साकार हुँदै बूढो सपना
२९ जेष्ठ २०७२
•
३३ मिनेट पाठ
साकार हुँदै बूढो सपना
काठमाडौं- कुनै अनपेक्षित दुर्घटना वा राजनीतिक बेइमानी नभए अबको महिनादिनमा संविधानसभामार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ६५ वर्षे 'बूढो' सपना साकार हुनेछ। मंसिर ४, २०७० को संविधानसभा निर्वाचनमार्फत जनताले चुनेर पठाएका प्रतिनिधिमार्फत छोटो बाटो अपनाएर नयाँ संविधान जारी गर्न दोस्रो संविधानसभाका प्रमुख राजनीतिक दल सहमतिमा पुगेका छन्।संविधानसभामार्फत संविधान लेख्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (हाल नेकपा एमालेलगायत) ले ६५ वर्षदेखि संघर्ष गर्दै आएका थिए भने एकीकृत माओवादीले त्यसैका लागि दस वर्ष लामो हतियारको राजनीति गरेको थियो।

२०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलन, थरुहट, लिम्बुवान, खम्बुवानलगायत दर्जनौं आन्दोलनका साझा उपलब्धिको समष्टि रुप अब बन्ने संविधानमा देखिनेछ। संविधानको आत्मा प्रस्ट भइसकेको छ, केही दिनमै मस्यौदाका रुपमा यसले आकार ग्रहण गर्नेछ।

सबैजसो दल आ–आफ्ना अडानबाट पछि हट्दै सम्झौताको चरणमा प्रवेश गरेकाले अबको संविधान कुनै दल, व्यक्ति, क्षेत्र, जात–जाति वा धार्मिक पक्षको नभई सबैबीच 'सम्झौताको संविधान' बन्नेछ।

संविधानसभाबाट बन्ने संविधान कुनै एक पक्ष र समूहको सद्भाव बिथोल्ने गरी आउँछ कि भन्ने संशय भने यो सहमतिले सम्बोधन गरेको छ।

यद्यपि, नयाँ संविधान विवाद र विरोधरहित भने हुने संकेत देखिएको छैन। राजनीतिक दलहरुबीच जेठ २५ गते भएको ऐतिहासिक १६ बुँदे सहमतिले नै 'सम्झौताको संविधान' को बाटो तय गरे पनि केही विषयमा प्रमुख दलमध्ये एकीकृत माओवादीकै फरक मत छ भने मधेसीलगायत केही दल १६ बुँदे सम्झौताकै विरुद्ध उभिएका छन्। यद्यपि, दुई तिहाइभन्दा अधिक मत संविधानका लागि तयार भएकाले झिनो स्वरले यसको बाटो भने छेकिनेछैन।

राजनीतिक दलहरुबीच भएको सहमतिलाई संविधानसभाले स्वीकार गरिसकेको छ। संविधानसभा अब संविधान मस्यौदाको चरणमा प्रवेश गरेको छ।

संविधानसभामार्फत संविधान बनाउने सपना जनताले ६५ वर्षअघि नै देखेका थिए।

'वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली कांग्रेसले वालिग मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद वा सभा बोलाउनेछ। यसै परिषद वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियमकानुन बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पिनेछ,' तत्कालीन राजनीतिको केन्द्रमा रहेको पार्टी नेपाली कांग्रेसले २००६ सालमै आफ्नो घोषणापत्रमार्फत जनताको सपना साकार पार्ने कसम खाएको थियो।

नेपाल कम्युनिस्ट पार्टीले पनि संविधानसभाबाटै संविधान निर्माण हुनुपर्ने अडान राख्दै आएको थियो। 'जनताको ६ दशक लामो संघर्षको प्राप्तिका रूपमा गठन भएको संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनेछ र सात दशक लामो अधिकार प्राप्तिको आन्दोलनले पूर्णता पाउनेछ,' त्यही पदचापमा हिँडेको नेकपा एमालेले पछिल्लो चुनावी घोषणापत्रमै उल्लेख गरेको छ।

