१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दीपक मनांगेलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी

काठमाडौं- प्रहरीले ठमेल आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेका दीपक मनांगे (राजीव गुरुङ) लाई संठित अपराधको मुद्दा चलाउने भएको छ।

बिहीबार राति पक्राउ मनांगेलाई प्रहरीले संगठित अपराधको अभियोगमा अनुसन्धान गर्न थुनामा राख्ने अनुमति लिएको हो। शुक्रबार काठमाडौं जिल्ला अदालत पेश गरेको प्रहरीले ५ दिन थुन्ने अनुमती पाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ठमेल र दरबारमार्गसहित देशका प्रमुख सहरका रात्रिकालीन व्यवसाय, कवाडी र बालुवाखानीमा राज गर्दै आएका मनांगेलाई मुख्य सहयोगी राजनकुमार सिंहसँगै पक्रेको थियो।

परिसरका अनुसार एकजना व्यवसायीलाई धम्क्याएर असुलेको एक लाख नगदसहित मनांगे र सिंह पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट विशेष अदालतमा १४ करोड ७३ लाख स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दा खेपिरहेका मनांगेले अदालत र विभागका कर्मचारीलाई नै धम्क्याउन थालेपछि उनी प्रहरी निगरानीमा थिए।

परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले संगठित अपराध उद्योग चलाउने गुन्डाविरुद्ध प्रहरीले विशेष अभियान थालेको जानकारी दिए। ‘पक्राउ पर्दै, विभिन्न दबाब, प्रभाव र प्रलोभनमा पारेर छुट्दै आएका मनांगेबाट अभियान सुरु भएको छ, राजनीति र शक्तिकेन्द्रको साँठगाँठमा अपराध उद्योग चलाउने धेरैजना सूचीमा छन्’, उनले भने।

सर्वोच्च अदालतमा आफू दीपक मनांगे नभई राजीव गुरुङ भएको परिचय बुझाएर २०६५ अन्त्यमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरी छुटेका उनी सुरुवातमा नेपाली कांग्रेस र नेकपा एमाले हुँदै मधेसकेन्द्रित विभिन्न राजनीतिक दलको आडमा अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको अध्यक्ष रहेरै गुन्डागर्दीमा संलग्न मनांगे सोही पार्टीको उपाध्यक्ष रहँदा केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

व्यस्त ठमेलमा २५ आना क्षेत्रफलमा रहेको आलिशान घरमा बस्दै आएका मनांगेको १४ करोडभन्दा बढी रकमको स्रोत नखुल्नुले उनले अपराधलाई उद्योग बनाएको जिकिर परिसरको छ। पछिल्लो समय व्यवसायको आवरणमा विभिन्न व्यक्तिलाई बैंकमा मौज्दात नै नभएका चेक दिएर ठगी गरेको आरोपमा उनी पक्राउ पर्दै, छुट्दै आएका थिए।

एसएसपी थापाले मनांगेको गुन्डासञ्जाल र साँठगाँठ तोड्न संगठित अपराध ऐनअन्तर्गत कारबाही थालेको बताए। काठमाडौंका गुन्डा नाइकेविरुद्ध प्रहरी अक्रामक रहेको बताउँदै उनले भने, ‘गोली चलाउनुपर्ने ठाउँमा गोली र गुन्डागर्दी नियन्त्रणकै लागि बनेको संगठित अपराध ऐनको व्यापक प्रयोग गर्ने हाम्रो योजना हो ।’

 

प्रकाशित: १८ असार २०७३ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App