'पढाइबिनै कस्तो डाक्टर भइएला?'
१६ असार २०७२
•
१५ मिनेट पाठ
'पढाइबिनै कस्तो डाक्टर भइएला?'
काठमाडौं- सिरहाका शम्भु खड्गासँग सात वर्ष अघिसम्म केवल डाक्टर बन्ने सपना र पढ्न सक्ने आँट मात्रै थियो। आधा करोड खर्च लाग्ने एमबिबिएस पढाइ उनको परिवारका लागि सोचभन्दा बाहिरको विषय थियो।न एक टुक्रा जमिन थियो न बाबुको संरक्षण। उनले सुनेका थिए, छात्रवृत्तिमा नाम निकाल्न सक्यो भने निःशुल्क पढ्न पाइन्छ। सरकारी कलेजबाट ७३ प्रतिशत ल्याएर प्लस टु पूरा गरेपछि उनी एक जोर कपडा, पुराना किताबका साथमा डाक्टर बन्ने सपना बोकेर राजधानी छिरे। एमबिबिएस प्रवेश परीक्षा तयारीसम्म काकाहरूले केही सहयोग गरे।




तीन वर्षसम्म प्रवेश परीक्षामा अनुत्तीर्ण भए पनि उनले हिम्मत हारेनन्। चौथो पटकमा छात्रवृत्तिमा नाम निस्कियो। शिक्षा मन्त्रालयले उनलाई पढ्न जनकपुरस्थित जानकी मेडिकल कलेज पठायो।

एमबिबिएस दोस्रो वर्षका विद्यार्थी खड्गाले पहिलो वर्ष मुस्किलले दुई महिना मात्रै पढ्न पाए। जेनतेन आफैं पढेर परीक्षा दिए पनि सोचेजस्तो नतिजा आएन। दोस्रो वर्ष त मुस्किलले केही दिन मात्रै पढे।

शिक्षा मन्त्रालयले छात्रवृत्तिमा पढेकाहरूलाई कलेजप्रति गुनासो भए पनि अनुशासन उल्लंघन नगर्ने, बन्दहड्तालमा नउत्रने सम्झौता गराएको हुन्छ। दुई वर्षयता उनलाई धेरै असह्य भयो, छटपटीले कयांै रात निदाउन सकेनन्। सम्झौता पनि सम्झे र सम्झे तुरिने अवस्थामा पुगेको डाक्टर बन्ने सपना। 'दोस्रो वर्ष झन् पढाइ नै भएन, कति सहनु?' उनले बुधबार नागरिकसँग भने, 'यसरी पढेर कस्तो डाक्टर बन्ने होला अब त कम्तीमा त्यही मन्त्रालय गुहार्नुपर्छ भनेर आयौं?' २२ दिनअघि कलेजका करिब डेढ सय साथीसहित राजधानी आएका उनले भने।

आन्दोलन गर्न राजधानी आएका खड्गालगायतले खानामा मात्रै जनही २० हजारजति खर्च गरिसकेका छन्। यसमा पनि काकाहरूले सहयोग गरेको खड्गाले बताए। 'परीक्षा शुल्क र पकेट खर्च पनि उहाँहरूले नै धानिरहनुभएको छ,' उनले भने, 'बुबा हुनुहुन्न, आमा र आफन्तको इच्छा म डाक्टर भएको हेर्ने छ,' उनले मलिन स्वरमा भने, 'डाक्टर बन्न नसकेको दिनको कल्पना गर्दा पनि ठूलो डर लाग्छ।'

जनकपुरका रुपेश गोइतले डाक्टर बन्ने सपना पूरा गर्न सोही कलेजमा ३२ लाख बुझाइसकेका छन्। काठमाडौं विश्वविद्यालय (केयु) को प्रवेश परीक्षा पास गरेपछि उनले पहिल्यैदेखि बदनाम जानकी कलेजको विकल्प नखोजेका हैनन्। उनका बुबाले राम्रा भनिएका कलेज भर्ना गराउन तीन लाखसम्म अतिरिक्त पैसा तिर्न तयार भए पनि भर्ना पाएनन्। रुपेशको सानैदेखिको डाक्टर बन्ने सपना पूरा गर्न ३६ लाख तिर्ने सर्तमा उनका बुबाले जानकीमै भर्ना गराइदिए ।

'सुरुको दुई /चार महिना राम्रै पढाइ भयो। त्यसपछि बन्दहडताल, झगडा, तनाव नभएको दिनै छैन,' रुपेशले भने, 'डाक्टर बन्ने हाम्रो सपनाको हत्या गर्ने कलेज सञ्चालकलाई अहिले शिक्षामन्त्रीले संरक्षण गरिरहेका छन्, हाम्रा लागि कहीँ पनि सरकार छैन।'

जानकीमा अध्ययनरत साढे तीन सय विद्यार्थीका अर्का प्रतिनिधि हुन् एमबिबिएस चौथो वर्ष अध्ययनरत रन्जितसिं मेहता। इनरुवाका मेहताले चार वर्षअघि नै ३५ लाख बुझाए। उनको २२ दिनदेखि मेडिकल शिक्षाका प्रमुख निकाय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय गेटमा नाराबाजी गर्दा स्वर बसिसकेको छ। 'पहिलो वर्ष तीन महिना, दोस्रो वर्ष २ महिना र तेस्रो वर्ष १ महिना मुस्किलले पढाइ भयो,' उनले भने, 'एक वर्षपछि डाक्टर भएर निस्किएला, पढ्न नपाई कस्तो डाक्टर भइएला?'