दोस्रो संविधानसभामा जनताले भिन्न विचार, चाहना, मत र दर्शनका पार्टीहरूलाई चुनेर पठाए। यद्यपि, दलगत विशेषतालाई किनारामा छाडेर दलहरु संविधानका मूलभूत विषयमा सम्झौता गर्न तयार भए। प्रमुख राजनीतिक शक्ति र परिवर्तनका संवाहक एकठाउँ उभिँदै संविधानको खाका कोर्न तयार भए। अब जनतामाझ संविधानको मस्यौदा मात्र पुर्यारउन बाँकी छ।

उनीहरुले त्यो पनि महिनादिनभित्रै पूरा गरिने प्रतिबद्धता जनतासामु गरिसकेका छन्।

एक दशकअघि तत्कालीन संसदवादी र विद्रोहीबीच दिल्लीमा भएको १२ बुँदे समझदारीदेखि सुरु भएको राजनीतिक दलहरुको सहयात्रा १६ बुँदेबाट तार्किक निष्कर्षमा पुग्दैछ। एक पक्षले अर्को पक्षको मत र अडान स्वीकार गर्न तयार भएपछि मात्र सम्झौता सम्भव हुन्छ। राजनीतिक रुपमा चट्टानी अडान राखेका दलहरुबीच 'दिने' र 'लिने' काम भएको छ। १६ बुँदेमा ९० प्रतिशत जनताकोे समर्थन रहेको उनीहरुकै दाबी छ।

भूकम्पपछि देखिएको परिस्थितिको सकारात्मक असर संविधान निर्माणमा देखिएको छ। यसमा सँगसँगै राजनीतिक स्वार्थ देखिए पनि संविधानका अन्तर्वस्तुमा संविधानसभाका नगन्यबाहेकका राजनीतिक दल एकठाउँ आइपुगे।

सम्झौताअघि कुनै न कुनै रुपमा सबै दलले केही न केही पाउने अपेक्षा गर्नु अस्वाभाविक थिएन। कुनै दलमा संविधान निर्माणको नेतृत्व गरेर थप बलियो हुने चाहना देखियो भने कुनैलाई सरकारको नेतृत्व लिन। अनि कुनैलाई पुनर्निर्माणको जिम्मा लिन। यसलाई कसैले जातीय राज्य निर्माण टरेको रुपमा बुझे भने कसैले गुम्न लागेको संघीयता जोगिएको रुपमा लिए। स्वार्थहरुको टकराव र संयोगले पनि संविधानका अन्तर्वस्तुमा अडान कम गर्दै सम्झौतामा तयार हुन दलहरुबीच दबाब पर्यो्।

केही न केही छाडेर केही नयाँ विचार र उद्देश्य संविधानमा समेट्ने प्रयास यो सम्झौताले गरेको राजनीतिक टिप्पणी गरिँदैछ।

राजनीतिक विश्लेषक एवं पहिलो संविधानसभा अन्तर्गत संवैधानिक समितिका पूर्वसभापति नीलाम्बर आचार्य यो सम्झौतालाई परिस्थितिको उपज मान्छन्। राजनीतिक स्वार्थका कारण सम्झौताको दस्तावेज तयार हुन लागेको उनको विश्लेषण छ।

'यो सम्झौता परिस्थितिको उपज हो,' आचार्य भन्छन्, 'यसमा सबैको स्वार्थ जुट्यो। त्यो राम्रो कुरा हो। कसैलाई सरकार, कसैलाई पुनर्निर्माणमा भागबन्डा गर्ने हतार छ। कसैलाई संविधान बन्यो भने पार्टीभित्र र बाहिर आफ्नो स्थिति राम्रो हुन्छ भन्ने छ। संघीयतामा प्रवेश गरिहालौं, लम्ब्याउँदा त्यो नै गुम्न सक्छ भन्नेहरुलाई पनि सम्बोधन गरिएको छ। यी कैयौं कुराको संयोग मिल्न गएपछि सम्झौता सम्भव भएको हो।'

