१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'हो, मैले प्रकाशको लालनपालनमा न्याय गर्न सकिनँ'

फाइल तस्विर : दिनेश गोले

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अाफूले पुत्र प्रकाशको लालनपालनमा न्याय गर्न नसकेको महसुस गरेका छन्। प्रकाश दाहाल निधनको पाँचौं दिनमा अायोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दा भावुक हुँदै उनले  भने, 'अहिले सम्झँदा लाग्छ, उनी आफ्नो जीवनमा कहिलै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए। सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।'

***

दाहाल सम्बोधनको पूर्ण पाठ

हाम्रा प्रिय पुत्र कमरेड साकारा दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाइँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ। पीडामा साथ दिनुले खुशीमा साथ दिनुभदा धेरै महत्व राख्छ । तपाइँहरुको साथले हामीलाई एक मात्र पुत्र वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।

यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयकि निधन भयो । उी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधौका लागि विदा भए।

उनी अत्यन्त मिडियामैत्री थिए । प्रविधिमा उनको रुचिमात्रै थिएन, दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीको रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन।

म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ, कहिले कहीँ मात्र घर आउथेँ । त्यो पनि राति अबेला आउथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए । सुरक्षाका कारण एकपछि अर्को स्कूल फेर्दै उनको पढाई लथालिङ्ग भयो । अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए। अहिले सम्झँदा लाग्छ, उनी आफ्नो जीवनमा कहिलै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।

केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरा मात्र ठोन र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होयन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडियामैत्री थिए । प्रविधिमा उनको रुचिमात्रै थिएन, दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नुभएकै हो । सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए । म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीको रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन ।

पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि। शोकको यो घडिमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्तवना पायौं। नेपालमा सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋण िछौं। हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो। युरोप, अमेरिका,अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युष्टि पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यबद्धता र सहानुभूति देखाए। विभिन्न पेसागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्तवना दिए। मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु। दश वर्षलामो नेपाली क्रन्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै कीर्तिमान देख्यौं।

जीवनको लम्वाई होइन, उचाई धेरै हुनुपर्छ  भन्ने हाम्रो मान्यता थियो र छ। कमरेड  प्रकाशको मृत्युपछि नविसंघ, अखिल क्रान्तिकारी अनेरास्ववियूसँगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाइृ संयुक्त सान्तवना दिए र हामी सबै तपाँइका छोराछोरी हौं भनेर आत्मबलल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेका युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोराछोरी हुन र तिनको सम्मुन्नत भविष्यका लागि हामी अझै धेरै मेहनेत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं । हो, हामी शोकाकुल छौं । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढी महशुस गरेका छौं ।

आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहीमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेख िदिएको समवेदना र सहानुभूतिले हामीलाई धर्य र हिम्मत थपेको छ । आजको उपस्थितिका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाँइहरु प््रति कृतज्ञता व्यक्त गर्दछौं ।

७ मंसिर, २०७४

(माओवादी केन्द्रका अध्यक्ष एवं दिवंगत प्रकाशका पिता पुष्पकमल दाहालले श्रद्धाञ्जली सभामा दिएको मन्तव्यको पूर्ण पाठ)

प्रकाशित: ७ मंसिर २०७४ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App