काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुईतिर 'वाटर स्यालुट' दिन ट्यांकरहरु तम्तयार थिए। एकछेउमा पञ्चेबाजा बजिरहेको थियो भने अर्काेमा पञ्चकन्या फूलमाला लिएर बसिरहेका थिए। ह्यांगरमा बसिरहेका करिब २ सयजनाको व्यग्रता पनि उस्तै। जब धावनमार्गमा नेपाल वायुसेवा निगमको नयाँ एयरबस उत्रियो, पानीका फोहरा अकासतिर बर्सिए। पञ्चेबाजाले लय फेर्यो अनि दुई सयजना जुरुक्क उठेर एकैचोटि ताली बजाए।

आइतबार बेलुका ४ बजेर ३१ मिनेट जाँदा निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग किनेको ए ३२०–२०० सिरिजको सगरमाथा नाम दिइएको नाइन एकेडब्ल्यू एयरबस देशकै एक्लो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गर्दा निगमको स्वामित्वमा पहिलोपटक एयरबस र २७ वर्षपछि अर्काे ठूलो जहाज थपिएको हो। त्यही खुसियालीमा निगमले विमानस्थलको ह्यांगर परिसरमा एयरबसको स्वागतका लागि आयोजना गरेको विशेष कार्यक्रममा सबै प्रफुल्ल थिए। जहाज उत्रिएपछि पण्डितहरुले स्वस्तिवाचन र विशेष पूजाआजा गरेका थिए।

निगमले प्रक्रिया थालेको करिब ६ वर्षपछि नयाँ जहाज पाएको हो। त्यो बेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा जहाज दिने गरी निगमको टेन्डर पाएको थियो। निगमले २०७० वैशाख ९ गते दुइटा जहाज किन्न बैना रकम पाँच लाख अमेरिकी डलर (ऊबेला ४ करोड ३५ लाख रुपैयाँ) एयरबस कम्पनीलाई पठाएको थियो।

दोस्रो जहाज आगामी जेठमा आउने निगमले जनाएको छ। एयरबस खरिदका लागि गत जेठ २९ गते निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँ बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो। एउटा जहाजलाई ७ करोड ५० लाख डलर (करिब साढे ७ अर्ब) रुपैयाँ पर्छ। निगम र एयरबसबीच सन् २००८ अघिको अंकित मूल्यमा लागत जोडेर जहाज दिने सम्झौता भएको थियो।
निगमले लिएको ऋण जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्ने सहमति भएको छ। वार्षिक १२ प्रतिशत ब्याजदरमा १५ वर्षमा ऋण चुक्ता गर्ने सम्झौता भएको निगमले जनाएको छ।

निगम प्रवक्ता रामहरि शर्माले २७ वर्षपछि निगमले अर्काे जहाज पाएको बताए। 'जहाज अभावमा सुस्ताएको निगमले अब नयाँ फड्को मार्छ,' उनले भने, 'हामीले विगतमा जहाज अभावले केही गन्तव्य बन्द गरेका थियौं। नयाँ जहाजसँगै फेरि ती गन्तव्य र नयाँ गन्तव्यमा उडान सुरु हुन्छ।'

नयाँ जहाजले फेबु्रअरी २५ मा भारतको नयाँ दिल्लीतर्फ पहिलो उडान गरेर व्यवसाय सुरु गर्नेछ। हङकङ र बैंककमा पनि उडान भर्ने शर्माले जानकारी दिए। त्यसपछि चीनको ग्वान्जाओ, दुबई र भारतको बैंग्लोर र मुम्बईमा दोस्रो चरणमा उडान भर्ने उनले जानकारी दिए।
हाल निगमसँग भएको बोइङले नेपालबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर गन्तव्यमा उडान गरिरहेको छ। नयाँ एयरबसमा १ सय ५० सिट भए पनि निगमले त्यसलाई १ सय ६४ जना हट्ने गरी बनाउन लगाएको जनाएको छ।

नयाँ जहाज लिन पर्यटनमन्त्री दिपकचन्द्र अमात्य, निगमका महाप्रबन्धक मदन खरेलगायतको टोली जर्मनी पुगेको थियो। आइतबार उनीहरुसँगै एयरबसका कस्टुमर अफेयर्सका भाइस प्रेसिडेन्ट डेभिड डफ्रिनोइससमेत आएका थिए।
निगमका महाप्रबन्धक मदन खरेलले नयाँ जहाज आएसँगै निगमले फड्को मारेको बताए। 'हाम्रो १० वर्षे योजनाअनुसार नयाँ एयरबस आएको छ। अर्काे एयरबस पनि केही महिनाभित्रै आउँदै छ,' उनले भने, 'यसले खुम्चिएको हाम्रो बजार हिस्सा बढाउँछ र निगमलाई प्रगतितर्फ लान्छ।'

आइतबारै साँझ होटल सोल्टीमा एयरबस कम्पनी र निगमबीच नेपाल जहाज ल्याइसकेको कागजमा हस्ताक्षर भएको छ। हस्ताक्षर कार्यक्रममा पर्यटनमन्त्री अमात्य, एयरबसका डफ्रिनोइस, महाप्रबन्धक खरेल, नेपालस्थित फ्रान्सेली राजदूतले बोलेका थिए।

मन्त्री अमात्यले नयाँ जहाजले निगमको अर्थतन्त्र सुधार्ने र नाफाको दायरा बढाउने बताए। अब निगमको प्रगतिको ढोका खुलेको धारणा राख्दै उनले १० वर्षमा ठूला जहाज १० भन्दा बढी हुने पनि बताए।
नेपालका लागि फ्रेन्च राजदूत मार्टिन बास्सेरोले यसले नेपाल–फ्रान्स सम्बन्धमा नयाँ आयाम थपेको प्रतिक्रिया दिइन्। नेपाललाई फ्रान्सको सहयोग निरन्तर रहने पनि उनले सो अवसरमा बताइन्।
निगमले २०४३ र २०४४ सालमा बोइङ भित्र्याएको थियो। त्यसपछि निगमले ठूलो जहाज थपेको यो पहिलोपटक हो। निगमले २८ सिटे डग्लस डिसी ३ डकोटाबाट व्यावसायिक उडान सुरु गरेको थियो। निगमले यसअघि चीनमा बनेको एमए ६० र वाई १२ मोडलका दुईवटा जहाज ल्याएको थियो। निगमसँग अब ३ ठूला र ५ साना गरी ८ वटा जहाज छन्। एउटा बोइङ लामो समयदेखि ग्राउन्डेड छ। २०१५ असारमा स्थापना भएको निगमसँग यसअघि विभिन्न समयमा २० वटासम्म जहाज थिए।
तस्बिर : केशव थोकर/दिपेश श्रेष्ठ