उनको ब्याचका करिब सय विद्यार्थीको तेस्रो वर्ष सुरु भएपछि नै कुनै क्लिनिकल पोस्टिङ भएको छैन। 'न मेजर सर्जरी, मेडिसिन, गाइने अब्स, पेडियाटिक्स कुनै विभागमा पोस्टिङ भएकै छैनन,' उनले भने, 'के सिक्नु? के जान्नु?। 'जनरल सर्जरी पनि सिकेको छैन।'

उनले थपे, 'अस्पताल करिब बन्दजस्तै भएको पनि दुई वर्ष भयो अनि पोस्टिङ पनि कसरी र कहाँ होस र! फ्याकल्टी (पढाउने प्राध्यापकहरू) ले पैसा नपाएकै १५ महिना भयो कसरी पढाइ हुन्थ्यो र!'

७२ जना भर्ना भएको ब्याचमा ११ जना मात्रै पास भए। प्याथोलोजी, फिजियोलोजीको प्राध्यापकको अनुहारसम्म देख्न पाएनन् विद्यार्थीले। पढाइ हुँदा पनि १४ जना प्राध्यापक हुनुपर्ने विभागमा एक–दुई जना प्राध्यापकको भरमा कलेज चलेको छ। काउन्सिलको मापदण्डअनुसार पनि २५ प्रतिशत पनि प्राध्यापक पुग्दैनन् भन्ने सबै सरकारी निकायलाई राम्ररी थाहा छ। एक दिन कुनै परीक्षा वा एसेसमेन्ट नगरी नम्बर आयो। तर पनि ती निकाय मौन रहेपछि विद्यार्थी हारगुहार गर्न राजधानी आएका हुन्।

धर्नाका लागि तीन प्रमुख सरकारी निकाय धाइरहेका डेढ सयभन्दा बढी विद्यार्थी आक्रोशित छन्। कडा नारा, त्यस्तै भावना बोक्ने ब्यानर बोकेका छन्। विभिन्न निकाय धाउँछन् र आश्वासन सुनेर केही आशा पाल्छन्। तर, जनकपुरबाट राजधानीसम्म नआएका थुप्रै विद्यार्थी 'डिप्रेसन' मा गइसकेका छन्। तिनका अविभावक थप ऋण काडेर पहिलो ऋणको ब्याज चुक्ता गर्दैछन्। तर, यी विद्यार्थीको पीडाले नियमनकारी निकायलाई पोलेको देखिँदैन।

शिक्षामन्त्रीलाई गुनासो सुनाउन सिंहदबार पश्चिम गेट पुगेका विद्यार्थी सुमेरु थापा प्रहरीको निशाना बने। प्रहरीको हिरासतबाट उनले नागरिकलाई एमएमएस लेखे, 'किन उहाँ (शिक्षामन्त्री) रेस्पोन्स गर्न सक्नुहुन्न? के उहाँका लागि ५ सय विद्यार्थीको भविष्यभन्दा ओपी पाण्डे (कलेजका प्रमुख सञ्चालक) ठूला हुन्, प्लिज, हाम्रा लागि मन्त्रीसँग यो प्रश्न राखिदिनुस्।'

प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिनुपूर्व सुमेरुलगायतले माफियाको संरक्षण बन्द गर, शिक्षामन्त्रीको घरमा सञ्चालकको ब्रिफकेस जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सञ्चालकहरूले उठाएको पैसा बाँड्ने समयमा मिलोमतो र अघिपछिको सधैं झगडाका कारण कलेज निरन्तर ओरालो लागेको हो। प्रमुख सञ्चालक पाण्डे र अन्य सञ्चालकको झगडाका कारण अध्ययन र पठनपाठन ठप्प हुँदा पनि सरकारी निकाय सञ्चालकहरूको संरक्षण गर्दै एकपछि अर्को निकाय देखाउँदै पन्छिइरहेको विद्यार्थीहरू बताउँछन्।

नियमनकारी निकायसँग कुनै सम्पर्कमा नरहेका सञ्चालक पाण्डेलाई शिक्षामन्त्री चित्रलेखा यादवले संरक्षण गरिरहेको विद्यार्थीहरूको आरोप छ। प्रमुख जिम्मेवार निकायको रबैयाले पनि सरकारले समस्या सल्टाउन नखोजेको उनीहरूले बताए। अहिले कलेज र अस्पतालका प्राज्ञिक, प्रशासनिक र आर्थिक गतिविधि पूरै ठप्प छ। तलब कुरिरहेका केही कर्मचारी, न्यून चिकित्सकबाहेक कलेजमा ३ सय ४५ जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन्।

सम्बन्धन दिने निकाय आइओएमले गत वर्ष नै कलेज चल्न नसक्ने ठहर गर्दै बन्दै गर्न पहल चलाएको थियो। तर, त्यतिबेला शिक्षा मन्त्रालयले सञ्चालकहरूलाई एक साताभित्रै अस्पताल र पठनपाठन सञ्चालन गर्ने सर्तमा छुट दिएको थियो। त्यसपछि केही साता कलेज चले पनि बन्द भयो।

तीन पटकभन्दा बढी छुट्टाछुट्टै व्यक्तिले कलेज किन्न बैनासमेत लगाएपछि पुराना सञ्चालकले न कलेज बेच्छन् न आफू नै चलाउँछन्। 'विद्यार्थीबाट पैसा उठाउने, बाँडेर लिने र त्यसपछि फेरि अर्को पटक भर्ना गर्ने बेला मात्रै कलेज फर्किने गरेको देखिन्छ,' स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरले भने।

पछिल्लोपटक एक महिनाअघि आइओएमले अनुगमन टोली पठाएर कलेज र अस्पताल कुनै हालतमा चल्न नसक्ने प्रतिवेदन दिएको थियो। गत शैक्षिक वर्षदेखि कलेजमा विद्यार्थी भर्ना रोकिएको छ। आइओएमका अधिकारीहरू त्यहाँ भएका विद्यार्थी व्यवस्थापन गर्ने, तर सम्बन्धन खारेज नगर्ने पक्षमा छन्। तर, सम्बन्धन खारेज गर्न आइओएम एक्लैले सक्दैन, त्यसका लागि त्रिवि कार्यकारी परिषद नै सकारात्मक हुनुपर्छ।

तर, काउन्सिलका पदाधिकारी भने जसरी पनि सम्बन्धन नै खारेज गराउने पक्षमा छन्। भित्री स्वार्थ सम्बन्धन खारेजी राखेर काउन्सिलका अधिकारी विद्यार्थी व्यवस्थापनमा रडाको गरिरहेका छन्।

पहिलो चरणमा यो वर्ष एमबिबिएस पास भएका ५९ जना विद्यार्थीलाई गण्डकी मेडिकल कलेजमा इन्टर्नसिप गराउने निर्णय भयो भने कलेजबाट परीक्षा केन्द्रसमेत हटाइएको छ। त्यसपछि आइओएमले कलेजमा अध्ययनरत विद्यार्थी अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्ने निर्णय गर्दै कार्यन्वयनका लागि गत ६ गते नेपाल मेडिकल काउन्सिलको सहमति मागेको थियो। तर, काउन्सिलले सहमतिको सट्टा सम्बन्धन के हुन्छ, विद्यार्थी कहाँ व्यवस्थापन गर्ने भन्दै झुलाउने गरी १३ गते अर्को पत्र पठाएको छ। आइओएमका डिन डा. राकेशप्रसाद श्रीवास्तवले आइओएमले विद्यार्थी व्यवस्थापनका लागि प्रस्ताव पठाए पनि सहमति दिन ढिला गरेकाले विद्यार्थी व्यवस्थापन गर्न नसकिएको बताए।

डिन डा. श्रीवास्तवले भने विद्यार्थीविहीन बनाए पनि सम्बन्धन खारेजी गरिहाल्नुनपर्ने बताए। 'अहिले थुपै्र कलेज सम्बन्धनका लागि मारामार गरिरहेको अवस्था छ। डुबेको कलेज कसैले किनेर राम्रोसँग चलाउन बाटो बन्द नगर्न खारेजी निर्णय गर्नु हुँदैन,' उनले भने, 'सम्बन्धन नै नभए कसले कलेज किन्छ र विद्यार्थी व्यवस्थापनको खर्च असुल्नु?'

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले भने गुणस्तरकै लागि विद्यार्थी व्यवस्थापन र सम्बन्धनबारे चासो राखेको बताए। उनले अहिल्यै सम्बन्धन खारेज नगरे समस्या दोहोरिन सक्ने भएकाले कम्तीमा सो प्रक्रिया सुरु हुनुपर्ने बताए।

विद्यार्थी अन्यत्र व्यवस्थापन गर्न पनि करिब ७५ करोड खर्च लाग्ने आइओएमका अधिकारीहरू बताउँछन्। तर, त्यसका लागि कलेजको अचल सम्पति लिलामी प्रक्रिया थाल्नुपर्छ वा प्रशासनमार्फत सञ्चालकलाई गिरफ्तार गरेर असुली प्रक्रिया सुरु गर्नुपर्छ। त्यसका लागि शिक्षा मन्त्रालयले नेतृत्व लिनुपर्छ। तर, पछिल्लो समय आफ्ना माग लिएर आएका विद्यार्थीले मन्त्री यादवलाई भेट्नसमेत पाएका छैनन्। यादवले हालका सञ्चालक पाण्डेलगायतलाई संरक्षण दिइरहेको भनाइ आइओएमका अधिकारीहरूको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस