१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओलीले भाषण गर्दा गर्दै विद्युत अवरुद्ध भएपछि…

नेपालगन्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिउँसो ३ बजे नेपालगन्ज आउने प्रचार गरेको वाम गठबन्धनले स्थानीय त्रिभुवन चोकमा चुनावी सभा राख्यो। प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको माहोल तताउन कार्यक्रम आयोजना गरिएको थियो । ओलीको भाषण सुन्न एमाले र माओवादी कार्यकर्ता मात्र सहभागी थिएनन् । अन्य दलका नेता, कार्यकर्तालाई पनि उनको भाषणप्रति चासो थियो । नेपाली काँग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोईरालाको गृहनगरमा ओलीले कुनै नयाँ शब्द बोलेर तरंग पैदा गर्छन् कि भन्ने धेरैलाई उत्सुकता थियो। त्यसकारण दिउँसो देखी नै अधिकांश व्यक्तिको ध्यान त्रिभुवन चोक क्षेत्रमा केन्द्रित रह्यो।

करिव पौने ६ बजेतिर बर्दियाको चुनावी सभालाई सम्बोधन गरी नेपालगन्ज आईपुगेका पुर्वप्रधानमन्त्री ओलीलाई आयोजकले सुरुमै बोल्न लगाए। उनले भाषण सुरु गरेको केहीबेरमै बिद्युत अवरुद्ध भयो । त्यसपछि प्रहरीले टर्च बालेर उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्यो । बिद्युत अवरुद्ध भएर अन्धकार बनेपछि उनी सम्बोधन बीचमै रोकेर हात हल्लाउँदै बाहिरिए । ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो भयो।

 ओलीको भाषण सुन्न ठूलो संख्यामा उपस्थित भएका व्यक्तिहरु खिन्न भएर घर फर्किए । नेपालगन्ज उद्योग वाणिज्य संघको भवनको सामुन्ने गरिएको चुनावी सभामा आयोजकले जेनेरेटरको व्यवस्था नगरेको भन्दै सहभागी कार्यकर्ता आक्रोशित देखिन्थ्ये । ‘चुनावमा त्यत्रो खर्च गरिरहेका छन्, राष्ट्रिय अध्यक्ष सहभागी भएको कार्यक्रममा जेनेरेटर हुँदैन, कति फितलो व्यवस्थापन हो,’ एक सहभागीले भने।

 सम्बोधनको सुरुमा एमाले अध्यक्ष ओलीले चुनावपछि आफुहरुले बृद्ध भत्ता मासिक ५ हजार पुर्‍याउने सोच बनाएको बताए। एमाले मुस्लिमको अधिकारका लागी लड्दै आएको उनले जिकिर गरे। मुस्लिम समुदायतर्फ लक्षित गर्दै उनले गत जेठ/ असार महिनाको रमजानका बेला परेको स्थानीय तहको चुनावलाई एमालेको दवावकै कारण सरकारले केही पर सारेको दाबी गरे।

 चुनावपछि आफुहरुले सरकारको नेतृत्व गर्ने र बाँकेमा निर्माणाधिन हुलाकी सडक, सिक्टा सिचाई आयोजनाको कामलाई सम्पन्न गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाए। पूर्वप्रधानमन्त्री समेत रहेका ओली सोमबार बेलुकाको उडानमार्फत राजधानी फर्किएका छन्। चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आउने प्रचार गरिएपनि महासचिव रामबहादुर थापा लगायत नेता उपस्थित भएका थिए।

 

प्रकाशित: ११ मंसिर २०७४ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App