त्यसो त यो भनाइ स्वयं राजनीतिक दल पनि स्विकार्छन्।

भूकम्पपछि दलहरुबीचको दुरी घट्यो। विपदका बेला पनि राजनीतिक दलहरु सक्रिय नभएको चौतर्फी टीकाटिप्पणी र आलोचनाले झस्किएका दलहरु संसदको विशेष अधिवेशनमा एकठाउँ उभिएर संविधान र पुनर्निर्माणका काममा जुट्ने प्रतिबद्धता गर्न बाध्य भए। सबै दल आ–आफ्ना अडानबाट बाहिर निस्केर सहमतिको संविधानका लागि तयार भए।

यस्तो थियो लेनदेनको पाटो

संविधान निर्माणका लागि जनतासामु गरेका प्रतिबद्धताबाट प्रमुख दल नै पछि नहटेपछि पहिलो संविधानसभा संविधानबिनै विघटन भएको थियो।

दोस्रो संविधानसभामा जाँदा पनि राजनीतिक दलले पुरानै प्रतिबद्धता समेटेर तयार पारेको घोषणापत्र लिएर गए।

राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, संविधानको प्रस्तावनालगायतमै दलहरुको फरक–फरक धारणा, विचार र प्रस्तुति थियो।

ती प्रतिबद्धताबाट सबै दल एक कदमपछि हट्दै सम्झौतामा पुगे। कांग्रेसले आफ्नो घोषणापत्रमा पहिचान र सामर्थ्यका आधारमा नै प्रदेश निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो। प्रदेशहरू निर्माणका लागि कांग्रेसले ७ प्रदेश प्रस्ताव गरेको थियो। सामर्थ्यलाई बढी प्राथमिकता दिँदा प्रदेशको संख्या थोरै हुने र पहिचानलाई प्राथमिकता दिँदा प्रदेशको संख्या धेरै हुने निष्कर्षसहित कांग्रेसले बढीमा ७ प्रदेश मुलुकले धान्न सक्ने गरी जनतासामु प्रतिबद्धता गरेको थियो।

'पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने' गरी सबैलाई मान्य हुने प्रदेश निर्माण गर्ने कांग्रेस प्रस्ताव थियो। सम्झौतामा भने कांग्रेस ८ प्रदेशमा जान सहमत भयो। जेठ २५ को सहमतिमा पहिचानलाई आधार बनाएर पाँच र सामर्थ्यलाई आधार बनाएर चार प्रदेश बनाउने, जम्मा प्रदेश ८ वटा बनाउनेमा सहमति गरियो।

कांग्रेस, एमालेसहित केही राजनीतिक दलले अघिल्लो वर्ष कात्तिकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा बुझाएको प्रस्तावमा पनि ७ प्रदेशमै जाने उल्लेख थियो तर उनीहरु त्यसैमा अडिएनन्।

अहिले सम्झौताको दस्तावेज तयार पार्न आफूहरु लचिलो भएको कांग्रेस नेताको भनाइ छ। 'माओवादीले पनि ११ प्रदेश भनेको थियो,' कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकसँग भने, 'हामीले बढीमा ७ भनेका थियौं। दुवै पक्षले केही न छाड्नुपर्ने भएपछि यस्तो सम्झौता गरेका हौं।'

नेकपा एमालेले पनि संविधानसभा निर्वाचनमा जनतामाझ लगेको घोषणापत्रमा बहुपहिचानका आधारमा बढीमा ७ वटा प्रदेश बनाउने उल्लेख गरेको थियो। उसले त प्रदेशहरुको नामकरण प्रदेशसभाले नै गर्ने प्रस्ताव पहिले नै गरेको थियो।

'बहुपहिचानसहितका सातवटा संघीय प्रदेश हुनेछन्,' एमाले घोषणापत्रमा भनिएको छ, 'प्रत्येक संघीय प्रदेश साझा र मिश्रित बसोबास तथा जनताको समान अधिकार सुनिश्चिततासहितको हुनेछ। केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको स्पष्ट बाँडफाँट हुनेछ। अधिकारको सूची संविधानसभामा सहमति भएअनुरुपको हुनेछ। प्रदेशहरुको नामकरण प्रदेशसभाले गर्नेछ।'

