१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सांगीतिक पृष्ठभूमिमा तामाङ जोडीको प्रेमकथा

काठमाडौं- हिमालको काखमा एउटा चिटिक्क परेको तामाङ गाउँ, त्यहीं बस्छन् रुस्लान (लक्कीं) र उसका साथीहरू। भर्खर यौवनमा पाइला चालेका उनीहरूको जीवन रमाइलो छ। नाच्दै, गाउँदै उनीहरूको दैनिकी चलिरहेको छ। रुस्लानको गाउँसँगै सारु (ग्लोरी)को गाउँ जोडिएको छ। सारुको बुवाको सैनिक सामग्री उत्पादन गर्ने कारखाना छ र यसका लागि उनले गाउँका युवायुवतीलाई अपहरण गरेर काममा लगाउने गरेका छन्। सारुका बुवा रामलाई रोगले च्याप्दै छ। त्यसैले उनको इच्छा छ– छोरीले आफ्नो कारखाना सञ्चालनको जिम्मा लिओस्। आफ्नो बुवाको इच्छाबाट बेखबर सारु भने छिमेकी गाउँको रुस्लानलाई प्रेम गर्छे। यता, रुस्लान आफ्नै गाउँकी निमासँग प्रेममा छ। रुस्लानलाई निमा पनि उत्तिकै प्रेम गर्छे।

एक दिन सारुको भाइ अमन (अमृत)ले रुस्लान र निमाबीचको प्रेमालाप सुन्छ। उसले तुरुन्तै सारुलाई खबर गर्छ। जब सारु आफूले माया गर्ने रुस्लानलाई निमासँगको प्रेममा चुर्लुम्म डुबेको देख्छे, उसले आफूलाई सम्हाल्न सक्दिन। रिसले उसले निमालाई उसका संगीसँग बन्धक बनाएर कारखानामा राख्छे। रुस्लानले केही समय त निमा हराउनुको कारण थाहा पाउँदैन तर जब सारुले निमालाई अपहरण गरेको थाहा पाउँछ, रुस्लान आफ्नो प्रेमका खातिर तथा सारा गाउँका लागि लड्ने निर्क्योलमा पुग्छ। रुस्लानले एक रात सारा गाउँ भेला गरेर अमृत र उसको समूहसँग लड्छ र निमासँगै गाउँलेलाई कारखानाबाट मुक्त गर्छ।

यो कथा हो, सांगीतिक नाटक 'रुस्लान बोर्डवे'को। बुधबार आर्मी अफिसर्स क्लबमा सुशीला आर्टस् एकेडेमीका कलाकारले तामाङ गाउँका युवायुवतीको प्रेमकथामा आधारित रहेर १ घन्टा १५ मिनेट लामो गीतिनाटक प्रस्तुत गरे। तामाङ सेलो, नेपाली र अंग्रेजी गीतको पृष्ठभूमिमा प्रस्तुत नाटक कुनै फिल्म हेरेझैं लाग्थ्यो। लाइटिङ, एलइडी, कलाकारको अभिनय र संगीतको सम्मिश्रणले नेपालमा बिरलै हुने 'बोर्डवे' सोले दर्शकको मन जितेको थियो। एलिजे बियानिकले कोरियोग्राफ गरेको नृत्य आकर्षक छ भने एलिजेको कल्पनालाई कलाकारको प्रस्तुतिले सुनमा सुगन्ध थपेको छ। निमाको रुपमा रोजिताको अभिनय दर्शकको मनमा बस्न सफल छ भने तेन्जिन बनेको विकास कलाकारको भीडमा पनि अलग्गै उभिन सफल छन्। कथाको बीचबीचमा आउने तामाङ सेलो होस् वा अंग्रेजी गीत एलिजेलेे सोमा त्यसको सुन्दर प्रयोग गरेकी छन्। एलिजेले नै कोरियाग्राफ गरेको डान्स स्टेप आकर्षक लाग्छन्। सोमा लाइटिङको प्रयोग दर्शनीय छ। कथाको भावअनुसार प्रयोग भएको लाइटिङले दर्शकमा संवेदना उब्जाउन प्रशस्त भूमिका खेलेको छ।

नेपाल रिपब्लिक मिडियाको अंग्रेजी संस्करण रिपब्लिकाले प्रस्तुत गरेको सांगीतिक नाटक बुधबारदेखि तीन दिनसम्म चल्नेछ। नाटक बेलुकी ५ बजे सुरु हुन्छ।

सुशीला आर्टस् एकेडेमीकी कार्यकारी निर्देशक युलिया कोइरालाले करिब एक वर्षको मेहनतपछि सांगीतिक नाटक तयार भएको बताइन्। उनले मौलिक कथा लेख्नेदेखि संगीत तयार गर्दासम्म यत्तिका समय लागेको बताइन्। 'हामीले पहिले नै सार्वजनिक भएका गीत पनि प्रयोग गरेका छौं तर धेरै सिक्वेन्समा नयाँ संगीत सिर्जना गरेका छौं,' युलियाले भनिन्। सो भारतका केही सहरमा पनि प्रदर्शन गर्ने तयारी रहेको युलियाले बताइन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App