१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

असावधानीवस क्याप्टेन गुरुङको नाम उडान तालिकामा :  निगम

काठमाडौं- उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिएका वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङलाई नियमित उडानमा असावधानीवस राखिएको नेपाल वायुसेवा निगम व्यवस्थापनले स्पष्ट पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत मंगलबार राति साढे ११ बजे कतारको दोहा जान लागेको निगमको 'बोइङ ७५७–२००' सिरिजको जहाज कमान्ड गर्ने जिम्मा क्याप्टेन गुरुङको थियो। चालकदलको उडान तालिकामा गुरुङको नाम राखिए पनि उनको लाइसेन्सको म्याद भने १० दिनअघि नै सकिएको थियो। यसबारे उनले सम्बद्ध उडान सञ्चालन (अपरेसन) विभागलाई पहिल्यै जानकारी गराइसकेका थिए।

'मैले मेरो लाइसेन्सको म्याद सकिएको जानकारी अपरेसन विभागलाई दिइसकेको थिएँ,' क्याप्टेन गुरुङले बिहीबार नागरिकसँग भने, 'सम्बद्ध विभागलाई जानकारी दिइसकेपछि प्रत्येक व्यक्तिलाई भन्दै हिँड्ने मेरो काम होइन। जानकारी हुँदाहुँदै मलाई जहाज उडान तालिकामा किन राखियो, मैले बुझ्न सकेको छैन।'

निगमका जहाज कुन गन्तव्य जाने र कुन–कुन क्याप्टेन र को–पाइलटले उडाउने भन्ने तालिका अपरेसन विभागअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित 'एफओआई' (फ्लाइट अपरेसन इन्टरनेसनल) शाखाले बनाउने गर्छ।

'कामको चाप र कार्यव्यस्तताका कारण असावधानीवस क्याप्टेन गुरुङको नाम उडान तालिकामा पर्न गएको रहेछ। यो घटनामा हामी गम्भीर छौं,' एफओआईका उपनिर्देशक वरिष्ठ क्याप्टेन विजय लामाले नागरिकसँग भने, 'जे हुनु भइसक्यो, कसैलाई दोष दिँदैनौं। उचित किसिमले सूचना आदान–प्रदान नहुँदा यस्तो घटना हुन पुग्यो। आगामी दिनमा यस्तो गल्ती हुनेछैन। यसबारे सबैलाई सचेत पनि गराइसकिएको छ। हाम्रो लक्ष्य निगमको हित, विस्तार र विकासमात्र हो।'  

यता क्याप्टेन गुरुङले सन् २०१६ डिसेम्बर २९ (पुस १४) मा लाइसेन्सको म्याद सकिएपछि कार्यालयलाई जानकारी दिएर तीन दिनपछि नेपाल नागरिक उड्डयन प्राधिरकरणमा नवीकरण प्रक्रिया चालेको बताए। 'सरकारी काम हो, समय लागिहाल्छ,' उनले भने, 'बल्ल पुस २७ मा मेरो लाइसेन्स नवीकरण भयो।'

प्रत्येक दुई सातामा चालकदलको उडान तालिका (कार्यक्रम) बन्ने उनले बताए। तर, त्यो तालिका आफूले नपाएको उनको भनाइ छ। 'दोहा उडानमा मलाई कमान्ड दिइएको थाहा थिएन, त्यस दिन राति मेरो मोबाइल स्विचअफ पनि थिएन। मेरो मोबाइलमा कल आएको थियो तर उठाउन जाँदाजाँदै लाइन काटियो,' क्याप्टेन गुरुङले भने, 'त्यसपछि घरको ल्यान्डलाइन फोन आयो र उडानका लागि विमानस्थल जान लिन आएको भनेर घरमा कार्यालयको गाडी आएको रहेछ।'

त्यसपछि 'लाइसेन्स नवीकरण नभएकाले उडाउन मिल्दैन भनेर गाडी फर्काइदिएको उनले बताए। '३२ वर्षदेखि जहाज उडाइरहेको मैले अहिले आएर यस्तो काम गर्ने कल्पनासम्म गर्न सक्दिनँ,' उनले भने, 'यात्रु उडाएर रोजीरोटी चल्ने हाम्रो पेसा हो। मोबाइल स्विचअफ गरेर जहाज उडाउन नगएको आरोप कपोलकल्पित हो।'

क्याप्टेन र निगम व्यवस्थापनबीच उचित किसिमले सूचना आदान–प्रदान हुन नसक्दा मंगलबार रातिको दोहा उडान रद्द भएको थियो। उक्त उडान भोलिपल्ट बुधबार बिहान गरिएको थियो।

नेपाली पाइलटहरूको लाइसेन्स नवीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्छ। लाइसेन्स नवीकरण गर्न पाइलट स्वयं उपस्थित हुनुपर्छ। विगतमा वायुसेवा कम्पनीकै कर्मचारीले कागजपत्र लगेर नवीकरण गराए पुग्थ्यो। प्राधिकरणले लाइसेन्सको म्याद सकिनु दुई साताअघि नै नवीकरणको प्रक्रिया चाल्न पाइलटलाई आग्रह गर्दै आएको छ। 

प्रकाशित: २९ पुस २०७३ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App