१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सदा आशावादी भवानी

जीवनलाई सफल बनाउने सूत्र के हो ?
यो प्रश्नको भवानी राणासँग प्रस्ट उत्तर छ– ‘आशा र सकारात्मक सोच ।’
हरेक कुरालाई सकारात्मक रूपले बुझ्नुपर्छ भनेर ठान्ने भवानी आफूले जुन क्षेत्रमा हात हाल्यो, त्यसमा सफलता पाएको बताउँछिन् । उद्योग, व्यवसाय क्षेत्रमा महिलाको त्यति धेरै सहभागिता नभइरहेको बेला निकट भविष्यमै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिन तम्तयार हुनु उनको पछिल्लो सफलता हो । यसअघि साथी संस्थामा होस् या अन्य सामाजिक कार्यमा सक्रिय हुँदा जताततै उनको वाहवाही भइरह्यो । हाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छिन्, भवानी ।
राजधानीको सेन्ट मेरिज स्कुलबाट विद्यालय तहको शिक्षा तथा भारतको इसाबेला थोर्बन कलेजबाट उच्च शिक्षा सकेपछि भवानीका अघिल्तिर दुइटा विकल्प थिए । पहिलो थियो– जागिर खाने र अर्को बाटो आफ्नै व्यवसाय गर्ने । सन् १९८० को दशकमा नाम चलेका शिक्षण संस्थामा अध्ययन गर्न पाएका कारणले राणाका लागि जागिर नै सबभन्दा सजिलो बाटो थियो । त्यतिखेरको समाजअनुसार पढाइमा अब्बल हुनेबित्तिकै विद्यार्थीको चाहना पनि डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ भन्ने नै हुन्थ्यो ।
त्यो समयमा सेन्ट मेरिजमा अध्ययन गर्न पाउने निकै थोरैमध्ये एक थिइन्, भवानी । तत्कालीन अञ्चलाधीशकी छोरी भएका कारणले पनि उनका लागि त्यतिखेरको समाजले निकै रुचाएको डाक्टर, इन्जिनियर, पाइलट बन्न खासै कठिनाइ थिएन । अरू, जागिर त उनका लागि रोज्जाकै थिए । तत्कालीन समाजको पहिलो प्राथमिकता डाक्टर, इन्जिनियर, पाइलटजस्ता पेशा भए पनि राणाको सोच भने नितान्त फरक थियो । त्यसैले उनले सजिलो बाटो रोजिनन् ।  ‘आफ्ना लागि मात्र नभई महिला र देशका लागि पनि केही गर्नुपर्छ भन्ने भावना ममा विद्यार्थीकालमै थियो,’ उनले भनिन्, ‘समाजको जेजस्तो सोच भए पनि मैले फरक काम गर्नुपर्छ भन्ने सोच्थेँ ।’ यही सोचले आज भवानीले जीवनमा सफलता हासिल गरेकी छिन् ।
उनको विचारमा जबसम्म महिला आर्थिक रूपले सबल हुँदैनन्, तबसम्म राज्यले जति अधिकार दिए पनि र नियम–कानुन बनाए पनि खासै उपलब्धि हुँदैन । ‘महिलालाई सशक्त बनाउने हो भने सबभन्दा पहिला उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ,’ उनले भनिन्, ‘त्यसैले मैले पनि अध्ययन सक्नेबित्तिकै सन् १९८८ मा दिदीसँग मिलेर गार्मेन्ट व्यवसाय सुरु गरेकी थिएँ ।’ उनको गार्मेन्ट देशमा मात्र नभई विदेशमा समेत निकै प्रख्यात थियो ।

‘आफ्ना लागि मात्र नभई महिला र देशका लागि पनि केही गर्नुपर्छ भन्ने भावना ममा विद्यार्थीकालमै थियो । समाजको जेजस्तो सोच भए पनि फरक काम गर्नुपर्छ भन्ने सोच्थेँ ।’


व्यवसाय सुरु गरेको केही समय बित्न नपाउँदै नेपालगञ्जका आशितशमशेर राणासँग विवाह गरेपछि उनको जिम्मेवारीमा गार्मेन्ट व्यवसायसँगै अन्य व्यवसाय भने थपिन पुगे । ‘विवाहअघि मलाई जसरी बुबा, आमाले अघि बढ्न प्रेरणा दिनुहुन्थ्यो र सहयोग गर्नुहुन्थ्यो । विवाहपछि पति र सासूआमाले प्रेरणा र सहयोग थप्ने काम गरिरहनुभयो,’ राणाले भनिन् । यतिखेर उनको नेपालगञ्जमा होटल स्नेह सञ्चालनमा छ । जसलाई उनले केही समयअघि मात्र चारतारे बनाइन् । आउँदो चैतमा उनी महासंघको अध्यक्ष हुने पक्का भइसकेको छ । महासंघको मूल नेतृत्व सम्हालेपछि राजनीतिमा होमिनेसमेत उनको तयारी छ । यद्यपि, कुन दलमा आबद्ध हुने भन्ने उनले केही खुलाएकी छैनन् । ‘अहिलेको चल्तीका धेरै दलले सदस्यता लिन अफर गरिरहेका छन्,’ उनले भनिन्, ‘बेला आएपछि मन परेको दलको सदस्यता लिएर सक्रिय राजनीतिमा आबद्ध हुनुपर्ला ।’
विवाहपछि नेपालगञ्जमै रहेर साथी संस्था र महिला उद्यमी महासंघको मध्यपश्चिम क्षेत्रको जिम्मेवारी सम्हालेपछि मात्र उनको ‘बाहिरी’ सम्पर्क बढ्न थालेको हो । ११ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य मनोनीत भएपछि उनको नेतृत्व र काम गर्ने क्षमता विकास हुँदै गयो र सोही क्षमताले दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित, अर्कोपटक उपाध्यक्ष हुँदै उनी वरिष्ठ उपाध्यक्षसम्म पुगेकी हुन् ।
महासंघमा रहँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘म महासंघमा आउँदा महिलामा एक्लैजस्तै थिएँ । अहिले बोर्डमै पाँच जना छौँ । तैपनि, महिलालाई माथिल्लो पदमा पुग्न अझै सहज भने छैन ।’ विगतका तुलनामा महिलालाई सकारात्मक रूपमा हेर्न थालिए पनि जब महिला प्रतिस्पर्धी हुन्छन् त्यस्तो बेला चरित्रमा प्रश्न उठाएर आलोचना गर्ने समाजको कमजोरी बाँकी रहेको उनको अनुभव छ । ‘त्यही पुरुषलाई चरित्रको आलोचना गर्दा समस्या नहुने तर महिलालाई चरित्रको प्रश्न उठाएर आलोचना गरिनु समाजको कमजोरी हो,’ भवानीले भनिन्, ‘समाजले यस्ता कमजोरी सुधार गर्ने हो भने नेपाली महिलाले गुनासो गर्ने ठाउँ कमै छन् ।’
नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता महŒवपूर्ण ओहदामा महिला पुग्नुलाई निकै सकारात्मक रूपमा लिएको उनले बताइन् । अब केही महिला मात्र माथिल्लो पदमा पुगेर सन्तोष लिन नसकिने उनको भनाइ छ । नेपालमा जसरी निश्चित महिला माथिल्ला तहमा पुगेका छन्, त्यसरी नै समग्र महिलाको अवस्था भने सन्तोषजनक छैन । ‘त्यसको एउटै कारण हो– महिलाको आर्थिक अवस्था राम्रो हुन सकेको छैन । आर्थिक क्षेत्रमा पहुँच छैन,’ भवानीले भनिन् । आर्थिक अवस्थाबाहेक महिलाले सीपको विकास तथा ‘एक्सपोजर’ हुन पाउनुपर्ने उनको बुझाइ छ । आर्थिक रूपमा सक्षम, सीपको विकास तथा ‘एक्सपोजर’ ले मात्र महिलाको आत्मबल बलियो हुने उनको भनाइ छ ।

‘नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता महत्वपूर्ण ओहोदामा महिला पुगेका छन् । तर, समग्र महिलाको अवस्था भने सन्तोषजनक छैन ।’


पछिल्लो लामो समय नेपाल उद्योग वाणिज्य महासंघमा खर्चेकी भवानीको भविष्यमा राजनीतिमा जम्ने सोच छ । ‘मुलुकमा राजनीतिक परिवर्तनपछिको संक्रमणकाल अन्त्यका लागि आर्थिक समृद्धि आवश्यक रहेकाले अहिले आर्थिक क्षेत्रमा लागेकी हुँ,’ उनले भनिन्, ‘केही वर्षपछि मूलधारको राजनीतिमा सरिक हुने चाहना छ ।’ पहिलो संविधानसभाको निर्वाचनको क्रममा दुइटा राजनीतिक दलले सभासद् बनाउन खोजे पनि आफूले त्यसलाई अस्वीकार गरेको उनले बताइन् । ‘सभासद् त्याग गर्नुको एउटै कारण थियो– पहिला आर्थिक क्षेत्रमा योगदान गरौँ भन्ने,’ उनले भनिन् । अहिलेसम्मको अनुभव र सफलताले राजनीतिमा पनि सफल भएरै छाड्ने उनको अठोट छ । ‘राजनीतिमा लाग्नुको उद्देश्य देश र जनताको थप सेवा गर्नु नै हो,’ भवानीले भनिन्, ‘त्यसैले राजनीतिमा कसो सफल नभइएला र भन्ने लागेको छ ।’
धेरैले नेपालको विकास गर्न कठिन छ भन्ने गरे पनि भवानी भने त्यसो ठान्दिनन् । कृषि, पर्यटन र हाइड्रोलाई जोड दिने हो भने मात्र नेपालले आर्थिक विकास गर्ने उनको धारणा छ । ‘अहिलेसम्म जे भयो भयो, त्यसमा नअल्झेर योजनाबद्ध तवरले जुट्ने हो भने नेपालको छोटो समयमै विकास हुनेछ,’ उनी आशावादी छिन् ।
पछिल्लो समयमा सरकारले ल्याएको सेज, औद्योगिक ऐन आर्थिक विकासका लागि सहयोगी हुने उनको अपेक्षा छ । ‘हामीसँग भएका सम्भावना त्यत्तिकै छाडेर लाखौँ युवा विदेश पसेका छन् । त्यस्ता युवालाई देश रोकेर राख्न अब राज्यले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भनिन् ।
(नागरिक परिवारबाट)

 

प्रकाशित: ६ वैशाख २०७४ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App