१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

देशभर ४० प्रतिशत इँटा स्टकमा

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि इँटा अभाव भएको बताइरहँदा सम्बन्धित व्यवसायीले इँटा नबिकेर स्टकमा राख्नुपरेको बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणमा ठूलो मात्रामा इँटा प्रयोग हुने अनुमान लगाइए पनि हाल देशभर झन्डै ४० प्रतिशत इँटा स्टकमा रहेको व्यवसायीको भनाइ छ।

उता प्राधिकरणले झन्डै ६ अर्ब ९० करोड इँटा अभाव रहेको बताएको छ। पुनर्निर्माणले गति लिन नसकेको भन्दै आलोचना खेपिरहेको प्राधिकरण र व्यवसायीबीचको भनाइमा तालमेल छैन। देशमा पुनर्निर्माण कार्य चलिरहेको भनिए पनि निर्माणको लागि चाहिने इँटा भने उद्योगमा ठूलो मात्रामा थुप्रिएको छ।

'अहिले इँटा माग धेरै कम छ,' नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने, 'हाल झन्डै ४० प्रतिशत इँटा स्टक छ।' देशभरका उद्योगबाट पुनर्निर्माणमा जति इँटा आपूर्ति हुनुपर्ने हो त्यस अनुसार हुन सकेको छैन।

अध्यक्ष चित्रकारका अनुसार तराईका इँटा उद्योग अझ धेरै मारमा परेका छन्। त्यहाँबाट इँटा बिक्री नभएर काठमाडौं लगायत अन्य ठाउँमा पुर्‍याउनु परेको छ। 'तराई क्षेत्रका उद्योगमा स्टक धेरै भएर व्यवसायी हैरान छन्,' चित्रकारले भने, 'त्यहाँ बेच्न नसकेर काठमाडौंसम्म ल्याइरहेका छन्।'

देशमा लाखौं संचरना भत्केका छन्। तिनीहरूको निर्माण गर्न अर्बौं इँटा आवश्यक पर्छ तर भूकम्पअघि सामान्य अवस्थमा जति पनि अहिले आपूर्ति हुन सकेको छैन। चित्रकारका अनुसार भूकम्पअघिको अवस्थमा भन्दा २५ देखि ३० प्रतिशतले इँटा वितरण घटेको छ।

देशको पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने ६ अर्ब ९० करोड गोटा इँटा अभाव रहेको बताएको छ। प्राधिकरणले पुनर्निर्माणका लागि झन्डै १६ अर्ब १४ करोड इँटा आवश्यक पर्नेमा जम्मा ९ अर्ब २४ करोड इँटा मात्र आपूर्ति भएको बताएको बताइरहेको छ।

सरकारले अर्बौं इँटा आवश्यक पर्छ भनेर हल्ला चलाए पनि त्यस अनुसार बिक्री नभएको भक्तपुर ताथलीमा श्वेत भैरव इँटा उद्योग सञ्चालक राजकुमार लाखेमरुले बताए। 'पहिलाभन्दा धेरै कम मात्रामा इँटा बिक्री भइहेको छ,' लाखेमरुले भने, 'निर्माणका लागि सरकारी योजना नै छैन कसरी इँटा बिक्री होस्।'

पुनर्निर्माणको गति सुस्त हुँदा निर्माण सामग्रीको व्यवसाय पनि सुस्त भएको छ। भूकम्पले भत्काएका संरचना बनाउने मात्र होइन नयाँ घर बनाउने समेत धेरै कम भएको व्यवसायी बताउँछन्। भूकम्पअघि जस्तो नयाँ घरहरूको निर्माण हुन सकेको छैन। 'सरकारको पैसा नभएर हो कि के हो?' चित्रकारले भने, 'निर्माण धेरै नै शिथिल छ।' गाउँघरमा स्थानीय बासिन्दाको क्रयशक्तिमा कमी आएको उनी बताउँछन्।

लाखेमरुका अनुसार बजारमा गुणस्तरीय इँटा समेत पाउन गाह्रो छ। इँटा बनाउने धेरै तरिका हुने भन्दै लाखेमरुले भने, 'कसैले इँटा पोल्दा २–३ घन्टा मात्र आवश्यक तापक्रममा राख्छन्। त्यो गुणस्तरीय हुँदैन। गुणस्तरीय इँटाको लागि २४–२५ घन्टासम्म आवश्यक तापक्रममा राख्नुपर्छ।' भूकम्पपछिको पूनर्निर्माणमा गुणस्तरीय इँटा प्रयोग गर्नु पर्ने उनी बताउँछन्।

अहिले देशभरमा ८ सय हाराहारी इँटा भट्टा छन्। उपत्यकामा मात्र ११२ वटा दर्ता भएको चित्रकारले बताए। देशभरमा रहेका कारखानाले एक सिजनमा प्रत्येकले १० लाखदेखि ८० लाख इँटा उत्पादन गर्छन्।

भूकम्पले उत्पत्यकाका झन्डै ९० प्रतिशत इँटा भट्टामा क्षति पुर्‍याएको थियो। क्षति पुगेका सबै इँटा उद्योग पुनर्निर्माण भइसकेको चित्रकारले बताए। उनका अनुसार सबै उद्योगहरू प्रदूषणमूक्त गर्ने जिग–ज्याग मोडलबाट पुनर्निर्माण भएर सञ्चालन भइरहेका छन्।

प्रकाशित: २९ पुस २०७३ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App