१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विद्यालयमा प्रयोगात्मक विज्ञान, कठै !

त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र ‘रिकास्ट’ले हालै काठमाडाँैमा आयोजना गरेको ‘छैटाँै एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन’मा दरबार हाइस्कुलका विद्यार्थी विजय तामाङको अनुहारमा आशाका किरण र चिन्ताका रेखाहरू एकै साथ मडारिएको देखिन्थ्यो । विभिन्न देशका आफूजस्तै साना विद्यार्थी सहभागी सम्मेलनमा उपस्थित हुन पाउँदा उनी अत्यन्तै खुसी थिए । अन्य देशका समकालीन विद्यार्थीहरूको नवीनतम आविष्कार र प्रयोगले उनी चकित पनि भए । अर्कोतिर विजय चिन्तित देखिनुको कारण थियो, दरबार हाइस्कुलमा उनले गरेको अनुसन्धान प्रभावकारी नदेखिनु । वास्तवमा यो चिन्ता सरकारी अधिकारी वा नेतृत्वले लिनुपर्ने हो, न कि ती किशोर विद्यार्थीले ।

त्रि–चन्द्र कलेजमा विसं १९७८ मा कलकत्ता विश्वविद्यालयको सम्बन्धनबाट फिजिक्स, केमेस्ट्रीमा जुन प्रयोगात्मक ज्ञान विद्यार्थीलाई दिइन्थ्यो हाल ९४ वर्षसम्म पनि त्यसैलाई निरन्तरता दिइएको छ । यो स्थितिमा तत्काल सुधार गर्न आवश्यक छ विज्ञान शिक्षालाई थप प्रतिस्पर्धी बनाउन ।

विजयले तामाको भाडामा राखेको पानीले सूक्ष्म परजीवी मार्न सक्ने परम्परागत नेपाली प्रयोगलाई सम्मेलनमा प्रस्तुत गरेका थिए । जबकि त्यही सम्मेलनमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, भारत, श्रीलंका लगायत १० देशका ७ देखि १२ कक्षासम्मका विद्यार्थीले भने निकै आधुनिक विद्यामा उत्कृष्ट अनुसन्धान नजिता प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा सहभागी विजय लगायत अन्य नेपाली विद्यार्थीको कमजोर अनुसन्धान प्रस्तुतिले हाम्रा विद्यालयमा कस्तो शैलीले विज्ञानको पढाइ हुन्छ र विद्यार्थीहरू कसरी आफ्नो प्रतिभा निखार्न असफल छन् भन्ने देखाएको छ ।   
हुन त सरकारी विद्यालयमा विज्ञानको प्रयोगशाला स्थापना गर्न युनेस्को लगायत विदेशी दातृ संस्थाले चार दशकदेखि नै नेपाललाई सहयोग गरिरहेको छ । तर शिक्षा अधिकारीहरूको गैरजिम्मेवारीपन र लापरबाहीका कारण त्यसको सदुपयोग हुन सकेको देखिँदैन । कैयौँ सरकारी विद्यालयमा विज्ञान प्रयोगशालाका लागि किनेको ‘विकर’मा शिक्षकका लागि चिया पाकिरहेको, ‘कोनिकल फ्लास्क’लाई पानी उमाल्न प्रयोग गरेको र ‘म्याङनेटिक कप्पास’लाई केटाकेटी खेल्ने साधन बनाएको देखिन्छ । विद्यालय शिक्षाका नाममा राज्यले अर्बौं रकम खर्चे पनि स्थितिमा सुधार आउन सकेको छैन । तर सबै सरकारी विद्यालयलाई एउटै डोकोमा राख्न चाहिँ मिल्दैन । ‘रीड नेपाल’ का विज्ञान प्रशिक्षकका कुरा सही हुन् भने बाफलको ज्ञानोदय, सोलुखुम्बुको हिमाल दर्शन, सल्लेरीको जनजागृति, भक्तपुरको बागेश्वरीजस्ता सरकारी विद्यालयमा राम्रै पूर्वाधारको विकास गरिएको छ, विज्ञान प्रयोगशालाका लागि । त्यहाँ विज्ञानका प्रयोगात्मक कक्षा पनि हुने गरेका छन्, कहिलेकाहीँ । त्यस्तै सहरी क्षेत्रका निजी माध्यमिक विद्यालयले अभिभावकलाई देखाउन विज्ञान प्रयोगशाला त बनाएको देखिन्छ तर अझै पनि त्यहाँ पर्याप्त पूर्वाधार र सामग्रीको अभाव छ । र, विद्यालयहरूमा विज्ञान बुझेर होइन घोकेरै पढिरहेका छन् विद्यार्थीहरू आज पनि । जसका कारण स्कुले विद्यार्थीहरू विदेशमा जसरी विज्ञानको शोध र प्रयोगमा आकर्षित हुन सकेका छैनन् ।
विदेशी विद्यालयसँग नेपालको तुलना  
रिकास्टले आयोजना गरेको वैज्ञानिक सम्मेलनमा २१ नेपालीसहित ७२ वटा स्कुलका विद्यार्थीको विज्ञान प्रोजेक्ट प्रस्तुत गरिएको थियो । भानुभक्त स्कुल पानीपोखरीका विद्यार्थीले भ्याकुम क्लिनर बनाउने तरिका देखाएका थिए । काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थीले दुर्घटना रोक्न सक्ने कार निर्माणको तरिका बताइरहेका थिए । राधा सेकेन्डरी विद्यालय तनहुँका विद्यार्थीले रोबट बनाउने विधि, र पोखरा मल्टी मोडेलका विद्यार्थीले धुवाँ फिल्टर गर्ने प्रविधि प्रस्तुत गरेका थिए । सेन्ट मेरिज स्कुलका सहभागीले काठमाडाँैमा बिक्री गरिने पानीको बोतल धेरै पातलो र गुणस्तरहीन भएको दाबी गरेको देखियो अनुसन्धानमा आधारित भएर ।
सम्मेलनमा कक्षा १० मा पढ्ने इन्डोनेसियाली छात्रा भने आफूले ७ कक्षा पढ्दादेखि नै डेग्गु रोग निवारणका लागि अनुसन्धान सुरु गरेको बताउँदै थिइन् । उनले प्रस्तुत गरेको शोधअनुसार ‘प्यूमेरिया एकुमिन्टा’ नामक वनस्पतिबाट निकालेको रसायन डेग्गु लामखुट्टे नियन्त्रण गर्न प्रभावकारी हुने देखियो । श्रीलंकाबाट आएका विद्यार्थीले एक स्थानीय वनस्पतिबाट निकालेको रसायनको असर क्यान्सर सेलमा गरेको अनुसन्धान समेटेका थिए । थाइल्यान्डमा कक्षा १२ मा पढ्ने विद्यार्थीले चामलबाट फ्लोरोसेन्ट न्यानोपाटिकल बनाएको देखियो । उक्त न्यानोपाटिकललाई पानी प्रशोधन, क्यान्सर रोगको उपचार र बायोसेन्सरको रूपमा प्रयोग गर्न सकिने रहेछ । मलेसियामा हाइस्कुलमा पढ्ने विद्यार्थीले माछाको बाहिरी छालाबाट ‘हाइड्रोक्सिएपाटाइट’ भन्ने रासायनिक पदार्थ कसरी सरल विधिबाट निकाल्न सकिन्छ, त्यसमा अनुसन्धान गरेको पाइयो । उक्त ‘हाइड्रोक्सिएपाटाइट’ भन्ने रसायन हड्डी मर्मत र दन्त उपचारमा प्रयोग गर्न सकिने रहेछ । त्यसै गरी सोलभानियामा कक्षा १२ मा पढ्ने विद्यार्थीले त कम्प्युटर सफ्टवेयरको प्रयोग गरी प्रोटिनमा जेनेटिक म्युटेसन गर्ने आधार देखाइरहेका थिए । समग्रमा विदेशी हाइस्कुले विद्यार्थीले गर्ने स्तरको अनुसन्धान त हाम्रो देशमा स्नातकोत्तर लेभलका विद्यार्थीले पनि गरेको देखिँदैन । सहभागी विदेशी विद्यार्थीका अनुसार थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, श्रीलंका लगायतका देशमा ‘साइन्स इन युनिभर्सिटी’ भन्ने कार्यक्रम रहेछ । ती देशमा सरकारी विद्यालयका विद्यार्थीलाई युनिभर्सिटीको प्रयोगशालामा गएर अनुसन्धान गर्न सहयोग गर्ने सरकारी नीति नै रहेछ । र, यस्तो नियम अमेरिकामा पनि ज्यादै प्रचलित छ । अमेरिकामा त हाइस्कुलका उत्कृष्ट विद्यार्थीले युनिभर्सिटीमा गएर कोर्स नै पढ्न पाउँछन्, अनुसन्धान गर्न मात्र होइन ।
नीतिगत कमजोरी
विद्यालयमा विज्ञान विषय यति कमजोर हुनुमा विविध कारण छन् । तर प्रमुख त योग्य र कुशल शिक्षकको अनुपलब्धता नै हो । अन्य विषयका शिक्षकले विज्ञान पढाइरहेको भेटिनु नौलो होइन, नेपालका पहाडी र हिमाली जिल्लामा । अझै पनि देशमा पर्याप्त विज्ञान शिक्षकको अभाव छ । विभिन्न अध्ययनका अनुसार हाल विद्यालयमा करिब ४० प्रतिशत मात्र क्षमतावान् योग्य शिक्षक छन्, विज्ञानका । ३० प्रतिशत विज्ञान विषयका शिक्षकको बौद्धिक धरातल कमजोर भएको स्वीकार्छन, उनीहरूलाई तालिम दिने विज्ञ प्रशिक्षक स्वयं पनि ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को दफा ९ अनुसार शिक्षक हुन शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा पढेकाले १० महिने शिक्षक तालिम लिनुपर्ने व्यवस्था छ । जसकारण बिएस्सी पढेका जनशक्तिलाई शिक्षक बन्न सहज छैन ।  विज्ञान संकायमा ८५ प्रतिशत ल्याएर पास गरे पनि विद्यालय शिक्षक बन्ने शौभाग्य शिक्षा शास्त्र पढेर ५०.५ प्रतिशत ल्याउनेले पाउँछ । शिक्षक तालिम केन्द्रका स्रोत व्यक्ति र प्रशिक्षकका अनुसार ‘शिक्षा शास्त्रमा विज्ञान पढेकाले सिकाइ विधिलाई जोड दिन्छन् तर उनीहरूमा पर्याप्त ज्ञानकै अभाव देखिन्छ ।’ त्यसैले माध्यमिक विद्यालयमा विज्ञान शिक्षाको गुणस्तर सुधार गर्न ‘शिक्षा संकायमा विज्ञान पढेकै व्यक्ति नै चाहिने’ वर्तमान परिस्थितिमा सुधार आवश्यक छ । शिक्षक छनोट गर्दा देशमा उपलब्ध शैक्षिक जनशक्तिमध्ये सबैभन्दा उत्कृष्टलाई छनोट गर्ने परिपाटी हुनुपर्छ ।   
सर्वाेच्च अदालतले विज्ञ सेवा दिनुपर्ने क्षेत्रमा समावेशी सिद्धान्त लागू नहुने फैसला पटकपटक सुनाएको छ । र, शिक्षा ऐनले माध्यमिक तहमा विज्ञान, गणित, अंग्रेजी लगायतका विषयमा विषयगत शिक्षक हुनुपर्ने उल्लेख गरेको छ । र, माध्यमिक तहमा समावेशी सिद्धान्तअनुसार शिक्षक छनोट गर्ने वर्तमान नियमावलीको दफा ११ का कारण योग्य र क्षमतावान् व्यक्ति विद्यालय शिक्षक हुन अवरोध पुगेको देखिन्छ । यसका कारण विद्यार्थीहरू गुणस्तरीय विज्ञान शिक्षा हासिल गर्न वञ्चित छन् ।
सरकारले तय गरेको ‘विद्यालय क्षेत्र विकास योजना २०१६—२०२२’ मा एक शब्द पनि विज्ञानको प्रयोगशाला तथा गुणस्तरीय विज्ञान शिक्षकको व्यवस्था कसरी गर्ने भन्ने उल्लेख छैन । त्यसबाहेक शिक्षासम्बन्धी बनेका दर्जनौँ नीति, कार्यक्रम र नियममा विज्ञान शिक्षालाई उपेक्षा गरेको प्रस्टै देखिन्छ । त्यसो त भोलि राज्यको नेतृत्व गर्न पुग्ने कुनै पनि राजनैतिक दलले देशमा विज्ञानको विकास गर्ने उद्देश्य उनीहरूको चुनावी घोषणापत्रमा उल्लेख गरेका छैनन् ।
अन्य समस्या
विद्यालय तहमा विज्ञान शिक्षा यति कमजोर हुनुको प्रमुख कारण प्रयोगात्मक कक्षाको पाठ्यक्रम पनि हो । हालको कक्षा ११ र १२ मा सिकाइने विज्ञानको प्रयोगात्मक कक्षाको पाठ्यक्रम शताब्दी पुरानो छ । वर्तमान कक्षा ११ र १२ लाई पहिला नेपालमा आइएस्सी भनिन्थ्यो जसको सुरुवात त्रि–चन्द्र कलेजमा विसं १९७८ मा कलकत्ता विश्वविद्यालयको सम्बन्धनबाट गरिएको थियो । र, त्यति बेला फिजिक्स, केमेस्ट्रीमा जुन प्रयोगात्मक ज्ञान विद्यार्थीलाई दिइन्थ्यो हाल ९४ वर्षसम्म त्यसैलाई निरन्तरता दिएको पाइन्छ । यो स्थितिमा तत्काल सुधार गर्न आवश्यक छ विज्ञान शिक्षालाई थप प्रतिस्पर्धी बनाउन ।
यसबाहेक शिक्षा मन्त्रालयले कोटा प्रणालीअनुसार विद्यालयका लागि एक लाख पचास हजार विज्ञानको प्रयोगशाला सामग्री किन्न पैसा दिने रहेछ । त्यसको पनि सदुपयोग भएको देखिएन । यसै क्षेत्रमा कार्यरत व्यक्तिका अनुसार प्रत्येक जिल्लाको शिक्षा कार्यालयमार्फत काठमाडाँैका वैज्ञानिक सामग्री आपूर्ति गर्ने डिलरसँग उनीहरूको सिन्डिकेट चल्ने सुनियो । डिलरले १ लाख ३५ हजारको बिल बनाइदिने र स्कुललाई १५ हजार कमिसन दिने कुरा ओपन सेक्रेट नै रहेछ । तर खासमा सो डिलरको सो सामग्रीमा परेको मूल्य चाहिँ ८४ हजार मात्र पर्ने कुरा एक जना भुक्तभोगीले सुनाए । यसबाट प्रस्ट हुन्छ देशैभरिका सरकारी विद्यालयमा विज्ञानका नाममा कति करोड स्वाहा भइरहेको छ । र, बदलामा विद्यार्थीहरू २१ सौँ शताब्दीमा समेत प्रयोगात्मकविना अधुरो शिक्षा लिन बाध्य छन् ।
अतः सरकारले विज्ञानको विकास नगरी देशमा दिगो विकासको जग बसाल्न सक्दैन । विज्ञान शिक्षालाई विद्यालय तहदेखि नै सुधार गरिएमा मात्र विजय जस्ता नेपाली विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा दह्रो प्रयोगात्मक प्रस्तुति दिन सक्नेछन् ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App