संघीयताका सवालमा सबैभन्दा बढी एमालेले नै अडान लियो। उसले घोषणापत्रमा बढीमा ७ प्रदेशमा जाने प्रतिबद्धता जनाए पनि अध्यक्ष केपी शर्मा ओलीले तीनदेखि बढीमा ६ प्रदेशसम्म जान सकिने कसिलो अडान लिइरहे। सम्झौता गर्नुपर्ने अवस्थामा भने अडान त्यागे।

यसको पार्टीभित्रै विरोध भए पनि एमाले अब पछि फर्किन नमिल्ने अवस्थामा रहेको वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताए।

'राजनीतिक दलहरुबीच भएको सहमतिले कसैलाई जित र हारको अवस्थामा पुर्यााएको होइन,' पूर्वप्रधानमन्त्री नेपालले भने, 'पार्टीहरुका धारणा मात्र सामान्य परिवर्तन भएका हुन्। राष्ट्र हितमा आघात नपुग्ने, जनताबीच रहेको सामाजिक सद्भाव नबिथोलिन सहमति गरिएको हो। अहिले आठ प्रदेशमा सहमति भएको छ। ६ प्रदेशमा सहमति हुने सम्भावना थियो। त्यो राम्रो पनि हुने थियो तर केही पार्टी र साथीहरुको आँट कम भएकाले त्यो हुन सकेन। यसले गर्दा केही समस्या होला भन्ने हो। सबै परीक्षण नै हुने भएकाले अकाश खस्नेवाला छैन।'

एमालेले पदका लागि सम्झौता गर्योप भन्ने आरोपको भने उनले खण्डन गरे। 'एमालेले पदसँग संघीयता साट्यो भन्ने कुरा सही होइन,' नेपालले भने, 'मैले नै ६ प्रदेश भनेको थिएँ तर परिस्थिति परिवर्तन भयो। नेतृत्वको सजिलै घुँडा टेक्ने प्रवृत्तिले यस्तो समस्या भएको हो।'

संघीयताका लागि सबैभन्दा बढी लड्दै आएको एमाओवादीले पनि सम्झौताका लागि हदैसम्म लचकता देखायो।

राज्यको पुनःसंरचना, जाति, भाषा र क्षेत्रको पहिचान र आर्थिक अन्तरसम्बन्ध, पूर्वाधार विकास, प्राकृतिक साधनस्रोत र प्रशासनिक सुगमताका सामर्थ्यका आधारमा ११ स्वायत्त प्रदेश निर्माण गर्ने जनतासामु घोषणापत्रमा प्रतिबद्धता गरे पनि अहिले प्रदेश संख्या ८, सीमा र नामकरण पनि पछि धकेल्दा ऊ सम्झौताका पक्षमा उभियो।

लिम्बुवान, किराँत, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, भेरी–कर्णाली, सेती–महाकाली, थारुवान, मधेस, कोचिलाजस्ता एकल जातीय आधारमा संघीय प्रदेशको नामकरण हुनैपर्ने अडान राख्दै कहिले कुन दल त कहिले कुन दलसँग नजिकिँदै संघर्ष गरेको एमाओवादी अहिले त्यसबाट लचिलो हुँदै सम्झौता गर्न तयार भएको हो।

एमाओवादी वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्गविभाजित समाजमा पूर्ण सहमति कहिले पनि नहुने हुँदा केही विषयमा लेनदेन गरेर सम्झौता गरिएको बताए।

'हाम्रो ६५ वर्षदेखिको सपना पूरा हुँदैछ,' उनले नागरिकसँग भने, 'संविधानसभाबाट संविधान बन्ने निश्चित भएको छ। वर्ग विभाजित समाजमा कहिल्यै पूर्ण सहमति हुन सक्दैन। त्यसैले अधिकतम र यथेष्ट सहमति हो। यो सम्झौताको दस्तावेज हो। लेनदेन गरेर बनाइएको छ।'

सम्झौतापछि सबैभन्दा बढी खुसी प्रकट गर्नेमा पनि एमाओवादी र त्यसका शीर्ष नेता देखिएका छन्। वरिष्ठ नेता भट्टराईले जुद्धशमशेरदेखि ०४७ सालसम्म राजा–महाराजाले नै संविधान बनाएको बताउँदै भट्टराई जनताका प्रतिनिधिले संविधान बनाउनुलाई मूल उपलब्धि ठान्छन्।

