१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुरस्कार प्रभाव

कतिपय पुस्तक पुरस्कार नपाउँदासम्म छायामा हुन्छन् । किताब छायामा परेका लेखकको चर्चा पनि कमै हुन्छ । यस वर्ष साहित्यमतर्फको नोबेल पुरस्कार पाउनुअघि काजुओ इसिगुरो ‘लो प्रोफाइल’ लेखक थिए । नोबेल पुरस्कारले एकाएक उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो । वर्षौंसम्म गुमनामजस्तै इसिगुरो विश्वभरका सञ्चारमाध्यममा छाउन थाले । 
पाठकका आँखामा खासै नपरेको खण्डकाव्य ‘धृतराष्ट्र’ २०७३ सालको मदन पुरस्कार छनोट सूचीमा पर्नेबित्तिकै  चर्चित भयो । ‘धृतराष्ट्र’का लेखक घनश्याम कँडेललाई साहित्य विमर्शकर्तालले मात्र होइन, आम पाठकले समेत सोधखोज गर्न थाले । नेपाली वाङ्मयमा बिर्सन थालिएको छन्दबारे चर्चा–परिचर्चा सुरु भयो ।

हुन त साहित्यका लागि अनेकौँ पुरस्कार छन् । यद्यपि नेपालमा मदन, पद्मश्रीजस्ता केही पुरस्कार जितेपछि किताब र लेखकको सम्मान अर्काे उचाइमा पुग्ने गरेको छ । पुरस्कार पाएपछि किताबको बिक्री मात्र बढ्दैन, लेखकको करिअरमा समेत कायापलट आउँछ । 

न्याय र शान्तिका कार्यकर्ताका रूपमा काम गरिरहेकी राधा पौडेलले आफ्नै भोगाइ समेटेर ‘खलंगामा हमला’ लेखिन् । उनको यो किताबले २०७० का लागि मदन पुरस्कार पायो । त्यसअघि कतै चर्चामा नरहेको किताबले धेरैको ध्यान खिच्यो । राधालाई लेखकको परिचय पनि दिलायो । उनी आफ्नो लेखनको उद्देश्य समेत पुरस्कारले पूरा भएको बताउँछिन् । ‘न्याय र शान्तिको परिभाषा बदलिनुपर्छ भन्ने उद्देश्यले किताब लेखेको थिएँ । दूरदराजमा मान्छे किन र कसरी मरिरहेको छ भन्ने  काठमाडौंलाई वास्ता थिएन,’ उनी भन्छिन्, ‘त्यही कुरा सबैलाई पढाउन चाहन्थेँ । पुरस्कारले सबैमाझ पु¥याउने काम गर्‍यो ।’ 

अहिले किताब छापिएपछि कता बेच्ने अनि कसरी बेच्ने भन्ने चिन्ता कम छ । राम्रा किताबको प्रचार–प्रसार गर्ने धेरै प्लेटफर्म छन् । कुनै समय यस्तो पनि थियो, के किताब बजारमा आयो भनेर थाहा पाउन निकै समय लाग्थ्यो । त्यो समय किताबका लागि दिइने पुरस्कार किताबको प्रचारको माध्यम थियो । 

पौडेलले सन् २००२ मा यो किताब लेखेकी थिइन् । प्रकाशक खोज्दाखोज्दै किताब छाप्न १२ वर्ष लागेको उनी बताउँछिन् । भन्छिन्, ‘धेरै ठाउँमा पाण्डुलिपि देखाउँदै हिँडियो । कसैले पत्याएन । कोहीले माओवादीको किताब भनेर छाप्दैनौँ भने । पछि नेपालयले प्रकाशन त ग¥यो । तर, कुनै चर्चा भएको थिएन ।’ पुरस्कार पाउनुअघि विकास र शान्तिका क्षेत्रमा काम गर्नेहरूले पढिसकेका थिए । पुरस्कार पाएपछि भने साहित्य मनपराउने पाठकले धेरै पढेको उनी बताउँछिन् । पुरस्कार पाएपछि राधा पौडेललाई मानिसहरूले फरक तरिकाले हेर्न थाले ।  किताब पढेर जुम्लाका लागि काम गर्छु भन्नेहरू पनि भेटिए । कल्पनै नगरेका मान्छेहरू उनको किताबको पाठक रहेको उनी सुनाउँछिन् । पुरस्कृत किताबमाथि प्राज्ञिक अनुसन्धानका काम पनि हुन्छन् । खलंगामा हमलामाथि पनि थेसिस पनि गरिँदै छ । काठमाडौंको अक्षरा भन्ने विद्यालयले तीन वर्षदेखि ‘खलंगामा हमला’लाई कोर्समा राखेको लेखक पौडेलले बताइन् । केही च्याप्टर अंग्रेजीमा पनि निकालिएको छ । 

किताब ठ्याक्कै कति बिक्यो भन्ने आफूलाई थाहा नभएको तर निरन्तर बिकिरहेको उनी बताउँछिन् । भन्छिन्, ‘रोयल्टी पाइरहेकै छु । पाएको सबै रोयल्टी रकम एक्सन वक्र्स नेपाल र राधा पौडेल फाउन्डेसबाट सामाजिक काममै लगाइरहेकी छु ।’ जुम्लामा शान्ति वाटिका बनाउन पनि रोयल्टीको पैसा लगाएको उनी सुनाउँछिन् । एक दर्जनभन्दा बढी भाषामा निकाल्ने उनको प्रतिज्ञा छ ।  

किताबलाई ह्वात्तै चर्चामा ल्याए पनि लेखनमा भने पुरस्कारले खासै दबाब सिर्जना नगरेको उनी बताउँछिन् । आफू लेखक कम र सामाजिक कार्यकर्ता धेरै भएकाले मन लाग्दा लेख्ने उनी बताउँछिन् । भन्छिन्, ‘त्यसैले मलाई पुरस्कारको प्रेसर छैन । पुरस्कार पाउँला र पाउने गरी लेखुँला भनेर लेख्दिनँ । मलाई कथा लेख्न कल्पनाशील हुनु पनि पर्दैन । प्रशस्तै कथा दैनिक मसँग ठोक्किन आउँछन् । तिनैलाई टिप्ने हुँ ।’ 

अहिले किताब छापिएपछि कता बेच्ने अनि कसरी बेच्ने भन्ने चिन्ता कम छ । राम्रा किताबको प्रचार–प्रसार गर्ने धेरै प्लेटफर्म छन् । कुनै समय यस्तो पनि थियो, के किताब बजारमा आयो भनेर थाहा पाउन निकै समय लाग्थ्यो । त्यो समय किताबका लागि दिइने पुरस्कार किताबको प्रचारको माध्यम थियो भन्छन्, साहित्यकार मोदनाथ प्रश्रित । उनले ०२३ सालमै ‘मानव’ महाकाव्यका लागि मदन पुरस्कार पाएका थिए । सामन्ती समाजमा महिला अनि दलितमाथिको अत्याचारविरुद्ध उनले ‘मानव’ महाकाव्य लेखेका थिए । किताब लेखेर उनले आफैँले स्थापना गरेको पसिना प्रकाशनबाट किताब ल्याए । सम्झन्छन्, ‘५०–६० वटा किताब चिनेजानेका साथीलाई पढिदिन भनेर दिएको थिएँ । त्यसभन्दा बढी त केही बिकेको थिएन ।’ अनि पाल्पाका कवि माधव देवकोटाको सिफारिसमा मदन पुरस्कारमा आवेदन प¥यो, प्रश्रितको किताबको । आफ्नो किताबले मदन पुरस्कार पाएको कुरा रेडियोमा सुनेको उनी बताउँछन् । त्यतिबेला उनी बुटवल बस्थे। 

पुरस्कार पाएपछि किताबको सर्वत्र माग भयो । अहिलेसम्म पनि मानव महाकाव्य बिकिरहेकै छ । कति बिक्यो भन्ने हिसाब–किताब छैन । प्रश्रित सुनाउँछन्, ‘पुरस्कार पाएपछि त बिकेको बिकेकै छ । देवासुर संग्राम र मानव सधैँ बिकिरहने किताब हुन् ।’  महाकाव्यका केही सर्गहरू अंग्रेजीमा र केही हिन्दीमा समेत अनुवाद गरिएका छन् । मानव महाकाव्यमाथि पिएचडी समेत भएको छ।  

व्यक्ति, संस्था तथा पुस्तकालयले पुरस्कृत किताब संग्रहकै लागि भए पनि धेरै किन्ने लेखक अमर न्यौपाने बताउँछन् । त्यसैले बिक्री पनि ह्वात्तै बढ्ने गरेको उनको अनुभव छ । जसले गर्दा लेखकलाई रोयल्टीबापतको आर्थिक लाभ पनि हुन्छ। 

राम्रा किताब कुनै पुरस्कार नपाए पनि युगयुगान्तर पढिन्छन् । सधैँ बिकिरहन्छन् ।  लेखक न्यौपाने भन्छन्, ‘जस्तो बिपीले लेखनका लागि कुनै पुरस्कार पाएनन् । तर, प्रकाशकहरू भन्छन्– बिपी सधैँ उही स्तरमा बिकिरहेका छन् ।’ 
किताबको भीडमा पुरस्कारको महŒव पनि आफ्नै खालको छ । पुरस्कार पाएको पुस्तकप्रति हुने धेरैको ध्यानाकर्षण र किताबबारे हुने विमर्शले पनि लेखक–पाठक दुवैलाई राम्रो हुने उनको विचार छ । ‘किताबका राम्रा लाइनलाई जसरी हाइलाइटरले हाइलाइट गरिन्छ,’ उनी पुरस्कारको महŒव बुझाउँछन्,  ‘पुरस्कार भनेको किताबमा हाइलाइटर लगाउनुजस्तै हो।’

न्यौपानेले पहिलो उपन्यास ‘पानीको घाम’का लागि पद्मश्री पुरस्कार पाए । त्यतिबेला पद्मश्रीको अहिलेजस्तो चर्चा थिएन । यद्यपि लेखकलाई यो पुरस्कारपछि साहित्यिक जगत्मा राम्रै नाम दियो । दोस्रो उपन्यास ‘सेतो धर्ती’ले पाएको मदन पुरस्कारले भने आफूलाई सामान्य पाठकमाझ  परिचित बनाएको उनी बताउँछन् । पुरस्कार पाएपछि तत्कालका लागि राम्रो आर्थिक लाभ हुने उनको तर्क छ । अमर भन्छन्, ‘तत्कालका लागि सेलिब्रिटी फिल गराउँछ । धेरैको ध्यानाकर्षण, मिडिया कभरेजका कारण पुरस्कारको ह्याङओभरले लेखकलाई लामो समय छोड्दैन।’  

दीर्घकालका लागि भने लेखनमा जिम्मेवार बनाउने काम पुरस्कारले गर्ने उनको भनाइ छ । पाठकको अपेक्षा र पहिलोभन्दा राम्रो लेख्नुपर्ने दबावबा लेखक पर्ने अनुभव उनको छ । पुरस्कार पाएपछि लेखक हुँ भन्ने कन्सियसनेसले धेरै सताउने गरेको न्यौपाने बताउँछन् । अनि लेखक बढी कन्सस हुँदा लेखन कमजोर हुने उनको ठहर छ। 

उनी आफैँ पनि लेखक हुनुको अस्तित्वबोधको चापमा परेको स्विकार्छन् । ‘सेतो धर्ती लेख्दा लेखक हुँ भन्ने सोचिएन। मदन पुरस्कारले लेखक भन्ने परिचयलाई बढी बलियो बनायो । पछिका लेखनमा लेखक भएर लेखेँ कि भन्ने लाग्छ,’ उनले भन्ने गरेका छन्, ‘जीवन र ध्यानको समागमबाट हृदयले जन्माएको सन्तानको नाम साहित्य हो ।’ त्यसैले लेखनमा अवचेतन र पठनमा चेतन मन बढी सक्रिय हुनुपर्छ भन्ने विचार उनको हो । तर, पुरस्कारले कहिलेकाहीँ लेखनमा चेतन सक्रिय बनाउन भूमिका खेल्दा कृतिमा भावनाको कमी हुने उनको ठहर छ।

पुरस्कृत पुस्तककै बिक्री अनि समीक्षा धेरै हुने हुनाले धेरै लेखकलाई पुरस्कारको लोभ पनि छ । हार्डकोर रिडरबाहेक सामान्य पाठकलाई पुरस्कार नपाएसम्म किताबबारे चासो हुँदैन । तर, धेरै पुस्तकको व्यावसायिक सफलताको नियति सामान्य पाठककै हातमा हुन्छ । त्यस्ता सामान्य पाठकमाझ पुस्तकलाई पु¥याउन पुरस्कारले सहयोग गर्ने प्रकाशन संस्था नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्के बताउँछिन्। 

उनी भन्छिन्, ‘पुरस्कार पाएपछि रिभ्यु गरिन्छन् । पुरस्कार नै पाएपछि के रहेछ त भनेर किताब किन्ने खालका पाठक पनि धेरै छन् ।’ त्यसैको प्रभावस्वरूप किताबको माग बजारमा अधिक हुन्छ । बिक्री पनि बढ्छ । नेपालयबाट प्रकाशित नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र राधा पौडेलको ‘खलंगामा हमला’ले मदन पुरस्कार पाएका थिए। 

पल्पसा क्याफेको प्रकाशनसँगै चर्चा–परिचर्चा राम्रै भइसकेको थियो । त्यसमा लेखकको प्रोफाइलको छवि आफ्नै ठाउँमा थियो । त्यसैले पुरस्कार नपाए पनि चर्चा र बिक्री राम्रै थियो । ‘खलंगामा हमला’ चाहिँ पुरस्कारमा मनोनयन हुनुअघि खासै चर्चा पाउन सकेको थिएन । पुरस्कारले एकैपटक चर्चाको शिखरमा पुर्‍याइदियो । तारिफसँगै बिक्री पनि बढ्यो । 
लेखक राधा पौडेल अझै खलंगामा हमलाको रोयल्टी प्राप्त गर्दै छिन्। 

प्रकाशित: १८ कार्तिक २०७४ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App