१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फागुन पहिलो सातादेखि बुढासुब्बा गोल्डकप

धरान- मोफसलको चर्चित १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ।

                आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने क्लबले जनाएको छ। तर, साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो सँस्करणमा सहभागी नहुने पक्का भइसकेको छ । मनाङ बंगलादेशमा हुने अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिन फेब्रअरी १७ तारिख प्रस्थान गर्ने भएकोले बुढासुब्बामा सहभागी हुन नसक्ने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिता तोकिएकै मितिमा शुरु हुने पनि उनले दाबी गरे । ‘पहिला जस्तो यसपाली प्रतियोगिताको मिति सर्दैन। डिफेन्डिङ च्याम्पियन मनाङ वंगलादेश खेल्न जाने भएकोले नआउने पक्का भइसक्यो’–एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘तरपनि १० वटा उत्कृष्ट टिमहरुलाई ल्याएर स्तरीय, भव्य र सभ्यरुपमा प्रतियोगिता गराउँछौं।’ मनाङ बुढासुब्बाको छैटौं, १३ औं र १८ औं सँस्करणको विजेता हो।

प्रतियोगितामा १० टिम मात्र सहभागी भएपनि आयोजकले सम्भावित एक दर्जन टिमको नामावली सार्वजनिक गरेको छ। अन्र्तराष्ट्रिय टोलीकोरुपमा भुटानको राष्ट्रिय टिम, वंगलादेशको धनमुन्दी क्लब र भारत सिलङको टिमलाई सहभागी गराउन एन्फा मार्फत नै पहल भइरहेको पनि अध्यक्ष राईले खुलाए। यस्तै, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सहारा क्लब पोखरा, हङकङ नेप्लीज टिम र रुपन्देही ११ सम्भावित टिम छन् । साथै, यसपटक उपाधि जित्ने लक्ष्यका साथ आयोजकको रातो र निलो गरी दुई टिम पनि सहभागी हुनेछ । माघ २८ भित्रमा सहभागी टिम निश्चित हुने र त्यसैबेला टाइसिटसमेत सार्वजनिक गर्ने क्लबले जनाएको छ । ‘अहिले झापा गोल्डकप र सिमरा गोल्डकप भइरहेको छ, त्यहाँको नतिजा हेरेर उत्कृट खेल्ने टिमलाई यहाँ सहभागी गराउछौं’–अध्यक्ष राईले भने–‘आयोजककै २ वटा टिम हुन्छ, एउटामा सिनियर खेलाडीहरु हुन्छ । अर्कोमा जुनियर नयाँ प्रतिभाहरुलाई मौका दिन्छौं ।’

यो सँस्करणमा पुरस्कार राशीमा पनि वृद्धि गरिएको महासचिव प्रताप तामाङले जानकारी दिए । उनका अनुसार विजेताले नगद पुरस्कार ५ लाख पाउनेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ । गत सँस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख मात्र थियो । यस्तै, उत्कृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल दिइनेछ भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । साथै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद १५ हजार दिइने महासचिव तामाङले बताए । प्रतियोगितालाई सफल बनाउन विभिन्न उप समितिहरु गठन गरेर तीब्ररुपमा तयारीमा जुटेको पनि उनले खुलाए ।

                कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक जि.बि.मार्केटिङ प्रालि(रेडबुल) र सहप्रयोजक गोर्खा ब्रुअरी प्रालि(टुबोर्ग बियर)सँग यसै सँस्करणदेखि थप ३ बर्षको लागि सम्झौता नवीकरण भएको पनि आयोजक क्लबले जानकारी दिएको छ । क्लब अध्यक्ष राईका अनुसार विगतमा प्रयोजन र सहप्रयोजनवापत दिदै आएको रकममा १० प्रतिशत वृद्धि हुने गरी ३ बर्षको नयाँ सम्झौता भएको छ । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा ताईपाई चाउचाउ, यामाहा, हट्के झट्के, बराह इण्ड्रष्ट्रिज प्रालि, आईएमई पनि सहप्रायोजक रहेको क्लबले जनाएको छ।

प्रकाशित: २१ माघ २०७३ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App