१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

सय दिनमै विकास : भीम पराजुली

नागरिक संवादमा भीम पराजुली/मेयर, विराटनगर महानगरपालिका

भीम पराजुली (४३) नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। चुनावको केही साताअघि मात्रै महानगर बनेको विराटनगरमा मेयरको आकांक्षा राख्ने कांग्रेसभित्रै हेभिवेटको ताँती थियो। कोइराला निवासका विश्वास पात्र पराजुलीले मेयरको टिकट पाउनका लागि निकै पापड बेल्नुपर्‍यो। महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापति भइसकेका पराजुली दुई पटक कांग्रेसको नगर सभापति पनि भइसकेका छन्। विराटनगरका विभिन्न क्षेत्रमा काम गर्ने २४ वटा संस्थाका अध्यक्ष पनि छन् उनी। शिक्षादीप कलेज, हाम्रो अस्पताल, पर्पलहेज कटेजका व्यापारिक साझेदारसमेत हुन् उनी। नेकपा एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय फोरमबीचको गठबन्धनलाई हराउँदै विजयी भएका भीमसँग नागरिककर्मी अजित तिवारीविनोद सुवेदीले गरेका कुराकानी : 

यहाँको आर्थिक विकास र विस्तारमा व्यापारिक घरानाको सुझाव र सल्लाह महत्वपूर्ण हुन्छ। उहाँहरूकै सल्लाह र सुझावअनुसार आर्थिक अजेन्डा तय गरेर अगाडि बढ्छु।

विराटनगर महानगरपालिकाको मेयर जित्नुभयो। कस्तो अनुभव भइरहेको छ?

पार्टीले विश्वास गरेर मलाई उम्मेदवार बनायो। मैले पार्टीको विश्वासलाई साकार पारेको छु। मेयर जित्नुमा मेरो निष्ठा र इमानदारिता प्रमुख कारण रहेकोजस्तो लाग्छ। निष्ठा र विश्वासलाई म व्यवहारमै देखाउँछु। सबैको साथ र सहयोगले फराकिलो मतअन्तरले विजयी भएको छु। जितको उत्साहसँगै जिम्मेवारीको बोझ पनि थपिएको छ। मतदाताले जुन विश्वासले मेरो काँधमा विराटनगरको विकासको जिम्मेवारी थपिदिनुभएको छ, त्यो म पूरा गर्नेछु। पार्टीभित्रको एकता र उत्साहले पनि मलाई जित्न सहयोग पुर्‍याएको छ। सबै नेताको सहयोग र साथ मसँग थियो।

के छ, योजना? कसरी अगाडि बढनुहुन्छ?

नेपाली कांग्रेसबाट मैले मेयरको टिकट पाएपछि मतदातामा फरकखालको उत्साह देखेँ। त्यो मप्रतिको विश्वास थियो। चुनावी घोषणापत्रमा मैले विराटनगरको समग्र विकासको खाका प्रस्तुत गरेको छु। पद ग्रहण गरेपछि सय दिने अभियान चलाउँछु। मेरो पहिलो प्राथमिकता विराटनगरलाई भ्रष्टाचारमुक्त सहर बनाउने नै हो। आफू पनि भ्रष्टाचारको विरोध गरेकाले भ्रष्टाचार निर्मुल पार्नु मेरो पहिलो प्राथमिकता हुनेछ। विराटनगरका कुनै पनि सडक सद्दे छैनन्। सबै भत्किएका छन्। धुलो नउडेको ठाउँ छैन। सडक हिलाम्मे छ। विराटनगरको सडक सुधार गर्न लाग्नेछु। सबै सडक पिच गरेर हरियाली सहर र सफा स्वच्छ बनाउने मेरो अजेन्डा छ। सय दिनभित्रमा जनताले महसुस गर्ने गरी काम गर्नेछु।

विराटनगर पूर्वकै ठूलो सहर हो, यति मात्रैले पुग्ला त?

पुग्दैन। विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने र त्यसअनुरूपको भौतिक पूर्वाधार तयार गर्न बाँकी छ। त्यसका लागि चाहिने आवश्यक सबै पूर्वाधार यहाँ अपुग छ। विराटनगरलाई राजधानी बनाउनलायक बनाउने मेरो दोस्रो अजेन्डा हो। राजधानी बनाउन प्लानिङ सिटीको अवधारणा ल्याउने मेरो सोच छ। सहर व्यवस्थित नभएकाले प्लानिङ सिटीको अवधारणा जरुरी भइसकेको छ। त्यसका लागि कर नबढाउने तर त्यसको दायरा फराकिलो बनाउनुपर्ने हुन्छ। विराटनगरलाई वैभवशाली सहर बनाउन यहाँका जनतालेे साथ र सहयोग दिनेछन् भन्ने मेरो विश्वास छ।

विराटनगर क्यापिटल सिटी पनि हो। आर्थिक उन्नतिका लागि के सोच्नुभएको छ?

विराटनगर राजनीति र आर्थिक विरासत बोकेको सहर हो। यसको इतिहास र परिचय पनि त्यही नै हो। औद्योगिक क्षेत्रलाई विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु। लामो समयदेखि बन्द रहेको नेपालकै पहिलो उद्योग विराटनगर जूट मिल फेरि सञ्चालन गर्दा यहाँको आर्थिक उन्नतिमा त्यसले टेवा पुर्‍याउनेछ। जूट मिलमात्रै सञ्चालनमा ल्याउन सकियो भने हजारौं जनाले त्यहाँ रोजगार पाउनेछन्। जूट मिल सञ्चालन गरेर देखाउँछु। ऐतिहासिक हिसाबले पनि यो मिलको पहिचान छुट्टै छ। नेपालकै नाम चलेका र ठूला उद्योगहरू विराटनगरमै छन्। ठूला व्यापारिक घरानाहरूको बसोबास पनि यहीँ छ। यहाँको आर्थिक विकास र विस्तारमा व्यापारिक घरानाको सुझाव र सल्लाह महत्वपूर्ण हुन्छ। उहाँहरूकै सल्लाह र सुझावअनुसार आर्थिक अजेन्डा तय गरेर अगाडि बढ्छु। विशेष आर्थिक क्षेत्र स्थापना र एकीकृत भन्सार चेकजाँच विन्दुको काम आगडि बढेको छ। विराटनगर भारत–नेपाल र चीनको गेटवे पनि हो। जोगवनीदेखि किमाथांकासम्मको बाटो निर्माण भइरहेको छ। यसले पनि व्यापारिक प्रगतिमा मद्दत गर्नेछ।

चुनावको बेला जनतासँग निकै वाचा गर्नुभयो। पूरा हुन्छन् ती सबै वाचा?

मेयर बन्नका लागि म कांग्रेसको उम्मेदवार बनेँ। तर जितिसकेपछि महानगरपालिकाको साझा व्यक्तिका रूपमा उभिएको छु। सबैलाई समान व्यवहार गर्दै अघि बढ्नेछु। निर्वाचनको बेला जनातासँग गरेको सबै वाचा पूरा गर्नेछु। पूरा हुनेखालको नै वाचा गरेको छु। नगरका सडक र ढलको स्तर उन्नति गर्दै नगरवासीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउनेछु। नगरभित्र सञ्चालन भइरहेको विकास योजनालाई समयमै सम्पन्न गर्न पहल गर्नेछु र गुुणस्तरीय कामका लागि दबाब दिनेछु। महानगरबाट हुने परम्परागत कामलाई प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री सेवामा विशेष पहल गर्नेछु। अबको समय सूचना प्रविधिको हो। छिटोछरितो सेवा दिँदै भ्रष्टचारमुक्त नगरका रूपमा विकास गर्न मेरो पहल रहनेछ।

विराटनगर अर्थात राजा विराटको नामले नामाकरण भएको सहर। तर, त्यहीँ राजा विराटको दरवार जर्जर छ। पर्यटकलाई भुल्याउने ठाउँ नै छैन यहाँ। नयाँ मेयरलाई यो चुनौती पनि होला नि त?

 विराटनगर सहरसँग राजनीति र आर्थिक इतिहासमात्र जोडिएको छैन। ऐतिहासिक सम्बन्ध पनि छ। बुधनगरमा राजा विराटको दरवार अझै छ। त्यो भग्नावशेषको अवस्थामा छ। एक पटक उत्खन्न गरिए पनि त्यसलाई संरक्षण र सम्बर्द्धन गर्ने काम भएको छैन्। पर्यटकलाई आकर्षित गर्न त्यो एउटा राम्रो गन्तव्य हुन्छ। विराट दरबार पुनर्निर्माण गरी त्यसलाई पर्यटकीय गन्तव्य बनाउनेछु। विराट दरवारको ऐतिहासिक पाटोलाई मात्र प्रचार गर्न सकियो भने यहाँ पर्यटकको ठूलो भीड ल्याउन सकिन्छ। भारतको बिहार र पश्चिम बंगालबाट नजिकको सहर पनि हो विराटनगर। बिहारको यी दुई प्रदेशको पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउँछु। विराटनगरलाई राजनीतिक, आर्थिक सहरमात्र होइन, पर्यटकीय सहर पनि बनाउनेछु।

तपार्इँलाई युवाको राम्रो साथ छ। तर युवा पलायनको क्रम बढ्दो छ। युवालक्षित योजना पनि छ तपाईँसँग?

मेरो जितको ठूलो बल युवा पनि हो। जुनसुकै पार्टीमा आबद्ध भए पनि युवाले मलाई रुचाइदिए। शिक्षित युवालाई ऋण प्रदान गरेर पेशा–व्यवसायमा आकर्षित गर्छु। शिक्षित युवा विदेश पलायन हुने क्रम बढ्दो छ। त्यसलाई रोक्न शैक्षिक प्रमाणपत्र धरौटीमा राखेर ऋणको व्यवस्था मिलाउनेछु। यसले युवाहरूलाई आफ्नै भूमिमा कर्म गर्न प्रेरित गर्नेछ। युवा सूचना केन्› निर्माण, ज्येष्ठ नागरिक केन्›, अपांगतामैत्री केन्› स्थापना, गरिबलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउने मेरो सोच छ। यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरू गराउनेछु। सरकारी र निजी अस्पतालबीच साझेदारी गरेर स्वास्थ्य सेवा सहज बनाउँछु। विराटनगरका १९ वटै वडामा स्वास्थ्य केन्› स्थापना गर्ने लक्ष्य छ। सरकारीस्तरमा सञ्चालित कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालमा रूपान्तरण गर्न पहल गर्नेछु।

प्रकाशित: २६ असार २०७४ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App