काठमाडौं-स्पेश टाइमका अध्यक्ष जमिम साहको हत्या योजनामा संलग्न रही ६ वर्षदेखी 'फरार' नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द मिनभवनको आफ्नै घरमा फेला परेका छन्। चन्द नेपाल प्रहरीको आग्रहमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका अभियुक्त समेत हुन्।

२०६६ माघ २४ गते लाजिम्पाटमा गोली हानेर जमिमको हत्या भएको एक महिनापछी भागेका चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिनभवन ट्रलीबस पछाडि रहेको उनको घरबाट शनिवार बेलुका पक्राउ परेको हो।

पक्राउ पूर्व डिएसपी जगदिश चन्द
अनुसन्धानमा चन्दले जमिम हत्याको योजना बनाउन, योजना कार्यान्वयन गर्न, घटनापछी भारतीय अपराधीलाई भगाउन र घटनामा प्रयोग भएको हतियार व्यवस्थापन गरेको खुलेको थियो।
नक्कली सर्टिफिकेटमा मुछिएपछी प्रहरी सेवाबाट राजीनामा दिएर बसेका उनी जमिम मारिएको २२ दिनसम्म काठमाडौंमै थिए। जमिमको हत्या गर्न भारतबाट आएका अपराधीलाई योजना बनाउनदेखी भगाउनसम्म उनी संलग्न रहेको खुले पनि पक्राउ परेका थिएनन्।
हत्यापछी करिव १ महिना काठमाडौंमा खुल्लमखुल्ला हिंडेका चन्द घटनामा संलग्न रहेको समाचार सार्वजनिक भएपछि प्रहरीकै केही अधिकारीको सहयोगमा भागेर भारतको दिल्ली पुगेका थिए।
दिल्लीमा रहेका उनी परिवार भेट्न बेलाबखत काठमाडौंमा आउने गरेको सूचना आएपछी महाशाखाका प्रमूख एसएसपी सर्वेन्द्र खनालले उनको खोजीलाई तिब्र बनाएका थिए। उनी मिनभवनमा रहेको घरमा रहेको सूचना आएपछी महाशाखाको टोलीले एक साता अगाडिबाट 'एम्बुस' थापेको थियो।
शनिवार बेलुका सूचना पुष्टी पछी महाशाखाको टोलीले घरबाटै उनलाई पक्राउ गरी टेकुमा स्थित महाशाखाको कार्यालयमा लगेको छ।
महाशाखाका प्रमूख एसएसपी खनालले चन्द पक्राउको पुष्टी गरे। ' उनी पक्राउ परेका छन्, हामी अहिले अनुसन्धानमै छौं' खनालले नागरिकन्युजसँग भने।
पानीपोखरीमा रहेको घर जानेक्रममा लाजीम्पाटमा मोटरसाइकलमा आएका भारतीय सुटरले गोली हानेर जमिमको हत्या गरेका थिए। हत्या अनुसन्धानमा लखनउको कारगामा रहेका बब्लु श्रीवास्तव समूहले उनको हत्या गरेको खुलेको थियो।
जमिम हत्याको तेस्रो दिननै चन्द घटनामा संलग्न रहेको खुले पनि उनी पक्राउ परेका थिएनन्। प्रहरीबाट राजिनामा दिएर नर्भिक अस्पतालको सुरक्षा अधिकृतका रुपमा काम गरे पनि उनको आफन्त संगठनभित्र उच्च ओहदामा रहेकाले उनी जोगिएका थिए।
घटनामा संलग्नता खुल्दा समेत उनी जमिम हत्याको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको कार्यालयमै गएर त्यहाँका तत्कालीन प्रमुखसँग भेट गर्थे। उनको संलग्तनता सार्वजनिक भएपछी घटनाको २२ औं दिन उनलाई भगाइएको थियो।
जमिम हत्या अनुसन्धानका लागी बनेको आयोगले अनुसन्धानमा भारतीय अन्डरवर्ल्डका नाइके श्रीवास्तवको निर्देशनमा भारतीय अपराधी त्रिलोक सिंह, मोहम्मद बकार सैयद, गुड्डु सिंह र दादु लगायतका नेपालमा आएको र उनीहरुलाई चन्द सहित नेपाल प्रहरीका सई प्रकाश क्षेत्री, ठमेलका कार्गो व्यवसायी श्रीकृष्ण पौडेल र उनका सहयोगी राजु लामा, किशोर खड्का र लक्ष्मण धमलाले सघाएको खुलायो। अन्य सबै पक्राउ परे पनि चन्दलाई प्रहरीभित्रकै एक समुहले जोगाएर भाग्न सघाएको पुष्टी भएको थियो।
आफ्नै अनुसन्धानमा त्रिलोकसंग तत्कालीन बहालवाला तीन डिएसपी अर्जुन चन्द, गणेश चन्द र सुरेन्द्रबहादुर सिंहको समेत सम्पर्क रहेको खुले पनि उनीहरुसँग घटनाबारे सामान्य जानकारी लिएर उन्मुक्ति दिइएको थियो।
चन्दको पक्राउसँगै जमिम हत्यामा संलग्न सबै नेपाली नागरिक पक्राउ परेका छन्। घटनाका योजनाकार श्रीवास्तव, उनका मुख्य सहयोगी त्रीलोक र भारतीय सुटरहरु भने अझै पक्राउ परेका छैनन्।