कथा

आत्मघाती सहिद

शनिबार, ०६ जेठ २०७४, ११ : ३२ राजेन्द्र थापा


 हेटौंडा अस्पतालमाथि आर्मीको हेलिकप्टरले दुई–तीन फन्को लगाई अवतरण गरेको देख्नासाथ कोही गम्भीर बिरामी होला भन्ने अनुमान गरेँ । एकछिनमै फोन आइहाल्यो– बुलेट इन्जुरीको पेसेन्ट वीरगन्जबाट ल्याइएको छ, तत्कालै अप्रेसन गर्नुपर्ने भयो । केस होपलेस छ। 

ड्युटी अफ भएर भर्खर मात्र फर्केर खाना मुखमा मात्रै हाल्न थालेको थिएँ, खाना छाडेर दगुरी हालेँ।

ओटीमा पुग्दा लाइफ सेभिङमा पेसेन्टलाई फिट गरिसकेको पाएँ । गोलीपछाडि कम्मर र हिपको बीचमा लागेकाले त्यस्तो फेटल इन्जुरी रहेनछ । तर धेरै ब्लड बगेकाले कोलाप्स हुनै लागिसकेको अवस्थामा ल्याइएको रहेछ । ब्लड दिन थालिसकेकाले चिन्तित भइहाल्नुपरेन।

लाठी, भालासहित मधेसी मोर्चाका आन्दोलनकारीको अनियन्त्रित भीड र प्रहरीबीचका मुठभेडमा गोली लागेर काठमान्डु लैजान उडेको हेलिकोप्टरमा पेसेन्ट कोलाप्स हुन लागेकाले हेटौंडामा इमर्जेन्सी ल्याएको रहेछ।

एक्स–रे रिपोर्ट हामी टिमले हेर्दा भने छक्क प¥यौँ । तीन–चार टुक्रा स–साना मेटल देखिए । पुलिसको गोली त थ्री–नट–थ्रीको सग्लो एक लाम्चो हुन्छ, छर्रा या ग्रिनेडको स्प्लिन्टर हुँदैन । यदि सशस्त्रको हो भने झन् सग्लो नै हुन्छ, सेभेन प्वाइन्ट सिक्स्टी टुको गोली । प्रहरीले कतै टुवेल्भ बोर त बोकेनन् ? कलैयाका डा. उपेन्द्र झाको विचारमा यो कटुवाको छर्रा पनि हुन सक्छ । रौतहटको सिमानामा त यस्ता हतियार फालाफाल खुला किन्न पाइन्छ भन्दै डा. झाले मधेसी जनतालाई बदनाम गर्न घुसपैठियाले हानेको हो भन्ने अनुमान गरे। 

एउटा सग्लो बुलेट फटाफट निकाल्ने हिसाबले बसेको हाम्रो अन्तिम कोअर्डिनेसनले हामीलाई शल्यक्रियामा एप्रोच बदल्न बाध्य बनायो । एउटा टुक्रा भने नशामै परेको देखियो । हुन त कम्मर र हिप कुनै रिस्की ठाउँ त होइन । सिम्पल अप्रेसनको योजना बनेको पनि हो । तर, एक्स–रेको यो रिपोर्टले भने रिस्क फ्याक्टर बढायो। 

त्यतिबेलासम्म सब रेडी भइसकेको र एन्स्थेसियाको प्रयोग भइसकेको सूचना एनेस्थेसिस्ट डा. सुनिता मगरले दिएकाले हाम्रो छलफल टुंगियो। 

तीन टुक्रा मेटल निकालियो । परन्तु नशामा अड्केको मेटल निकाल्दा हेमरेज रोकिन नसक्ने र डेथसम्म पनि हुन सक्ने देखियो । यसले पेसेन्टको स्वास्थ्यमा कुनै फरक नपर्ने र उसलाई थाहा पनि नहुने । तसर्थ उक्त मेटल यथास्थितिमा राखी शल्यक्रिया सम्पन्न गरियो।

चार–पाँच दिनपछि म आफैँले उनै पेसेन्ट पर्साका मोहन यादवलाई बताएँ कि उसको शरीरमा एक टुक्रा मेटल छ, जुन निकाल्नु घातक हुन्छ, रगत रोकिन्न । उसको ज्यान जान्छ । बरु चार–पाँच वर्षपछि कोसिस गर्न सकिएला । उसलाई त्यो मेटल भएको थाहा पनि हुन्न । कुनै नोक्सानी हुन्न ।