'जनयुद्धको मुख्य रुप पक्ष जनताका प्रतिनिधिले नै संविधानसभाबाट संविधान बनाउने थियो,' उनले भने, 'भलै आफूले भनेजस्तो भएको छैन। त्यसैले सम्झौता गर्नुपरेको हो। पुराना लोकतन्त्रवादीले पनि केही पुरानो र केही नयाँ उपलब्धि हासिल गरेका छन्, हामीले पनि धेरै नयाँ र केही पुरानै कुरा पाएका छौं। त्यसैले संविधान सम्झौताको दस्तावेज हो, अग्रगामी बन्नेछ।'

संविधानको मूल विषय संघीयतामा प्रमुख दलले यसरी सम्झौता गरेकामा केही साना दल भने असन्तुष्ट छन्। यसको नेतृत्व फोरम नेपालले गरेको छ। 'मधेस एक प्रदेश' हुनैपर्ने, मधेसका कुनै पनि भू–भाग पहाडी राज्यसँग जोडिन नहुने अडान राख्दै आएका केही मधेसवादी दलले १६ बुँदेको विरोध गरेका छन्। तर मधेसको सबैभन्दा ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नै १६ बँुदेका एक हस्ताक्षरकर्ता हुन्। उनलाई अन्य केही साना मधेसवादी दलले सहयोग गरेका छन्।

विभेदरहित, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणालीमा आधारित पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका पक्षमा वकालत गर्दै आएको फोरम नेपालले भने यो सम्झौतालाई 'संघीयता धकेल्ने षड्यन्त्र' भनेको छ।

फोरम नेपालले स्वायत्त एवं अधिकारसपन्न मधेस, लिम्बुवान, किराँतलगायत स्वायत्त प्रदेश र विशेष स्वायत्त क्षेत्र अहिले नै बनाइनुपर्ने अडान राखेको छ।

संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणालीलाई राज्य पुनःसंरचनासम्बन्धी व्यवस्थाको रुपमा संविधानको अंग बनाइनुपर्ने अडान राख्दै आएको फरक धारको पार्टी राप्रपा नेपालले पनि प्रक्रियामा विरोध नगरी आफ्नो फरक मत दर्ता गराएको छ।

अध्यक्ष कमल थापा 'चार पक्षको सिन्डिकेट' स्वीकार गरिसकेपछि अहिले अन्तर्वस्तु र प्रक्रियाको विरोध गर्नुको कुनै औचित्य नभएको बताउँछन्। तर आफ्ना फरक मतको सम्बोधन हुनुपर्ने उनको धारणा छ।

त्यसैगरी शासकीय स्वरुपमा तीन तहको सरकारका लागि सबै पहिले नै तयार थिए तर शासन प्रणालीका विषयमा सबैको फरक मत थियो।

कांग्रेसले संसदीय शासन प्रणाली हुनुपर्ने बलियो अडान राख्दै आएको थियो। यसमा कांग्रेस धेरै हदसम्म सफल पनि भएको छ। उसले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुने प्रतिबद्धता घोषणापत्रमै गरेको थियो।

'राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुखको रूपमा र प्रधानमन्त्री कार्यकारी अधिकारसम्पन्न सरकार प्रमुखको रूपमा रहने गरी संसदीय शासनप्रणाली अवलम्बन गरिनेछ,' कांग्रेसको घोषणापत्रमा उल्लेख छ, 'राष्ट्रपति संघीय संसदका दुवै सदन र सबै प्रदेशसभा सदस्यहरुबाट निर्वाचित हुनेछन्। प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित र प्रतिनिधिसभाप्रति नै उत्तरदायी हुनेछन्। यस व्यवस्थाको शासकीय स्वरुप पूर्ण समावेशी हुनेछ।'

