१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तित्रा र कालिजको व्यवसायीक पालन

पोखरा- तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए।

महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आएका छन्।

नेपाल वाइल्ड फुड प्रोजेक्ट प्रालि कम्पनी दर्ता गरी शुरु गरिएको सो व्यवसायमा अधिकारीको ८० र भान्जा लामिछानेको २० प्रतिशत लगानी छ।

आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उनको भनाइ छ।

विसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उनले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पालेका छन्। भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ ।

अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आएका थिए। तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पालेका हुन्।

यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०/६० वटा भाले कालिज प्रतिवटा रु तीन हजारका दरले बिक्री गरेको उनले बताए।

चैत, वैशाख र जेठमा मात्रै यसले अण्डा पार्ने भएकाले अण्डा र पोथी कालिज बिक्री नगरिएको र यसको संख्या बढाएर दुई लाखसम्म पुर्‍याउने लक्ष्य रहेको उद्यमी अधिकारी उल्लेख गरे। अहिले शुरुवातको अवस्था रहेको र अबको दुई वर्षपछि मात्रै व्यवसायबाट नाफा हुने विश्वास छ। रासस
 

प्रकाशित: २० आश्विन २०७४ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App