coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयल निगमले सर्लाहीमा जग्गा किन्दाको झेल

सर्लाही- नेपाल आयल निगमले सर्लाहीमा स्थानीयलाई झुक्याएर वारेसनामामार्फत जग्गा किनेको पाइएको छ। स्थानीयले प्रतिकठ्ठा दुई लाख ७५ हजार रुपैयाँमा बेचेको जग्गालाई निगमले प्रतिकठ्ठा ९ लाख ७१ हजार रुपैयाँमा किनेको छ। निगमका उच्च अधिकारीसँगको मिलेमतोमा काठमाडांैकै विनोद भण्डारीको नाममा जग्गा संकलन गरी उनीमार्फत निगमले आफ्नो नाममा पास गरेको हो। सो जग्गा चल्तीको मूल्यभन्दा तीन गुणा महँगो तिरेर करोडौं घोटाला गरिएको छ।

निगमले सर्लाहीमा १५ बिघा १२ कठ्ठा जग्गा किन्न ३० करोड ५ लाख रुपैयाँ खर्चिएको छ।

सर्लाही, लालबन्दी–१ साबिकको नेत्रगन्ज–७ की चम्पादेवीले प्रदेश नं. २ मा नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण गर्ने डिपोका लागि १० कठ्ठा जग्गा बेचेकी हुन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा १ किलोमिटर उत्तरतर्फ ५७८ हरिपुर ९ ख कित्ता नं.को १० कठ्ठा जग्गा बेचेबापत चम्पादेवीले २७ लाख ५० हजार रुपैयाँको चेक पाएकी थिइन्। चम्पाले दुई लाख ७५ हजार प्रतिकठ्ठा बेचे पनि सो जग्गालाई निगमले पौने १० लाख तिरेको छ।

२०७३ चैत १७ गते निगमका लागि खरिद भएको चम्पादेवीको जग्गा खरिदबिक्रीमा तीन तहका दलालले २७ लाख ५० हजार रुपैयाँमा खरिद भएको जग्गाको मूल्य ९६ लाख १० हजार रुपैयाँ पुर्‍याए। १० कठ्ठा जग्गामा ६८ लाख ६० हजार अनियमितता भएको छ। सरदर प्रतिकठ्ठा ६ लाखभन्दा बढी निगमका अधिकारी र बिचौलियाले लुटेका छन्। 

चम्पाको जग्गा सोझै आयल निगमको नाममा नामसारी नगरी आयल निगमको रकम लुट्न तेस्रो पक्षले चम्पादेवी मालपोत कार्यालय जान असमर्थ रहेको भन्दै काठमाडौं महानगरपालिका ३० बस्ने ५६ वर्षीय विनोद भण्डारीका नाममा अधिकृत वारेसनामा बनाएको थियो।

०७३ चैत ४ गते प्रमाण पत्र नं. ९१५४ भएका अधिवक्ता नरेशकुमार चौधरीले चम्पाको जग्गा बिक्री वारेसमा रौतहट चन्द्रपुर नगरपालिका ८ का ३१ वर्षीय अनन्तप्रसाद घिमिरे र रौतहट जुडीबेला ४ का २४ वर्षीय अजय धामीलाई साक्षी राखेका छन्।

चम्पाजस्तै स्थानीय नीलमकुमारी महतोको ५७९ हरिपुर ९ ख कित्ता नम्बरको पाँच कठ्ठा १० धुर जग्गा दुई लाख ५७ हजारका दरले बिक्री गर्दा १५ लाख सात हजार पाँच सय रुपैयाँको सानिमा बैंकको चेक दिएर नवलपुरमै वारेस गराएका थिए। तर, नीलम महतोको जग्गा मालपोत कार्यालयको रेकर्डअनुसार ५२ लाख ८५ हजार पाँच सयमा आयल निगमले खरिद गरेको हो।

सो जग्गामा सरदर प्रतिकठ्ठा ६ लाख ८७ हजार रुपैयाँ अनियमितता भएको देखिन्छ। जग्गाको बैना गाउँकै छिरिङ महतोले कठ्ठाको एक हजारका दरले रुपैयाँ दिए। तर खरिद गर्ने बेलामा अरूले नै वारेस बनाएर चेक दिएका थिए। नीलमले भनिन्, ‘वारेस नवलपुरमै बनाएर चेक बुझें। कसैलाई पनि वारेस पढ्न दिएको थिएन। जग्गा बेचेको रकम बराबर चेक पाएपछि वारेस पढ्न कसैले चाहेन। पछि मलंगवा मालपोतमा हाकिमले जहाँजहाँ छाप लगाएर साइन गर्न भने, गरिदिएँ।’

सर्लाही, लालबन्दी १ नवलपुर साबिकको नेत्रगन्ज¬–७ मा खरिद गरिएको जग्गा विक्रेताले पाएको रकमभन्दा प्रतिकठ्ठा सरदर ६ लाखभन्दा बढी अनियमितता भएको हो। नन्देश्वरी सामुदायिक वनसँगै रहेको खेतीपाती हुँदै आएको जग्गा आयल निगमले खरिद गरेको हो। आयल निगमको डिपो स्थापना भएपछि ठाउँको विकास हुने सपना देखेर स्थानीयले एकैसाथ १५ बिघाभन्दा बढी जग्गा आयल निगमलाई बेचेको हो। आयल निगमको जग्गा खरिदका लागि पहिला स्थानीय कारोबारीले विक्रेतालाई बैना दिएका थिए। स्थानीय कारोबारीले प्रतिकठ्ठा १० हजार रुपैयाँका दरले बिघामा दुई लाख कमिसन दिनेगरी जग्गाको टुंगो लगाएका थिए।

जिल्ला मालपोत कार्यालय मलंगवाका अनुसार ०७३ चैत १७ गते निगमको साविकको नेत्रगन्ज–७ मा पर्ने रन ८५०० (ख) देखि ८५४० (ख) सम्मको कित्ता रजिस्ट्रेसन भएको थियो।  

प्रकाशित: १७ श्रावण २०७४ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App