अहिले प्रमुख राजनीतिक शक्तिबीच भएको १६ बुँदे पनि करिबकरिब यसैको वरिपरि छ। राष्ट्रपति संवैधानिक र प्रधानमन्त्री कार्यकारी नै हुने व्यवस्थामा सहमति गरिएको छ। यसमा एमाओवादीले आफ्नो भिन्न मत राखेको छ।

नेकपा एमालेले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुने र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति हुनुपर्ने अडान राखेको थियो भने एमाओवादीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएको थियो।

'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहेको मिश्रित शासकीय स्वरुप अवलम्बन गरिनेछ,' एमालेको घोषणापत्रमा उल्लेख छ, 'नियन्त्रण र सन्तुलनको पद्धतिको विशेष व्यवस्था गरिनेछ।'

एमालेमा धारणामा कांग्रेसकै प्रदीप गिरी, गगन थापालगायत सभासदले समर्थन गरेका थिए। तर दुवै पक्षको अडानबाट संविधान जारी गर्नुपर्ने अवस्था भएकाले सम्झौता गरिएको एमालेले जनाएको छ।

'कसैले जित्ने र हार्ने अवस्था नभई सहमतिमा अघि बढौं भनेर हामीले केही महत्वपूर्ण विषयमा सम्झौता गरेका छौं,' नेपालले भने।

एमाओवादीले भने संसदीय प्रणालीको सट्टा समाजवाद उन्मुख जनताको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्नुपर्ने भएकाले वालिग मताधिकारका आधारमा प्रत्यक्ष मतदानबाट निर्वाचित राष्ट्रपति कार्यकारी हैसियतमा राष्ट्रप्रमुख र सरकारप्रमुख हुनुपर्ने आफूहरुको धारणा रहेको भन्दै फरक मत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा दर्ता गराएका छन्। अध्यक्ष पुष्पकमल दाहालले ८ बुँदे फरक मत समितिमा दर्ता गराएका हुन्।

एमाओवादी वरिष्ठ नेता भट्टराईले २०४७ सालको परिवर्तनले बहुदलीय प्रणाली स्वीकार गरे पनि त्यो एकात्मक र पूर्णता नभए पनि अहिले लोकतन्त्रलाई पूर्णता दिने आधार तय भएको बताए।

'२०४७ को परिवर्तनले बहुदलीय प्रणाली स्वीकार गरे पनि त्यो एकात्मक थियो,' उनले भने, 'लोकतन्त्रलाई पूर्णता दिन हामीले जनयुद्ध सुरु गरेका हौं। राजतन्त्रको स्थानमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र परम्परागत संसदीय व्यवस्थामा टाठा र पुरुषले मात्र फाइदा लिइरहने र जित्ने अवस्थाको अन्त्य गर्न समावेशी सिद्धान्त भनेका हौं। अहिले समावेशी सिद्धान्त तय भएको छ। यो सम्झौताले यी विषय सुनिश्चित गरेको छ। सबै क्षेत्रको प्रतिनिधित्व र हिस्सेदारी प्राप्त भयो। यो ठूलो उपलब्धि हो।'

निर्वाचन प्रणाली पनि कांग्रेस र एमालेले भनेझैं मिश्रित नै तय भएको छ। कांग्रेस र एमालेले आफ्नो चुनावी घोषणापत्रमा मिश्रित निर्वाचन प्रणाली अपनाउने प्रतिबद्धता जनाए पनि नौबुँदे अवधारणामा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुने उल्लेख थियो। यसमा एमाओवादीसहित साना दलले भने विरोध जनाएका थिए। अहिले सम्झौता हुँदा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकका आधारमा गरिने उल्लेख गरिएको छ।

यसमा सबै दलभित्र असन्तुष्टि भए पनि सम्झौताको चरणमा पुगिएको छ। कांग्रेस र एमालेले प्रतिनिधिसभामा प्रत्यक्ष नै हुनुपर्ने, मिश्रितमा जानुपर्ने भए २० प्रतिशत मात्र समानुपातिक हुनुपर्ने धारणा राख्दै आएका थिए। एमाओवादीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याका आधारमा मधेसी, थारु, दलित, आदिवासी जनजाती, खस आर्य, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, गरिबीको रेखामुनि रहेको वर्ग, अल्पसंख्यक समुदायसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्ने फरक मत राखेको छ।

