जना।

कुनै जमाना थियो, नेपालका विद्वान भनिने र भनाउन चाहने सबैको जमघट न्युरोड, पीपलबोटमा हुन्थ्यो। तीमध्ये धेरैको पीपलबोट जानुको उद्देश्य हुन्थ्यो– 'द टाइम्स अफ इन्डिया' किन्ने र पढ्ने। त्यसमा छापिएका विचारका आधारमा नेपाल–भारत सम्बन्ध विषयमा लख काट्नु पीपलबोटे राजनीतिज्ञ, विद्वान र साहित्यकारको दैनिकी नै थियो।

 

cartoon-7

धेरैका लागि नपढे पनि टाइम्स अफ इन्डिया बोक्नु वा पछाडिको खल्तीमा घुसार्नु नै इज्जत हुन्थ्यो। पत्रिका नपढ्नेहरू पनि आरके लक्ष्मणको 'यु सेड इट' हेरेर रमाउँथे र त्यसैबाट मूल्य असुल भएको ठान्थे।

सत्तरी र असीको दशकमा दिउँसो दिल्लीबाट जहाजमा ल्याइएका टाइम्स अफ इन्डिया पीपलबोट अगाडिको सन्देशगृह पसलका दराजमा थान मिलाएर राखिएका हुन्थे। यसका पाठक आउँथे, एउटा–एउटा टिप्थे र पैसा दिँदै जान्थे।

असी दशकको सुरुआतदेखि नै कमिक्स पढ्ने बानी लागेको पंक्तिकार पनि आरके लक्ष्मणको कार्टुन हेर्न पत्रिका उठाउँथ्यो। पसलेले साना केटाकेटीलाई पत्रिका उठाउनै नदिने। हामीले त खालि लोटपोट, मधुमुस्कानका नयाँ अंक तथा बेताल र मेन्ड्रेकका कमिक्स मात्र किन्नुपर्नेजस्तो गर्थे। अलि ठूलाले पल्टाएको पत्रिकाका अगाडि आरके लक्ष्मणको कार्टुन पढेर कमिक्स पढेको आनन्द लिने बानी बसेको थियो त्यसताका।

टाइम्स अफ इन्डिया घरमै आउन थालेपछि हरेक दिन कार्टुन हेर्ने र त्यसमा कमन म्यानले के देख्यो, के विषयमा व्यंग्य गर्योक भन्ने बुझेर आफूलाई विद्वान ठान्ने प्रवृत्ति विकास भयो, बिस्तारै।

जनवरी २०१५ को २६ तारिख अर्थात् भारतको गणतन्त्र दिवसमा आरके लक्ष्मणले यो संसारबाट बिदा लिए। उनको बिदाइमा धेरै कार्टुनिस्टले भावुक भएर चित्र कोरे। त्यसमध्ये एक भारतीय कार्टुनिस्ट सतिश आचार्यले बनाएको 'बिदा द्रोणाचार्य तिमीलाई, हजारौं बूढीऔंलाको बिदाइ' भन्ने कार्टुनले मन छोयो।

cartoon-8

साँच्चै नै, भारतमा जस्तै धेरै नेपाली युवामा जनता र विकासका लागि यस्ता कुरा ठिक हुन्, यस्ता विषय ठिक होइनन्, सरकारले यसो गरेको भए हुने, सरकारले यसो नगरेको भए हुनेजस्ता मानक बनाउन सहयोग गरेको आरके लक्ष्मणका कार्टुनले नै हुन्। कतिले कमन म्यानलाई हेरेर त्यस्तै र त्यत्तिकै सशक्त कार्टुन बनाउन प्रेरणा लिए होलान् र कतिपयले चित्र कोर्न नसके पनि जनताको हितका लागि के गर्नुपर्ने रहेछ, कस्ता विषय उठाउनुपर्ने रहेछ भन्ने जानकारी लिए होलान्। त्यसैले धेरै नेपाली एकलव्यहरूले आरके लक्ष्मणलाई गुरु द्रोणाचार्य मानेर श्रद्धा गरे। महाभारतका द्रोणाचार्यलाई जस्तो उनलाई कुनै अर्जुनलाई सर्वश्रेष्ठ बनाउनु थिएन। त्यसैले एकलव्यहरूको औंला माग्नुपरेन। तथापि हजारौं होइन, करोडौं एकलव्यले उनको बिदाइमा आफ्ना बूढीऔंला उठाएर मनभरिको श्रद्धासुमन टक्र्याए गुरुलाई।

cartoon-2

सन् १९२१ मा जन्म लिएका र सन् १९५१ देखि दैनिक पत्रिकाका लागि कार्टुन बनाउन थालेका आरके लक्ष्मणले ५६ वर्षपछि विराम लिएको सन् २००३ मा मात्र हो, जुन बेला उनलाई पहिलोपल्ट स्ट्रोक भएको थियो। स्ट्रोकले देव्रे पाटो पक्षघातको सिकार भए पनि लक्ष्मणले अस्पतालबाट फर्केलगत्तै फेरि ब्रस समाएका थिए। तर शरीरले सिर्जनालाई साथ नदिने कसम खाएको थियो सायद, त्यसैले उनलाई फेरि पनि स्ट्रोक भयो।

cartoon-3

पछिल्लोपटकको स्ट्रोकले यिनको बोली पनि लिएर गयो। तर उनकी श्रीमतीको आग्रह र प्रोत्साहनले करिब अन्तिम समयसम्म उनले केही न केही सिर्जना गर्न छाडेनन्। भारतको मंगलग्रहमा यान पठाउने अभियान सफल भएकोमा सन् २०१४ डिसेम्बरमा कमन म्यान बनाएर शुभकामना पठाए, त्यस मिसनका प्रमुखलाई। त्यस चित्रले उनको कार्टुन हेरेर बूढा भएका सबैका आँखा भिजायो। किनभने कमन म्यान हेरेर चित्रकारिता सिक्दै गरेको एक बालकले जस्तो कमन म्यान बनाउँछ, लक्ष्मणको करिब सात दशकपछिको कमन म्यान त्यस्तै थियो। तर ब्रसको स्ट्रोक सही भयो या भएन, कसैले भेदभाव गरेन। स्ट्रोकले थिलथिलो बनाएको पक्षघात र बचन बसेको व्यक्तिले पनि कसरी आफ्नो भावना पोख्न फेरि ब्रस चलायो, त्यसैले सबैको मनमा उनीप्रति श्रद्धा र सम्मान बढायो। उनको आँट र सिर्जनशीलताका पक्षमा चलेको अनवरत कलमको सम्मानमा नझुक्ने सायदै कुनै शिर थियो।

यस्ता सिर्जनशील व्यक्तित्व र जनताको मनोभावनाको स्पष्ट प्रवक्ता आरके लक्ष्मण ९४ वर्षको उमेरमा यो संसारबाट बिदा भए। उनको बिदाइमा संसारका सम्पूर्ण कार्टुनिस्टले केही गुमाएको महसुस गरेका होलान् र सँगसँगै कार्टुनका प्रशंसक र पाठकले पनि अबको संसारमा राजनीतिक व्यंग्य अलि मलीन हुने हो कि भन्ने डर मानेका हुन सक्छन्। तर मानव इतिहास चलेकै विगतबाट प्रेरणा लिएर हो। भारत र नेपालमा पनि यी महान व्यंग्य कलाकारको तीक्ष्ण बुद्धिबाट सिक्नेको कमी सायद छैन। लक्ष्मणलाई स्मरणबाट हराउन नदिन पनि उनका एकलव्य निरन्तर राजनीतिक व्यंग्यमा सलबलाइरहनेछन्।

आरके लक्ष्मण सही मानेमा अभिव्यक्ति स्वतन्त्रताका एक सशक्त रक्षक थिए। भारतमा इमर्जेन्सी लागेको केही समय उनले धेरै कुरा भन्न सकेनन्। उनको कमन म्यान पनि राजनीतिकभन्दा धेरै सामाजिक र अन्य विषयमा केन्द्रित भयो। तर त्यसबेलाका शासकका मतियारलाई त्यही मलीन लक्ष्मण पनि पचाउन गाह्रो भयो। तिनले लक्ष्मणलाई एकपछि अर्को दबाब दिन थाले। दबाब सहन नसकेर उनी सिधै इमर्जेन्सी लगाउने प्रधानमन्त्री इन्दिरा गान्धीसँग कुरा गर्न गए। उनको उचाइ यति धेरै थियो कि इन्दिरा गान्धीसमेत उनलाई सम्मान गर्थिन्। त्यसैले राजनीतिक व्यंग्यले समाजमा सन्तुलन कायम गर्छ भन्दै तिनले लक्ष्मणलाई स्वतन्त्रतापूर्वक काम गर्ने छुट दिइन्। अनि फेरि कमन म्यानले भारतीय नेताको कोठा, चोटामा विचरण गर्न थाल्यो, इन्दिरा गान्धीका लामा नाक र कडा बोली फेरि टाइम्स अफ इन्डियाको मुखपृष्ठका आकर्षण बन्न थाले। विडम्बना, इन्दिरा गान्धी धेरै निरंकुश भइन् भनेर जनताले जिताएको जनता पार्टीका प्रधानमन्त्री मोरारजी देसाई भने लक्ष्मणको व्यंग्य सहन नसकेर एकपल्ट उनको कार्टुन प्रतिबन्ध लगाउने निर्णय लिने अवस्थामा पुगेका थिए। उनले मन्त्रिपरिषद बैठकमा प्रस्तावसमेत ल्याएछन्, लक्ष्मणलाई प्रतिबन्ध लगाउने। धन्न, कसैले देसाईलाई भनिदिएछ, अभिव्यक्ति स्वतन्त्रता भएको भारतजस्तो मुलुकमा कार्टुन प्रतिबन्ध गर्न मिल्दैन।

cartoon-4

आरके लक्ष्मणले आफ्नो पुस्तक 'द टनेल अफ टाइम' मा लेखेका छन्– 'कतिपय अवस्थामा कार्टुनिस्टले बनाएको कार्टुनको कुनै अर्थ हुँदैन। जुनबेला त्यसको अर्थ लाग्छ, त्यसबेला त्यो धेरै रुचाइएको हुन्छ तर समयान्तरमा त्यसको अर्थ हराएर जान्छ। जस्तो कुनै राजनीतिक नेताको कुनै मूर्ख तर्क तत्कालका लागि रमाइलो होला, तर पछि त्यो नेता नै राजनीतिबाट बाहिरिएको अवस्थामा त्यो कार्टुनको कुनै अर्थ हुँदैन।'

लक्ष्मणले आफ्नो पुस्तकमा जुन तर्क गरेका छन्, ती कुरा कतिपय अवस्थामा सही होलान् तर जुन कार्टुनिस्टले समाजको स्पन्दन महसुस गरेको हुन्छ, उसको सिर्जना सदाबहार हुन्छ। यो कुराको प्रमाण लक्ष्मणले कार्टुन बनाउन छाडेपछि देखियो।

cartoon-5टाइम्स अफ इन्डियाले सन् २००३ पछि लक्ष्मणका कतिपय यस्ता कार्टुन छाप्यो जुन भारतको तत्कालीन राजनीतिक र सामाजिक अवस्थाका लागि गतिला प्रहार थिए। तर ती कार्टुन नयाँ थिएनन्, लक्ष्मणले जवाहरलाल नेहरु वा इन्दिरा गान्धीका सरकारप्रति गरेका व्यंग्य थिए। टाइम्सले ती कार्टुन विगतमा कहिले छापिएका थिए भनेर खुलाउने पनि गरेको थियो। अर्थात् लक्ष्मण जो आफू सदाबहार रहदिनँ भनेर डराउँथे, त्यो पनि उनको कलाबोधले विपरीत प्रमाणित गरिदियो। उनका सिर्जना कालजयी प्रमाणित भए।

कला कालजयी मात्र होइन, भौगोलिक सीमाजयी पनि हुन्छ भन्ने प्रमाण पनि दिएका छन् लक्ष्मणका कार्टुनले। अधिकांश नेपाली कार्टुनप्रेमीले लक्ष्मणका धेरै कार्टुनलाई भारतीय राजनीतिक र सामाजिक परिवेशका आधारमा अर्थ लगाउनुपर्दैनथ्यो, केवल अलिकति समय र पात्र परिवर्तन गर्दा तिनले नेपालकै अवस्थालाई व्यंग्य गरिरहेजस्तो भान हुन्थ्यो। सायद त्यसैले होला, नेपालमा पनि गुरुका एकलव्य शिष्यहरूको यति ठूलो संख्या देखिएको। सायद त्यसैले होला, कार्टुनिस्ट लक्ष्मणको मृत्युले भारतमा मात्र होइन, नेपालका कला पारखी र कलाकारमा समवेदनाभाव ल्याएको।

कार्टुन कलामा जुन पात्रमाथि व्यंग्य गरिएको छ, चित्र उसकै जस्तो हुबहु हुनुपर्ने पनि नहुँदो रहेछ। अझ त्यति मात्र होइन, कहिलकाहीँ व्यक्ति नै उसको कार्टुनजस्तो बन्दै जाँदो रहेछ। भारतमा राजीव गान्धी शासनमा आएपछि लक्ष्मणलाई उनको व्यंग्यचित्र बनाउन निकै गाह्रो भएछ। गान्धी राम्रो अनुहारका र कतै पनि चुच्चो–चाच्चो वा कार्टुन बनाउन मिल्ने अनुहारका थिएनन्। यो मामिलामा लक्ष्मणको विचारमा पिभी नरसिंह राव वा लालुप्रसाद यादव एकदम सजिला पात्र थिए। तर उनले राजीव गान्धीलाई पनि अलिकति भद्दा बनाउने कोसिस गरे। उनले गान्धीको कपाल अलिकति सफाचट बनाए, नाक अलि तिखो बनाइदिए अनि भुँडी पनि पुटुक्क बढेजस्तो बनाए। कालान्तरमा उनलाई धेरैले भने, 'राजीव गान्धी उनले बनाएको पात्रजस्तै परिवर्तन हुँदै गए।'

 

cartoon-6

नेपालमा आरके लक्ष्मणको विशेष स्थान उनले बनाएका कार्टुनले मात्र होइन, उनको कलाकारिताबाट प्रोत्साहन लिएर यो विधामा विशिष्टता हासिल गरेका कार्टुनिस्टका कारण पनि जीवन्त छ। नेपालका प्रख्यात कार्टुनिस्ट वात्स्यायन र राजेश केसीमा लक्ष्मणको झझल्को धेरै आउँछ। वात्स्यायनका धेरै कार्टुनमा देखिने काग लक्ष्मणको कागप्रेमको झल्को हो भन्न सकिन्छ। उता केसीको पात्र 'फलानो' को पनि कमन म्यानकै जस्तो मुख देखिँदैन, ऊ पनि केवल एक मूकदर्शक हो जनताको विवशता र नेताको अकर्मण्यताको। अर्थात् नेपालका कार्टुन क्षेत्रका एकलव्य र समाजलाई परिवर्तन गर्न कस्ता विषयमा ध्यान दिनुपर्छ भनेर उनले सिकाएको विषयलाई पत्रकारिता र लेखनमा अपनाउने एकलव्यले उनलाई द्रोणाचार्य मान्दै आएका थिए, मान्नेछन्।

लक्ष्मणको प्रशंसामा जति शब्द खर्च गरे पनि कम हुन्छ, उनी भने धेरै कम शब्दमा ठूला कुरा सजिलै व्यक्त गर्थे। जुन कुरा कसैले भनेर वा लेखेर जनतालाई बुझाउन सक्दैनथे, त्यो कुरा उनले चित्र र करिब एक दर्जन शब्दमा भ्याइदिन्थे। जनतालाई कहाँ दुःखेको छ, जनताले केमा चित्त बुझाएको छैन, कुन कुरा जनताले भन्न सकेको छैन र कुन कुरा नेताले ढाँटेको छ, त्यो सबै लक्ष्मणको कमन म्यानलाई थाहा हुन्थ्यो। कमन म्यान कहिले कसैको बैठकमा हुन्थ्यो, कहिले फोहोरको डुंगुरको अगाडि त कहिले नेताका पछाडि।

ऊ कहिले झ्याल बाहिर बसेर सुन्थ्यो त कहिले चारपाईमा सुतेर। तर ऊ कसैलाई केही भन्दैनथ्यो, कसैलाई गाली गर्दैनथ्यो। केवल हेर्थ्यो।

लक्ष्मणले कार्टुन विधामा दिएको सबैभन्दा महत्र्वपूर्ण शिक्षा कसैलाई जनावर बनाएर वा नराम्रोसँग गाली गरेर आफ्नो भनाइ राख्नुपर्दैन। संयमित ढंगले सटिक शब्दमा आफूलाई लागेका कुरा भन्न सकिन्छ, जनतालाई बुझाउन सकिन्छ र समाजलाई परिवर्तन गर्न सकिन्छ।

अब अर्को लक्ष्मण फेरि यो संसारमा आउलान्, नआउलान् तर नेपालमा समेत लक्ष्मणहरू बनाएर जाने आरके लक्ष्मणको देहावसानले व्यंग्यचित्रको संसारमा एक अनौठो शून्यता सिर्जना गरेको छ।

उनको सम्झनासँगै दिवंगत आत्माप्रति चिर शान्तिको कामना!
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस