१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

खोटाङ – तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

 स्थानीय तहको निर्वाचनका लागि तोकिएको मतदानस्थलको अनुगमनकाक्रममा खोटाङबजार पुगेर फर्कँदै गरेका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल र डिएसपी नविनकिशोर प्रधानले रिताको मृत्युका विषयमा चुलिएको असन्तुष्टी र गुनासो सुन्न नचाहेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । 

गत माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको मृत्युका विषयमा अनुुन्धान गरेपनि हालसम्म दोषी पत्ता लाग्न नसकेको भन्दै असन्तुष्ट आफन्तले गुनासो राख्न खोजेपनि प्रमुख जिल्ला अधिकारी र डिएसपीले भेट नदिएको स्थानीय दिपबहादुर थापाले बताए । 

खोटाङबजारबाट फर्कँदै गरेका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई रिताको हत्यामा संलग्न दोषी पत्ता लाग्नमा भइरहेको ढिलाई लगायतका विषयमा गुनासो राख्नका लागि बिहीबार डेढ सयभन्दा बढी स्थानीय सिमपानीमा भेला भएका थिए । तर, प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोलीले सिमपानीकै गोपाल घिमिरेको होटलमा खाजा खाएपछि बजारको बाटो छाडेर तल्लो सडकबाट बाटो काटेको स्थानीय बिमला कार्कीको गुनासो छ । रिताको मृत्यु रहस्यमय बनेका बेलामा आफ्नो गाउँमै आइपुगेका प्रशासन र सुरक्षा प्रमुखलाई गुनासो राख्नका लागि सिमपानी, लिच्कीराम्चे, चिप्रिङ, खोटाङबजारका महिला भेला भएका थिए । ‘मृतकको आफन्तले हामीलाई रोइकराइ गरिरहन्छ,’ कार्कीले भनिन्, ‘सिडियो, डिएसपी सामु यही विषयमा गुनासो राख्नका लागि भेला भएका थियौँ । तर, उहाँहरु बजारको बाटो छाडेर अर्कै बाटो हुँदै जानु भएछ ।’ 

प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोली सिमपानी बजारको बाटो छाडेर १०÷१५ मिनेटको बाटो पैदल हिँडेर पुःन स्थानीय शिव खड्काको घर नजिकबाट गाडीमा चढेर सदरमुकाम फर्किएको स्थानीयको गुनासो छ । सिडियो र डिएसपी अर्कै बाटोबाट गाडीमा चढेर हिँड्न लागेको थाहा पाएपछि सिमपानी प्रहरीचौकीका असईलाई फोन गरेर भेटका लागि खबर भनिदिन आग्रह गर्दा पनि बेवास्ता गरिएको थापाले बताए । 

‘बजारको बाटो हुँदै उहाँहरु आउने आशामा हामी बजारमा बसेका थियौँ,’ थापाले भने, ‘असईमार्फत भेट गर्न आग्रह गरेर जाँदा उहाँहरु हिँडिहाल्नु भो । गुनासो राख्नै पाइएन । हामीलाई छल्न खोजेजस्तो देखियो ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने भेटका विषयमा आफूहरूलाई जानकारी नभएको बताए । ‘मृतकको बुवासँग हामी आधा घण्टा कुरा गर्यौं शान्त्वना दियौं,’ प्रजिअ पोखरेलले भने, ‘तर, अरुसँग भेट गर्ने खबर थिएन । खबर भएको भए भेट नहुने कुरै थिएन ।’ 

जिल्ला प्रहरी कार्यालय खोटाङ र रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोलीले घट्नास्थल एवम् शंकास्पद व्यक्तीमाथि अनुसन्धान गर्दा समेत रिताको मृत्युको विषय किनारा लाग्न सकेको छैन् । दोषी पत्ता नलाग्दा किशोरी हत्या रहस्यमय बनेको छ । लामो समयसम्म रिता हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा मृतकका परिवार थप पीडित भएका छन् । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App