एमाओवादीले जनतासामु बहुसदस्यीय प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली हुने प्रतिबद्धता गरेको थियो।

सबैले केही न केही छाडेका कारण नै सम्झौता सम्भव भएको कांग्रेस वरिष्ठ नेता देउवाको भनाइ छ।

'सबैले केही न केही छाड्यौं र त सहमति भयो,' उनले भने, 'हामीले प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष हुनुपर्ने भनेका थियौं, अरूले मानेका थिएनन्।'

अझै छन् चुनौती

यो सहमतिले फ्याट्टै संविधान बनिहाल्ने र जारी भइहाल्ने आँकलन गरिए पनि केही चुनौती अझै छन्।

'फास्ट ट्र्याक' का नाममा केही महत्वपूर्ण विषय टुंगो लगाउने जिम्मा नै मस्यौदा समितिलाई दिइएको छ।

संविधान संशोधन, बहुलवाद, नागरिकताका सम्बन्धमा दलहरुबीच विवाद कायमै रहे पनि मस्यौदाका चरणमा सहमति गर्ने गरी पन्छाइएको छ।

कांग्रेसले बहुलवादसँग कुनै विषयमा सम्झौता हुन नसक्ने अडान राखेको छ। बहुलवाद प्रस्तावनामा राखिए जनयुद्ध पनि राख्नैपर्ने एमाओवादी अडान छ।

'कांग्रेसले बहुलवाद छाड्यो भन्ने होइन,' देउवाले भने, 'यो राजनीतिक कुरा हो। यो संविधानमा जसरी पनि पारित हुन्छ। बहुलवादमा आधारित संसदीय व्यवस्था नै संविधानमा रहन्छ।'

वंशजका आधारमा नागरिकता दिने विषय र संविधान संशोधन लगायत विषय अझै पनि थाती छन्। संक्रमणकालीन व्यवस्थामा पुनर्नियुक्तिको विषय पनि विवादकै सूचीमा छ।

'विवादका बाँकी कुराहरु अझै पनि देखिएका छन्,' संविधानविद आचार्यले नागरिकसँग भने, 'संविधान जारी भएपछि संक्रमणकाल सुरु हुन्छ। अर्को निर्वाचन नहुँदासम्म तपसिलका कुराहरु के गर्ने भन्ने विषय महत्वपूर्ण हुन्।'

धेरैले स्वीकार गरेको संविधान
जेठ २५ गते प्रमुख राजनीतिक दलबीच भएको सहमतिको सेरोफेरोमै आधारित नयाँ संविधान बन्ने निश्चित छ। १६ बुँदे सहमति गर्ने दलहरुको संख्या नै संविधानसभामा धेरै छ। फरक मत राखेर पनि संविधान निर्माणका लागि सहयोग गर्ने दलहरुको संख्या बढ्दो छ। यद्यपि, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय समाजवादी पार्टीलगायत दलले १६ बुँदेलाई स्वीकार गर्न नसकिने बताएका छन्। उनीहरुले पेलेर अघि बढ्न खोजे संविधानसभा नै बहिस्कार गर्ने चेतावनी संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा दिएका छन्।

नेपाली कांग्रेस २०६, नेकपा एमाले १८३, एनकेपा माओवादी ८४, फोरम लोकतान्त्रिक १४ गरी ४ सय ८७ सभासद १६ बुँदेमा हस्ताक्षर गर्ने पार्टीहरुकै रहेका छन्।

१६ बुँदेमा हस्ताक्षरकर्ता नभए पनि फरक मत राखेर संविधानसभालाई सहयोग गर्न राप्रपा नेपाल, राप्रपा, नेकपा माले, राप्रपा नेपाल, नेमकिपा, तराईमधेस सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दललगायत दल आफ्ना धारणा राख्दै संविधानसभालाई सहयोग गर्न तयार देखिएका छन्। अन्य साना दल पनि कांग्रेस, एमाले र एमाओवादीसँगै रहेकाले सहयोग गर्ने संविधानसभा सचिवालय स्रोतको भनाइ छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस