
काठमाडौं– कसैलाई बोलाएर आफैँ ढिलो हुनु कस्तो लाजलाग्दो कुरा। प्रियंकासँगको हाम्रो भेट त्यही लाजबाट सुरु भयो। निर्धारित समयभन्दा २० मिनेट ढिलो।
सामाजिक सञ्जालले मान्छेलाई सेलिब्रेटी बनाउँछ वा सेलिब्रेटी इमेज जोगाउन फेसबुक छिर्नु बाध्यता हो? ट्विटर, फेसबुक अनि इन्स्टाग्राममा सक्रिय हिरोइनको जीवनलाई यी सञ्जालले के थपिदिएको छः तनाब वा खुसी? यिनै प्रश्नको जवाफ खोज्न हामी टङ्गालको एटिक रेष्टुराँ पुग्दा उनी स्मार्टफोनमा व्यस्त थिइन्।
'के मा भिडिरहनु भएको?'
'फ्यानहरुसँग अन्तरक्रिया गर्दैछु।'
सक्किगो नि!
हामी उनलाई यही बिन्दूमा ल्याउन चाहन्थ्यौं। उनको 'स्टेट अफ माइन्ड' त्यहीँ रहेछ।
...

प्रियंकाको ग्लामर यात्रा १० वर्षअघि सुरु भएको थियो। ठीक त्यही बेला मार्कजुकेरबर्ग हावर्ड विश्वविद्यालयमा फेसबुकको परीक्षण गर्दै थिए। जुकेरबर्गको सपना पूरा हुँदाको सुवास नेपालसम्म आइपुग्यो। फेसबुक नेपालका गाउँ-सहर, धनी-गरिब सबै वर्गमा हिट बन्यो। प्रियंका नेपाली रजतपटमा सफल भइन्। सामाजिक सञ्जालको राम्रो प्रयोगकर्ता बनिन्।
'सोसल मिडियो मेरो लाइफ स्टाइल भैसक्यो', उनले सुनाइन्। फेसबुक पेज, ट्विटर र इन्स्टाग्राममा फलो गर्नेले उनको जीवनशैली सहजै नियाल्न पाउँछ। सुटिङ र साथीभाइका जमघट खबर तत्कालै थाहा पाउँछ। 'सुटिङबाट केहीबेर फुर्सद मिल्यो भने म सोसल मिडियातिर पुगिहाल्छु', उनी सुनाउँछिन्।
हुन पनि भाँती पुर्याडएर सामाजिक सञ्जाल प्रयोग गर्ने थोरै नेपाली सेलिब्रेटीमध्ये प्रियंका एक हुन्। आफ्ना कुरा व्यस्थित ढंगले सामाजिक सञ्जालमा राखेर व्यक्तित्व उजिल्याउने कला उनले पोस्टहरुमा प्रदर्शन गर्दै आएकी छिन्। 'फ्यानसँग दोहोरो अन्तरक्रिया गर्न मेरा लागि यो सहज र सशक्त माध्यम भएको छ', सोसल मिडियामा सक्रिय प्रियंकाको अनुभव छ, 'यसलाई राम्रोसँग उपयोग गर्न भने जान्नुपर्छ। नत्र तनाब दिन्छ।'

फेसबुकबाट सोझै प्रपोज
प्रियंकाका सबैभन्दा बढी फ्यान फेसबुकमा छन्। फेसबुकमा उनी एकै पटक झन्डै दुई लाखसँग अन्तरक्रिया गर्छिन्। व्यवस्थित प्रयोगका कारण फेसबुकले प्रियंकाको पेजलाई 'भेरिफाइड' गरिदिएको छ। दुई लाख फ्यान पुग्नै लाग्दा फेसबुकसँग उनका धेरैखाले अनुभव भइसकेका छन्। कसैलाई उनी साइबर क्राइम सिकाउँछिन्। कसैलाई उनी वास्तविक प्रेम र जीवनको पाठ पढाउँछिन्।
'सबैभन्दा सचेत फेसबुक पोस्टमा हुनुपर्छ', उनले सुनाइन्, 'फेसबुकमा फ्यानहरुले सोझै प्रपोज गर्छन्।' यो भन्दा तनाब त उनलाई त्यतिबेला हुन्छ जब फ्यानहरुले फोहोरी तस्विर र भिडियो सन्देश ट्याग गर्दिन्छन्। तैपनि उनी ठान्छिन् फ्यान भनेका भगवान् हुन् र ती बिनाको उनको संसार फिक्का छ। 'वास्तविकता र कानुनी व्यवस्था थाहा नहुनेहरुले यस्तो काम गर्छन्। म मोड्रेट भएर डिल गर्छु।'
साँच्चै नेपालको हकमा फेसबुकको कुनै वर्ग छैन। तह र तप्का छैन। त्यहाँ खुँखार अपराधी छन् र सन्त पनि। शिक्षक छन् र विद्यार्थी पनि। 'सामन्ती' छन् र 'सर्बहारा' पनि। त्यसैले प्रियंकालाई हिजोआज लाग्न थालेको छ फेसबुक एउटा समुन्द्रजस्तै हो जहाँ सबैथोक बग्छ : अमृत र रछ्यान पनि।
'धेरैलाई सम्झाएकी छु। कोही कोहीले त हैरानै पार्छन्।'
अनि त्यो बेला के गर्ने?
'साइबर कानुनबारे बताउँछु। त्यतिले नपुगे ब्लक गर्दिन्छु।'
फ्यान भिडले अनावश्यक तनाब दिएपछि हिजोआज प्रियंकाको फेसबुकसँग बित्ने समय छोटिएको छ। 'फेसबुकलाई सहयोगीले पनि चलाउँछन्', उनले सुनाइन्।
ट्विटर अत्यधिक 'जजमेन्टल'
प्रियंका कार्की ट्विटरकी पनि प्रयोगकर्ता हुन्। २०१२ मा ट्विटर अकाउन्ट बनाएकी उनलाई अहिले १७ हजारभन्दा बढीले फलो गर्छन्। अहिलेसम्म ३ हजार ८ सय ५३ ट्विट गरेकी प्रियंकाले २ सय ५३ जनालाई फलो गर्छिन्। हुन पनि चिर्बिरे चरोजस्तो ट्विटर फेसबुकजस्तो मसलेदार छैन। फोहोर तस्विर, भिडियो सामना गर्नुपर्ने झन्झट यहाँ छैन। नेपालको ट्विट स्पेयर मुद्दाहरुमा विचार-बहस गर्ने साझा चौतारी हो। प्रियंकालाई चाहिँ लाग्छ ट्विटर बढी 'जजमेन्टल' भयो। ट्विटरमा सिक्ने शिष्य पाउन गाह्रो छ। त्यहाँ जान्ने गुरुहरु मात्र भेटिन्छन्।
'त्यसैले म ट्विटरबाट आफ्ना कुरा थोरै राख्छु', उनले सुनाइन्, 'धेरैचाहिँ अरुका कुरा सुन्छु।'
फ्यानको प्रश्न : कुन साबुनले नुहानु हुन्छ?

'तिमी एकमात्र कामुक नेपाली हिरोइन होउ!' मंगलबार बिहान उनले इन्स्टाग्राममा राखेको फोटोमा एक जना फलोअरले लेखेको कमेन्ट हो- यो। रातो फेर भएको सारीमा मुस्कुरइरहेको फोटो पोस्ट गर्दै प्रियंकाले लेखेकी थिइन्- 'अझै सुटिङमै।'
प्रदर्शन तयारीमा रहेकोवडा नम्बर ६ की हिरोइन प्रियंका हिजोआज बढी फोटो-भिडियो सेयरिङ एप इन्स्टाग्राममा सक्रिय छिन्। १३ हजार पोस्ट गरेकी उनलाई अहिलेसम्म ३६ हजार ३ सय फलो गर्छन्। फेसबुक र ट्विटरभन्दा उनले यसलाई बढी माया गर्न थालेकी छिन्। विश्वमै इन्स्टाग्रामलाई माया गर्ने मोडर्न केटीहरु संख्या अधिक छ। सुन्दा अचम्म लाग्ला १० करोड बढी प्रयोगकर्तामध्ये ६८ प्रतिशत महिला छन्।
'मलाई पनि इन्स्टाग्राम रमाइलो लाग्यो', उनले कारण खुलाउँदै भनिन्, 'यसमा बढी विदेशमा बस्नेहरु भएर होला नकारात्मक कुराहरु आउँदैनन्। हिजोआज अन्तरक्रिया पनि गर्छु।'
अन्तरक्रियामा कस्ता प्रश्न आउँछन्?
'धेरैका प्रश्नहरु हुन्छन्। कोही कुन साबुनले नुहाउनु हुन्छ भन्छन्। कोही हिरोइन हुन के गर्नुपर्छ भन्छन्।'
फलोअर बढाउन मात्र नभई आफ्नाबारेमा जानकारी दिन अन्तरक्रिया आवश्यक रहेको उनको बुझाइ छ।
'कसैले निजी प्रश्नहरु पनि सोध्छन् तर धेरै जति मेरो फिल्डसँग सम्बन्धित प्रश्नहरु नै आउँछन्', उनी भन्छिन्, 'कुन निर्देशकबाट फिल्ममा लाग्दा सुरक्षित भइन्छ? डान्स कोसँग सिक्ने? मोडलिङ र फिल्ममा करिअर कस्तो छ? सोध्नेहरु धेरै हुन्छन्।'
आफूले भोगेका अनुभव समेटेर नयाँ पुस्तालाई बोटो देखाइदिँदा उनलाई खुसी लाग्दो रहेछ।
'कोही मलाई रोल मोडल मानेर अघि बढ्न खोज्छ भने उसलाई सही मार्गनिर्देश गर्नु मेरो कर्तव्य पनि हो,' उनी भन्छिन्।
प्राइभेसी किल गर्दै सामाजिक सञ्जाल
फेसबुक, ट्विटर र इन्स्टाग्राम सक्रिय हुँदै जाँदा उनी सोसल मिडियाप्रति आलोचनात्मक पनि हुन थालेकी छिन्। 'यसले सधैं सबैलाई राम्रो गर्छ भन्ने हैन,' भनिन्, 'हाम्रो जस्तो समाजमा टिनएजर्स किशोरीहरु यसबाट अझ सजग हुन जरुरी छ। फेसबुकबाट दिदीबहिनीलाई ब्लाकमेल गरेको समाचार धेरै पटक सुनेकी छु।'
जोगिन के गर्ने त?
'धेरै सोच विचार गरेर। सयौं पटक सोचेर मात्र फेसबुक साथीसँग सम्बन्ध अघि बढाउनुपर्छ। नियत खराब भएको मान्छे रहेछ भने चरित्र हत्या गर्दिन सक्छ। पूरै जिन्दगी बर्बाद पार्दिन सक्छ।'
प्रविधिसँग नजिकिँदै जाँदा मान्छेहरु प्रत्येक क्षणलाई सामाजिक सञ्जालसँग सेयर गर्छन्।
'पिज्जा खाइरहेको छु, नेलपोलिस लाउँदैछु, ठमेलमा छुजस्ता पोस्टहरु हेर्दा रमाइलो लाग्छ। तर तिनले व्यक्तिको प्राइभेसीलाई किल गरिरहेका छन्', प्रियंकाको बुझाइ छ।
तस्विरः टेकनारायण भट्टराई