मोहन यादवले भन्यो, ‘डाक्टरसाप, मेरो ननिहाल त सीतामढी हो, उतै गएर गर्छु, नानानानीले गराई हाल्नुहुन्छ।’

मैले भनेँ, ‘हेर मोहनभाइ, हामीसँग क्षमता या स्रोत कमी भएर यसो गरेको हैन, इन्डिया–अमेरिका जहाँ गए पनि डाक्टरले यो निकाल्ने छैनन् । निकाल्ने हो भने अहिले नै एक घन्टामा मै निकालिदिन्छु नि । परन्तु यो निकाल्नु हुन्न भनेको अर्थ बुझ न । तिमी मर्न सक्छौ । पैलेको महारानी छ नि, कोमल, हो उनको शरीरमा पनि अभैm दरबारकाण्डको १०–१२ वटा गोलीको स्पिलिन्टर छ । तिम्रैजस्तै हो । उनीहरु त खर्बपति । अमेरिका लगेर निकालिसक्थे नि, निकाल्नै पर्ने भए । हेर मोहनभाइ, तिम्लाई कामवाम गर्न केही फरक पर्दैन । एक–डेढ महिनामा तिमी आफ्नो नर्मल काम गर्न सजिलै सक्छौ ।’
केही बोलेन मोहन । मनमै केही कुरा खेलाएजस्तो गरी माथि सिलिङ ताकिरह्यो । सायद कन्भिन्स भयो ।

अर्को दिन फेरि उसले मलाई त्यो गोली निकालिदिन आग्रह ग¥यो । मेरा उही तर्क । उसका उही आग्रह । फेरि कन्भिन्स । फेरि उही सिलिङमा मौन नजर ।

यो क्रम हरेक बिहान भइरह्यो । अन्य ड्युटी डाक्टरसित पनि उसको यही अनुरोध भइरहेको जानकारी मैले पाइरहेको छु।

दुई हप्तापछि मोहन यादवलाई मैले डिस्चार्ज गरिदिएँ । उपचार खर्च सबै सरकारबाटै आउने भएकाले उसको आर्थिक जिम्मेवारी कुनै रहेन । जानेबेला बिदा हुन भनी मोहन मेरो क्वार्टरमा आइपुग्यो । दुईटा रोहुमाछा र एक दर्जन केरा ल्याएको रहेछ । उसकै घरबाट आमाले ल्याएको भन्यो । 

मोहनले भन्यो, ‘यो गोलीका कारण मेरो त जिन्दगी बर्बाद पो भइहाल्यो । यो साला आन्दोलनले हामी गरिबको जिन्दगी त खत्तमै भयो सर।’

भारतीय नाकाबन्दीको मारबाट पीडित मेरो मुखबाट आक्रोश मोहनमाथि नै पोखिई नै हाल्यो, ‘तिमी राजनीतिज्ञको जिन्दगी के खराब र ? मधेसकै गरिब जनतालाई पो बर्बाद पारेको छ यस नाकाबन्दीले । मोदीको पाउ परेर मधेसकै आमगरिब जनतालाई धुस्नुपारेको कुरा खै तिमी युवाले थाहै पाएनौ ? तिम्लाई त के भो र ? आफ्नो दलले पालिहाल्छ नि, उही सरकारमा जान गरेको हो । कुरा मिलिहाल्छ ठूला दलसँग । तिम्लाई पनि दिइहाल्लान् नि कतै कुनै पोस्टसोस्ट ।’मेरो उग्र पीडा भरिएको आक्रोश चुपचाप सुनिरहेको मोहनले भन्यो, ‘डाक्टरसाप हामी कुनै दलबलको आदमी छैन । हामी त हरेक दिन मजदुरी गरेर त्यही दिन कमाएर खाने मजदुर हो । सबै मधेसीको नागरिकता खोस्ने संविधान बनेको छ भन्यो । गाँवमा सबैलाई जानैपर्ने, नगए गाउँमा बस्न नदिने भनेर लाठी मार्दै आएपछि हामी सबै आएका हौँ । हुन त मरे पनि परिवारको त भलाई हुन्छ भन्ने पनि हामी बेकारीका युवाले सल्लाह गरेका थियौँ । पछि मधेसी सरकार बनेपछि ५० लाख दिन्छु भनेर नेताले भनेकाले पनि हाम्रा साथीलाई जोस आयो । दुई–लाख खर्चेर कतार गएर मरुभूमिमा मर्दा पनि पाँच–सात लाखँभन्दा बढी पाउने हैन । यता त ५० लाखको लोभ भयो । त्यही जोसमा पुलिसलाई पत्थर मार्दै थिए । खै पछाडि पो कताबाट गोली आयो ।’

धेरै सम्झाएँ, मोहनले मानेन । एकोहोरो गोली झिक्न दुवै हात जोडेर कराइरह्यो ।

अचानक एक महिला पसिन् । मोहनले आमालाई पनि मेरो क्वार्टरमा ल्याएर ढोकाबाहिर राखेको रहेछ । आमाले पनि रोनाधोना गर्दै गोली निकालिदिन कराइरहिन् । बेटीको पनि सादी यही साल गर्नुपर्छ, धेरै दहेज दिनुपर्छ । कमाउने छोराकै शरीरमा गोली भएपछि कसैले विश्वास गरिहाल्दैन कर्ज दिन पनि ? मोहनको पनि अब शादीव्याह हुन सक्दैन । शरीरमा गोली भएको केटालाई नपुंसक भनेर कसले दिन्छ बेटी ? आदि अनेक कुरा गरिरहिन् आमाले ।

मैले भनेँ, ‘अम्माजी, तपाईंको छोरा मर्न सक्छ यो झिक्यो भने ।’
उनले भनिन्, ‘अरे डाक्टरबाबु, जिउनु मर्नु त ईश्वरको जिम्मा हो । तपाईंले गोली मात्र निकालिदिनुस् न । अरु चिन्ता किन तपाईंलाई ? गरिब मरे भी के, जिए भी के ? हाम्रा बेटा त मोहन यादव हो, उपेन्द्र यादव त हइन नि, डाक्टरसाप । कृपा गर्नुस् र यसको गोली निकालिदिनुस् ।’

अन्तमा वाक्क भएर, म उठेँ र घरबाट निक्लेँ । म ढोकाबाहिर निक्लँदा आमाले मोहनलाई भन्दै थिइन् कि, गाउँको हरीश मण्डल त अहिले सहिद भएको छ, उसको सालिक बनाउन चन्दा उठाइरहेको छ । सरकारबाट अहिले १० लाख दिने घोेषणा भएको छ । पछि नेताले सरकार बनाएपछि ५० लाख आउँछ भनेका छन् । अब उनीहरुको दुःखको दिन सकियो । दुवै बहनलाई राम्रो रिस्ता आउन थालिसक्यो, आदि ।

 म ढोकाबाहिर अडेरै सुनिरहेँ, राजनीतिज्ञले देशलाई मात्र जर्जर बनाइसकेका हैनन्, गरिब जनताको मनोविज्ञान नै जर्जर बनाइसकेका छन् । 

करिब एक महिनापछि अखबारमा पढेँ, मधेसी आन्दोलनका घाइते पर्साका मोहन यादवको शरीरबाट गोली निकाल्दा रगत रोक्न नसकी मृत्यु भएकाले मधेसी आन्दोलनमा अर्को एक सहिद थपिएको खबर । हेटौँडाका पहाडिया डाक्टरले मधेसी नाकाबन्दीको विरोधमा मोहनको शरीरमै गोली छाडी विभेद गरेकाले अहिले गोली निकाल्नुपरेको हो । यो हत्याको जिम्मेवारी खसवादी सरकारले लिनुपर्ने नेता यादवको भनाइ पनि पढेँ । आखिर बैनीको सादी खर्च उठाउन मोहनले आत्महत्या ग¥यो नै । वा परिवारले उसलाई बाध्य बनाए ? वा, कुनै नेताले सहिदको संख्या थप्न चाहे ? 

मेरा पहाडिया गला टाँसिएजस्तो भयो मेरो मधेसीभाइ मोहनको यो हत्याको चोटले । अचानक आँखा माथि सिलिङमा टक्क अडिए । बल्ल थाहा भयो, किन हरेकपटक मेरो भाइ मोहन यादव अचानक माथि सिलिङ हेरेर मौन बस्दो रहेछ । गरिब चाहे मधेसी होस् या पहाडी, हक–अधिकारको नाममा सधैँ यसरी नै आत्मघाती सहिद बन्न बाध्य पारिन्थ्यो, पारिन्छ र भविष्यमा पनि पारिनेछ, कसैलाई प्रधानमन्त्री बन्न, कसैलाई मन्त्री बन्न ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...